प्राडा विशेष पौडेल नेपालमा रक्तरोगका उपचार गर्ने चिकित्सक मात्रै होइन, यसबारे चेतना फैलाउने अभियान्ता समेत बनिसकेका छन्। नेपालमै बोनम्यारो ट्रान्सप्लान्ट सेवा सुरु गरेर सयौं बिरामीलाई गुन लगाएका उनी अहिले रक्तरोगसँग समबन्धित सम्पूर्ण उपचार सेवा नेपालमै सुरु गर्ने विषयलाई जोडतोडका साथ उठाइरहेका छन्। निजामति कर्मचारी अस्पतालमा सवै प्रकारका रक्तरोगको उपचारका लागि विशिष्टिकृत सेवा प्रदान गर्ने सेन्टरका रुपमा विकास गर्न उनी लागिपरेका छन्। डा पौडेलसँग डिबी खड्का र लक्ष्मी चौलागाईंले गरेको संवाद :
रक्तक्यान्सरका बिरामीको चाप कस्तो छ। यहाँको स्रोतसाधनले धानेको छ?
रक्त क्यान्सरका बिरामीको प्रमुख उपचार गन्तब्य निजामती कर्मचारी अस्पताल रहेको छ। जसका लागि अस्पतालले २५ बेड छुट्याएको छ। अहिले हामी अन्य बेडमा पनि भर्ना गर्छौं। देशभरबाटै रक्त क्यान्सरका बिरामीहरु रिफर भएर निजामती कर्मचारी अस्पताल आउने गर्छन्। त्यसैले अन्य बेडमा भर्ना गएर भएपनि सेवा दिने प्रयास गरिरहेका छौं। कहिलेकाहिँ दिनमै रक्त क्यान्सरका मात्रै ४५ बिरामीहरु अस्पताल पुग्ने गरेको पाइएको छ।
कति ओपीडीको टिकट नपाएर फर्किरहेका हुन्छन्। कति बेड नपाएर फर्किरहेका छन्। यहाँको सिमित बेडका कारण सबैलाई भर्ना लिन र उपचार गर्न सकिँदैन। उदाहरणका रुपमा एउटा एक्युट ल्युकेमिया नामक एउटा रगतको क्यान्सर हुन्छ। उक्त क्यान्सरका बिरामीको उपचार चाँडै हुन नसक्दा रोग लागेको केही सातामा नै बिरामीको ज्यान जाने जोखिम रहन्छ। हामीले वार्षिक रुपमा उक्त क्यान्सरका २५० देखि ३ सय जनाको निदान गरेका रहेछौं। अन्य ५६ किसिमका रक्तक्यान्सर हुन्छन्।
यहाँको चाप हेर्दा रक्त क्यान्सरका लागि मात्रै छुट्टै अस्पताल आवश्यक भइसकेको हो?
मैलै निजामती अस्पतालमा सेवा सुरु गरेको अवधिसँग तुलना गर्ने हो भने अहिले बिरामीको चाप अत्याधिक बढेको छ। दैनिक बढ्दो रक्त क्यान्सरका बिरामीको उपचारका लागि सरकारले विभिन्न अस्पतालमा बेड छुट्याउन थालेको छ। हरेक अस्पतालमा रक्त रोगका बिरामीका लागि अलिअलि बेड छुट्याउने तरिका समाधान होइन। किनभने रक्तरोगका लागि छुट्टै सेन्टर हुनुपर्छ। गंगालाल हृदय केन्द्र मुटु उपचारका लागि राम्रो हुनुको कारण विशिष्टीकृत अस्पताल भएर हो। जसरी त्रिवि शिक्षण अस्पताल अन्तर्गत मनमोहन हृदय रोग केन्द्रको स्थापना गरिएको छ, त्यसरी नै निजामती कर्मचारी अस्पतालभित्र रक्त रोग उपचार केन्द्र स्थापना हुन जरुरी छ। सरकारले त्यसो नगर्ने हो भने रक्त रोगको उपचारमा रहेका समस्याको समाधान हुन सक्दैन।
जनशक्तिको अवस्था कस्तो रहेको छ?
