काठमाडौं - धादिङकी एक महिलाले पहिलो सन्तान जन्माइन्, तर स्तनपान गराइनन्। उनले फर्मुला मिल्क अर्थात् प्याकेटको दूध शिशुलाई खुवाइन्। एउटी शिक्षित महिलालाई स्तनपानको महत्वबारे थाहा नहुने कुरै थिएन। तर शरीर बिग्रने डरले उनले स्तनपान नगराएकी थिइन्। उनी मात्र होइन, उनका श्रीमान् पनि स्तनपान शिशुलाई नगराउने पक्षमै थिए।
भर्खरै जन्मिएको शिशुलाई स्तनपान नगराउनु उनको बाध्यता नभई रोजाइ थियो। तर कतिपय महिला भने आत्मविश्वासको कमीका कारण स्तनपान गराउँदैनन्।
चितवनकी एक महिला तिनैमध्ये एक हुन्। उनको पहिलो सन्तान शल्यक्रियामार्फत जन्मियो। तर उनले बच्चालाई स्तनपान गराइनन्। फर्मुला मिल्क नै खुवाइन्।
उनले भनिन्, ‘अपरेसन भएकाले एक/दुई दिनसम्म दूध खुवाउनै अप्ठ्यारो भयो। त्यसैले बट्टाको दूध खुवाएँ।’
सुरुमा त उनलाई आफ्नो दूध आउँछ भन्नेमै पनि आत्मविश्वास थिएन। सुरुको केही दिनमो दूध आएन पनि। तर पछि खुवाउन लाग्दा छोरीले दूध खान मानिनन्। उनी पनि कामकाजी महिला हुन्। छोरीलाई घरमै छोडेर कार्यालय जानुपर्ने भएकाले बट्टाको दूध नै सजिलो लाग्यो। उनकी छोरी कृत्रिम पाउडर दूध अर्थात् फर्मुला मिल्कै भरमा हुर्किइन्।
‘सुरुमा दूध आएन। बट्टाको दूध खुवाउन थालेपछि छोरीले मेरो दूध खान मानिनँ। मेरो अफिस पनि सुरु भयो। छोरी यही बट्टाको दूधमै हुर्किइ,’ उनले भनिन्।
वर्षेनी घट्दै स्तनपान गराउने आमाको संख्या
शिशुको वृद्धि विकासका लागि स्तनपान अति आवश्यक भए पनि स्तनपान गराउने आमाहरुको संख्या घटिरहेको छ। कोही रहरले स्तनपान गराउँदैनन् त कोही बाध्यताले। माथि प्रस्तुत गरिएका पात्र यसैका उदाहरण हुन्।
स्तनपान शिशुको लागि अमृत समान मानिन्छ। अहिले महिलाहरु सन्तान जन्माउन त चाहन्छन् तर शरीर बिग्रने डरले स्तनपान गराउँदैनन्।
शिशु जन्मिएको दुई वर्षसम्म स्तनपान अनिवार्य मानिन्छ। पहिलो ६ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउनुपर्छ। उक्त अवधिमा आमाको दूध बाहेक शिशुलाई पानीको पनि आवश्यकता पर्दैन। जसलाई एक्सक्लुसिभ ब्रेस्ट फिडिङ भनिन्छ। तर यही एक्सक्लुसिभ बे्रस्ट फिडिङ गराउने आमाहरुको संख्या नै घटेको छ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ ले हालै सार्वजनिक गरेको अध्ययन रिपोर्टले एक्सक्लुसिभ बे्रस्ट फिडिङ गर्ने आमाको संख्या ५६ प्रतिशत मात्र देखाएको छ। जुन २०१६ को भन्दा १० भन्दा कम हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक पाँच वर्षमा गर्ने सर्वेक्षणमा एक्सक्लुसिभ स्तनपान गराउने आमाको संख्या घट्दै गएको छ। यो संख्या हालसम्म पनि ७५ प्रतिशतभन्दा माथि उठ्न सकेको छैन।
