काठमाडौं- जुम्लाकी ७४ वर्षीया देविकन्या आचार्य निमोनियाको समस्या लिएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा भर्ना भइन्। उनलाई अस्पतालमै हृदयघात भयो।
चिकित्सकले सुरुमा औषधि दिएर ४८ घण्टा अस्पतालमै अब्जरभेसनमा राखे। ४८ घण्टाभित्रै फेरि अर्को पटक हृदयघात भयो। त्यसपछि चिकित्सकले ‘एन्जियोप्लास्टी’ गर्नुपर्ने भन्दै भेरी अस्पताल, नेपालगञ्जमा रेफर गरे। आचार्यका परिवार हेलिकोप्टर बोलाएर देविकन्यालाई उपचार गराउन भेरी अस्पताल जान तयार भए।
तर, मौसमको खराबीका कारण हेलिकोप्टर उडेन। हृदयघात भएको तीन दिनपछि मात्र देविकन्यालाई हेलिकोप्टरमार्फत भेरी अस्पताल नेपालगञ्ज लगियो। तर उनको उपचारमा ढिलाइ भयो। यो घटना गत असोजको हो। देविकन्याको हृदयघातको कारण मृत्यु भएको १० महिना भइसकेको छ। तर उनको परिवारलाई समयमै उपचार हुने अस्पतालमा पुर्याउन नसकेकोमा पश्चाताप हुन्छ।
‘दुई दिनसम्म हेलिकोप्टर कुर्दा समयमै उपचार हुने अस्पतालसम्म पुर्याउन सकिएन,’ देविकन्याका नाति जनक आचार्यले भने, ‘जुम्लाबाट नेपालगञ्ज पुर्याउँदासम्म ढिला भयो, उहाँ बित्नुभयो।’ देविकन्याका नाति जनकलाई समयमै भेरी असस्पताल पुग्न सकेको भए हजुरआमा अझै बाँच्ने थिइन् भन्ने लाग्छ। उनले भने, ‘हजुरआमा त हामीभन्दा पनि हट्टाकट्टा हुनुहुन्थ्यो, समयमै भेरी अस्पताल पुगेर एन्जियोप्लास्टी गराउन पाएको भए त हजुरआमा बाँच्नुहुन्थ्यो जस्तो लाग्छ।’
उनको उपचारमा संलग्न भेरी अस्पतालका मुटुरोग विशेषज्ञ डा कृष्णप्रसाद अधिकारी उपचारका लागि आइपुग्दा नै ढिला हुँदा देविकन्यालाई बचाउन नसकिएको बताउँछन्। देविकन्या जस्तै समयमै उपचारमा नपुग्दा हृदयघात भएका धेरै बिरामीले ज्यान गुमाउन परेको डा अधिकारी बताउँछन्। ‘हृदयघातमा जति छिटो बिरामी आयो त्यति राम्रो उपचार हुन्छ। तर बिरामी समयमै उपचारका लागि आइपुग्दैनन्,’ डा अधिकारले भने।
डा अधिकारीका अनुसार ८० प्रतिशत मुटुरोगका बिरामी समयमै उपचारका लागि आउँदैनन्। दीर्घकालीन र तत्कालीन मुटुमा समस्या भएका बिरामी हुन्छन्। ‘समयमै उपचारमा नआउँदा बिरामीको अकालमै मृत्यु हुने, उपचार सम्भव नहुने सम्भावना हुन्छ,’ उनले भने, ‘२० प्रतिशत मात्र बिरामी समयमै आउँछन् होला। ८० प्रतिशत बिरामी ढिला आउँछन्।’
नेपालगञ्जबाटै आउने बिरामी समेत ५० प्रतिशत मात्र समयमै आउने गरेको पाइएको डा अधिकारीले जानकारी दिए। उनले ढिला अस्पताल आएकामध्ये पनि धेरै बिरामीको भेरीमै उपचार हुँदा जीवन बचाउन सफल भएकोमा खुसी लाग्ने बताए। ‘विगतमा यहाँ उपचार सेवा नहुँदा काठमाडौं जानुपथ्र्यो,’ उनले भने, ‘जसका कारण कतिपय बिरामीको बाटोमै मृत्यु हुने अवस्था थियो। तर अहिले यहाँ नै सेवा पाउँदा धेरैको जीवन बचाउन सफल भएका छौं।’
संघीय अस्पतालको रुपमा रहेको भेरी अस्पताल नेपालगञ्जमा जन्मजात मुटुको रोग, बाथ मुटुरोग, मुटुका नसा साँघुरिएर हुने समस्या, मुटुको चाल गडबडी, मुटुको भल्भमा समस्या, मुटु बन्द हुने, मुटु फेल हुने, हृदयघात लगायतका समस्या लिएर बिरामीहरु उपचारका लागि आउने गरेको डा अधिकारीले जानकारी दिए।
डा अधिकारीका अनुसार भेरी असपतालमा डडेल्धुरा, दार्चुला, कैलाली, जुम्ला, डोल्पा, मुटु, सुर्खेत, दाङ लगायतका जिल्लाबाट मुटुका बिरामी उपचारका लागि आउने गरेका छन्। डा अधिकारीसहित भेरी अस्पतालमा दुई जना मुटुरोग विशेषज्ञ छन्। ८ वर्षदेखि कार्यरत मुटुरोग विशेषज्ञ डा अधिकारी ११औं तहका हुन्। भेरी अस्पतालमा ९ र १०औं तहको मात्र दरबन्दी भएकाले स्वास्थ्य मन्त्रालयले उनलाई काजमा खटाएको छ।
डा अधिकारीका अनुसार भेरी अस्पतालमा दैनिक ओपिडीमा मात्र मुटुको जाँच तथा उपचारका लागि ८० जना बिरामी आउने गर्छन्। यस्तै, भर्ना भएर उपचाररत बिरामी १० जना र दैनिक ३ जना मुटुका बिरामीको एन्जियोग्राफी र एन्जियोप्लास्टी हुने गरेको छ। डा अधिकारी भेरी अस्पतालमा अन्य रोगका बिरामीको चाप पनि हुने भएकाले समयमा बिरामीका लागि शय्या उपलब्ध गराउन समस्या हुने गरेको बताउँछन्।
