काठमाडौं- मनोविद्को रुपमा चिनिएको नाम हो, करुणा कुँवर। बिरामीको समस्या सुनिदिने र परामर्श गर्ने उनको काम हो।
यो क्षेत्रलाई उनले आफ्नो २० वर्ष दिएकी छिन्। यो २० वर्षको यात्रा तय गर्न उनको लागि सहज थिएन। सामाजिक र पारिवारिक चुनौतीहरु धेरै आए। तर आफ्नो सपनाको उडान भरेकी करुणालाई न त सामाजिक दृष्टिकोणले रोक्न सक्यो न पारिवारिक चुनौतीले छेक्यो।
साइकोलोजी अर्थात् मनोविज्ञानको क्षेत्रमा केही गर्ने अठोट र सपनाका साथ उनी सक्रिय छिन्। सहारा परामर्श केन्द्रबाट सन् २००३ मा मनोविद्को रुपमा उनले काम सुरु गरिन्। पाँच वर्षपछि सन् २००८ मा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सिएमसी) नेपालमा आवद्ध भइन्।
१५ वर्ष सिएमसीमा काम गरेकी उनी हाल युएन मिसन अफगानिस्तामा कार्यरत छिन्। चार महिना भयो उनी अफगानिस्तानमा काम गर्न थालेको। नयाँ ठाउँमा काम गर्न असहज उनलाई पक्कै पनि छ। तर जोश जाँगरका साथ उनी अफगानिस्तानमा काम गरिरहेकी छिन्।
बुझ्ने श्रीमान्
भनिन्छ एक सफल पुरुषको पछाडि महिलाको हात हुन्छ। त्यस्तै सफल महिलाको पछाडि पनि पुरुषको नै हात हुन्छ। महिला र पुरुषलाई एक रथको दुई पांग्रा यसै भनिएको होइन।
यही भनाई करुणा कुँवरको दाम्पत्य जीवनमा पनि लागू हुन्छ। आफ्नो सफलताको श्रेय उनी श्रीमानलाई दिन्छिन्। १८ वर्ष भयो उनको विवाह भएको। तर सम्बन्धमा प्रेमको मिठास र समझदारी अझै कम भएको छैन। काम र घरको जिम्मेवारीलाई निभाउन श्रीमानले उनलाई उत्तिकै साथ दिन्छन्।
उनी भन्छिन्, ‘मैले अहिले अन्तर्राष्ट्रिय रुपमा काम सुरु गरे। यत्तिकै सहज पक्कै थिएन। प्रोत्साहन र साथ भएकै कारण म अघि बढ्न सकेकी हुँ।’
बाहिरी कामसँगै करुणालाई घरको काम र पारिवारिक जिम्मेवारी पनि निभाउनुपर्ने। समयको कुनै ठेगान थिएन। मिटिङका लागि कहिले बिहानै निस्कनु पथ्र्यो त कहिले साँझसम्म बस्नुपर्ने।
समय व्यवस्थापन गर्न उनलाई सहज थिएन र अहिले पनि छैन। तर परिवार र विशेष गरी श्रीमानको साथ र सहयोगले आफ्नो पेशालाई अगाडी बढाउन सकिएको उनी बताउँछिन्।
श्रीमान आफ्नो काममा व्यस्त भएपनि उनलाई कहिले पनि काममा रोकटोक भने हुन्थेन। उनलाई स्वतन्त्रता थियो।
‘तिमी कता गएको ?’
‘को सँग गएको ?’
