आयुर्वेदमा रोचक शब्दावली छ, भूतविद्या। वैद्यक–चिकित्साका आठ विभागमा यसको चर्चा गरिएको छ। आधुनिक चिकित्सामा त्यसकै नाम हो, मनको उपचार। यसले के भन्छ भने सबैजसो रोगको सम्बन्ध मनसँग जोडिएको हुन्छ। मनमा रोग लागे ज्यान र ज्यानमा रोग लागे मन बिरामी भइहाल्छन्।
नेपालको मानसिक स्वास्थ्य सेवाका क्षेत्रमा १० जना चिकित्सकको नाम लिनुप¥यो भने छुटाउन नहुने नाम हो, वरिष्ठ मनोचिकित्सक कपिलदेव उपाध्याय। इतिहास खोतल्ने हो भने पहिलो मानसिक चिकित्सक बिपी शर्मा हुन्। सन् १९६१ देखि उनले वीर अस्पतालमा यस्तो सेवा दिए। त्यसपछि एकैचोटि सन् १९७५ मा आए डा. देशराजबहादुर कुँवर। उनको कार्यथलो रह्यो, वीरनजिकैको त्रिचन्द्र मिलिटरी अस्पताल। त्यसपछि सन् १९६१ देखि १९८१ सम्म अर्थात् २० वर्षको अन्तरालमा थप मनोचिकित्सक नै देखिएनन्। अहिले आएर यस्ता चिकित्सकको संख्या १ सय २५ पुगेको छ।
यसको अर्थ के हो भने अझै पनि मानसिक स्वास्थ्य सेवा समुदायको पहुँचमा छैन। गाउँघरमा धामीझाँक्री छन्, सहरबजारमा माताका खुद्रेपसल छन्। पश्चिमा जगत्बाट आएको काउन्सिलिङ पद्धतिभन्दा झारफुककै हालिमुहाली छ।
मुलुकभित्र पाँच लाख धामीझाँक्री रहेको अनुमान छ। बदलिँदो जीवनशैली, १० वर्षे सशस्त्र द्वन्द्व, सहरीकरण, हत्याहिंसा, गरिबी, वातावरणीय प्रदूषण, बेरोजगारलगायत समस्याका कारण नेपालमा ८५ लाखभन्दा बढी व्यक्तिमा कुनै न कुनै किसिमको मानसिक समस्या रहेको अध्ययनहरुले देखाएका छन्। मानसिक स्वास्थ्य नेपालको मात्र नभएर विश्वकै जल्दोबल्दो र गम्भीर समस्या हो।
त्यसो त मानसिक बिरामीमात्र होइन, मानसिक स्वास्थ्य सेवा दिने चिकित्सक पनि किनारामै पारिएका छन् नेपालमा। उनीहरुलाई हेर्ने दृष्टिकोण अझै सकारात्मक बनिसकेको छैन। मानसिक रोगीलाई उपचार त परै जाओस्, नेल ठोकेर जेल पठाउने चलन थियो। पुरुष भए धुलिखेल जेलमा, महिलालाई भद्रगोल जेलमा। जिल्लाको शान्ति सुरक्षा हेर्ने जिम्मेवारी पाएको प्रमुख जिल्ला अधिकारीले मानसिक रोग विशेषज्ञलाई देखाएर जेल पठाउने चलन थियो। बिरामीले अपराध गरेको होस् या नहोस्।
नेपालको मानसिक स्वास्थ्य सेवा क्षेत्रमा लेखेर, बोलेर र उपचार गरेर प्रसिद्धि कमाएका डा. कपिल यही इतिहासका एक साक्षी हुन्। पाल्पाको खस्यौली, भैरवस्थानमा ७० वर्ष पहिले जन्मेका उनले ६, सात वर्षको उमेरसम्म पनि स्कुल टेकेका थिएनन्। उनको कामै खेल्नेमात्र हुन्थ्यो। त्यसपछि मात्र उनी बुबा लोकनाथ उपाध्याय नेपालसँग मधेस झरे। बुबाका मिल्ने साथी मनोहरकुमार श्रेष्ठले उनलाई दुई वर्ष पढाए। उनका बाबु रुपन्देहीको केरवानीमा पटवारीको काम गर्थे। जिमिदारबाट राजस्व उठाएर माल अड्डामा बुझाउने काम हुन्थ्यो पटवारीको।
