आज विश्व मधुमेह दिवस हो। विश्व मधुमेह दिवस २०२३ को नारा मधुमेह हेरचाहमा पहुँच रहेको छ। नसर्ने रोग विश्वव्यापी र राष्ट्रिय स्तरमा मृत्युको प्रमुख कारणको रूपमा देखा परेको छ। अस्वस्थ जीवनशैली, भूमण्डलीकरण, सहरीकरण, जनसांख्यिकीय र आर्थिक सामाजिक निर्धारकहरूमा परिवर्तनका कारण नेपालमा हुने मृत्युको प्रमुख कारणको रूपमा गैरसंक्रामक रोगहरू देखा परिरहेका छन्।
मधुमेह एक नसर्ने रोग हो। सामान्यतया यस रोगलाई चिनीरोग भनेर पनि चिनिन्छ। जुन प्यान्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन नगर्दा वा शरीरले उत्पादन गरेको इन्सुलिनलाई प्रभावकारी रूपमा प्रयोग गर्न नसक्दा हुन्छ। प्यान्क्रियाज पेटको पछाडिको अंग हो जुन शरीरमा इन्सुलिन उत्पादनको मुख्य स्रोत हो। इन्सुलिन प्यान्क्रियाजद्वारा बनाइएको एक हर्मोन हो, यसलाई रासायनिक सन्देशवाहक पनि भनिन्छ। जसले रगतमा ग्लुकोज (चिनी)लाई नियन्त्रण गर्छ। शरीरले सबै कार्बोहाइड्रेट खानाहरूलाई ग्लुकोजको रुपमा रगतमा तोड्छ र इन्सुलिनले ग्लुकोजलाई कोशिकाहरूमा पुर्याउन मद्दत गर्दछ। जब शरीरले इन्सुलिन उत्पादन गर्न वा प्रभावकारी रूपमा प्रयोग गर्न सक्दैन, यसले रगतमा ग्लुकोजको स्तर उच्च निम्त्याउँछ, जसलाई हाइपरग्लाइसेमिया (रगतमा उच्च ग्लुकोज वा रगतमा बढेको चिनी) भनिन्छ। हाइपरग्लाइसेमिया, यो अनियन्त्रित मधुमेहको प्रभाव हो र समय बित्दै जाँदा यसले शरीरका धेरै प्रणालीहरू विशेष गरी स्नायु र रक्त नलीहरूमा गम्भीर क्षति पुर्याउँछ। अनियंत्रित मधुमेहको कारणले गर्दा अन्धोपन (डाइबेटिक रेटिनोप्याथी), मिर्गौला फेल (डाइबेटीक नेफ्रोप्याथी), स्नायु रोग (डाइबेटीक न्यूरोप्याथी),हृदयाघात, स्ट्रोक जस्ता स्वास्थ्य जटिलता निम्त्याउने गर्छ। मधुमेह भएका व्यक्तिहरूमा मृत्यु हुने जोखिम कम्तिमा पनि मधुमेह नभएका व्यक्तिहरुको तुलनामा दोब्बर हुन्छ।
अन्तर्राष्ट्रिय मधुमेह संघका अनुसार विश्वमा ५० करोड ३७ लाख मानिस मधुमेहबाट ग्रसित छन्। यो संख्या सन् २०३० मा ६० करोड ४३ लाख र सन् २०४५ मा प्रत्यक ८ मध्ये १ जनामा मधुमेह देखा परि त्यो संख्या बढेर ७० करोड ८३ लाख पुग्ने छ। दक्षीण पूर्वी एसियाली मुलुकमा ९० लाख मानिस मधुमेहबाट ग्रसित छन्। हाल विश्वमा प्रत्येक १० मध्ये १ जनामा कुनै न कुनै प्रकारको मधुमेह रहेको छ। यस किसिमको तथ्याङ्कले व्यक्ति, परिवार, समुदाय र समग्र देशहरूको लागि विश्वव्यापी रुपमा मधुमेहको बोझ बढ्दो मात्रामा देखाउँछ। डब्लुएचओका अनुसार नेपालमा ४,३६,००० भन्दा बढी मानिसलाई मधुमेहले असर गरेको छ र सन् २०३० सम्ममा यो संख्या बढेर १३,२८,००० पुग्ने छ।