‘किन ढिला’ भन्ने जस्ता प्रश्न उनलाई श्रीमानले कहिले सोधेनन्।
उनीहरु बीचको संवाद सधै स्पष्ट हुन्थ्यो। जिम्मेवारी बाँडफाँड हुन्थ्यो। घरको कामको जिम्मेवारी सधै करुणाको मात्र हुन्थेन। उनी व्यस्त भएको बेला श्रीमानले खाना बनाउने, बाल बच्चा हेर्ने गर्थे।
उनी भन्छिन्, ‘सुरुदेखि मलाई एक किसिमको फ्रिडम थियो। प्रश्नहरु थिएन। हामी बीच समझदारी थियो। स्पष्ट संवाद हुन्थ्यो। म बिहानै कतै जानु पर्दा उहाँले खाना बनाउनु हुन्थ्यो।’
घरभित्रको काममा महिला र पुरुष भनेर छुट्याउने नगरिएको उनले बताइन्। काममा मात्र नभई लैङ्गिक विभेद पनि श्रीमानले नगर्ने गरेको उनी बताउँछिन्। श्रीमान बुझ्ने र साथ दिने भएकै कारण काममा केन्द्रित हुन नसकेको उनी बताउँछिन्।
एक समय यस्तो पनि आएको थियो, जहाँ दुई सन्तानपछि परिवारबाट जागिर छाड्न एक किसिमको दबाब सिर्जना भयो। त्यो बेला उनको श्रीमान नै उनको मेरुदण्ड बने।
‘पुरुषको सफलताको पछि महिला हुन्छ भने जस्तै महिलाको सफलताको पछि पुरुष हुनै पर्ने रहेछ। एक जनाले प्रोत्साहन गरेन भने सफल हुन गाह्रो रहेछ।’ उनले भनिन्।
चुनौतीलाई चिर्दै बनिन् मनोविद्
करुणा कुँवरले वनस्थलीमा आफ्नो विद्यालयस्तरको शिक्षा पुरा गरेकी हुन्। पढाईमा उनी अब्बल। मेसिडिन पढेर चिकित्सक बनुन् भन्ने आमा बुवाको इच्छा। तर उनलाई मेडिसिनमा कहिल्यै चासो लागेन।
मनोविद् बन्छु भन्ने पनि उनको योजना थिएन। मेडिसिन पढ्ने परिवारको दबाब भएपनि उनले आफूले रोजेको विषय मात्र पढ्छु भन्नेमा स्पष्ट थिइन्।
प्लस टुमा उनले साइन्स पढेकी थिइन्। मेडिसिन नपढ्ने स्पष्ट भएपनि के विषय पढ्ने भन्ने अन्यौल उनमा थियो। त्यो बेलासम्म उनले साइकोलोजी विषयको बारेमा सोचेकी पनि थिइनन्।
‘कलेजमा के पढ्न जाने होला भनेर बुझ्न गएकी थिएँ। साइकोलोजीको कुरा आयो। कलेजले पनि एक दुई क्लास लिएर हेर्न सुझाव दिए। मैले क्लास लिए। मलाई रमाइलो लाग्दै गयो,’ उनले भनिन्।
त्यसपछि उनले साइकोलोजी पढ्ने निधो गरिन्। तर परिवारले साथ दिएनन्। सुरुमा त साइकोलोजी पढाउन उनको परिवार राजी नै भएनन्। तर उनलाई साइकोलोजी नै पढ्नु थियो।
‘साइकोलोजी पढ्यो भने केही स्कोप छैन। केही पनि अवसर नै छैन भनेर परिवारले यो विषयलाई बहिष्कार नै गर्नुभयो’ उनले भनिन्।
साइकोलोजीको अध्ययन गर्दै गएपछि उनलाई रुचि जाग्दै गयो। मेरो व्यक्तित्व अनुसार सुहाउने विषय नै साइकोलोजी हो भन्नेमा उनी विश्वस्त भइन्। किनभने उनलाई अरुको समस्या सुन्न, परामर्श गर्न निकै रुचि लाग्थ्यो।
त्रिभुवन विद्यालयबाट साइकोलोजीमा स्नातकोत्तर सकाउँदा सम्म अब कहाँ काम गर्ने ? के गर्ने ? भन्ने अन्यौल थियो। तर उनी पढाइमा अब्बल र परामर्शम राम्रो गर्न सक्ने भएकाले जागिर खोज्दै हिड्ने अवस्था आएन। सहारा परामर्श केन्द्रले उनको एक शिक्षकलाई राम्रो विद्यार्थी जागिरको लागि मिलाइ दिन भनेका थिए। उनी त्यही शिक्षकको नजरमा परिन्। र, सन् २००३ बाट सहारा परामर्श केन्द्रमा आवद्ध भइन्। त्यसपछि नै उनले साइकोलोजीको क्षेत्रमा धेरै अवसरहरु रहेछ भन्ने बुझ्न थालिन्।