अहिले कति बिरामी भर्ना हुन बेड नपाएर फर्किन्छन्। कति ओपिडीको टिकट नपाएर फर्किन्छन्। रक्त क्यान्सरको उपचारका लागि आएका २०- २५ जना बिरामीलाई उपचार दिन नसकेर रिफर गर्नुपर्ने अवस्था छ। भौतिक संरचना तथा जनशक्ति अभावका कारण उपचारका लागि आएका बिरामी रेफर गर्नुपर्ने बाध्यता रहेको छ। नियमित रुपमा यहाँ डाक्टर म मात्रै भएँ। आउने-जाने भने चलिरहेको छ। अहिले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा हेमाटोलोजीको अध्ययन सुरु भएको छ। त्यसकारण हामीसँग केही रेजिडेन्ट डाक्टरहरु छन्।
आगामी दिनमा जनरल अस्पतालको मातहातमा १०० बेड नै दिएपनि रक्त क्यान्सरको उपचारका रहेका समस्या समाधान हुन्छ जस्तो मलाई लाग्दैन। यसको विकल्प नै विशिष्टिकृत रक्त क्यान्सर उपचार केन्द्र नै हो। कोठा मात्रै भएर भएन। जनशक्ति चाहियो। उक्त विशिष्टीकृत अस्पतालमा लागि ४ जनासम्म रक्तरोगका लागि मात्रै दक्ष प्याथोलोजिष्ट आवश्यक पर्छ। अस्पताल जनरल भनिएको छ। प्याथोलोजिस्ट माग्दा जो पनि आउने भयो। त्यसकारण हामीले खोजेको मान्छे ल्याउन सकिदैन। ल्याबको सपोर्ट राम्रो भएन उपचार राम्रो हुँदैन। रक्त रोगको अनुसन्धान, उपचार तथा बोनम्यारो प्रत्यारोपणका लागि विशिष्टीकृत अस्पताल नबनाएसम्म नेपालमा रक्त क्यान्सरको उपचारमा रहेका समस्या समाधान हुन सक्दैन। पेशा सुरु गर्दा समयमा जनरल अस्पतालको हाँगामा नै बसेर काम गर्न सकिन्छ भन्ने मलाई लाग्थ्यो। करिब २ दशकको यस क्षेत्रको खटाइले आगामी दिनमा यसरी जान सकिदैन भन्ने लाग्न थालेको छ।
तपाईंले विशिष्टिकृत अस्पतालको विषयलाई नीति निर्मातासम्म पनि पक्कै पुर्याउनुभएको होला। कसरी लिएको ठान्नुभएको छ?
कुरा सुनाउँदा जसले पनि 'हो, जरुरी छ र हुनुपर्छ' भन्छन्। भोलिपल्ट बिर्सिदिन्छन् जस्तो लाग्छ। रक्त क्यान्सर उपचारको लागि नेपालमा भिन्नै केन्द्रको आवश्यकता छ भनेर पटक-पटक सरकारसँग कुरा राखे पनि हालसम्म यस समस्याको समाधान कुनै पनि सरकारले दिन सकेको छैन।
उहाँहरुसँग कुरा राख्यो, त्यसको सुनुवाईका लागि कुनै पनि सरकारका प्रतिनिधीले एक कल फोनसमेत गरेका छैनन्। कतिपय ठाउँ त एकपल्ट कुरा सुनाउँदा एउटा मान्छे हुन्छ, अर्कोचोटी फलोअपमा जाँदा अर्कै हुन्छ। हामीसँग लबिङ गरिरहने मान्छे पनि छैन। म त्यसका लागि लबिङ गर्न जाँदा यहाँ बिरामीको उपचार प्रभावित हुन्छ। यद्यपि जनशक्ति नहुँदा म आफू बिरामीको उपचारमा नै व्यस्त हुनाले हाम्रो माग निरन्तर सरकारसमक्ष लैजाने मान्छे समेत हामीसँग छैनन्। अन्य फिल्डमा कुरा गर्दा २०–३० जनासम्म चिकित्सक हुन्छन्। कोही लबिङमा हुन्छन्। रक्त क्यान्सरको उपचारका लागि म एक्लो छु, माग सम्बोधन गर्न अनुरोध गर्दै मन्त्रालय धाउँदा यहाँ बिरामी हेर्ने मान्छेसमेत हुँदैन।
त्यस्तै यस विषयमा सरकारले गम्भीरता नदेखाएको भन्ने पनि लाग्छ। रक्तरोग भन्नाले रक्त क्यान्सर मात्रै भन्ने बुझेको हो कि सिकलसेल, थालासिमिया नबुझेकी हो कि? वंशाणुगत रुपमा रहेका अन्य प्रकारका रक्त रोगहरुबारे जानकारी नभएको हो कि? हामीले नयाँ-नयाँ रोग पत्ता लगाइरहेका छौं। रक्त क्यान्सरका बिरामीहरुको उपचारका क्रममा हामीले सातामा नै एक-दुईवटा नयाँ प्रकृतिका रोगहरुको पहिचान गरिरहेका हुन्छौं। तर, सरकारले क्यान्सर रोगको उपचार भन्दैमा सबै क्यान्सरका उपचारलाई एकमुष्ट रुपमा राखेको छ।
निको पार्न सकिने रोगहरुमा समेत जनशक्ति, भौतिक पूर्वाधार र सरकारी सहयोग नपाउँदा कस्तो महशुस हुन्छ?