‘भेरी अस्पतालमा जम्मा १० बेडको आईसीयू छ, एन्जियोप्लास्टी गरेका बिरामीलाई आईसीयू उपलब्ध गराउनै समस्या हुन्छ,’ उनले भने, ‘एन्जियोप्लास्टी गरेपछि बिरामीलाई बेड खोज्न पर्छ। अरु डाक्टरसँग मेरो बिरामीलाई आईसीयू मिलाइदिनु भनेर आग्रह गर्नुपर्छ।’ डा अधिकारीका अनुसार हृदयघात भएका बिरामीलाई अवस्था अनुसार ५ दिनसम्म राख्नुपर्ने हुनसक्छ। यस्तै अत्यधिक सिकिस्त अवस्थाका, एन्जियोप्लास्टी गरेका बिरामीलाई पनि आईसीयू आवश्यक पर्न सक्छ। वार्डमा भने शय्या अभाव नभएको डा अधिकारीले बताए।
पछिल्लो समय युवाहरुमा हार्ट अट्याकको समस्या बढिरहेको डा अधिकारी बताउँछन्। डा अधिकारीको टिमले भेरी अस्पतालमै हृदयघात भएको २४ वर्षका युवाको समेत एन्जियोप्लास्टी गरेर जीवन बचाउन सकेका छन्।
०००
हृदयघात भएका २७ वर्षीय एक युवकदेखि ९१ वर्षीय वृद्धसम्मलाई पोखरामा नै उपचार सेवा दिएर नयाँ जीवन दिएका छन् गण्डकी मेडिकल कलेजमा कार्यरत मुटुरोग विशेषज्ञ डा मधु रोकाले। शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा काम गरिरहेको समयमा डा मधुका एक जना आफन्तलाई बागलुङमा हृदयघात भएको थियो। एक वर्ष अघिसम्म बागलुङमा मात्र होइन पोखरामा पनि हृदयघात भएकाको उपचार सुविधा थिएन।
डा मधुका आफन्तलाई काठमाडौं रेफर गरियो। तर उनको बाटोमै मृत्यु भयो। त्यसपछि डा मधुलाई लाग्यो म आफैं पोखरामा कार्यरत रहेको भए सायद आफन्तलाई बचाउन सकिन्थ्यो। अनि उनी काठमाडौं छाडेर पोखरा गए। पोखरामा पुगेपछि उनले हृदयघात भएका बिरामीदेखि मुटुका समस्या भएका धेरै बिरामीको उपचार गरेका छन्।
भन्छन्, ‘सबै जना काठमाडौं केन्द्रित हुँदा बाहिरका धेरै बिरामीले समयमा नै उपचार नपाउँदा ज्यान गुमाउनुपर्ने बाध्यता छ। मैले आफ्नोतर्फबाट सकेको प्रयास गरिरहेको छु। अहिले पोखरा लगायत कास्की, बागलुङ, स्याङजा, पर्वत, तनहुँ, म्याग्दी, मुस्ताङसम्मका बिरामीले पोखरामै सेवा पाएका छन्।’ डा रोका काठमाडौं बाहिरका सहरी क्षेत्रहरुमा कम्तीमा क्याथ ल्याब सहितको मुटु रोगको उपचार सेवा विस्तार हुनुपर्नेमा जोड दिन्छन्।
०००
१० वर्षदेखि मुटुको शल्यक्रिया सहितको सेवा दिँदै आइरहेको चितवन मेडिकल कलेजले नवजात शिशुदेखि वृद्धवृद्धाहरुको मुटुको उपचार गरेको छ। अस्पतालमा केही समयअघि ३५ दिनकी नवजात शिशुको मुटुको जटिल शल्यक्रिया भएको थियो। चितवनको भरतपुर– १ स्थित ठिमुराका २४ वर्षीय मिलन प्रजा र २० वर्षीया सविता प्रजाकी ३५ दिनकी छोरी महिमाको चितवन मेडिकल कलेजमा मुटुको जटिल शल्यक्रिया भएको हो। मुटुको डीटीजीए (डेस्ट्रो ट्रान्सपोजिसन अफ ग्रेट आर्टरिज)को शल्यक्रिया गरिएको हो। कार्डियोथोरासिस तथा भाष्कुलर सर्जन प्राडा अनिल आचार्य नेतृत्वको टोलीले शिशुको शल्यक्रिया गरेको थियो।
डा आचार्यका अनुसार मानिसको मुटुको तल्लो दाहिने कोठाबाट फोक्सोमा रगत जाने र देब्रेतिरको तल्लो कोठाबाट शरीरमा रगत जाने रक्तनली हुन्छन्। दाहिनेतर्फ फोक्सोमा गएको रगत शुद्ध भएपछि देब्रे कोठामा आएर देब्रे कोठाले शुद्ध रगत शरीरमा पठाउनुपर्नेमा शिशुको रक्तनली ठिक उल्टो थियो। डा आचार्यले भने, ‘मलाई थाहा भएसम्म हामीले चितवनमा यो शल्यक्रिया गर्दासम्म नेपालमा यस्तो प्रकृतिको शल्यक्रिया सफल भएको यो तेस्रो हो। यस्ता प्रकृतिको शल्यक्रिया गर्दा मृत्युदर ९० प्रतिशतसम्म हुन्छ। तर हाम्रो टिमले चितवनमै शिशुलाई नयाँ जीवन दिन सफल भयौँ।’
ललितपुर निवासी डा आचार्य काठमाडौं उपत्यका छाडेर चितवनमा बिरामीको सेवामा सक्रिय हुन पाउँदा आफूलाई खुसी लागेको बताउँछन्। आफ्नो अनुभव र ज्ञान मेडिकल विद्यार्थीहरुलाई सिकाउने र चितवनमा पनि विशिष्टकृत सेवा विस्तार गर्ने उनको सपना छ। ‘नेपालमा मुटुको अप्रेसन काठमाडौंमा मात्रै भयो, हरेक क्षेत्रका बिरामीलाई काठमाडौं नै जानुपर्ने, निजी अस्पताल पनि काठमाडौं मै छ,’ डा आचार्यले भने, ‘काठमाडौंमा कार्डियाक सर्जनले जागिर पनि पाउने भए, तर काठमाडौं बाहिर सेवा विस्तार भएन, काठमाडौं बाहिर नभएको सेवालाई विस्तार गरेँ भन्दा आत्मसन्तुष्टि मिल्छ। त्यही प्रयासमा जुटिरहेको छु। म एक्लैले होइन। यसमा अरु धेरै साथीहरुको साथ र सहयोग पनि छ।’ चितवन मेडिकल कलेजले विगत १० वर्षमा ७ हजारभन्दा बढीलाई शल्यक्रिया सेवा दिएको तथ्यांकले देखाउँछ।