उनी नौ वर्षको हुँदा आमा लोकुत्तमादेवीको देहान्त भयो। त्यतिखेर उनकी बहिनी डेढ वर्षकी मात्र थिइन्। खासमा आमालाई कडा खालको ज्वरो आएको थियो। नजिकै अस्पताल थिएनन्। १० किलोमिटर टाढाको सदरमुकाम तानसेनबाट घोडा चढेर वैद्यहरु आएका थिए। तर, आमालाई बिसेक भएन। धार्मिक प्रवृत्तिकी आमाका अन्तिम वाक्य उनलाई अझै सम्झना छ, ‘बाबु, मलाई सन्चो हुँदैन। म मर्ने भएँ। तिम्रा बाले अर्की बिहे गर्छन्। तिमीले दुःख पाउने भयौ।’
त्यतिबेला उनको मुखबाट अनायासै निस्कियो, ‘आमा, मैले कुनै हालतमा दुःख पाउँदिनँ।’ आमाको सान्त्वनाका लागि हो या आत्मविश्वास देखाउन त्यसो भने ? उनलाई अझै यकिन छैन। हुन पनि उनले जीवनमा कहीँ कतै उस्तो दुःख पाएनन्। बाल्यकालदेखि अहिलेसम्म धेरै व्यक्तिको माया, सहयोग र सद्भाव पाइरहेकै छन्।
उनलाई लागिरह्यो, ‘मैले दुःख पाउनुहुन्न।’ डाक्टर बन्ने उत्प्रेरणा पनि त्यही हुन सक्छ। त्यसपछि उनले गाउँकै धुलेपाटीमा रुद्री, चण्डी, दुर्गाकवच र वेद छिचोले। भैरवस्थानकै भैरव जनता निमाविमा कक्षा ४ मा भर्ना भएर लगातार दुई वर्ष स्कुल टप गरे।
गाउँको ब्राह्मण समाज थप अध्ययनका लागि कि वनारसतिर लाग्थ्यो कि त जनकपुरको मटिहानी जान्थ्यो। उनी भने आफन्त पृथ्वीराज ज्ञवालीको साथ लागेर परासी गए। त्यहाँ उनले कक्षा फड्किएर एकैचाटि कक्षा ८ मा भर्ना पाए। त्यहाँ पनि टप भएर तानसेनको पद्मोदय पब्लिक बहुउद्देश्यीय हाइस्कुलमा पढे। उनले त्यहीँबाट २०२० सालमा प्रथम श्रेणीमा एसएलसी गरेका हुन्।
रोचक प्रसंग के भने त्यस वर्ष ४ हजार ६ सय परीक्षार्थीमध्ये प्रथम श्रेणीधारी ३५, ३६ जनाको नम्बर होइन, नाम नै छापिएको थियो गोरखापत्रमा। पद्मोदय हाइस्कुलका उनीसहित तीन जना प्रथम श्रेणीमा उत्तीर्ण भएका थिए। उनका सहपाठी मदनप्रसाद मलेगु सडक विभागको महानिर्देशक भए भने नारायणप्रसाद श्रेष्ठ इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका प्राध्यापक।