‘छोरीहरु सीमित घेरामा बस्नुपर्छ भन्ने सोचाई थियो’
काठमाडौंको गोंगवुमा जन्मिएकी कुँवरको परिवार शिक्षित थियो। बुवा आमा दुवै पढेलेखेका। छोरीलाई पढाउनुपर्छ। अघि बढ्न दिनुपर्छ भन्ने चेतना उनको परिवारमा थियो। तर डाक्टर, इन्जिनियरमा मात्र भविष्य बनाउन सकिन्छ भन्ने बुझाई उनको परिवारको थियो। यति हुँदा हुँदै पनि त्यो बेला छोरीका लागि खुलेर अघि बढ्ने वातावरण भने थिएन। उनको परिवार पनि यही सोचका थिए।
करुणालाई पढाईसँगै नृत्य अनि पेन्टिङ असाध्यै मनपर्ने। तर पढाई बाहेक उनले अतिरिक्त क्रियाकलापमा खुलेर रमाउन सकिनन्।
भन्छिन्, ‘त्यो समयमा एउटा केटी मान्छेले सीमित कुराहरु गर्नुपर्छ भन्ने थियो। मलाई डान्स एकदम मनपथ्र्यो तर डान्स गर्ने कुरा होइन भन्ने कुराहरु थियो।’
आफ्नो ठाउँमा छोरा हुन्थ्यो भने परिवारको यस किसिमको सोचाई नआउने उनको अनुभव छ।
सन्तान भएपछि उनलाई पनि काम छोडेर गृहिणी मात्र बन्न दबाब नआएको होइन। तर उनी आफ्नो सपना र लक्ष्य प्रति अटल थिइन्।
अहिले उनको परिवार पनि उनको कामप्रति सन्तुष्ट छन्। सुरुवाती दिनमा बुझाउन कठिन भएपनि छोरीले प्राप्त गर्दै गरेको सफलता देखेर बुवा आमा सहित परिवार खुशी भएको उनी बताउँछिन्।
काम गर्ने क्रममा महिला र पुरुष बीच गरिने भेदभाव उनले पनि महसुस गरेकी छिन्। कुनै मिटिङमा आफ्नो विचार राख्नु पर्दा होस् या कुनै समारोहमा बोल्नुपर्दा पुरुषलाई नै बढी अवसर दिने गरेको उनी बताउँछिन्।
कतिपय पुरुषले त अनावश्यक रुपमा जिस्किन खोज्ने, अनावश्यक कुरा गर्न खोज्नेसम्म पनि गर्थे।
उनी भन्छिन्, ‘भेदभाव अझै पनि छ। कतिले त फ्लर्ट गर्न खोज्ने। अनावश्यक म्यासेज गर्ने पनि गर्थे। यदी मेरो ठाउँमा पुरुष हुन्थ्यो भने यो काम हुन्थ्यो त ?’
महिलाको क्षमतालाई कम नआकौं
नेपाली समाजमा छोरा र छोरी बीच हेर्ने दृष्टिकोण अझै पनि फरक रहेको उनी बताउँछिन्। कुनै महिलाले आर्थिक रुपमा उत्तिकै योगदान दिएपनि समाजले पुरुषलाई नै बढी क्षमतावान देख्ने गरेको उनले बताइन्।
‘कुनै महिलाले यति कमाउँछ भन्यो भने होइन होला। यति पनि कसरी कमाउन सक्छ भनेर अझै पनि सोच्ने समाज छ’ उनले भनिन्।
कुनै पनि महिला बाहिर जति काम गरेपनि घरभित्रको जिम्मेवारीले कहिल्यै परिवर्तन हुन नसकेको उनी बताउँछिन्। बाहिरी काम गरेपनि घरमा खाना पकाउने, भाँडा माझ्ने, बाल बच्चा हेर्ने जिम्मेवारीबाट महिलाहरु अहिले पनि मुक्त हुन नसकेको उनले बताइन्। घरको काम श्रीमान र श्रीमती दुवैको बराबरी हिस्सा भएको उनले बताइन्।
‘छोरा र बुहारी एउटै समयमा अफिसबाट घरभित्र छिर्यो भने थकाई पुरुषलाई मात्र लाग्छ। महिलालाई लाग्दैन। घरभित्र छिरेपछि छोरा र बुहारीको भूमिका पुरै फरक हुन्छ’ उनले भनिन्।
पारिवारिक बन्धनकै कारण महिलाहरु स्वतन्त्र रुपमा अघि बढ्न नसकेको उनले बताइन्। परिवारको साथ र समर्थन पाए महिलालाई आफ्नो सपना र लक्ष्य पुरा गर्न धेरै सहज हुने उनको भनाई छ।