मेडिकल कलेजमा १० वर्षअघि मुटुरोग विशेषज्ञ प्राडा श्यामराज रेग्मी सहितको टोलीले सेवा सुरु गरेका थिए। उनका अनुसार चितवनमै क्याथ ल्याब सहितको सेवा सुरु भएपछि चितवन र आसपासका क्षेत्रका बिरामीले उपचारका लागि काठमाडौं जानु परेको छैन। ‘उपचारका विषय मानिसहरुको आफ्नो छनोटको विषय हो। तर यहाँ सेवा सुरु भएपछि धेरैले काठमाडौं जानु नपरेको भन्दै खुसी साथ सेवा लिइरहनुभएको छ,’ उनले भने, ‘चितवन मेडिकल कलेजमा ९६ वर्ष उमेरसम्मका बिरामीको मुटुको शल्यक्रिया समेत भएको छ।’
बढ्दै बिरामी र मृत्युदर
नेपालमा मुटुरोग लगायतका नसर्ने रोगको भार वर्षेनी बढ्दो क्रममा छ। सन् २०१९ मा सार्वजनिक भएको नेपाल बर्डेन अफ डिजिजको प्रतिवेदन अनुसार नेपालमा हुने कुल मृत्युमध्ये नसर्ने रोगको भार ७१ दशमलव ७ प्रतिशत रहेको छ। त्यसपछि यस्तो प्रतिवेदन सार्वजनिक भएको छैन। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले छिट्टै नयाँ प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ।
परिषद्ले नेपाल बर्डेन अफ डिजिजको प्रतिवेदनहरुलाई विश्लेषण गर्दै सन् १९९० र सन् १०१९ को रोगको भारको तुलना गर्दै सार्वजनिक गरेको प्रतिवेदन नै पछिल्लो आधिकारिक तथ्यांक हो। उक्त प्रतिवेदन अनुसार नेपालमा नसर्ने रोगहरुमध्ये विशेष गरी मुटुरोग र दम नेपाली नागरिकहरुको अशक्तता र मृत्युका प्रमुख दुई कारणका रुपमा रहेको उल्लेख छ।
प्रतिवेदन अनुसार नेपालमा ३० वर्षको अवधिमा नसर्ने रोगका कारण हुने मृत्युदर दोब्बरभन्दा बढीले बढेको छ। सन् १९९० मा नेपालमा नसर्ने रोगका कारण हुने मृत्युको भार ३१ दशमलव ३ प्रतिशत थियो। सन् २०१९ मा आइपुग्दा ७१ दशमलव १ प्रतिशत मृत्युको कारण नसर्ने रोग देखिएको छ।
नसर्ने रोगमध्ये पनि मुटुरोगका कारण धेरैको ज्यान जाने गरेको प्रतिवेदनमा उल्लेख छ। नेपालमा मुटुरोगका कारण मृत्यु हुने दर २४ प्रतिशत रहेको छ। मुटुरोगका कारण महिलाको तुलनामा पुरुषको मृत्यु धेरै हुने गरेको प्रतिवेदनमा उल्लेख छ। मुटुरोगका कारण २६ दशमलव ८ प्रतिशत पुरुष र २० दशमलव ७ प्रतिशत महिलाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ।
काठमाडौं उपत्यकासहित काठमाडौं बाहिरका अस्पतालहरुमा पनि मुटुका बिरामीको चाप बढ्दो क्रममा रहेको अस्पतालहरुमा उपचारका लागि आउने बिरामीको संख्याले पनि देखाएको छ। काठमाडौंको गंगालाल अस्पतालमा सन् २०२२ मा १ लाख ६१ हजार ६६४ जनाले ओपीडी सेवा लिएका थिए। उक्त संख्या सन् २०२३ मा बढेर १ लाख ९२ हजार ९९१ जना पुगेको छ। यो संख्या यस वर्ष अझै बढेर २ लाखभन्दा माथि पुग्ने अनुमान गरिएको छ।
जनकपुरमा रहेको गंगालालकै मुटु उपचार शाखामा आर्थिक वर्ष २०७८/७९ मा ११ हजार ८२८ जनाले ओपीडी सेवा लिएका थिए। आर्थिक वर्ष २०७९/८० मा उक्त संख्या बढेर १२ हजार ११७ पुगेको छ। जनकपुरकै जानकी प्रदेशिक अस्पतामा पनि मुटुका बिरामीको संख्या बढ्दो क्रममा रहेको डा निश्चल शाह बताउँछन्। उनका अनुसार केही महिना अघिसम्म एक सातामा एक सय बिरामी ओपीडीमा आउने गरेकोमा पछिल्लो समय उक्त संख्या बढेर २ सयभन्दा माथि पुगिरहेको छ। विगतमा नेपालमा अधिकांश मृत्यु सरुवा तथा संक्रामक रोगका कारण हुने गथ्र्यो। तर पछिल्लो केही वर्षयता खानपान र जीवनशैलीमा आएको अस्वस्थ परिवर्तनका कारण नेपालमा नसर्ने रोगको भार बढ्दै गइरहेको छ।
विस्तार हुँदै सेवा
नेपालमा मुटुरोगका बिरामीको संख्या र मृत्युदर बढ्दो क्रममा रहेको तथ्यांकले देखाएपछि उपचारको अवस्था के छ भन्ने विषयमा स्वास्थ्य खबरपत्रिकाले देशका सात वटै प्रदेशका ठूला अस्पतालहरुमा मुटुरोगको उपचारका विषयमा खोजी गरेको थियो। काठमाडौंमा सहिद गंगालाल हृदय केन्द्र र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा सबै खालका उपचारको सेवा रहेको छ। यसका साथै काठमाडौंमा नै निजी क्षेत्रमा सञ्चालित नर्भिक अस्पताल र ह्याम्स अस्पतालमा पनि मुटुका धेरै उपचार सेवाको सुविधा रहेको छ।