गैर-संक्रामक रोगहरू एक विश्वव्यापी विकासात्मक र स्वास्थ्य आपतकाल हो, जसले अकालमा मृत्यु निम्त्याउँछ, गरीबी बढाउँछ र राष्ट्रिय अर्थतन्त्रलाई नै खतरामा पार्छ। बिस्तारै नसर्ने रोग नेपालको स्वास्थ्य सेवा प्रणालीको लागि थप चुनौती बनिरहेको छ। नेपालमा नसर्ने रोगको कारण हुने मृत्युदर सन् २०१० मा रहेको ५१५ बाट सन् २०१९ मा ७१५ मा बढेको छ। यसरी नसर्ने रोगको मृत्युदर निरन्तर बढ्दै गएको छ। यी नसर्ने रोगहरु (हृदयरोग, मधुमेह, क्यान्सर र श्वासप्रश्वास रोग) ले नेपालमा सरुवा रोगले भन्दा धेरै मृत्यु गराईरहेको छ।
स्वास्थ्य सेवा विभागको वार्षिक प्रतिवेदन २०७८/७९ मा नसर्ने रोगले गराउने मृत्यूमा कार्डियोभास्कुलर ३०% भन्दा बढी, क्यान्सर ९%, मधुमेह ४%, श्वासप्रश्वास रोग १०% र अन्य नसर्ने रोग १३% रहेको उल्लेख छ। राष्ट्रिय स्वास्थ्य खर्चको चार वर्षको विश्लेषणले नसर्ने रोगहरूमा सबैभन्दा बढी स्वास्थ्य सेवा खर्च नेरु ३७/७३ अरब रहेको स्वास्थ्य सेवा विभागले रिपोर्ट गरेको छ।अन्तर्राष्ट्रिय मधुमेह संघले सन् २०१७ मा नेपालमा २०-७९ वर्षका मानिसहरूमा मधुमेहको राष्ट्रिय ब्यापकता ४% रहेको रिपोर्ट गरेको छ, जुन सन् २०४५ सम्ममा ६.१ % मा पुग्ने अपेक्षा गरिएता पनि नेपालमा सन् २०२०/२१ मा भएका मधुमेहसम्बन्धी विभिन्न अनुसन्धान अनुसार मधुमेहको राष्ट्रिय प्रकोप ५.८% रहेको अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित छ। नेपालका सातै प्रदेशमा मधुमेहको व्यापकतामा निकै भिन्नता छ। जसमा कर्णाली प्रदेशमा सबैभन्दा कम ब्यापकता २% छ भने बागमती र गण्डकी प्रदेशमा सबैभन्दा बढी समान १०% ब्यापकता रहेको छ।
नेपाल मधुमेह संघका अनुसार २० वर्षभन्दा माथिका शहरी क्षेत्रका १४.६ प्रतिशत र ग्रामिण क्षेत्रका २.५% साथै ४० वर्षभन्दा माथिका १९ प्रतिशत मानिसलाई मधुमेह छ। बढ्दो सहरीकरणसंगै खानपानको ढाँचामा परिवर्तन, आसीन जीवनशैली, शारीरिक गतिविधिमा हुने कमीले मधुमेहको बोझमा उच्च योगदान गरेको हुन सक्छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रकाशित गरेको सर्वेक्षण २०१९ को निष्कर्षले ग्रामीण जनसंख्याको तुलनामा शहरी जनसंख्यामा फलफूल र तरकारीहरूको अपर्याप्त सेवन र उनीहरूको शारीरिक गतिविधिमा कम सहभागिताको बताएको छ।
एक अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित लेख अनुसार शहरी क्षेत्र, उच्च रक्तचाप, र मोटोपन भएका मानिसहरुमा क्रमश ग्रामिण क्षेत्र, सामान्य रक्तचाप र सामान्य तौल कायम भएका व्यक्ति भन्दा २ गुणा जोखिम बढ्ने उल्लेख छ भने २०-३९ वर्षका मानिसको तुलनामा ६० वर्ष माथिको उमेर समुहका मानिसलाई जोखिम ५ गुणाले बढ्ने उल्लेख छ। विश्वभर उच्च आय भएका देशहरूको तुलनामा प्रसार र संख्याको हिसाबले नेपाल लगायत निम्न र मध्यम आय भएका देशहरूमा मधुमेहको बोझ नाटकीय रुपमा बढिरहेको छ। मधुमेहका कारण निम्न र मध्यम आय भएका देशहरूको मृत्युदर १३५ ले बढेको छ। साथै बिभिन्न अध्ययनहरूले बच्चाहरूमा पनि यो रोगको जोखिम बढ्दै गएको देखाएका छन।
