सेवाका हिसाबले निजी अस्पतालभन्दा कम नहुने, शुल्कका हिसाबले निजी अस्पतालभन्दा महँगो नहुने। कान्छो सरकारी अस्पतालको लाइनमा उभिएको निजामती कर्मचारी (सिभिल) अस्पतालको ‘मोटो’ यही हो । सेवा र शुल्क कति चुस्तदुरुस्त छ भने अस्पताल नाकाबन्दीका बेला समेत ओपिडी बिरामीले भरिभराउ छ ।
साबिक अवस्थामा चार, पाँच सय बिरामी टिकट नपाएर फर्कन्थे । नाकाबन्दीले इन्धन अभावका कारण आउने सबै बिरामीले सेवा पाएका छन् । जनशक्ति र पूर्वाधार हेर्दा अस्पतालले ओपिडीमा सात सय बिरामी हेर्न सक्छ तर तानतुन गर्दा थप एक सय बिरामीले सेवा पाउँछन् ।
यही सरकारी अस्पतालको पृष्ठभूमिमा छन्, डा. विमलकुमार थापा । उनको कुनै क्लिनिक छैन । चौबीसै घन्टा अस्पतालकै सेवामा हाजिर हुन्छन् । निकट भविष्यमै पाँच सय शैयामा विस्तार हुन लागेको सिभिल अस्पताल सञ्चालनमा गरेको दुःखकै कारण उनले कार्यकारी निर्देशकको दोस्रो कार्यकालमा निरन्तरता पाइरहेका छन् । उनी के भन्छन् भने संस्था बनाउने हो भने एक पुस्ताले दुःख गर्नैपर्छ ।
डाक्टर बन्न उनलाई सदैव आफ्ना हजुरबाको उत्प्रेरणा रह्यो । उनले हजुरबाको मुखबाट तारान्तार सुनिरहे, डाक्टरी राम्रो पेशा हो । एकातिर काम हुन्छ, अर्कातिर सेवा । त्यसो त सिन्धुलीमाडीको थापा परिवारमा थुप्रै डाक्टर छन् । डा लोकविक्रम थापा, डा जुन थापा, डा लक्ष्मीविक्रम थापा आदि इत्यादि । तिनकै कारण हजुरबालाई त्यस्तो लागेको र घरेलु वातावरण ‘मेडिकल फ्रेन्डली’ भएको अनुमान छ उनको ।
२०२० सालमा सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीको निम्न–मध्यमवर्गीय किसान परिवारमा जन्मेका थापाले स्थानीय विद्यालयबाटै एसएलसी गरे । त्यतिबेलासम्म उनी घरको परिवेशबाहिर निस्केका थिएनन् । सिन्धुलीमाडीबाट एक दिन हिँडेर पूर्व–पश्चिम महेन्द्र राजमार्गको लालगढ पुगे । त्यसपछि ट्रक चढेर काठमाडौँ आइपुगे ।
त्यतिन्जेल डाक्टर बन्न आइएस्सीभन्दा पनि हेल्थ असिस्टेन्ट (एचए) पढ्ने चलन थियो । त्यसैले पनि अधिकांश पुराना डाक्टर एचए पृष्ठभूमिका भेटिन्छन् । उनले महाराजगन्ज क्याम्पसमा फर्म भरे ०३६ सालमा । सय जनामध्ये उनको नाम तेस्रो नम्बरमै निस्कियो ।
सामान्यतः एचएको पढाइ साढे दुई वर्षमा सकिन्थ्यो । तर, ०३६ सालको जनमत संग्रहका कारण उनको पढाइ ०४० सालमा आएर मात्र सकियो ।
त्यतिबेला शिक्षा मन्त्रालयको छात्रवृत्तिमा एमबिबिएस पढ्ने सौभाग्य सबैलाई सजिलै जुर्थेन । छात्रवृत्तिको कोटा सबभन्दा धेरै रुसबाट आउँथ्यो, त्यसपछि बंगलादेशको ।