त्यो भेगकै नामी हाइस्कुल थियो पद्मोदय। त्यहाँका मेधावी विद्यार्थी कोलम्बो प्लान पाएर डाक्टर, इन्जिनियर हुन्थे। उनी पनि त्यस्तै सपना लिएर काठमाडौँ आए। पब्लिक साइन्स कलेज (अहिले अस्कल) र त्रिचन्द्र कलेजमा फारम भरे। दुवै ठाउँमा नाम निस्कियो। उनले त्रिचन्द्रमा पढे भने पब्लिक साइन्स कलेजको होस्टेलमा बसे। होस्टेलका वार्डेन थिए अमृतप्रसाद प्रधान। पछि गएर पब्लिक साइन्स कलेज तिनकै नाम जोडिएर अस्कल रहन पुग्यो।
१८ महिनामै आईएस्सीको पढाइ सकियो। त्यस बीचमा चार वर्षे बीएस्सी एजी पढ्नका छानिए पनि उनी गएनन्। मुलुकभित्र डाक्टर, इन्जिनियरमात्र होइन, हेल्थ असिस्टेन्टलगायतका प्राविधिक विषय पढ्ने शिक्षालयहरु थिएनन्। २०२३ सालमा उनी एमबिबिएसको छात्रवृत्ति पाएर पन्जावको पटियाला मेडिकल कलेज गए। साढे चार वर्षको कोर्स अनि एक वर्षको इन्टर्नसिप भ्याएर आउँदा ०२८ सालको माघ लागिसकेको थियो। राजा महेन्द्रको निधन हुँदा उनी काठमाडौँमै थिए।
त्यतिखेरसम्म पनि मुलुकलाई राम्रो जनशक्ति चाहिन्छ भनेर छात्रवृत्तिमा योग्यतम् नै छानिन्थे। तिनीहरुले मुलुक फर्किएलगत्तै सुहाउँदो जिम्मेवारी पाइहाल्थे। एमबिबिएस गरेर फर्किएपछि उनी सिंहदरबारभित्र रहेको स्वास्थ्य मन्त्रालय पुगे। उनलाई विभागीय अधिकारीहरुले थर्काए, ‘भन्नेबित्तिकै कहाँ जागिर पाइन्छ ?’
वीर अस्पतालमा चार महिना स्वयंसेवा गरेपछि बल्ल उनलाई लुम्बिनी अञ्चल अस्पताल बुटवलको मेडिकल अफिसरका रुपमा अस्थायी नियुक्ति मिल्यो। मेडिकल ओपिडीमा बसेर बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म बिरामी हेरे उनले। टिकट शुल्क त्यस्तै २५ पैसा हुँदो हो।
त्यतिबेला अस्पतालमा भर्ना भएका बिरामीलाई औषधि र खाना निःशुल्क थियो। कहिलेकाहीँ गाइनो युनिटमा पनि काम गर्नुपथ्र्यो उनले। ५० बेडको अस्पतालमा पाँच जना डाक्टर थिए। छिमेकी लुम्बिनी अञ्चलका मात्र नभएर नौतनवा, भारतका बिरामी पनि त्यहाँ आउँथे।
डेढ वर्षपछि धादिङको सुनौला बजारमा रहेको हेल्थ सेन्टरमा सरुवा भयो उनको। त्यहाँ पहिले सुकौरा खोला भनिने सुनौला बजार खासमा सदरमुकाम थियो। मलेखुदेखि धादिङबेसीसम्मको मोटर बाटो भरखर खनिँदै थियो। तुइन चढेर त्रिशूली पार गर्नुपथ्र्यो। सुनौला बजार कस्तो भने कोही डाक्टर जानै नचाहने।
पछि के थाहा पाए भने त्यहाँ उनका अत्यन्त मिल्ने साथीको सरुवा भएको रहेछ। तर, पहुँचवाला भएकाले गएनछन्। उनले स्वास्थ्य विभागका महानिर्देशक डा. भरतराज वैद्यलाई गुनासो गरेछन्। डा. वैद्यले भनेछन्, ‘त्योभन्दा ठूलो पावर छ भने तिम्रो पनि सरुवा गरिदिन्छु।’