मधुमेहका मुख्य ३ प्रकार छन्
टाइप वान मधुमेह
टाइप वान मधुमेह (पहिले इन्सुलिन निर्भर वा बाल्यकालमा सुरु हुने मधुमेह भनेर चिनिन्थ्यो) टाइप वान मधुमेह तब हुन्छ जब शरीरले इन्सुलिन उत्पादन गर्दैन वा धेरै कम इन्सुलिन बनाउँछ। टाइप वान मधुमेहले कुनै पनि उमेरका मानिसहरूलाई असर गर्न सक्छ तर सामान्यतया बालबालिका वा युवा वयस्कहरूमा यसको विकास बढी हुन्छ। टाइप वान मधुमेह भएका मानिसहरूलाई उनीहरूको रगतमा ग्लुकोजको स्तर नियन्त्रण गर्न दैनिक रुपमा इन्सुलिन इन्जेक्सन चाहिन्छ। यदि टाइप वान मधुमेह भएको व्यक्ति इन्सुलिनको पहुँचमा नभएमा मृत्यु हुन्छ।
टाइप टु मधुमेह
टाइप टु मधुमेह (गैर इन्सुलिन निर्भर वा वयस्कमा सुरु हुने मधुमेह भनिन्छ) शरीरमा इन्सुलिनको अप्रभावी प्रयोगको कारणले हुन्छ। यो प्रायः अत्यधिक शरीरको वजन र शारीरिक निष्क्रियताको परिणाम हो। यसले शरीरलाई इन्सुलिनको उचित प्रयोग गर्नबाट रोक्छ, जसको उपचार नगर्दा रगतमा चिनीको मात्रा बढ्न सक्छ। समय संगै टाइप टु मधुमेहले शरीरमा विशेष गरी स्नायु र रक्त नलिहरुलाई गम्भीर क्षति पुर्याउन सक्छ। टाइप टु मधुमेह अक्सर रोकथाम गर्न सकिन्छ। मधुमेह भएका ९५% भन्दा बढीलाई टाइप २ मधुमेह हुन्छ। टाइप टु मधुमेहलाई पहिले गैर-इन्सुलिन निर्भर, वा वयस्कमा शुरुआत हुने मधुमेह भनिन्थ्यो। खास गरि यस प्रकारको मधुमेह वयस्कहरूमा मात्र देखिन्थ्यो तर अहिले बच्चाहरूमा पनि बढ्दो रूपमा देखा पर्न थालेको छ।
गर्भावस्थाको मधुमेह
गर्भावस्थाको मधुमेह भन्नाले गर्भावस्थाको समयमा रगतमा चिनीको मात्र उच्च हुनु हो जुन गर्भावस्थाको समयमा पहिलो पटक पहिचान गरिन्छ। यो सामान्यतया बच्चाको जन्म पछि हराउने हुन्छ। गर्भावस्थाको मधुमेहले आमा र बच्चाको स्वास्थ्यलाई असर गर्न सक्छ, यसले गर्भावस्था सम्बन्धी जटिलताहरू निम्त्याउन सक्छ, जसमा उच्च रक्तचाप हुने, ठूलो तौलका बच्चाको जन्म हुने आदि हुन्छ। यद्यपि, जीवनशैली परिवर्तन र औषधिले गर्भावस्थाको मधुमेह व्यवस्थापन गर्न मद्दत गर्न सक्छ। ४५ वर्षभन्दा माथिका महिलाहरूलाई गर्भावस्थाको समयमा हाइपरग्लाइसेमियाको जोखिम बढी हुन्छ, जबकि पहिले नै गर्भावस्थाको मधुमेह भएका महिलाहरूमा प्रसव भएको पाँचदेखि दश वर्षभित्र टाइप टु मधुमेह हुने जोखिम बढेको हुन्छ। गर्भावस्थाको समयमा उच्च रक्त ग्लुकोजको सम्पर्कमा आएका बच्चाहरूलाई पनि अधिक तौल वा मोटो हुने र टाइप टु मधुमेहको विकासको उच्च जोखिम हुन सक्छ।
मधुमेहले निम्त्याउने जटिलताहरु के-के हुन्?
