मानसिक समस्या अचेल जटिल सामाजिक समस्याका रुपमा बढ्दै गइरहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर ९७ करोड मानिसहरु मानसिक समस्या जस्तै चिन्ता, डिप्रेसनमा बाँचिरहेको देखिन्छन् जुन कोभिड १९ माहामारीमा अझैँ बढेको देखिन्छ। औषधी पद्धति वा मनोसामाजिक परामर्श मात्रैले मानसिक समस्या हल गर्न सक्दैनन्। त्यसैले आजकाल पोषणका कारणले मानसिक अवस्थामा पर्ने असरलाई पनि उत्तिकै प्राथमिकता दिन थालिएको छ। विभिन्न अध्ययनले असल खानपान, जीवनशैली र व्यायामका माध्यमले मानसिक स्वास्थ्यमा परिवर्तन आएको पुष्टी गरेका छन्।
बढ्दो शहरीकरण, आधुनिक प्रविधिको विकास, सामाजिक र सांस्कृतिक सुदृढता, अत्याधिक महत्वाकांक्षा वा व्यक्तिगत कार्यव्यस्तता, दौडधुपका कारण असल खानपान र जीवनशैलीका लागि मानिससंग विरलै समय हुने गरेको देखिन्छ। फास्ट फूड वा प्रशोधित खानेकुराले सधै पकाएरै खानु पर्ने धपेडी कम गरेको त छ तर यिनै खानेकुरामा हुने अधिक क्यालोरी तर कम वा न्यून सूक्ष्म पोषकतत्वका कारण मानिसमा विभिन्न शारिरिक तथा मानसिक स्वास्थ्य समस्याहरु देखा परिरहेका छन्।
हाम्रो स्नायू प्रणालीलाई चाहिने विभिन्न वृहत तथा सूक्ष्म पोषकतत्वहरु जस्तै बी भिटामिन, जिङ्क, म्यानेसियम, फाइबर, आदि मानिसहरुले दैनिक आवश्यकता भन्दा कम खाइरहेको अवस्था छ। म्याग्नेसियम, बी भिटिमन, प्रचुर मात्रामा पाइने अन्नहरु प्रशोधन गर्ने क्रममा त्यसका पोषकतत्वहरु नष्ट हुने वा न्यून हुने संभावना हुन्छ।
पोषणका अतिरिक्त धुम्रपान, सिमीत शारीरिक सक्रियता, मध्यपान, तनाव, आदिले पनि मानसिक स्वास्थ्यमा उत्तिकै नकारात्मक असर पारेका छन्। त्यसैले मानसिक समस्याको समाधानमा एक मात्र क्षेत्रको संलग्नताले सम्भव नहुने देखिन्छ। औषधी विज्ञान वा आधुनिक चिकित्सा पद्धतिका साथसाथै मनोसामाजिक परामर्श, पोषण वा खानपानका परामर्श र जीवनशैली परिवर्तनका सल्लाह पनि समावेश हुनुपर्दछ। यसरी गरिएको उपचार पद्धति मात्रै सफल हुन सक्दछ।
स्नायू प्रणालीको कार्य सम्पादनमा विभिन्न पोषकतत्वहरुको भूमिका रहेको हुन्छ। विभिन्न खाद्य पूरकहरु मानसिक समस्याहरु निवारण गर्न सफल देखिएका छन्। उदाहरणका लागि एस् एडिनोसायलमिथियोनिन, एन् एसिटायलसिस्टिन, जिङ्क, बी भिटामिन, फोलिक एसिड र भिटामिन डी, ओमेगा ३, अन्स्याचुरेटेड फ्याटी एसिड, आदिको मानसिक स्वास्थ्यमा उल्लेखनिय भूमिका हुन्छ।