दसैँताका तत्कालीन सोभियत संघको खार्कोभ मेडिकल युनिभर्सिटी (हाल युक्रेन) का लागि उनको नाम निस्कियो । अर्को वर्षको जेठ–असारमा बल्ल पढ्न जाने बेला हुन्थ्यो । यस बीचमा सात, आठ महिना त्यसै खेर जान्थ्यो । जागिरका लागि उनले स्वास्थ्य मन्त्रालयमा सम्पर्क गरे । त्यतिबेला जागिरका लागि दरखास्त दिए पुग्थ्यो । पश्चिम रोल्पाको स्वास्थ्य चौकीमा उनको पोस्टिङ भयो ।
प्युठानतिरका साथीले के सुनाए भने, ‘त्यो ठाउँ त धेरै दुर्गम छ । गाउँ छाडेर कहीँ नगएको मान्छेलाई अलि गाह्रो हुन्छ ।’ संयोगवश चिकित्साशास्त्र अध्ययन संस्थानका सहायक डिनसँग भेट भयो । तिनैले वीरगन्जमा सहायक प्रशिक्षकका रुपमा पठाउने चाँजोपाँजो मिलाइदिए ।
थापासँग खार्कोभ जाने टुकडीमा अहिलेका डा. हरिहर खनाल र डा. सरोजा कार्की (पाण्डे) पनि थिए । डा भगवान कोइराला पनि त्यहीँ पढ्थे । पाँचौँ तलामा उनीहरु बस्थे भने डा भगवान सातौँ तलामा । एमबिबिएस तेस्रो वर्षमा उनको रुझान सर्जरीतिर ढल्कँदै गयो । उनले आफ्नै इच्छामा त्यहीँको अस्पतालमा नाइट ड्युटी गरे ।
नेपालमा एउटा सर्जनले टाउकोदेखि खुट्टासम्मको जानकारी लिनुपथ्र्यो । त्यहाँ त न्युरो सर्जरी, पेट, नसा, भास्कुलर, हर्नियाका बेग्लाबेग्लै सर्जन रहेछन् । यही क्रममा केही प्राविधिक सहयोग गर्दा प्रसूति व्यथाले छटपटाइरहेका महिलाहरुले ठूलो राहत अनुभव गरेको देखे उनले । त्यसपछि उनले यसमै अगाडि बढ्ने निश्चय गरे ।
डा थापाको लगाव देखेर सात वर्षको पढाइ सकिने बेला प्रोफेसरले त्यहीँ प्रसूति तथा स्त्री रोगमा पोस्ट ग्य्राजुएसनका लागि अफर गरे । उनले तत्काल स्वीकार गरेनन् । उनले भनेछन्, ‘यहाँको सेवा विकसित देशको सेवा हो, मेरो देशको सेवा फरक छ । म पहिले आफ्नै देशको अनुभव लिएर आउँछु ।’ प्रोफेसरले तत्कालै ‘रिकमन्डेसन लेटर’ दिए ।
डा थापा फर्किंदा ०४८ सालको माहोल थियो मुलुकमा । उनको मिसन प्रसूतिसम्बन्धी विज्ञ बन्नु थियो । उनी सीधै पुगे प्रसूति गृह थापाथली । त्यहाँकी निर्देशकको मुखबाट के सुने भने ‘सिर्फ एमबिबिएस गरेर कहाँ हुन्छ ? यहाँ काम गर्न मिल्दैन ।’
डा. थापा सजिलै निराश हुनेवाला थिएनन् । उनले बरु भोलुन्टियर गर्छु भने । त्यसपछि बल्लउनलाई प्लेटफर्म मिल्यो । भोलुन्टियर काम गरेको पाँच महिनामै अस्पताल प्रशासन प्रभावित भयो र सुरु महिनादेखिकै ३ हजार १ सय ५० रुपियाँ मासिक तलब पाउने गरी करार नियुक्ति पाए ।
काममा समर्पण कस्तो भने हप्ताको ६ दिन डा. थापा अस्पतालमै हुन्थे । हजुरबा खस्दा समेत अस्पताललाई थाहा नदिई काम गरे । आठौँ दिन जानकारी दिएर दसौँ दिन घर पुगे । उनलाई लागिरह्यो– हजुरबाको असली श्रद्धा त बिरामीलाई सेवा दिएर हुन्छ !
डा थापाले एक वर्ष नौ महिनामा एक दिन पनि छुट्टी लिएनछन् । यसरी समय बितेको देखेर उनी झस्किए एकपल्ट । अब डिग्री पनि त चाहियो ! अब छुट्टी पनि चाहियो !