स्वास्थ्यखबरले काठमाडौं उपत्यकाभन्दा बाहिरका विभिन्न प्रदेशका संघीय, प्रादेशिक असस्पतालसँगै मुटुरोगको सेवा प्रदान गरिरहेका टिचिङ अस्पताल, प्रतिष्ठान तथा निजी अस्पतालका एक दर्जनभन्दा बढी मुटुरोग विशेषज्ञ चिकित्सकसँग कुराकानी गरेको छ। कुराकानीमा अघिकांश मुटुरोग विशेषज्ञहरुले मुटुका बिरामीहरु समयमै उपचारका लागि नआउने गरेको पाइएको बताएका छन्।
उनीहरुले ढिला उपचारमा आउने गरेकाले पनि मुटुका बिरामीले अकालमा ज्यान गुमाउन परेको बताएका छन्। मुटुका बिरामीलाई सहज रुपमा उपचार सेवा उपलब्ध गराउन सरकारले सचेतनात्मक कार्यक्रमलाई जोड दिन आवश्यक रहेको पनि बताएका छन्। स्वास्थ्य खबरपत्रिकाले नेपालगञ्जको भेरी, पोखराको गण्डकी मेडिकल कलेज र चितवनको चितवन मेडिकल कलेजसहित कैलालीको सेती प्रादेशिक अस्पताल, सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पताल, लुम्बिनी प्रदेशका सरकारी र निजी अस्पतालहरु, बागमती प्रदेशका काठमाडौं उपत्यकाबाहेक चितवन र काभ्रेका अस्पताल, मधेस प्रदेशमा जनकपुर र वीरगञ्जका अस्पताल र कोशी प्रदेशमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरका नोबल र विराट मेडिकल कलेज सहितका अस्पतालमा रहेका मुटुरोग विशेषज्ञ र त्यहाँ रहेको सेवा सुविधाका विषयमा जानकारी लिएको थियो।
नेपालमा मुटुरोगका बिरामीको भार बढ्दै जाँदा विगतमा काठमाडौंमा मात्र सीमित रहेको मुटुरोगको उपचार सेवा क्रमशः सात वटै प्रदेशमा विस्तार भइरहेको पाइएको छ। पछिल्लो १० वर्षयता उपत्यकाबाहिर शल्यक्रिया र क्याथ ल्याबसहितको सेवा काठमाडौं बाहिर पुगेको अवस्था देखिएको छ। धूमपानको सेवन, शारीरिक सक्रियतामा कमी, अस्वस्थकर खानेकुराले पनि मुटुरोगको जोखिम बढाएको चिकित्सकहरुले बताएका छन्। यसका साथै पछिल्लो समयमा रोगको पहिचानका लागि प्रयोगशाला तथा अन्य परीक्षण विधिहरुको विस्तारले पनि बिरामीको संख्या बढेको भेरी अस्पतालमा कार्यरत डा कृष्ण अधिकारी बताउँछन्।
उनका अनुसार भेरी अस्पतालमा मुुटुरोग पहिचान र उपचारका लागि फिजिकल परीक्षण, क्लिनिकल इक्जामिनेसन, रगत परीक्षण, इसीजी, मुटुको भिडियो एक्सरे अर्थात् इको कार्डियोग्राफी, टीएमटी, होल्टर, एन्जियोग्राफी, एन्जियोप्लास्टी लगायतका सेवा उपलब्ध छन्। भेरी अस्पतालमा मुटुरोगको सर्जरी गर्नुपर्ने अवस्थामा भने भौतिक पूर्वाधार र हार्ट सर्जन नभएको डा अधिकारीले जानकारी दिए।
उनले भने, ‘हाम्रोमा बाइपास सर्जरी, मुटुको भल्भ फेर्नुपर्ने, मुटुको भल्भ खोल्नुुुुुपर्ने, मुटुको धड्कन गडबडीमा इपीएसआरएसए विधिबाट गरिने शल्यक्रिया सेवा छैन। यी सेवा आवश्यक पर्ने बिरामीलाई काठमाडौं रेफर गर्छौं।’ डा अधिकारीका अनुसार भेरी अस्पतालमा ७० प्रतिशत बिरामी समयमै फलोअपमा आउने गरेका छन्। अझै पनि ३० प्रतिशत बिरामी फलोअपमा समयमै नआउने गरेको डा अधिकारी बताउँछन्। भेरी अस्पतालमा २ जना मात्र मुटुरोग विशेषज्ञ भएकाले मुटुका बिरामीलाई सहज रुपमा सेवा दिन मुटुरोग विशेषज्ञ तथा मुटुरोग सर्जनहरु थप आवश्यक रहेको डा अधिकारीले बताए।
उनले भने, ‘हामी दुई जना चिकित्सकले मात्र भेरीमा सबै सेवा दिन सक्दैनौं, हामीलाई कार्डियाक सर्जन पनि आवश्यक छ, सर्जिकल ब्याकअप भएमा सेवाहरु थप गर्न सकिन्छ।’ डा अधिकारीले भेरी अस्पतालमा मुटुको सर्जरी सेवाका लागि भौतिक पूर्वाधारसँगै कार्डियाक सर्जन र अन्य तालिमप्राप्त विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी थप चाहिने बताए। हाल अस्पतालमा एन्जियोग्राफी गरिएका १० प्रतिशत बिरामीलाई रेफर गर्ने गरेका छन्। मुटुरोगको सेवा विकेन्द्रीकरण गर्न आवश्यक रहेको डा अधिकारीले बताए।
‘देशभरबाट सबै बिरामी गंगालालमा रेफर गरेर मात्र बिरामीले उपचार पाउन सक्दैनन्,’ उनले भने, ‘बिरामीलाई समयमै सही उपचार गर्न सेवा विस्तार र विकेन्द्रीकरण गर्न आवश्यक छ, भेरीमा पनि मुटुरोगको सेवा अझै विस्तार गर्न आवश्यक छ।’
जनकपुरमा सेवा विस्तारको योजना
जनकपुर प्रादेशिक अस्पतालमा एक्ला मुटुरोग विशेषज्ञ हुन् डा निश्चल शाह। एक्लैले प्रादेशिक अस्पतालमा आउने मुटुरोगका बिरामीलाई सेवा दिइरहेका छन्। जनकपुर प्रादेशिक असपतालमा डा शाह पनि स्थायी चिकित्सक होइनन्। छात्रवृत्ति करारमार्फत डा शाह अस्पतालमा आएको १० महिना मात्र भयो।