क्यान्सर बाहेकका रगतका अन्य रोगहरु जुन भयावह छन् भन्ने बुझिएन। सरकारको नेतृत्व गर्नेहरुलाई गर्नेहरुलाई छैन। त्यस्तै क्यान्सर लागेमा त्यसलाई मृत्युसँग मात्रै जोडेर हेर्ने गरिन्छ। यद्यपि रक्त क्यान्सरको कुरा गर्नुपर्दा अन्तिम अवस्थामा आइपुग्दा समेत निको हुने दर राम्रो छ। अन्य क्यान्सरको तुलनामा यसको निको हुने दर धेरै रहेको छ। रक्त क्यान्सर बाहेक रगतका अन्य रोगहरु निको पार्न सकिन्छ। ती रोग अधिकांश युवाहरुमा देखिने गरेको छ, समयमा नै उपचार हुन नसकेको अवस्थामा युवा अवस्थामा नै रगतका रोगबाट धेरैको मृत्यु हुन सक्छ।
युवा त्यसरी मर्नु भनेको देशलाई नै घाटा हो। छिमेकी मुलुकहरुमा ५ वर्ष मुनिका थालासिमियाका बिरामी बालबालिकाहरुमा बोनम्यारो प्रत्यारोपण गर्दा ९० प्रतिशत उपचार सफलता मिल्ने गरेको पाइएको छ। नेपालमा थालासिमियाका बिरामी मुस्किलले ४० वर्ष सम्म मात्रै बाँच्ने गरेका छन्। त्यस्तै सिकललेसका बिरामीहरुलाई बोन म्यारो प्रत्यारोपण गरेर ८० देखी ९० प्रतिशत सम्म निको पार्न सकिन्छ। सिकलसेल थोरै मात्रै बिरामीहरु उपचारको पहुँच भित्र रहेका छन्। बर्दियाको राजापुर, नेपालगन्ज लगायतका ठाउँहरुमा सिकलसेलका बिरामीहरुको अवस्था देख्दा मुटु रुन्छ।
बर्दियामा मकहाँ सिकलसेलको उपचारका लागि आएका मध्ये एकजना बिरामीको याद मेरो दिमाखमा ताजा छ। परिवारमा दुई जना सिकलसेलका बिरामी रहेछन्। आमाले एकजनालाई मकहाँ उपचारका लागि एकजना ल्याएकी थिइन्। उनले दुवै सन्तान बिरामी रहेको बताइन्। त्यसपछि अर्को बिरामी किन उपचारका लागि नल्याउनु भएको? भनेर सौध्यौं। उनले भनिन्- अर्को तर मरिहाल्छ होला, सास फेर्न नै नसक्ने अवस्था अवस्था छ। बाँच्ने आशा नभएकोलाई उपचारका लागि समेत नल्याएको अवस्था यसले दर्शाउँछ।
त्यस्तो अवस्थामा रगतको क्यान्सर बाहेकका रोगका कति बिरामी होलान् र रक्त क्यान्सर बाहेक निको पार्न सकिने रोगका कारण यसरी बिरामीहरुको अल्पायुमै ज्यान गइरहेको दर्दनाक अवस्था रहेको छ। यस्तो अवस्थामा बारे सरकारले बुझ्न नचाहेको हो वा हामीले बुझाउन नसकेको हो, म अलमलमा छु। कतिपय विदेशमा हुने सेमिनार तथा गोष्ठीहरुमा समेत मैले नेपालको यस्तो अवस्थाबारे भनेको पनि छु।
एउटा छुट्टै सेन्टर बनाउने हो भने कार-टी सेल र जिन थेरापी पनि यहाँ गर्न सकिन्छ। मैले रक्तरोगबारे पढाइरहेको छु तर यहीँ राख्न सक्दिनँ। जनशक्ति अभाव कायम छ। छुट्टै सेन्टर हुँदा चाहिएको जनशक्ति राख्न सक्ने वातावरण हुन्छ। यही संरचनामा पनि आवश्यक जनशक्ति राख्ने संयन्त्र पनि चाहिन्छ। यसका लागि मैले १० चोटी मन्त्रालय धाएँ होला। तर, अहिलेसम्म त्यस्तो वातावरण बनेको छैन।
भौतिक संरचना तथा सरकारी दरबन्दीका अभावमा मैले आफूले पढाएका विद्यार्थीहरुलाई समेत नेपालमै राख्न सक्ने अवस्था छैन। यदि रक्त रोगको उपचारका लागि विशिष्टीकृत केन्द्रको स्थापना गरिए बिरामी र जनशक्ति दुवै बाहिरिनुपर्ने अवस्था हुँदैनथ्यो।
अहिले सिभिल अस्पतालमा बेड अभावका कारण रक्तरोगका बिरामी फर्किनुपर्ने दर कस्तो छ?