उनलाई बेलायतको रोयल कलेज अफ अब्स्ट्रेसियन्स एन्ड गाइनोकालोजिस्टस् (एमआरसिओजी) को परीक्षा दिनु थियो । अरुले एक वर्षको तयारी गरेका थिए, उनीसँग समय थियो जम्मा दुई महिना । प्रसूति गृहकी बोस डा दिव्यश्वरी मल्ल उनले परीक्षा तयारीका लागि छुट्टी लिन लागेको थाहा पाएर औधी खुसी भइन् ।
तिनताका एमआरसिओजीको परीक्षा केन्द्र थियो, नेपाल । भारतलगायत मुलुकका डाक्टर यहाँ जाँच दिन आउँथे । एक दिन एमआरसिओजीकी कोअर्डिनेटर डा दिव्यश्वरीको फोन आयो, ‘डाक्टर विमल कन्ग्य्राचुलेसन !’ त्यस वर्ष नेपालबाट डा. सानुमैयाँ श्रेष्ठ र उनको मात्र छनोट भयो ।
त्यसपछि उनले चिकित्साशास्त्र अध्ययन संस्थानबाट पोस्ट ग्य्राजुएसन गरे । लोक सेवा पनि दिए । उनको पदस्थापन भयो, बझाङ । नेपालगन्जबाट बसमा जस्तो भीडभाड गरेर रोयल नेपाल एयरलाइन्स (आरएनएसी)को जहाजमा चैनपुर अस्पताल पुगे ।
अस्पताल नाम मात्र थियो । सामान्य स्टुल समेत परीक्षण नहुने, औजार सबै खिया लागिसकेका । त्यस्तो ठाउँमा गएर उनले हाइड्रोसिलको अपरेसन गरिदिए । हातखुट्टा भाँच्चिएका बिरामीलाई बिहान आएको छ भने बेलुकी, बेलुकी आएको छ भने बिहान ६ घन्टा खाली पेट राखेर प्लास्टर गरिदिए । राम्रो हात तानेर प्लास्टर गरेपछि भनेछन्, ‘कस्तो डाक्टर ! पहिलेका डाक्टर त आउनासाथ प्लास्टर गरिदिन्थे । खाली पेट पनि राख्दैनथे ।’
डा थापाले उपचारका लागि डाँडा काटेर जान नसक्ने बिरामीको सेवामा आफ्नो सम्पूर्ण ज्ञान र विवेक खर्चिए । स्वास्थ्य विभागका तत्कालीन महानिर्देशक डा. कल्याणराज पाण्डेले उनलाई हाजिर गरेर फर्कन भनेका थिए । तर, उनले त्यहाँ ६ महिना सजिलै बिताइदिए । उनी आफ्नो सीप पूर्व मेचीदेखि महाकालीसम्म जहाँ भए पनि पोख्न तम्तयार थिए ।
यसैबीचमा शिक्षण अस्पतालकी प्रसूति विभाग प्रमुख डा. रीता मानन्धरले झपारिन्, ‘जिल्लामा गएर आफ्नो सीप खत्तम बनाउने ? अब यहीँ काम गर ।’ डा. मानन्धरले भनेबमोजिम उनले अस्पतालका निर्देशक डा गोविन्द शर्माकहाँ निवेदन दिए । तत्कालै कार्यान्वयन भइहाल्यो ।
शिक्षण अस्पतालमा काम गर्दागर्दै बेलायत जाने बेला भइहाल्यो । सामान्यतः एक महिनाअगाडि राजीनामा दिए हुन्थ्यो । उनले डेढ महिनाअगावै दिए । त्यही बेला जापानी सहयोगमा बुटवलमा सिद्धार्थ बाल तथा महिला अस्पताल सुरु भयो । जाइकाका मेडिकल एक्सपर्ट प्रोफेसर ताकासी यामागुजीले उनलाई भने, ‘हामीलाई हेल्प गर । एमआरसिओजी ६ महिनापछि गए पनि हुन्छ ।’
आम्दा सदस्यहरुको अनुरोधले उनलाई घोचिरह्यो । बुटवलमा गाइनो तथा अब्स्ट्रिक विभाग खोल्ने लोभ पनि लागिरह्यो । त्यहाँ गएको तीन, चार महिनापछि नै जापानी काउन्टरपार्टले अस्पताल निर्देशकको प्रस्ताव गरे । बेलायत जाने मान्छे कहाँ निर्देशक बन्ने भनेर निमित्त मात्र स्वीकारे उनले । उनले सम्हाल्नासाथ अस्पताल चालू खर्चमा आत्मनिर्भर भइहाल्यो ।