जनकपुर प्रादेशिक अस्पतालमा डा शाह नियुक्त हुनुअघि मुुटुरोगको सेवा नै उपलब्ध भएको दाबी गर्छन्। डा शाह नियुक्त भएपछि बल्ल अस्पतालमा मुटुरोग विभाग स्थापना भयो। हाल हप्तामा तीन दिन ओपीडी र तीन दिन इको र क्याथल्याब सेवा चल्छ। अस्पतालबाट अहिले एन्जियोग्राफीसेवा समेत चलाइरहेका छन्। डा शाह सातामा २०० मुटुरोगका बिरामी हेर्छन्। प्रत्येक दिन १५ जनाको इको गर्छन्।
यो १० महिनामा डा शाहले धेरैजस्तो मुटुसँग सम्बन्धित उच्च रक्तचापको समस्या भएका बिरामी हेरेका छन्। यस्तै हृदयघात र मुटु कमजोर भएर आउने बिरामी पनि दैनिक ७ जनासम्म आउछन्। क्रोनिक हार्ट डिजिजको समस्या भएका बिरामी जनकपुर प्रादेशिक अस्पतालमा सरदरमा ७ जना भर्ना भएर उपचाररत हुन्छन्।
जनकपुर प्रादेशिक अस्पतालमा धनुषा, महोत्तरी, सिरहा, सर्लाही जिल्लाबाट धेरै बिरामी आउँछन्। यस्तै सिन्धुलीबाट पनि बिरामीहरु आउँछन्।
यी जिल्लाबाट आउने धेरैजसो बिरामी मुटुरोग हो भनेर पहिचान नभएका नयाँ बिरामी बढी आउने गरेका छन्। मुटुरोगको लक्षण देखिए पनि अन्य रोगको औषधि सेवन गरिरहेका बिरामी आफूले भेटेको डा शाहले जानकारी दिए।
उनले भने, ‘मुटुरोग लागेको हो भन्ने पहिचान नभएर तर मुटुरोगको लक्षण देखिएका बिरामी दमको रोग भनेर औषधि खाइरहेको, हार्ट अट्याक भएका बिरामी ग्यास्टाइटिसको औषधि खाइरहेको, आकस्मिकमा तत्काल उपचार गर्नुपर्ने अवस्थाका बिरामी ओपीडीमा आइरहेका हुन्छन्।’
मुटुरोगको समस्या देखिएको तीन दिनपछि बल्ल अस्पताल आउने गरेको समेत डा शाहले बताए। ‘मेजर हार्ट अट्याक भएको बिरामी समेत तीन दिनपछि ओपीडीमा आएको समेत भेटेका छौं,’ उनले भने, ‘बिरामी नजिकको फार्मेसीबाट दुखाइको वा ग्यास्ट्राइटिसको औषधि खाएर ठिक हुन्छ कि हुँदैन भनेर कुरेर बस्ने र अन्तिममा धेरै गाह्रो हुन थालेपछि आउने गरेको बिरामी धेरै भेटाएका छौं।’
उनका अनुसार समयमै उपचार पाएर बचाँउन सक्ने अवस्था पार गरिसकेपछि आइरहेका हुन्छन्।यसको कारण डा शाह एउटै देख्छन्– मुटुरोगको विषयमा जनतामा जानकारी नै नहुनु। उनी भन्छन्, ‘जनचेतनाको कमीले पनि मुटुरोगका बिरामीहरु ढिला उपचारमा आइरहेका छन्।’ मुटुको नसाको समस्या मधेस प्रदेशमा बढी भएको डा शाह बताउँछन्। ‘कोरोनरी आर्टरीका रोगहरु मधेस प्रदेशमा धेरै र युवाहरुमा बढी पाएको छु,’ डा शाहले भने, ‘काठमाडौंमा ६० वर्षमाथिका व्यक्तिमा देखिएको यो समस्या यहाँ जनकपुर प्रादेशिक अस्पताल आउने बिरामी ३५, ४० वर्षका पनि छन्।’
मधेशमा गर्मी धेरै हुने र मानिसहरु शारीरिक व्यायाम कम गर्ने र खानपानमा पनि ध्यान नदिने हुँदा युवा अवस्थामै मुटुरोगको जोखिम रहेको डा शाहले बताए। जनकपुर प्रादेशिक अस्पतालमा मुटुको भल्भ सम्बन्धी समस्या, मुटुको चाल सम्बन्धी समस्या, उच्च रक्तचाप, हार्ट अट्याक लगायतका बिरामीहरुको उपचार हुने गरेको छ।
हृदयघातको समस्यामा १२ घण्टा भित्र आएका बिरामीलाई औषधिमार्फत नसा खुल्ने विधिको उपचार पनि गर्ने गरिएको डा शाहले बताए।
डा शाहले हेर्ने मुुटुका बिरामीलाई थप विशिष्टकृत सेवाका लागि काठमाडौंको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र वा मनमोहन कार्डियोथोरासिक तथा भाष्कुरल सेन्टर ( त्रिवि शिक्षण अस्पतालमा रेफर गर्छन्। डा शाहका अनुसार प्रादेशिक अस्पताल जनकपुरबाट एक महिनामा करिब एक सय जना मुटुका बिरामी थप उपचारका लागि काठमाडौं रेफर हुन्छन्। उनी भन्छन्, ‘मुटुको चाल गडबडी भएर पेसमेकर राख्नुपर्ने, हार्ट अट्याक भएर एन्जियोप्लास्टी गर्नुपर्ने बिरामी एक महिनामा ५० देखि १०० जनासम्म हुने गरेका छन्।’
मधेस प्रदेशमा मुटुरोगका बिरामीले संघ, प्रदेश र स्थानीय सरकारमार्फत पाउने सहुलियत र स्वास्थ्य बीमामार्फत करिब तीन लाख रुपैयाँसम्म सहुलियत पाउन सक्छन्। तर उपचारमा पाउने सहुलियतमा आफूले थप अन्य खर्च समेत जुटाउन नसक्दा कतिपय बिरामीहरु थप उपचार नगराई बस्ने गरेको पनि उनले जानकारी दिए। डा शाहले यसै वर्षदेखि एन्जियोप्लास्टी र पेसमेकरको सेवा पनि सुरु गर्ने तयारी योजना भने रहेको जानकारी दिए।