त्यस ठाउँमा सरकारी कर्मचारीप्रति पनि नकारात्मक धारणा बसेको रहेछ। कर्मचारी उधारो खाएर हिँडिदिने रहेछन्। विदेशमा पढेर केके न गरुँला भनेर सपना देखेको डाक्टरलाई न बस्ने ठाउँ गतिलो थियो, न त सुविधा नै।
पछि सदरमुकाम धादिङबेसी स¥यो। हेल्थ सेन्टर पनि स्थानान्तरण भयो। उनकै अगुवाइमा इन्ट्रिगेसन अफ हेल्थ सर्भिस नीतिअन्तर्गत गाउँगाउँमा १५ वटा स्वास्थ्य चौकी खोलिए। होम भिजिटरका रुपमा घरदैलोमै जुनियर हेल्थ वर्कर खटाए। तिनीहरु चिनियाँ खालीखुट्टे डाक्टरभन्दा फरक थिएनन्।
दुई वर्ष त्यहाँ बसेपछि फेरि बुटवलमै सरुवा भयो उनको। दोस्रो चरणको बुटवल बसाइमा उनले झाडापखालाविरुद्ध अभियान चलाए। अभियान किन भने झाडापखाला लागेर धेरै बालबालिकाको अकालमै ज्यान जान्थ्यो। जीवनजल आइसकेको थिएन। नुन, चिनी, पानी खुवाउने चेतना पनि थिएन समाजमा।
कतिपय बालबालिकालाई त उनले हातमा नसा नभेटेर कन्चटको नसाबाट औषधि दिएर पनि बँचाए। उनको अभियानबाट प्रभावित भएर स्वास्थ्य मन्त्रालयको पब्लिक हेल्थ डिभिजनका डा. नारायणकेशरी शाहले बंगलादेशको ढाकामा भएको स्पेसल कन्फरेन्समा पठाइदिए।
चार वर्ष त्यहाँ बस्दा उनी बेलाबखत निमित्त ‘सिभिल सर्जन’ हुन्थे। मेडिकल सुपरिटेन्डेन्टलाई नै सिभिल सर्जन भनिन्थ्यो त्यतिबेला। धेरैजसो सर्पदंशका बिरामीको उपचार गर्नुपर्ने हुन्थ्यो। कहिलेकाहीँ डाँकाको गोली लागेर मरेका पोस्टमार्टम गर्नुपथ्र्यो। अत्यधिक रगत बगेर अकालमै सुत्केरी मरेकाले तत्कालीन लुम्बिनी अञ्चलाधीश र उनको पहलमा ब्लड ट्रान्सफ्युजन युनिट पनि स्थापना भयो।
२०३६ सालमा उनको सरुवा वीर अस्पतालमा भयो। त्यहाँ उनले नेपालकै राम्रा भनिएका सबैजसो डाक्टरसँग काम गरे। डा.विश्वराज दली, डा. महिन शाह, डा. अञ्जनीकुमार शर्मा, डा.दिनेशराज गंगोल, डा. मृगेन्द्रराज पाण्डे, डा. सुन्दरमणि दीक्षित, डा. सचेकुमार पहाडीदेखि डा. गोपालप्रसाद आचार्यसम्म। मेडिकल डिपार्टमेन्टमा उनलाई रजिस्टारको आन्तरिक पद पनि दिइएको थियो।
जागिर खाएको १२ वर्षसम्म उनको बढुवा भएको थिएन, थप अध्ययनका लागि राम्रो अवसर पनि आएको थिएन। त्यसो त थुप्रै ठाउँमा उनको ‘सिलेक्सन’ नभएको पनि होइन। तर, सबै छोटो अवधिका। उनी क्यानडामा एमडिजिपी गर्न पनि गएनन्। सिंगापुरको ६ महिने छाती रोगसम्बन्धी तालिम पनि हापिदिए। उनलाई जागिरमा त्यही उत्प्रेरणाले टिकाइरहेको थियो, ‘मैले दुःख पाउँदिनँ।’