पश्चिमी क्षेत्रका रोल्पा, रुकुम, अर्घाखाँची, प्युठानलगायत १८ जिल्लाका महिला तथा बालबालिकाको उपचारमा कहलियो अस्पताल । गर्बुजा थरका एक अवकाशप्राप्त ब्रिटिस आर्मीले आफ्नो छोरीको तेर्साे परेको, आधा खुलिसकेका पाठेघर, पानीफोका फुटेकी छोरी र बच्चाको ज्यान डा थापाले बँचाइदिएपछि खुलेआम भन्न थालेछन्, ‘सिद्धबाबा किन जान्छौ ? सिद्धार्थ अस्पताल जाऊ ।’
हुन पनि सिद्धार्थ अस्पतालमा उनको टिम एक किलोका धेरै शिशु बचाउन सफल भयो । यसरी बिरामीको उपचारमा जुट्दाजुट्दै साढे सात वर्ष बितेको उनलाई पत्तै भएन । बेलायतको अवसर त कता बिसाए, कता । ‘वास्तवमा म बेलायत नगएकोमा एकदमै खुसी छु,’ उनी भन्छन्, ‘त्यहाँ गएको भए म समुद्रमा एक थोपा पानीमात्र हुन्थेँ । यहाँ हजारौँलाई सेवा दिन पाएको छु ।’
पैसालाई डा. थापाले कहिल्यै प्राथमिकतामा राखेनन् । ‘सेवाले दिने आन्तरिक आनन्दका अगाडि पैसाको तुलना पनि हुन सक्दैन,’ उनी भन्छन्, ‘मैले चाहेको भए बुटवलमै क्लिनिकमा महिनाको दस लाख सजिलै कमाउन सक्थे ।’
उनले पैसा हेरेनन्, संस्था हेरे । बुटवलमा बोस पनि उनै थिए, कामदार पनि आफैँ । त्यसले उनलाई परिपक्व बनाइदियो । बिरामीको दुःख उनलाई जहिल्यै आफ्नैजस्तो लाग्छ । भोकनिद्रा नभनीकन आफ्ना बिरामीलाई, आमा, दिदीबहिनीजस्तो केयर गर्न मन लाग्छ ।
बुटवलको जिम्मेवारी सकिएपछि काठमाडौँ आए डा. थापा । उनले आफ्नो पाठेघरको ट्युमर अपरेसन गरेपछि एक महिला ब्युरोक्र्याट निकै प्रभावित भइछन् र निजामती कर्मचारी अस्पतालका लागि बुटवलको अनुभवबारे जानकारी लिइछन् ।
उनलाई थाहा थियो– सरकारी अस्पताल चलाउन सजिलो छैन । सामग्री खरिद र पदपूर्ति प्रकरणले त्यत्तिकै लफडा निम्ताइदिन्छन् । त्यसैले उनले दुईपटकसम्म निजामती अस्पतालको कार्यकारी निर्देशक बन्ने प्रस्ताव लत्याए ।
अर्को पटक फेरि मन्त्रीले बोलाए । उनले ठाडै सर्त राखे, ‘एक– म आर्थिक सहयोग गर्न सक्दिनँ । दुई– म पदपूर्तिमा कसैसँग सम्झौता गर्दिनँ ।’
उनको सर्तमा मन्त्री राजी भए र ‘चार, पाँच दिनमा प्रस्ताव ल्याऊ’ भने । सेना र प्रहरीको अस्पतालका बारेमा बुझ्दै थिए, प्रस्ताव लेखेका थिएनन् । फेरि मन्त्रीको फोन आयो, ‘तपाईंले त प्रस्ताव पनि ल्याउनु भएन, फोन पनि गर्नुभएन । अन्ततः उनले सानो प्रस्ताव मन्त्रीकहाँ बुझाए ।’
साँझ काठमाडौँ मोडल अस्पताल भृकुटीमण्डपको इभिनिङ ड्युटी सकेर हिँड्दै थापागाउँ पुगेका के थिए, सैनिक अस्पतालका पूर्व निर्देशकले फोनमा भने, ‘लौ डाक्टर साब, बधाई छ !’
