चिकित्सा अध्ययनमा लाग्नु भन्दा पहिल्यै नै क्यान्सर बारे नसुनेको र नदेखेको होइन। पढ्दै गएर काम गर्न थालेपछि क्यान्सरलाई पनि सहजै अरु रोग जसरी आफ्नो दैनिकीको पाटो बनाँउदै गइयो। तर जब स्वर्गिय अमेरिकी डाक्टर पल कलानिथीको 'व्हेन ब्रेथ बिकम्स्स एअर' (When Breath Becomes Air) भन्ने आत्म-बृत्तान्त पढेँ तब मेरो क्यान्सरलाई हेर्ने दृस्टिकोण पुरै परिवर्तन भयो। आफ्नो स्वास्थ्य मात्र नभई व्यक्तिगत जीवन अनि पारिवारिक र पेशागत जीवनमा क्यान्सरले पार्न सक्ने आमुल परिवर्तन्; उपचार भन्दा बाहेक बिरामीलाई चाहिने आत्मबल्; बिरामी सगँसगैँ क्यान्सरलाई भोग्नुपर्ने परिवारजनको धैर्यता र क्यान्सरले आँखा अगाडि जीवनलाई सकाउदैँ जाने त्रासदी मैले त्यो किताबबाट निकै गहिराईको साथ बुझेँ। एक हिसाबले भन्दा सो किताबले रातारात मेरो क्यान्सर अध्ययन प्रतिको रुचिलाई तिब्र गति दियो।
उक्त किताबमा जिन्दगीलाई क्षणभरमै स्टेज ४ को फोक्सोको क्यान्सरले परिवर्तन गरिदिन्छ। यस्ता लिखित अलिखित पलका कथाहरु हरेक दिन फोक्सोको क्यान्सरको दस्तावेजमा दर्ता हुन्छन। विश्व स्वास्थ्य सगंठनको २०२०को डाटा अनुसार हरेक वर्ष लगभग २२ लाख जना नयाँ फोक्सोको क्यान्सरको बिरामी रिपोर्ट हुन्छन भने लगभग १८ लाख जना यसकै कारण मर्ने गर्छन। यसले गर्दा आज पनि लङ्स क्यान्सर संसारभरमै पुरुषहरुमा पहिलो र महिलाहरुमा दोस्रोमा धेरै हुने क्यान्सरमा पर्दछ। यो क्यान्सरलाई प्राथमिकता दिदैँ यो बारे जागरुकता बढोस भनेर २०१२ देखि हरेक अगस्त १ लाई ‘वर्ल्ड लङ्स क्यान्सर डे’ को रुपमा मनाइन्छ। आज पनि देखापर्ने लगभग ८५ प्रतिशत फोक्सोको क्यान्सर धुम्रपानको कारण हुने गर्दछ। बाकीँ १५ प्रतिशत क्यान्सर भने अप्रत्यक्ष धुम्रपान (आफूले धुम्रपान नगरेपनी अरुले धुम्रपान गर्दा त्यहाँ हुनु), वातावरण प्रदुषण ; औधोगिक धुवाँ; जेनेटिक्स्; विकिरण्; वातावरणमा युरेनियम्, आर्सेनिक जस्ता धातु; फोक्सोका अरु रोग इत्यादीले गर्दा हुन्छ। सरल भाषामा भन्दा फैलिँदो फोक्सोको क्यान्सरको प्रमुख कारण आफु वरीपरिको मैलिँदो हावा हुन आउँछ।
क्यान्सरहरुमै ‘साइलेन्ट किलर’ भनि कहलिएको फोक्सोको क्यान्सर अधिकाशं समय धेरै फैलिसकेपछि मात्रै थाहा हुन्छ। यसो हुँदा उपचार पद्दतिका पाटाहरु साघुरिँदै जाने र बिरामीलाई दिन मिल्ने औषधि वा रेडिएसन पूर्णरुपले रोगको निवारणका निम्ती पर्याप्त नहुने देखिएको छ। त्यसैले हाम्रो लागि सरल विकल्प भनेको फोक्सोको क्यान्सरका लक्षणहरुको समयमै पहिचान र जाँच (स्क्रीनिङ) हो। उक्त स्क्रीनिङ छातिको सिटी स्क्यानले गरिन्छ। छाती दुख्नु, लामो समयसम्म खोकी लागिरहनु, सास फेर्न गाह्रो हुनु, अप्रत्यासित रुपमा तौल घट्नु, खकारमा रगत आउनु, थकान महसुस