सन् १९९६ मा एक्सक्लुसिभ स्तनपान गराउने आमाको संख्या ७५ प्रतिशत थियो। जुन ७ प्रतिशतले घट्दै सन् २००१ मा ६८ प्रतिशतमा झरेको थियो। सन् २००६ मा त झन् १५ प्रतिशतले घट्दै यो संख्या ५३ प्रतिशतमा पुगेको थियो। सन् २०११ मा बढेर ७० प्रतिशत पुगेको संख्या त्यसपछि पुनः घट्दै गएको सर्वेक्षणले देखाएको छ। २०१६ मा ६६ प्रतिशत रहेको संख्या अहिले ५६ प्रतिशत मात्र छ।
परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखा प्रमुख लीलाविक्रम थापा आधुनिकता, सामाजिक सञ्जालको असर, आमाको दूधलाई प्रतिष्ठान गर्ने वस्तुको उपलब्धता र शरीर बिग्रने डरका कारण स्तनपान गराउने महिलाको संख्या घटेको बताउँछन्। कतिपय महिला स्तनपानको महत्वबारे जानकार हुँदाहुँदै पनि सहजताका लागि स्तनपानभन्दा फर्मुला मिल्कतर्फ बढी झुकाव देखिएको उनले बताए।
सुध्रिएको पोषणलाई घट्दो स्तनपानले बढाउने चिन्ता
बालबालिकाको वृद्धि विकासका लागि पोषण सबैभन्दा महत्वपूर्ण पाटो हो। सही पोषणयुक्त खानाको अभावमा बालबालिकामा कुपोषण लगायतको स्वास्थ्य समस्या देखा पर्छ।
हाल नेपालमा पाँच वर्षमुनिका बालबालिकामा पोषणको अवस्था सुधार हुँदै गएको छ। पछिल्लो २६ वर्षमा पुड्कोपन, कम तौल र मोटोपनामा सुधार आएको छ। सन् २०२२ को एनडीएचएसको सर्वेक्षण अनुसार हाल पुड्कोपन २५, कम तौल ८ र मोटोपनाको समस्या १ प्रतिशत मात्र छ। यसअघि २०१६ मा पुड्कोपन ३६, कम तौल ८ र मोटोपनाको समस्या १ प्रतिशत थियो।
तर, सुध्रिँदै गएको पोषणको अवस्थालाई घट्दो स्तनपानले पुनः बिगार्ने पो हो कि भन्ने सरोकारवालाको चिन्ता छ। पोषण शाखा प्रमुख थापा स्तनपान गराउने महिलाको संख्या घटिरहँदा कुपोषणको समस्या बढ्ने सम्भावना बढी हुने बताउँछन्। शिशु चाहिने आवश्यक पोषक तत्व आमाको दूधबाट नपाउँदा कुपोषणको समस्या बढ्ने उनको चिन्ता छ। स्तनपान गराउनको संख्या घटिरहँदा सुधार आएको पोषणको यो ग्राफ बढ्न सक्ने उनी बताउँछन्। थापा भन्छन्, ‘स्तनपान घट्नु भनेको बच्चामा कुपोषणको समस्या झनै बढ्ने सम्भावना बढ्नु हो।’
घट्दो स्तनपानको संख्या बढाउन राष्ट्रिय पोषणको रणनीति अनुसार स्वास्थ्यकर्मीमार्फत जनचेतना बढाउने, कामकाजी महिलाका लागि कार्यालयहरुमा स्तनपान कक्ष निर्माण गर्ने काम गरेको उनले बताए। एउटा स्तनपान कक्ष निर्माणका लागि एकदेखि डेढ लाख बजेट उपलब्ध गराउने गरेको उनले जानकारी दिए। आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री वितरणलाई रोक्न संघ, प्रदेश र स्थानीय तहमा अभिमुखीकरण गरिएको थापाले बताए।
‘सिकाउने कुरा, परामर्श गर्ने, सुसूचित गर्ने कुरा अझै पनि बढाउनुपर्ने देखिन्छ। उनले भने, ‘बालबालिकाको ८० प्रतिशत वृद्धि विकास दुई वर्षभित्र हुन्छ भन्छौं। यदि स्तनपान नै कम हुँदै गयो भने बच्चामा विभिन्न रोगको सम्भावना बढ्छ।’