अनियन्त्रित मधुमेहका कारण रगतमा चिनीको मात्रा बढ्दा समयसँगै शरीरका धेरै प्रणालीहरूमा गम्भीर क्षति पुग्छ। मानब शरीरमा मधुमेहले मुटु, रक्तनली, आँखा, मिर्गौला, स्नायु, दाँत र गिजालाई सबै भन्दा धेरै असर गर्ने गर्छ। मधुमेहले हृदयाघात र स्ट्रोक जस्ता घातक जटिलताहरू निम्त्याउँछ। उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र रगतमा उच्च ग्लुकोजले हृदय रोगको जोखिम बढाउँछ। मधुमेह नभएका मानिस भन्दा मधुमेह भएका मानिसहरूलाई हृदयघात हुने सम्भावना तीन गुणाले बढी हुन्छ। त्यसैगरी मधुमेह भएका ३ मध्ये १ जनाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको दृष्टि गुमाउने गर्दछन। मधुमेह भएका मानिसहरूमा मृगौला फेल हुने समस्या मधुमेह नहुने भन्दा १० गुणाले बढी हुन्छ, यो मानिसको अंगमा निम्त्याउन सक्ने जटिलता मध्य एक हो।
मधुमेहको कारण मिर्गौलामा हुने गम्भीर जटिलता हो डाइबेटीक नेफ्रोप्याथी। यो रोग मृगौलामा रहेका साना रक्तनलीहरूमा क्षति पुगेर मृगौलाले काम गर्न नसक्ने वा मृगौलाको विफलताको कारणले हुन्छ। मिर्गौला फेल हुनुको प्रमुख कारणमध्ये मधुमेह हो। रगतमा ग्लुकोज र रक्तचापको स्तरलाई सामान्य राख्नाले मिर्गौला रोगको जोखिमलाई निकै कम गर्न सकिन्छ।
मधुमेहले गर्दा आँखामा पुर्याउने जटिलता हो डाइबेटीक रेटिनोप्याथी। आँखाको रोग (डाइबेटीक रेटिनोप्याथी) ले मधुमेह भएका मानिसहरूलाई धेरै असर गर्छ, जसले दृष्टि गुमाइ अन्धोपना समेत निम्त्याउन सक्छ। डाइबेटीक रेटिनोप्याथीका प्रमुख कारण रगतमा हुने उच्च ग्लुकोज स्तर ,उच्च रक्तचाप र उच्च कोलेस्ट्रोल हुन्। नियमित आँखा जाँच, ग्लुकोज र कोलेस्ट्रोल स्तर कायम राख्नाले यो अवस्था व्यवस्थापन गर्न सकिन्छ। मधुमेहले पुर्याउने अर्को गम्भीर जटिलता हो डाइबेटीक न्यूरोप्याथी। यसले खुट्टामा अल्सर ९घाउ० गराई अन्ततः अंग विच्छेदनको सम्भावना बढाउँछ। बिश्व मधुमेह संघको तथ्यांक अनुसार मधुमेहका कारण विश्वको कुनै न कुनै ठाउँमा हरेक ३० सेकेन्डमा मानब शरीरको तल्लो अंग (नितम्ब देखि खुट्टाको औँलाहरु) गुमाउनु परेको हुन्छ। स्नायु रोग (डाइबेटीक न्यूरोप्याथी) ले पाचन, इरेक्टाइल फंक्शन, र हातखुट्टा मा पनि विशेष गरी खुट्टालाई असर गर्छ। मधुमेह भएका व्यक्तिहरूमा तल्लो खुट्टा काट्नुपर्ने खतरा बढी हुन्छ। यद्यपि, व्यापक व्यवस्थापन र नियमित खुट्टा परीक्षणले यसलाई रोक्न सकिन्छ।