रेडियोले फुकिसकेछ, ‘निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा डा विमल थापाको नियुक्ति ।’ त्यो प्रसंग हो ०६५ को । अस्पतालको भवन थियो, सामान थियो । कर्मचारी शून्य । त्यसका लागि २१ विशेषज्ञ चाहिने भयो । २८ दरखास्त प¥यो । डा थापाको टिमले जम्मा तीन जनाको छनोट ग¥यो । समस्या के भने खोजेजस्तो डाक्टर आउनै नचाहने । बेलुकी आफ्नो पाकेटको खर्च गरेर रेस्टुराँमा बोलाएर डाक्टरलाई कन्भिन्स समेत गराउनु प¥यो ।
अस्पताल विकास समितिले लोकसेवा आयोगका पदपूर्ति विज्ञलाई पर्यवेक्षक आमन्त्रित गरेर विशेषज्ञ छनोट ग¥यो । तीन विशेषज्ञ लिएर चैत १६ मा ओपिडीबाट सुरु भयो अस्पताल । अहिले हरेक विभागमा एकसे एक डाक्टर छन् । ५६ विशेषज्ञ पूर्णकालीन छन् भने आठ विशेषज्ञ आंशिक । सरसरफाइ र सुरक्षा कर्मचारी आउटसोर्सिङमा छन् । जम्माजम्मी ३ सय २४ कर्मचारी छन् अस्पतालमा ।
खरिद प्रक्रिया सीधै इ–बिडिङमा गयो । १ सय ३२ बेडको अस्पताल तानतुन गरेर १ सय ५० सम्म पुगेको छ । रगतका रोगीका लागि क्लिनिकल हेमाटोलोजी, क्यान्सर रोगीको डायग्नोसिसका लागि क्रोमोजोम अध्ययन यस अस्पतालको नवीनतम सेवा हो । निजामती कर्मचारी अस्पताल अब बोनम्यारो प्रत्यारोपणको चरणमा छ । स्टिमसेल ल्याब, मोलिक्युलर ल्याब समेत तयारी हालतमा छन् । इन्धन अभावका कारण सञ्चालनमा आउन सकेको छैन ।
दुई वर्षयता अस्पताल चालू खर्चमा आन्तरिक स्रोतमै निर्भर भएको छ । सरकारले दिने भनेको भवन, सामग्रीलगायतका लागि पुँजीगत खर्चमात्र हो । विशेषज्ञले ‘पर्फर्मेन्स बेस्ट इन्सेन्टिभ’ पाउँछन् । तर, नाडी छामेको हिसाबमा होइन । बिरामीलाई निश्चित समय दिनैपर्छ । कसैको तोकआदेशमा अस्पतालले डिस्काउन्ट दिँदैन ।
६५ रोपनी क्षेत्रफलमा फैलिएको अस्पतालमा तीनवटा मुख्य भवन छन् । निकट भविष्यमै नेसनल एकेडेमी अफ मेडिकल साइन्स, वीर अस्पताल (नाम्स)को पोस्ट ग्य्राजुएट (पिजी) र एमडीएमएस इन्स्टिच्युटका रुपमा विकसित हुन लागेको छ । निजामती किताबखानामा दर्ताबाहेकले छुट सुविधा पाउँदैनन् ।
डा. थापाले कस्तो छवि बनाएका छन् भने भनसुन, तोकआदेश, फोन गर्दैनन् । यस बीचको साढे ६ वर्षको कार्यकालमा उनले १० मन्त्री झेलिसकेका छन् । सुरुका मन्त्रीले ०६६ माघ ७ गते मान्छे भर्ती र आर्थिक सहयोग नगरेकाले उनलाई ठाडो आदेशमा हटाए पनि । तर, एक महिनामै सर्वोच्च अदालतले पुनर्बहाली गरिदियो । मन्त्रीको साटो मुख्यसचिव पदेन अध्यक्ष हुने गरी विकास समिति बनेपछि त्यो समस्या हटेको उनको अनुभव छ । अस्पतालको सफलताबाट दाता चिनियाँ सरकार पनि सकारात्मक छ ।