तुलनात्मक रुपमा स्तनपान गर्नेभन्दा कृत्रिम दूध खाने बालबालिकामा नसर्ने रोगको जोखिम बढी हुने उनले बताए। स्तनपानलाई प्रवद्र्धन गर्न थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा स्थानमा गरिएको दुग्ध बैंकलाई देशभरका अन्य अस्पतालमा पनि स्थापना गर्ने योजना बनाइएको उनले बताए।
‘प्रसूति गृहमा सुरु भएको दुग्ध बैंक हाम्रो लागि सिकाइ हो। त्यहाँको सिकाइको आधारमा अन्य संघीय अस्पतालमा कसरी लैजान सकिन्छ भनेर सोचेका छौँ। यति वटा अस्पतालमा भनेर अहिले तोकिएको छैन। तर योजना बनाएका छौँ,’ उनले भने।
आमाको दूध बालबालिकाका लागि पूर्ण आहार
आमाको गर्भदेखि नै शिशुको वृद्धि विकास सुरु हुन्छ। र, शिशुको सही वृद्धि विकासका लागि स्तनपान महत्वपूर्ण हुन्छ।
परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालकी बाल रोग विशेषज्ञ एवं नवजात शिशु विभागीय प्रमुख डा कल्पना उपाध्याय सुवेदी आमाको दूध एउटा बच्चाको लागि पूर्ण भएको बताउँछिन्। अमृत समान मानिने आमाको दूधले बच्चालाई वृद्धि विकासमा सघाउँछ भने विभिन्न रोग लाग्नबाट समेत बचाउँछ।
उनी भन्छिन्, ‘बच्चालाई चाहिने सम्पूर्ण पौष्टिक तत्वहरु आमाको दूधमा हुन्छ। ती पौष्टिक तत्वहरु बच्चालाई चाहिने मात्रामा हुन्छ।’
गाई–भैंसीको दूधमा पाइने प्रोटिन बच्चाको मिर्गौलाले पचाउन नसक्ने हुन सक्छ। तर आमाको दूधमा भएको प्रोटिनलाई बच्चाले पचाउन सक्ने खालको हुने उनी बताउँछिन्। ६ महिनासम्म आमाको दूध मात्र खाएको बच्चा अन्य बच्चाहरुको तुलनामा स्वस्थ हुनुका साथै अन्य नसर्ने रोगको जोखिम पनि कम हुने गरेको उनले बताइन्।
निमोनिया, झाडापखाला, कानको संक्रमणको समस्या आमाको दूध खाएको बच्चाहरुमा कम हुन्छ। यी रोगसँगै कुपोषणको समस्या पनि घटाउँछ। दीर्घकालीन रुपमा हुने उच्च रक्तचाप, मधुमेहको जोखिम पनि कम हुने सुवेदी बताउँछिन्।
स्तनपानले बच्चासँगै आमालाई पनि फाइदा गर्ने बताउँदै उनले भनिन्, ‘६ महिनासम्म एक्सक्लुसिभ स्तनपान गराउँदा गर्भ रहने सम्भावना कम हुन्छ। स्तन क्यान्सर, डिम्बासयमा हुने क्यान्सरबाट पनि बचाउँछ। पोष्टपार्टम साइकोसिसको समस्या पनि स्तनपानले बचाउँछ।’
स्तनपानले शारीरिक सौन्दर्यता घटाउने नभई अझ बढाउने उनले बताइन्। उनका अनुसार स्तनपानले शरीरको तौल घटाउन पनि सहयोग गर्छ।
कतिपय महिलाले दूध नपुगेको भन्दै त कतिले शारीरिक बनावट बिग्रने डरले पनि फर्मुला मिल्कको प्रयोग गरिरहेका छन्। तर बच्चालाई आमाको दूध नै खुवाउन उनको सुझाव छ। उनका अनुसार हेर्दा शरीर हृष्टपुष्ट देखिए पनि आमाको दूधभन्दा फर्मुला मिल्क खाने शिशु तुलनात्मक रुपमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ। बालबालिका अत्यधिक मोटो हुनु पनि कुपोषण हो। फर्मुला मिल्कले बालबालिकालाई मोटोपनाको समस्या पनि निम्त्याएको उनी बताउँछिन्।