हुन त बुटवलमै हुँदा डा. कपिल विश्व स्वास्थ्य संगठनको सहयोगमा अल इन्डिया हेल्थ इन्स्टिच्युट अफ ट्रोपिकल मेडिसिन कोलकाता र कोलम्बोको तालिममा गएका पनि हुन्। पछि गएर बालरोग विशेषज्ञ, प्रसूति तथा स्त्री रोग र मानसिक रोग विशेषज्ञको अवसर आयो। उनको रोजाइ इन्टरनल मेडिसिन भए पनि आइलाग्यो, साइकियाट्रिक। नेसनल इन्स्टिच्युट अफ बैङ्लोर गए पोस्ट ग्य्राजुएटका लागि।
यस विषयमा चाख थिएन सुरुमा। तर, १२ वर्ष बितिसकेको थियो। अब त केही गर्नुप¥यो भनेर उनले बाटो तताए। न्युरोलोजीको रुचिले त्यसमा सघायो पनि। बैङ्लोरबाट नफर्कंदैे सिनियर मेडिकल अधिकृतका रुपमा बढुवा भइसकेको थियो उनको।
१२ वर्षे बढुवा पाउँदा उनको दरबन्दी नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा सारिएको रहेछ। मनोचिकित्सकका रुपमा पहिलो उपचार त्यहीँ गरे उनले। १२ वर्षदेखि खोरमा थुनेर राखिएकी दुई छोरीकी आमा तीन, चार महिना लामो उपचार गरेपछि निको भइन्। पतिसँग बजार घुम्न पनि गइन्। त्यो दम्पतीले१० वर्षसम्म उनलाई चिठी पठाइरह्यो। क्रोनिक भइसकेको मनरोगको सफल उपचारले उनको आत्मविश्वास पनि बढ्यो।
अब उनी काठमाडौँमुखी मानसिक स्वास्थ्य सेवालाई मोफसलसम्म विस्तार गर्न चाहन्थे। स्वतन्त्र रुपमा केही नयाँ काम गर्न चाहन्थे। त्यसका लागि उनको रोजाइ थियो, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा। यसरी साइकियाट्रिक सेवालाई काठमाडौँबाहिर लैजाने श्रेय पनि उनैले पाए।
उनको हुटहुटी थियो, समुदायमा कसरी मानसिक स्वास्थ्य सेवा पु¥याउने ? त्यही बेला युनाइटेड मिसन टु नेपालले समुदायमा जनचेतना बढाउन प्रोजेक्ट ल्यायो। उनले स्वास्थ्यकर्मीदेखि झाँक्री र प्रहरीसम्मलाई तालिम दिए उनले। १६ वर्ष त्यहीँ बित्यो। मेडिकल सुपरिटेन्डेन्ट पनि भए। यसबीचमा उनी न्युरोलोजीको कन्फरेन्समा इजरायल पनि पुगे।
डा.कपिलपछि पोखरामा मात्र ११ जना मनोचिकित्सक छन् अहिले। मणिपालमा चार, गण्डकी मेडिकल कलेजमा चार र क्षेत्रीय अस्पतालमा तीन जना। पाटन मानसिक अस्पतालमा आउँदा उनी फस्ट क्लासमा बढुवा भइसकेका थिए। चार वर्ष मानसिक अस्पतालमै बसे। दुई वर्ष निर्देशक भएर काम गरे।
साढे आठ वर्षअगाडि अवकाश लिनु के थियो, संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयले उनलाई स्ट्रेस म्यानेजमेन्ट काउन्सिलरका रुपमा प्रस्ताव ग¥यो। उनले पार्टटाइमरका रुपमा सेवा दिए। त्यसयता उनका धारावाहिक लेख आइरहेका छन्, जीवनलाई कसरी सुखी बनाउने ? तनाव कसरी घटाउने ?