यी सबै तत्वहरु सुजन विरोधी हुनेहँुदा यिनले कोषको मृत्यु हुनबाट बचाउँदछन्। यिनहरुले कोषको बाहिरी तहको कार्यमा मद्दत गर्दछन। यसका साथै स्नायू प्रणालीको विभिन्न कार्यमा सहायता गर्ने न्यूरोट्रान्समिटर जस्तै सेरोटोनिन जस्ता रसायनको पूनर्भरण गर्नमा पनि मद्दत गर्दछन। यी बाहेक हाम्रो स्नायू प्रणालीको वृद्धि विकास गर्न र हानिकारक रसायनहरुलाई निस्तेज गरी तिनका नकारात्मक असरबाट स्नायू प्रणालीलाई बचाउने काम गर्छन। एन् एसिटायलसिस्टिन सिजियोफ्रेनिया, बाइपोलार, डिप्रेसन जस्ता मानसिक रोगको थेरापीमा प्रभावकारी भएको देखिन्छ।
अध्ययनका अनुसार फोलिक एसिडको परिपूरताका कारण माइग्रेनको समस्या रोकथाम गर्न सकेको देखिन्छ। ओमेगा ३ ले स्वस्थ मानिसको वा शिशुको स्नायु प्रणालीमा संरक्षात्मक काम गरेको र वनस्पतिजन्य खानामा पाइने विभिन्न किसिमका पदार्थ जस्तै घुलनशील फाइबर फाइटोस्ट्रोजन, लिग्नान्सले डिप्रेसन भएका मानिसहरु वा मस्तिष्क सम्बन्धि विमारी इन्सिफ्ल्योप्याथीबाट शिशुलाई रोकथाम गरेको तथ्यहरु छन्।
विभिन्न किसिमका तरकारी र फलफूलमा पाइने रासायनिक पदार्थ जस्तै फ्लाभोनोइड आजका समयमा क्यान्सर, जिवाणु र सुजन प्रतिरोधात्मकका रुपमा स्वीकारिदै आएका छ। फ्लावोनोइडले पनि डिप्रेसनको लक्षण कम गरी यसको विकासलाई अवरोध गरेको देखिन्छ।
ट्रिप्टोफानले हाम्रो दिमागमा चाहिने सेरोटोनिन बनाउन मद्दत गर्दछ जसले पार्किन्सनको लक्षण कम गर्ने वा यसको वृद्धिमा कमी ल्याउने अध्ययनले बताउँछ। यी बाहेकका विभिन्न पोषकतत्वहरु जस्तै म्यागनेसियम, क्याल्सियम, सेलेनियम, जिङ्क, कपर, भिटामिन डी, इ, सि, र क्यारिटिनोइडसले पनि विभिन्न शरीरका क्रियाकलाप वा मेटाबोलिज्म जस्ता प्रक्रियामा उत्पन्न हुने हानिकारक रसायन वा कडा सुजनको सूचक सि. आर. पि., आइ. एल. ६, डब्लु बी सी सूचकहरु घटाउने अध्ययनले बताएका छन्।
हाम्रो स्नायू प्रणालीलाई आवश्यक पर्ने विभिन्न पोषकतत्वहरु जस्तै भिटामिन डी, अण्डाको रानी, रातो मासु, कलेजोमा पाइन्छ। ओमेगा ३ सालमोन, टुना माछा, ओखर, आलस, भट्मासको तेल, आदिमा पाइन्छ। क्याल्सियम दूध वा दूधजन्य खाद्य पदार्थ, हरिया सागपात र चपाउन मिल्ने माछाका हड्डीमा पाइन्छ। अन्नहरु, नट्स, सि फूड, फर्सीका दाना, तरकारी लगायतमा म्याग्नेसियम, सेलेनियम हुन्छन् र गाढा हरिया रङ्खका तरकारी, अमिला फलफूल, फर्सी, नट्स र दानाहरु, टमाटर, गाँजर लगायतमा भिटामिन सी, ई, फोलिक एसिड क्यारोटिनोइड पाइन्छन्। सेरोटेनिन विकास गर्न चाहिने ट्रिप्टोफान भट्सास, नट्स, माछा, अण्डा, दूध लगायतका प्रोटिनका स्रोतमा भेटिन्छन्।