‘बट्टाको दूधमा आमाको दूधमा पाउने रोगसँग लड्ने क्षमता हुँदैन। यो क्षमता बाँचेका सेलहरुमा मात्र हुन्छ। आमाको दूध जस्तै बनाउन कोसिस गरिए पनि बट्टाको दूधमा सबै मात्रा मिलेको हुँदैन,’ सुवेदीले भनिन्। सरसफाइमा ध्यान नदिँदा बट्टाको दूधमार्फत बालबालिकामा संक्रमणको सम्भावना पनि हुन्छ।
जति सक्दो छिटो स्तनपान गराउँदा राम्रो
बच्चा जन्मिएको एक घण्टाभित्र स्तनपान गराउनुपर्ने भनिन्छ। तर जतिसक्दो छिटो स्तनपान गराउनु सबैभन्दा उत्तम हो। बच्चाले जति दूध खायो त्यति नै आमाको दूध बढी आउँछ। तर आमाको दूध आउँदै नआउने भन्ने हुँदैन। जति आउँछ, त्यति नै दूध खुवाउनुपर्ने डा सुवेदी बताउँछिन्।
दिन र रात गरी ८ देखि १२ पटकसम्म स्तनपान गराउनुपर्छ। हरेक पटक कम्तीमा २० देखि ४० मिनेटसम्म खुवाउनुपर्छ। कुनै बेला बच्चाले एक दुई पटक दूध तानेर छाड्न पनि सक्छ। त्यसैले समय लिएर स्तनपान गराउनुपर्छ।
शिशु भोकाएको बेलामा वा दुई/दुई घण्टाको फरकमा स्तनपान गराउनुपर्छ। बच्चा जति सानो भयो, उसलाई शक्ति बढी चाहिन्छ। तर उसले एकै पटक धेरै खान सक्दैन। धेरै सानो र समय अगावै जन्मिएको बच्चालाई दुई/दुई घण्टा भनिएको हो। समय पुगेर जन्मिएको बच्चालाई तीन घण्टाको फरकमा खुवाउँदा हुन्छ।
यो भन्दैमा घण्टा हेरेर दूध खुवाउने होइन। बच्चाले मागे अनुसार, भोकाए अनुसार आमाले दूध खुवाउनु पर्छ। उनी भन्छिन्, ‘बच्चाले राम्रोसँग खाएको छ भने उसलाई २/३ घण्टासम्म पुग्छ। त्यो बच्चा अनुसार पनि हुन्छ। उसलाई भोक लागेको छ भने उठेर दूध खोजेजस्तो गर्छ।’
स्तनपान गराउँदा आमाले सही तरिकाबारे जान्नुपर्ने उनले बताइन्। बच्चालाई आफूतिर फर्काउने, बच्चाको पेट आफ्नो पेटसँग छुवाउने र स्तनको कालो भाग पूरै मुखभित्र पसाएर मात्र स्तनपान गराउनुपर्छ।
अगाडि आउने र पछि आउने दूधमा पनि फरक हुन्छ। आमाले खुवाउन सुरु गरेको दूधमा प्रोटिनको मात्रा बढी हुन्छ। जसले बच्चालाई बढ्न मद्दत गर्छ भने पछि आउने दूधमा फ्याट अर्थात् बोसोको मात्रा बढी हुन्छ। यसले बच्चालाई शक्ति र सन्तुष्टि मिल्ने उनले बताइन्।
शल्यक्रिया गरेको आमाले स्तनपान गराउन नमिल्ने पनि भ्रम छन्। तर शल्यक्रिया गरेका आमाले पनि स्तनपान गराउन मिल्ने डा सुवेदीले बताइन्। हुन त स्तनपान सबै आमाले गराउन मिल्छ तर केही विशेष परिस्थितिमा भने स्तनपान गराउन मिल्दैन। एन्टी साइकोट्रिक औषधि खाएका, स्तन क्यान्सर भएका आमाले स्तनपान गराउन नमिल्ने उनले बताइन्। आमाको दूध पचाउन सक्ने क्षमता नभएका बालबालिकालाई पनि स्तनपान गराउन नहुने उनले बताइन्।
कामकाजी काममा जानुभन्दा अगाडि बोतलमा निचोरेर पनि राख्न सक्ने उनी सुझाउँछिन्। कोठाको तापक्रममा राखेको दूध ६ घण्टा र फ्रिजमा राखेको दूध २४ घण्टासम्म खुवाउन मिल्ने डा सुवेदीले बताइन्।