अहिले पनि उनी कम्युनिटी मेन्टल हेल्थ एन्ड काउन्सिलिङ (सिएमसी)का सल्लाहकारका रुपमा क्रियाशील छन्। मानसिक स्वास्थ्य सेवालाई गाउँस्तरसम्म पु¥याउने एकमात्र मिसन छ उनको। उनका स्किजोफ्रेनिया, छारेरोग, हिस्टेरिया र इपिडेमिक हिस्टेरिया अनि डिप्रेसनसम्बन्धी चार पुस्तक प्रकाशित छन्।
‘अहिले सरकारले निःशुल्क गरेका ७२ वटा औषधिमा छारेरोग र मानसिक स्वास्थ्यका तीनवटामात्र छन्,’ अवकाश पाए पनि उनको चिन्ता मानसिक स्वास्थ्यमै छ, ‘अझै पनि स्वास्थ्य मन्त्रालयको प्राथमिकतामा मानसिक स्वास्थ्य सेवा छैन। समाजमा यसका बारेमा रहेका भ्रम चिर्न सकिएको छैन।’
बुटवल अस्पतालमा काम गर्दा नै काठमाडौँ, धोवीधाराकी प्रमिता घिमिरेसँग उनको मागी विवाह भयो। उनका छोरा निरज नेपाल, बुहारी रमिला देवकोटा र कान्छी छोरी मुक्ता शर्मा डाक्टर छन्। जेठी छोरी कविताले एमबिए गरेकी छन्। पाँच नातिनातिना छन् उनका।
आध्यात्मिक रुझान छ डा. कपिलमा। पुस्तक पढ्ने र ठाउँ घुम्ने उनको शोख हो। युवाकालमा उनी ओशोको सम्मोहनमा फसे। ओशोका अडियो क्यासेट र पुस्तक उनीसँग अझै छन्। उनले धेरै पढेको र सुनेकोे चाहिँ ‘अष्टावक्र गीता’ हो।
एकपटक उनी भन्तेसँग ड्रुक अमिताभा माउन्टेन (सेतो गुम्बा) गएका थिए, रिम्पोछेलाई भेट्न। गुरु त बिहानै हरिद्वार हिँडिसकेछन्। त्यसपछि उनी पुगे, महायोगी आचार्य श्रीधर राणा रिम्पोछेकहाँ। २० वर्षदेखि गुफामा बसिरहेका बज्रयानी राणालाई उनले गुरु थापेका छन्। उनी राणाका चेलाचेलीको संस्था व्योम कुसुमाका सदस्य छन्।
बालकोटको रोज भिलेजमा बसिरहेका यी शाकाहारी डाक्टरलाई जीवनमा धेरैले हौसला भरेका छन्। गोपीकृष्ण शर्मा, कृष्णजंग रायमाझी, अमृतप्रसाद प्रधान, प्रोफेसर श्रीनिवास मूर्ति उनका स्कुलदेखि कलेजसम्मका आदरणीय गुरु हुन्। उनलाई के लाग्छ भने जिन्दगी चल्दै जान्छ। यो गर्छु, त्यो गर्छु भनेर भाका राख्ने भन्दा पनि आफ्नो क्षेत्रमा सकेको काम सेवा भावले गर्नु जाती हो।
जीवन सीमित छ। मृत्युको ठेगान छैन। जीवनमा आइपर्ने समस्या अस्थायी छन्। यति थाहा पाएर पनि सार्थक जीवन बिताउनुपर्छ भन्ने हेक्का राख्छन् डा. कपिल। ‘धेरै रिसाउने बानी स्वास्थ्यको शत्रु हो र तनाव बढाउने मुख्य कारण हो,’ उनको सुझाव छ, ‘चिन्ता र डरेले तनाव बढाउँछ।’
उनले बुझेको सत्य के हो भने लाभ र हानि, प्रशंसा र निन्दा, सफलता र असफलता, सुख र दुःख नजिकै हुन्छन्। बेलाबेलामा दुवैलाई स्वीकार गर्नैपर्छ। सुखी जीवन बिताउने सूत्र पनि यही हो। रविशंकरको आर्ट अफ लिभिङका फलोअरसमेत रहिसकेका यी डाक्टरका दृष्टिमा बुद्धभन्दा महान् मनोचिकित्सक संसारमा कोही पनि छैन।
बुद्धले शरीरका कुरा गरेका छैनन्, मनकै मात्र कुरा गरेका छन्। उनका देशनाहरुका आधारमा पश्चिमा लेखकका पुस्तक आएपछि बल्ल हामीकहाँ चर्चा हुन थालेको हो। बुद्धिजमले सिकाउने कुरा यत्ति हो, ‘इट इज द माइन्ड द्याट क्रिएट एभ्रिथिङ, सो माइन्ड इज द सेन्टर अफ एभ्रिथिङ।’
उनी केमा विश्वस्त छन् भने मनलाई तालिम दिने पद्धति बुद्धकै हो। ‘तालिम नपाएको मन जंगली हात्ती जस्तो हो। राम्ररी तालिम दिने हो भने मन पालेको हात्तीजस्तो हुन्छ,’ उनी भन्छन्, ‘पालेको हात्तीले कति सहयोग गर्न सक्छ र जंगली हात्तीले कति आतंक मच्चाउँछ ? तपाईं आफैँ छुट्ट्याउनुस्।’