गरिराख्नु यो क्यान्सरका केही लक्षणहरु हुन। यसो हेर्दा टिबी र फोक्सोका अन्य रोगका लक्षणहरुसगँ मिल्दो जुल्दो लाग्ने यी लक्षणहरुका कारण नै आम जनमानस प्राय: क्यान्सरको पहिचानसम्म पुग्न ढिला हुने गर्छन। लक्षणका अलावा पनि केहि वर्गका व्यक्तिहरु भने 'सिटी स्क्यान' गरी क्यान्सर स्क्रीनिङ गर्न तत्पर रहनुपर्छ। यो वर्गमा ५५ देखि ८० वर्षका जमात; धुम्रपान गरिरहेका वा गएको १५ वर्षभित्र धुम्रपान त्यागेका व्यक्तिहरु वा बिगत ३० वर्षदेखि दिनको २० वटासम्म चुरोट पिउनेहरु र क्यान्सर स्क्रीनिङका लागि इच्छुकहरु पर्दछन। स्क्रीनिङका लागि गरिने सिटी स्क्यानका भने आफ्नै फाइदा-बेफाइदाहरु छन। आफ्नो लागि के गर्दा उचित होला भनि जान्न र 'फाइदा- जोखिम 'को लेखा-जोखा गर्न आफ्नो डाक्टरसँग परामर्श लिनु उचित हुन्छ।
अमेरिकी क्यान्सर सोसाइटीको अनुसार सामान्यत देखापर्ने फोक्सोको क्यान्सका सबै स्टेजलाई सगैँ राखेर हेर्दा ५ वर्ष सर्भाइभल रेट (मतलब क्यान्सर पहिचान पछि उपचार सुरु भएकाहरुमा ५ वर्षसम्म बाँच्नेहरुको दर) ७ - २८ प्रतिशत छ। यो डाटा हेर्दा त्यति सन्तोषजनक नभए पनि नफैलिएको क्यान्सरहरुमा भने ५ वर्ष सर्भाइभल रेट ३०-६५ प्रतिशतसम्म छ।
हामीले गहिरिएर फोक्सोको क्यान्सरलाई बुझ्ने हो भने यो आफैँमा जटिल क्यान्सर हो। यसको पहिचान, उपचार, जटिलता आफैँमा समस्त अवुर्द्ध रोगको निदानमा सलग्नंहरुको लागि एउटा चुनौती हो। स्वास्थ्यको नियमित परीक्षण, वायु प्रदुषणको रोकथाम, धुम्रपान विरुद्द अभियान अनि व्यक्तिगत तहमा आफैँमा धुम्रपान प्रतिको आचरण परिवर्तन हामीले बच्नका निम्ती गर्न सक्ने उपायहरु हुन। मैले क्यान्सर विभागमा काम सुरु गरेको केही हप्तामा सबै भन्दा बढी देखेको क्यान्सर पनि फोक्सो कै क्यान्सर हो। रोग जति नै जटिल भए पनि हरेक दिन आफ्ना बिरामीहरुमा देख्ने अदम्य साहसले मलाई जीवनप्रति कृतज्ञ बनाउछँ अनि हरेक दिन खुलेर जिउनुको औचित्य सिकाँउछ। मृत्यु नै ससारंको एक मात्र शावस्त सत्य हो भन्ने थाहा हुँदा हुँदै पनि जिन्दगीलाई आफ्नो तरिकाले जिउन अलिकती ढिला भएछ भन्ने कुरा बुझ्न हामिलाई किन क्यान्सर जस्तै रोग सामुन्ने परे पछी मात्र याद आउने होला ?
आफ्नो ड्युटीको हरेक दिन एक चिकित्सक भन्दा बाहिरी पाटोमा बसेर म आफ्ना बिरामीहरुलाई हेर्नेगर्छु। एक जीवनसँग जोडिएको अनेकौँ जीवनको सघर्षंले मलाई धेरै पल्ट भावुक बनाउछँ तर यति हुँदा हुँदैँ पनि क्यान्सरको विकरालताको वैज्ञानिकतासँग म अभिन्न रहन सक्दिन। निकट भविष्यमै क्यान्सर अझै फैलिएको र मौलाइएको देख्न पाइने छ। त्यसका लागि हामी तयार रहनुपर्छ।
(ओली हाल बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा डिपार्ट्मेन्ट अफ अंकोलोजीमा मेडिकल अधिकृत छन्। )