मधुमेहले भ्रूणमा जटिलता निम्त्याउन सक्छ। टाइप वान र टाइप टु मधुमेह भएका महिलाहरूले भ्रूणको अंगलाई हुने सम्भावित बाट क्षति रोक्न गर्भाधान अघि ग्लुकोज स्तर कायम गर्नुपर्छ। रगतमा ग्लुकोजको मात्रा बढी हुँदा भ्रूणको तौल बढेर सुत्केरी हुने क्रममा जटिलता आउन सक्छ र भविष्यमा बच्चालाई पनि मधुमेह हुने जोखिम बढ्छ। गर्भावस्थाको समयमा मधुमेह भएका सबै महिलाहरूले जटिलताहरू कम गर्न रगतमा ग्लुकोजको स्तर कायम गर्नुपर्छ। नन-अल्कोहल फ्याटी लिभर डिजिज मोटोपना र टाइप टु मधुमेह हुने जोखिमसँग सम्बन्धित छ। कलेजोमा अत्यधिक बोसो जम्मा हुँदा ल्ब्ँीम् हुन्छ। जसले गर्दा कलेजो सुन्निन्छ र कलेजोमा क्षति पुर्याउँछ।
मधुमेहको कारणले हुने मुखको जटिलताहरूले गिजाको सूजन (पेरियोडेन्टाइटिस) को जोखिम बढाउँछ, जुन दाँत झर्ने प्रमुख कारण हो। पेरियोडेन्टाइटिस हृदय रोगको बढ्दो जोखिमसँग पनि जोडिएको छ। नियमित मुखको जाँचहरूले यसको अवस्था र निदान नभएको मधुमेह पत्ता लगाउन मद्दत गर्दछ र मधुमेहले हुने मुखको जटिलताहरूको समयमै व्यवस्थापन गर्न मद्दत गर्दछ।
मधुमेहका कारणहरु
मधुमेह हुनुमा पोषणको गुणस्तरमा ह्रास, शारीरिक गतिविधिमा कमी र आसीन व्यवहारमा वृद्धि जस्ता कारकहरू मुख्य हुन्। हामीलाई टाइप वान मधुमेहको कारण के हो हाल सम्म पनि थाहा छैन। यद्यपि, अनुसन्धानले के देखाउँछ भने यदि परिवारको सदस्यमा यो अवस्था छ भने सन्ततिमा टाइप वान मधुमेह हुने सम्भावना थोरै बढ्छ। टाइप वान मधुमेहका कारणहरू थाहा नभएको भए तापनि, अटोइम्यून, आनुवंशिक वा वातावरणीय जस्ता विविध हुन सक्छन्। हाल, टाइप वान मधुमेह रोक्ने कुनै ज्ञात तरिका छैन।
मधुमेहको पारिवारिक इतिहास, अधिक तौल, अस्वस्थ आहार, शारीरिक निष्क्रियता, बढ्दो उमेर, उच्च रक्तचाप, सुर्तीको प्रयोग, अत्यधिक मदिरा सेवन, गर्भावस्थामा मधुमेह को इतिहास, गर्भावस्थाको समयमा खराब पोषण टाइप टु मधुमेहका लागि जोखिम कारकहरू हुन्।
द्रुत विकास र शहरीकरणसँग सम्बन्धित आहार र शारीरिक गतिविधिमा परिवर्तनले टाइप टु मधुमेह भएका मानिसहरूको तीव्र वृद्धि भएको छ। मोटोपनाको बढ्दो स्तर, आसीन जीवनशैली र खराब खानपानका कारण बालबालिका, किशोरकिशोरी र युवा वयस्कहरूमा पनि टाइप टु मधुमेह बढ्दै गएको छ।
गर्भावस्थामा हुने मधुमेहको सही कारण अझै थाहा छैन। यद्यपि जोखिम कारकहरू जस्तै अधिक तौल वा मोटोपना, ४५ वर्षभन्दा माथिको उमेरमा भएको गर्भाबस्था र अघिल्लो गर्भावस्थामा भएको मधुमेह वा गर्भकालीन मधुमेहको पारिवारिक इतिहासले मुख्यगरी गर्भावस्था मधुमेहको विकासको संभावना बढाउन सक्छ।
मधुमेहका लक्षणहरु के-के हुन्?