मुटुरोगका बिरामीलाई सबै उपचार सेवा उपलब्ध गराउन मुटुरोग विशेषज्ञसँगै नर्सिङ जनशक्ति, रेडियोलोजिष्ट, एनेस्थेसियोलोजिष्ट लगायतका जनशक्ति पनि आवश्यक पर्ने डा शाहले सुनाए।
डा शाह मुटुरोगबारे सचेतना कार्यक्रम कम भएकाले सरकारले जनचेतनामा फोकस गरेर कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताए। उनले मुटुरोग लाग्न नदिन वा लागिसकेपछि समस्या बढ्न नदिन स्वस्थकर खानेकुरा ताथ फलफूल खानुपर्ने भनिए पनि बिरामीका लागि महँगो पर्ने भएकाले बिरामीले खरिद गर्नै नसक्ने पनि सुनाए। उनले बिरामीलाई लक्षित गरेर स्वस्थकर खानेकुरा तथा फलफूलमा पनि सहुलियत आवश्यक भएको बताए।
मधेस प्रदेशमा जनकपुर प्रादेशिक अस्पतालसहित वीरगञ्जमा पनि केही मात्रामा मुटुको उपचार सेवा उपलब्ध छ। वीरगञ्जको नारायणी अस्पताल र नेसनल मेडिकल कलेजमा मुटुको उपचार सेवा थप विस्तार गर्दै अगाडि बढ्न आवश्यक रहेको त्यहाँ कार्यरत चिकित्सकहरु बताउँछन्।
‘धरानमा काठमाडौंमा जस्तै सबै सेवा’
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान शैक्षिक संस्था पनि भएकाले मुटुको सेवा र विशेषज्ञको पर्याप्तताको हिसाबले काठमाडौं बाहिरका अन्य अस्पतालहरुभन्दा अब्बल छ। प्रतिष्ठानका असिस्टेन्ट प्रोफेसर एवं मुटुरोग विशेषज्ञ डा जीतप्रसाद घिमिरे बीपी प्रतिष्ठानमा प्रविधि र चिकित्सकको पर्याप्तताको हिसाबले काठमाडौंमा जस्तै सुविधा भएको दाबी गर्छन्।
उनी भन्छन्,‘काठमाडौंमा पाउने सुविधा हामीले विपि प्रतिष्ठानबाट दिइरहेका छौं।’ प्रतिष्ठानमा मुटुरोगको पहिचान र उपचारका लागि मुटुसँग सम्बन्धित जाँचहरु, उच्च रक्तचाप जाँच, हृदयघातको अवस्था जाँच गर्ने परीक्षणहरु हुन्छ। यस्तै मुटुको चाल, धड्कन हेर्ने इसीजी सेवा, इको कार्डियोग्राफी अर्थात् मुटुको भिडियो एक्सरे सेवा छ।
डा घिमिरेका अनुसार मुटु कमजोर छ, मुटुमा हार्ट अट्याक छ, मुटु सुन्निएको छ, मुटुमा पानी छ, मुटुको कुनै भागमा समस्या छ भने इको कार्डियोग्राफीबाट पत्ता लगाउन सकिन्छ। उनका अनुसार प्रतिष्ठानमा टीएमटी सेवा पनि छ। टीएमटी भनेको इसीजी जस्तै जोडेर गरिने परीक्षण विधि हो। यसबाट गरिने परीक्षणले मुटुमा कुन भागमा समस्या छ भन्ने पत्ता लगाइन्छ।
डा घिमिरेका अनुसार मुटु परीक्षणका लागि इसीजी होल्टर भन्ने हुन्छ। उक्त सेवा पनि प्रतिष्ठानमा रहेको उनले जानकारी दिए। यसका साथै प्रतिष्ठानमा क्याथल्याब सेवा रहेको पनि उनले बताए। क्याथल्याब बाट एन्जियोग्राफी गरेर मुटुको नसा ब्लक छ/छैन हेर्ने र मुटुको नसा ब्लक भएर हार्ट अट्याक भएको छ भने त्यसलाई खुलाउन एन्जियोप्लास्टी गर्ने गरिएको डा घिमिरेले जानकारी दिए।
डा घिमिरेले मुटुमा अन्य समस्या भएर शल्यक्रिया गर्नुपर्ने अवस्थामा बिरामीको प्रतिष्ठानमै शल्यक्रिया सेवा समेत सम्भव रहेको बताए। डा घिमिरे हाल बीपी प्रतिष्ठानको असिस्टेन्ट प्रोफेसर कार्डियोलोजिष्टको रुपमा कार्यरत छ। उनले एमडी र डीएम प्रतिष्ठानबाटै गरेका हुन्। उनले ८ वर्षदेखि प्रतिष्ठानबाट मुटुका बिरामीलाई सेवा दिइरहेका छन्।
डा घिमिरेका अनुसार जन्मजात मुटुको रोगहरु, उच्च रक्तचाप, मुटु कमजोर भएका, हृदयघात भएका बिरामीहरु, मुटुको नसाको रोग, मुटु सुन्निने समस्या भएका बिरामीहरु आउने गरेका छन्। डा घिमिरे पनि मुटुका बिरामीहरु उपचारमा भने ढिलो आउनेहरु धेरै भएको बताउँछन्। तर केही बिरामी भने समयमै आउने गरेको पनि उनले बताए। उनी भन्छन्, ‘हार्ट अट्याक भएका बिरामी समेत ढिला आइरहेको अवस्था छ। केही बिरामी भने छाती दुखेको ५/७ घण्टामा पनि उपचारका लागि आइपुग्ने गरेका छन्।’
प्रतिष्ठानमा पाँचथर, ताप्लेजुङ, संखुवासभा, धनकुटाबाट बिरामीहरु बढी आइरहेका हुन्छन्। तराईको सिरहा, सप्तरी, झापाबाट पनि बिरामीहरु आउँछन्। भौगोलिकताको कारणले पनि मुटुका बिरामी समयमै आइपुग्न नसकेको हुनसक्ने उनी बताउँछन्। धरानमा डा घिमिरेसँग अर्का डीएम गरेका अर्का कार्डियोलोजिष्ट पनि छन्। यस्तै डीएम रेजिडेन्ट गरिरहेका ६ जना छन्। प्रतिष्ठानमा दैनिक ८० देखि एकसय जना मुटुका बिरामी ओपीडीमा आउने गरेका छन्। यस्तै दैनिक ३ देखि ४ जना बिरामी आकस्मिक अवस्थामा आइरहेका छन्। उनले कोशी प्रदेशका अन्य अस्पतालहरुबाट समेत बीपी प्रतिष्ठानमा रेफर भएका केसहरु आउने गरेको सुनाए।