त्यस्तै कम प्रशोधित अन्नमा पाइने जटिल कार्बोहाइड्रेड, गाडा रातो, निलो वा बैजनी रङ्खका फलफूल र तरकारीमा पाइने एन्थोसायनिन नामका पदार्थ, सालमोन माछामा पाइने इकोसोपेन्टोनोइक एसिडले मृत कोशिकालाई निस्तेज पार्दै नयाँ कोषको विकास गरी शरीर वा स्नायु प्रणालीमा विद्यमान सुजन कम गर्छन्। यिनले स्नायु प्रणालीलाई सुधार गर्दै संज्ञानात्मक असर हुन नदिने र अल्जाइमर जस्ता रोगबाट प्रतिरक्षा गर्ने अध्ययनले बताएका छन।
हाम्रो पेट र दिमागले एक अर्को संग संचार गर्न विभिन्न न्यूरोट्रान्समिटर उत्पादन गर्दछन जसमध्ये केही गामा व्यूट्यारिक एसिड, व्यूटारिक एसिड, सेरोटोनिन, डोपामाइन, सर्ट चेन फ्याटि एसिड, आदि हुन। यिनले प्रत्यक्ष रुपमा स्नायु प्रणालीमा प्रभाव पार्नका साथ साथै हाम्रो प्रतिरक्षा प्रणालीलाई पनि सुदृढ गर्दछन।
त्यसैले हाम्रो पेटमा विविध बहुउपयोगी जिवाणु कायम रहीरहनु अत्यावश्यक हुन्छ। यस दृष्टिकोणमा प्रोबाइटिक वर्गका जीवाणुले मानिसको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको देखिन्छ। प्रोबाइटिक भनेका त्यस्ता जीवाणु हुन जुन पर्याप्त मात्रामा खाँदा शरिरको कार्य सम्पादनमा प्रभावकारी असर पार्न सक्छन्। प्रोबाइटिक विशेषगरी दही वा फरमेन्टेड खानेकुरामा पाइन्छन्।
प्रोबाइटिक भन्दा पृथक प्रिबायोटिक भनेका पच्न गाह्रो हुने शाकाहारी खानामा हुने तत्व हुन जुन पेटमा गलेर बहुउपयोगी जीवाणुको संख्या वा गतिविधि बढाउनमा र पेटको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न मद्दत गर्छन्। प्रिबायोटिकले हानिकारक जीवाणुको वृद्धि विकास हुन पनि दिदैनन्। जीवाणुका संरचना परिवर्तन गर्दै प्रिबायोटिकले सुजनको प्रतिकूलता कम गर्ने वा निस्क्रिय पार्दछ।
प्रिबायोटिक प्राकृतिक रुपमा बनस्पति जन्य खानेकुरा जस्तै चोकर सहितका अन्न, गेडागुडी, तरकारी, फलफूल आदिमा पाइन्छन्। विभिन्न बाहिरी कारणहरु जस्तै तनाव, प्रशोधित खाना, एन्टिबायोटिकको सेवन, मध्यपान आदिले पेटका जीवाणुका वातावरणमा असन्तुलन ल्याउँछन्। यसले गर्दा हानिकारक ब्याक्टेरिया विकास भई पेटको अवरोध पार गरी हाम्रो प्रतिरक्षा प्रणाली, हार्मोन उत्पादन गर्ने ग्रन्थी र स्नायु प्रणालीमा अबरोध ल्याउने गर्दछन्।
विभिन्न अध्ययनले वनस्पतिजन्य खानेकुरा जस्तै पर्याप्त मात्रामा हरियो सागसब्जी र अन्य तरकारी, फलफूल, प्रशोधन नगरिएका अन्नहरु र मध्यम मात्रामा दूध वा दूधजन्य खाद्य पदार्थ र मासु वा अण्डा सेवनले गम्भीर डिपे्रसनमा परेका जेष्ठ नागरिकमा मूड सुधार गर्नुका साथै चिन्ता कम गरेको समेत देखाएका छन्। मानिसको स्वास्थ्य मूख्यतया खानपान र जीवनशैलीमा धेरै निर्भर हुन्छ र यसर्थमा मानसिक स्वास्थ्यको लागि असल आहार विहार र पोषणको पनि महत्वूर्ण भूमिका रहन्छ।
(लेखक कोपिला भ्याली सेवा समाजकी पोषण अधिकृत हुन्।)