अत्यधिक तिर्खा र मुख सुख्खा हुनु,
निरन्तर भोक लाग्नु,
बारम्बार पिसाब लाग्नु,
ऊर्जाको कमी, थकान,
घाउहरू ढिलो निको हुने,
छालामा बारम्बार संक्रमण हुने,
धमिलो दृष्टि हुने,
हात र खुट्टामा झनझन हुने वा सुन्निने
टाइप वान मधुमेहको निदान गर्न गाह्रो हुन सक्छ, त्यसैले निदान पुष्टि गर्न थप परीक्षणहरू आवश्यक हुन सक्छ।
मधुमेहबाट कसरी बच्न सकिन्छ?
टाइप वान मधुमेहलाई रोक्न सकिँदैन, तर यसको वातावरणीय तत्वहरू निर्धारण गर्न अनुसन्धान आवश्यक छ। टाइप वान मधुमेहलाई रोक्न नसकिने भए पनि टाइप २ मधुमेह हुने जोखिमलाई कम गर्न मानिसहरूले चाल्न सक्ने थुप्रै कदमहरू छन्। स्वस्थ आहार, नियमित शारीरिक गतिविधि, सामान्य शरीरको तौल कायम, र प्रशोधित खानाहरूको प्रयोगमा रोक, मद्यपान र सुर्तीजन्य पदार्थको प्रयोगमा रोक टाइप टु मधुमेहबाट बच्ने वा सुरुवातलाई रोक्ने वा ढिलाइ गर्ने तरिकाहरू हुन्।
सहरीकरणसँग सम्बन्धित अस्वस्थ खाने बानी र आसीन जीवनशैली टाइप टु मधुमेहको विकासमा योगदान गर्ने कारकहरू हुन्। जीवनशैली परिवर्तन (स्वस्थ शरीरको तौल र नियमित शारीरिक गतिविधि) ले उच्च जोखिममा रहेको टाइप टु मधुमेहको विकासलाई रोक्न मद्दत गर्ने धेरै प्रमाणहरु संयुक्त राज्य अमेरिका, फिनल्याण्ड, चीन, भारत र जापानका अध्ययनहरूबाट आएका छन्।
विशेष गरी जोखिममा रहेका मानिसहरूका लागि नियमित स्क्रिनिङ र चेक-जाँच गर्ने र प्रारम्भिक लक्षणहरू पत्ता लगाउनाले मधुमेहको सुरुवातलाई रोक्न वा ढिलाई गर्न सकिन्छ। टाइप टु मधुमेहको संक्रमणबाट बच्न प्रारम्भिक निदान महत्त्वपूर्ण हुन्छ। मधुमेह चाँडै पत्ता लगाउने सबैभन्दा राम्रो तरिका स्वास्थ्य सेवा प्रदायकसँग नियमित चेक र रगत परीक्षण गराउनु हो।
मधुमेहको उपचार के हो?
मधुमेहको उपचार रगतमा ग्लुकोजको मात्रा घटाउनु र मधुमेहका जटिलताहरू हुन बाट रोक्नु मुख्य हुन्। मधुमेहका बिरामीले चिकित्सकको सल्लाह बमोजिम रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न औषधि सेवन र नियमित इन्सुलिन इन्जेक्सन वा दुवै आवश्यक हुन्छ। यसका लागि जीवनभर हेरचाह र व्यवस्थापन चाहिन्छ।
मधुमेह हुनबाट रोक्न र नियन्त्रण गर्न व्यक्ति, समुदाय, नागरिक समाज र निजी क्षेत्र र सरकारले के के गर्न आवश्यक छ?