अस्पताल सञ्चालनका लागि उनी २० चोटिसम्म धुलिखेल अस्पताल पुगेका छन् । सबभन्दा उत्तम भेन्टिलेटर खरिदका निम्ति घरी घरी धुलिखेल, वीर, ओम, गंगालाल पुगेका छन् । अस्पताल व्यवस्थापनमा उनी डा. भगवान कोइरालालाई गुरु मान्छन् । उनले सिक्ने मौका पनि पाएका छन् ।
खेलकुदमा उनको रुचि छ । एमबिबिएस पढढ्दा डा भगवानसँग ब्याडमिन्टन खेलेको उनलाई सम्झना छ । फुटबलमा जिल्लास्तरीय र भलिबलमा अञ्चलस्तरीय प्रतिस्पर्धा गरेका छन् उनले । संगीतमा पनि उनको शोख फैलिएको छ । गितार, बाँसुरी उनका प्रिय बाजा हुन् । बच्चुकैलाश, मास्टर रत्नदास प्रकाश, नारायण गोपालका गीत सुन्न मनपराउँछन् ।
ज्यादै व्यस्त छ उनको दैनिकी । दस र आठ वर्षका दुई छोरा घरमा उनलाई भेट्दा दंग पर्छन् ‘आज त ड्याडीसँग भेट भयो’ भनेर । नत्र बेलुकी घर पुग्दा उनीहरु सुतिसकेका हुन्छन्, बिहान हिँड्दा उनीहरु उठेकै हुन्नन् ।
कामको व्यस्तताले उनले समयमै बिहे गर्न पनि भ्याएनन् । कतिसम्म भने बुबाआमाले कुरा ल्याउँदा पनि समय दिन सकेनन् । आफ्नो विहेका लागि २०५९ चैत २६ को एउटा दुर्घटनालाई श्रेय दिन्छन् डा थापा ।
भएको के थियो दुई जापानीसहित उनी दमकको आम्दा अस्पतालको निरीक्षणका लागि बुटवल हिँडेका थिए । लहान पूर्व पुग्दा उनीहरु सवार जिपलाई पूर्वबाट आएको बसले हानिदियो । उपचारका लागि काठमाडौँ आउनुप¥यो । त्यही सिलसिलामा फुर्सद भयो र उनकी भाइबुहारीले वानेश्वरकी डा. प्रसूना ढकालको प्रस्ताव ल्याइन् । अन्ततः ११ वर्ष कान्छी दन्तरोग विशेषज्ञ प्रसूनासँग उनको घरजम भयो ४० वर्षको उमेरमा ।
चप्पल लगाएर, भैँसी हेरेर, गोठाले जीवन बिताएका हुन् उनले । भाडा सस्तो हुन्छ भनेर एउटै कोठामा तीन जना कोचिएर बसेका छन् । पाँच, सात तले घर, पजेरो उनको महत्वाकांक्षा होइनन् । फाइभ स्टार होटलका परिकारभन्दा उनलाई लक्ष्मी भाउजूको पसलमा खाँदा आनन्द लाग्छ । सडकमा चिया खाँदा, टेम्पोमा यात्रा गर्दा पाउने आनन्द कहाँ छ ?
दिनको १५ सय जवान खाडी मुलुक गइरहेका छन् । सिर्फ दुई छाक खानका लागि । पहाड र तराईका जमिन बाँझो छन् । करोडौँको गेडागुडी बाहिरबाट आउँछ, अर्बौंको मासु बाहिरबाट आउँछ । त्यसैले अब अर्गानिक फार्मिङ गर्न मन लागेको छ ।
‘मलाई डाक्टर बनाएको मेरो देशले हो । बुबाको जम्मा दुई हजार खर्च भयो, त्यो पनि डलर साट्नलाई । अब मैले देशलाई दिनुपर्छ,’ उनलाई लाग्छ, ‘पैसा के गर्न मिल्छ ? खान, ओड्न, ओछ्याउन या सुत्न ? करोडौँ कमाएर छोरालाई ड्रगिस्ट बनाउने ? हामीले त सबैलाई संघर्ष गर्न सिकाउने ।’