सुर्खेतमा करारकै भर
डा सुतप यादव सुर्खेत प्रादेशिक अस्पतालमा कार्डियोलोजी विभागको प्रमुखको रुपमा कार्यरत छन्। छात्रवृत्ति करारका रुपमा उनी त्यहाँ पुगेका हुन्। उनी जानुअघि पनि त्यहाँ छात्रवृत्तिका चिकित्सक नै थिए। डा यादव पनि दुई वर्षे करारका लागि पुगेका हुन्।
डा यादवले मुटुरोगका बिरामीलाई ओपीडी, आकस्मिक, इको लगायतका सेवा दिने गरेका छन्। मुटुकै विशेषज्ञले बिरामीको चाप धान्न नसक्दा मेडिसिनतर्फका विशेषज्ञ चिकित्सक, मेडिकल अफिसर तहका चिकित्सकले पनि सामान्य समस्याका मुटुका बिरामीहरु हेर्ने गरेका छन्।
सुर्खेत प्रादेशिक अस्पतालमा दैनिक ४० जना बिरामी मुटुको जाँच तथा उपचारका लागि आउने गरेका छन्। कतिपय बिरामीहरु अन्य रोगको शंका गरेर परीक्षणको क्रममा मुटुमा समस्या भएको पत्ता लाग्ने गरेको डा यादवले जानकारी दिए। डा यादवका अनुसार सुर्खेत प्रादेशिक अस्पतालमा इको कार्डियोग्राफी दैनिक सरदरमा २५ जनाको हुने गरेको छ।
सुर्खेत प्रादेशिक अस्पतालमा मुटुरोगको एक्सरे, इसिजी, इको कार्डियोग्राफी, मुटुको धड्कनमा समस्या छ/छैन पत्ता लगाउने होल्टर लगायतका परीक्षण गर्ने विधिहरु उपलब्ध छ। अस्पतालले एन्जियोग्राफी सेवा यसै वर्ष ल्याउने योजना पनि बनाएको डा यादवले जानकारी दिए। सुर्खेत प्रादेशिक अस्पतालबाट मुुटका बाथ रोग, मुटु धड्कनसँग सम्बन्धित बिरामीहरुको उपचार हुन्छ। आकस्मिक अवस्थामा मेजर हार्टहट्याक भएका बिरामीहरुलाई ३ वा १२ घण्टाभित्र आएमा उनीहरुलाई ‘प्राइमरी’ उपचार पछि अक्जिसन सपोर्टमा रेफर गर्ने गरिएको डा यदावले बताए।
त्यस्ता बिरामीलाई भेरी अस्पताल, नेपालगञ्ज वा काठमाडौं रेफर गर्ने गरिएको छ। सुर्खेत प्रादेशिक अस्पतालमा मुटुको थप सेवा विस्तार गर्दा मुटुरोग विशेषज्ञ तथा मुटुरोगका बिरामीका लागि आवश्यक पर्ने अन्य थप जनशक्ति पनि आवश्यक रहेको डा यादवले सुनाए।
सुर्खेत प्रादेशिक अस्पतालमा धेरैजसो उच्च रक्तचाप, मधुमेहका बिरामीहरु, मुटुको बाथ रोगको कारण मुटुको भल्भमा समस्या भएका बिरामीहरु, जन्मजात मुटुका समस्या भएका बिरामीहरु बढी आउँछन्। मुटुका धमनीमा समस्या भएर हार्टअट्याक हुने, मुटुको चाल गडबड हुने समस्या भएका बिरामीहरु पनि सुर्खेत प्रादेशिक अस्पतालमा आउने गरेका डा यादवले बताए।
कर्णाली प्रदेशका पहाडी तथा हिमाली जिल्लाहरुबाट आउने बिरामीहरु मुटुरोगको उपचारका लागि धेरै धाएर आउने गरेका उनले सुनाए। डा यादवका अनुसार जुम्ला, मुगु, दैलेख लगायतका बिरामीहरु एक दिनसम्म लगाएर अस्पतालमा आउने गरेका छन्।
सुरुमा ग्याष्टिकको औषधि खाएर सन्चो नभएपछि आउँदा मुटुरोग पत्ता लागेको केसहरु पनि आफूले हेरेको डा यादवले बताए। हार्ट अट्याक भएका बिरामी समेत भौगोलिक विकटताका कारण समयमै उपचारमा आउन नसकेको डा यादवले बताए।
‘हार्ट अट्याक भएका बिरामी पनि ३/४ घण्टामा आइपुगिसक्नुपर्ने अवस्थाका बिरामी समेत २ दिनपछि बल्ल आइपुगेको पनि पाएका छौं,’ डा यादवले भने, ‘मुटुरोग लक्षणहरु छाती दुख्ने, खुट्टा अनुहार सुन्निने समस्या भइसक्दा पनि बिरामी आउँदैनन्, बेहोस् नै भइसकेपछि अलि ढिला आउने गर्छन्।’
डा यादवका अनुसार अस्पतालमै उपचार गरेर घर फर्किएका तथा काठमाडौं वा अन्य टाढाको अस्पतालमा उपचार गराएर नियमित फलोअपमा आउनुपर्ने बिरामीहरु पनि सुर्खेत प्रादेशिक अस्पतालमा आउने गरेका छन्।
डा यादवले भने, ‘मुटुको भल्भ फेरेका बिरामी, हार्ट अट्याक भएका बिरामी तथा नियमति औषधि खाइरहनुपर्ने मुटुका बिरामीहरु फलोअपमा हाम्रो अस्पतालमै आउनुहुन्छ।’
छिटो र सजह सेवाका लागि अस्पतालबीच समन्वय
लुम्बिनी प्रादेशिक अस्पतालमा क्याथल्याब रहेको छ। गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मुटुरोगका बिरामीलाई मात्र लक्षित गरेर सेवा दिइरहेको छ। अस्पतालमा जन्मजात मुुटुमा प्वाल पर्ने, मुटुको बनावटमा गडबडी भएको, युवा अवस्थामा मुटुको भल्बमा समस्या मुटुको भल्बको समस्या, मुटुको बाथ अर्थात र्युम्याटिक हार्ट डिजिज, मुटुको चालमा गडबडी हुने, वयस्कमा देखिने गरेको हृदयघात, मुटु कमजोर भएर मुटु फेल हुने समस्या लगायतका बिरामीहरु आउने गरेका छन्। गौतमबुद्ध सामुदायिक अस्पतालमा कपिलवस्तु, रुपन्देही, नवलपरासी, गुल्मी, अर्घखाँची, पाल्पा, स्याङजा, दाङबाट मुटुका बिरामी उपचारका लागि आउने गरेका छन्।