स्वस्थ शरीरको तौल कायम राख्ने, शारीरिक रूपमा नियमित सक्रिय हुने (दैनिक कम्तिमा पनि ३० मिनेट मध्यम देखि तीव्र गतिविधि गर्ने, फलफूल र तरकारीको स्वस्थ आहार खाने, चिनी र संतृप्त बोसोको सेवन कम गर्ने। त्यसैगरी समुदाय र नागरिक समाजले शारीरिक क्रियाकलापको लागि पार्क र खेल मैदानहरूको पहुँचमा सुधार गर्ने, मधुमेह र यसका जटिलता र रोकथामका बारेमा सचेतना सिर्जना गर्ने, समाजसेबी बुद्दिजिबि नागरिक समाज साथै सामुदायिक नेताहरूलाइ पहिचान गरि उनीहरुले मधुमेह भएका मानिसहरूको आवश्यकता र अधिकारका लागि कडा रुपमा आवाज उठाउने वातावरण सिर्जना गर्ने जस्ता गतिविधिहरुमा विशेष जोड दिन नितान्त जरुरि छ।
मधुमेहको जोखिम रोक्न र नियन्त्रण गर्न निजि क्षेत्रले निभाउनु पर्ने भूमिका पनि महत्त्वपूर्ण छ जसमा उधोगमा प्रशोधित खानाहरूमा चिनी, नुन र बोसोको मात्रा घटाउने, विशेष गरी बच्चाहरूलाई अस्वास्थ्यकर खानाको बारे बजारीकरण नगर्ने, स्वस्थ खाना छनोटहरूको उपलब्धता सुनिश्चित गर्ने र कार्यस्थलमा नियमित शारीरिक गतिविधि अभ्यासलाई समर्थन मुख्य कदमहरु हुन्। जिम्मेवारी र कर्तब्यको हिसाबले सरकारको तर्फ बाट चाल्नु पर्ने कदम अन्य क्षेत्र भन्दा अझै महत्त्वपूर्ण हुने कुरामा दुइ मत छैन। तिन तहको सरकारले नै मधुमेह एक महत्त्वपूर्ण सार्वजनिक स्वास्थ्य समस्या हो भनेर स्वीकार गरि योजना बनाई कार्यन्योवन गर्नु गर्दै जानु पर्छ, आमसञ्चार माध्यम र अन्य माध्यमहरु बाट स्वास्थ आहार र शारीरिक क्रियाकलापको बारेमा जनचेतना जगाउने, स्वस्थ नीतिहरू प्रवर्द्धन गरि हिड्ने, साइकल चलाउने, खेलकुद र अन्य शारीरिक गतिविधिहरू गर्नको लागि उपयुक्त वातावरण सिर्जना गर्ने, अस्वास्थ्यकर खाद्य उत्पादनहरूको बजारीकरणमा प्रतिबन्ध लगाउने नीतिहरू बनाई र लागू गर्ने, शैक्षिक संस्थाको पाठ्यपुस्तकमा मधुमेह बारे समाबेश गर्ने, कार्यस्थलहरूमा शारीरिक गतिविधि र स्वस्थ आहारको सुनिश्चितता, उपचार र हेरचाहमा पहुँच र मधुमेहका लागि इन्सुलिन र अन्य आवश्यक औषधिहरूको सुनिश्चितता विशेष कार्यहरु हुन्।
मधुमेह व्यवस्थापन संगै विद्यमान धेरै चुनौतीहरू छन् जस्तै उच्च उपचार लागत, सीमित स्वास्थ्य सुविधाहरूको उपलब्धता, रोग बारे जनचेतनाको कमी र विशेष गरी नेपालमा यस रोगको रोकथाम र उपचारको लागि उपलब्ध स्रोतसाधनको सिमितता आदि रहेको बिभिन्न अनुसन्धानले औल्याएका छन्। नेपालमा उच्च रक्तचाप र मधुमेहको प्रकोप बढ्दै गए पनि यसको प्रभावकारी रोकथाम, उपचार र नियन्त्रणमा प्रगति न्यून मात्रामा रहेको पाइएको छ। नेपालका भिभिन्न खोजमुलक अनुसन्हधानरूले नेपालमा तत्काल राष्ट्रव्यापी सार्वजनिक स्वास्थ्य कार्य गर्नुपर्ने निचोड निकाले पनि प्रयाप्त हुन् सकेको छैन। यस सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिले नै नसर्ने रोग बहुक्षेत्रीय कार्ययोजना तयार गरिसकेको छ र हालै मन्त्रिपरिषद्ले नसर्ने रोगहरूका लागि बहुक्षेत्रीय कार्य योजना (२०२१-२०२५) अनुमोदन गरेको छ। यो कार्ययोजनामार्फत मधुमेहको बोझ घटाउने लक्ष्यलाई पुरा गरि नसर्ने रोगको ब्यापकता र निम्त्याउने जटिलता न्यूनीकरण गर्न जरुरी छ।
(लेखक लक्ष्मण पौडेल जनस्वास्थ्यकर्मी हुन्।)