सकभर हामीले बिरामीलाई उपचारकै लागि बाहिर नपठाउने कोशिस गरिरहेका छौं। कतिपय बिरामीहरुको उपचारका लागि पालो कुर्दैमा ८– ९ महिना बित्ने गर्छ, यस्तो अवस्थामा हामीले बिरामीलाई कुराएर राख्न मिल्दैन। क्यान्सर भएकोलाई बिरामीहरुलाई केमोथेरापी दिएर रोगलाई नियन्त्रणमा राखेर १ महिनाभित्र बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने हुन्छ। हामीसँग बोनम्यारो प्रत्यारोपणका लागि २०१६ देखि २ वटा मात्रै बेड छन्।
अहिलेकै चाप हेर्ने हो भने एक महिनाभित्र बिरामीको पालो नै आउँदैन। त्यसैले हामीले नचाहँदा नचाहँदै बिरामीलाई यथार्थ कुरा गर्नुपर्छ। त्यस्तो अवस्थामा उपचारको खोजीमा रक्त क्यान्सरका बिरामी विदेशिने गर्छन्। समयमा यस विषयमा सरकार संवेदनशील नबन्ने हो भने यसले भयावह अवस्थाको निम्त्याउँछ।
म आफैंले पहिले उपचारका लागि बाहिर जानुहुन्न भन्थें। सकेसम्म सरकारीमै सेवा दिनुपर्छ भन्थें। म आफैं पनि निजी अस्पतालमा बोनम्यारो प्रत्यारोपण गरेर सरकारीमा आएको हुँ। तर, बिरामीले उपचार नपाउनु भन्दा विकल्प सोच्ने कि भन्ने ठाउँमा पुगेको छु।
यस्तो अवस्थाले दुई दशक सरकारी सेवामा बिताएको मलाई आफैं निजी संस्था खोलेर रक्त रोगको उपचार सुरु गरौं कि भन्ने पनि लाग्छ। निजी संस्थामा १० बेड मात्रै राखेर उपचार सुरु गरेमा महँगो शुल्क तिरेर उपचारका लागि विदेशिने केही संख्यालाई रोक्न सकिन्थ्यो कि भन्ने महशुस हुन थालेको छ।
सिभिल अस्पतालमा आइपुगेका रक्तरोगका बिरामी नफर्काउन कुन प्रकारको पूर्वाधार र जनशक्ति चाहिएला?
हामीले कार-टी सेल उपचार विधीबाट नेपालमा उपचार गर्नका चीन सरकारसँग सहयोग समेत मागेका छौं। यसका लागि चीन सरकार एकदमै सकारात्मक समेत रहेको छ। विश्वमै सबैभन्दा धेरै कार-टी सेल थेरापीबाट विधिबाट सफल उपचार गर्ने चिन हो। चिनकै सहयोगमा निजामती कर्मचारी अस्पताल बनेको हुनाले हामीले चीन सरकारसँग सहयोग मागेका हौं।
त्यसका साथै हामीले जीन थेरापी विधीबाट समेत उपचारको थालनी गर्ने भएका छौं। हेमोफिलियाको बिरामीका लागि हो यो जीन थेरापीबाट हालसम्म अमेरिकामा मात्रै उपचार गर्ने गरिएको छ।
आगामी एक वर्षभित्र निजामती कर्मचारी अस्पताल रक्त क्यान्सर र बोनम्यारो प्रत्यारोपणमा मात्रै सीमित हुने स्थिति छैन। जिन थेरापी र कार-टी सेल पनि आउँछ। एक्लैले अब सकिन्नँ, मलाई हेमाटोलोजिष्ट थप ३ जना आवश्यक पर्छ। अर्को नर्सिङ स्टाफको कुरा छ। यहाँ काम गरेकाहरुले विदेशमा काम पाउने सम्भावना उच्च छ। हामीले नेपालमा रक्तरोगका उपचारमा पुष्टि गरेर देखायौं।
हामीले धेरै जर्नलमा रिसर्च पेपर छाप्यौं। बोनम्यारो प्रत्यारोपण गर्ने कुरामा नेपालका लागि निजामती अस्पतालले राम्रो छाप छोड्न सकेको छ। त्यसैले बाहिर सजिलै खपत हुने भएकाले यहाँको अवस्था देखेर पलायन हुनेको संख्या बढ्दो छ। त्यसकारण पनि सरकारले दक्ष जनशक्ति ल्याउनका लागि सहज बाटो बनाइदिनुपर्छ। रक्त क्यान्सरकै उपचारमा म भन्दा जान्ने कोही छ भने यहाँ आउने वातावरण बनाइदिनुपर्यो। ल्याब पनि त्यही अनुसारको बनाउनुपर्छ। यसका लागि आवश्यक जनशक्ति ल्याउने वातावरण सिर्जना गरिनुपर्छ।