यस्तै जुम्ला, धनगढीदेखि जनकपुर, बिराटनगर, मोरङ र झापाबाट पनि कहिलेकाहीँ बिरामी आउने गरेको अस्पतालका मुटुरोग विशेषज्ञ डा समीर गौतमले जानकारी दिए। उनी डा गौतमबुद्ध सामुदायुक मुटु अस्पतालमा मुटुरोग विशेषज्ञको रुपमा १० वर्षदेखि कार्यरत छन्। डा गौतमका अनुसार अन्य अस्पतालबाट रेफर भएका, पहिलो पटक मुटुको अवस्था परीक्षण गर्न, फलोअप परीक्षणका लागि मुटुका बिरामी आउने गरेका छन्।
हृदयघात हुँदा छाती दुखेको १० मिनेट भित्रमा अस्पताल आइपुगेमा बिरामीको आधा घण्टा भित्रमा उपचार गराउँदा उनीहरु नर्मल जीवनयापनमा फर्कन सक्छन्। तर ६० प्रतिशत बिरामी १२ घण्टापछि, १० प्रतिशत बिरामी २ दिनपछि समेत आउने गरेको डा गौतमले सुनाए।
यसरी ढिला आउने बिरामीलाई उपचारबारे काउन्सिलिङ गरेपछि सोही अनुसार उपचार गर्ने गरिएको डा गौतमले बताए। डेढ लाखभन्दा बढी मुटुका बिरामी हेरिसकेका डा गौतम लुम्बिनी प्रदेशमा मुटुका बिरामी बढेको बताउँछन्। उनी हृदयघातको समस्या युवा अवस्थामै बढी देखिन थालेको उनले सुनाए।
अस्वस्थ जीवनशैलीसँगै रोग पहिचान र उपचारको लागि सेवाहरु विस्तार हुँदै जाँदा पनि केसहरु बढी देखिएको डा गौतमको तर्क छ। उनी मुटुको चाल गडबढीको समस्या बढी भएको र मुटुको बाथरोगको समस्या भने कम देखिन थालेको बताउँछन्।
गौतमबुद्ध मुटुरोग सेन्टरमा मुटुरोगको आकस्मिक सेवामा हृदयघातको एन्जियोग्राफी, एन्जियोप्लाटी सेवा, सीसीयू तथा आईसीयू सेवा, ओपीडीमा आउने बिरामीका लागि मुटु सम्बन्धी जाँचहरु इसीजी, इकोकार्डियोग्राफी लगायतका मुटुरोगको निदान र हृदयघातको सबै उपचार सेवा सञ्चालन भएको डा गौतमले बताए। डा गौतमका अनुसार छाती चिरेर गरिने बाइपास सर्जरी गर्नुपर्ने अवस्था, मुुटुको बाथरोगमा छाती चिरेर भल्भ नै परिवर्तन गर्नुपर्ने सर्जरीका लागि भने काठमाडौंमा बिरामी रेफर गर्ने गरिएको छ। अस्पतालले एक महिनामा ५० जना बिरामीलाई रेफर गर्ने गरेको डा गौतमले बताए।
डा गौतमका अनुसार उनीसहित गौतमबुद्ध अस्पतालमा ५ जना मुटुरोग विशेषज्ञ ६ जना छन्। तर सामुदायिक भए पनि सरकारी सहुलियतको सेवा भने अस्पतालमा नभएको डा गौतमले जानकारी दिए। हृदयघातको लक्षण नचिन्दा र समयमै विशेषज्ञसम्म बिरामी रेफर नहुँदा पनि हृदयघातका बिरामीले ढिला उपचार पाइरहेको डा गौतम बताउँछन्। उनले बिरामीलाई सेवा नभएको स्वास्थ्य संस्थाबाट सेवा भएको स्वास्थ्य संस्थासँग समन्वयात्मक उपचार प्रणाली बसाल्न सकेमा बिरामीले समयमै उपचार पाउने विषयमा जोड दिए।
‘लक्षण नचिनेर र समयमै रेफर नभएर पनि हो मुटुका बिरामी उपचारमा ढिला आउने कारण,’ उनले भने, ‘हृदयघात भएको एक घण्टा भित्र बिरामी अस्पताल पुगेमा औषधिले पनि धेरै काम गर्छ। त्यसपछि एन्जियोप्लास्टी, एन्जियोग्राफी गर्न थप सुविधा भएको अस्पतालमा समन्वय गरेर पठाउने प्रणालीको विकास हुनुपर्छ।’
‘मुटुरोगका बिरामी सुरुमा ग्यास्ट्राइटिसको औषधि खान्छन्’
डा लक्ष्मण दुवे १७ वर्षदेखि मुटुरोग विशेषज्ञको रुपमा कार्यरत छन्। उनी ७ वर्षदेखि बुटवलको क्रिमसन अस्पतालमा कार्यरत छन्। निजी क्षेत्रमा सञ्चालित क्रिमसन अस्पतालमा मुटुरोग विभाग सञ्चालनमा छन्।
क्रिमसन अस्पतालमा मुटुका बिरामी बुटवल, भैरहवा, लुम्बिनी, क्षेत्रसँगै प्युठान, अर्घखाँची, गुल्मी लगायतका क्षेत्रबाट बिरामीहरु रेफर भएर आउँछन्। धेरै जस्तो हार्ट अट्याक भएका बिरामी अर्को अस्पतालबाट त्यहाँ उपचारका लागि आउने गरेको डा दुवेले बताए।
डा दुवेको अनुभवमा ग्रामीण क्षेत्रका बिरामीहरु मुटुरोगको लक्षण देखिए पनि सुरुमा ग्याष्ट्राइटिसको औषधि खाएर बस्ने र समस्या देखिएको एक दिनपछि मात्र उपचारका लागि आउने गरेका छन्। ‘गुल्मी, अर्घखाँचीबाट आउने बिरामीहरु जिल्लाको स्थानीय अस्पतालबाट यहाँ आइपुग्दा २/४ दिन नै ढिला आउँछन्,’ उनले भने, ‘मुटु कजोर भएर फेल भइसकेको अवस्थामा आइपुगेका बिरामी जाँच गर्दा ४ दिनअघि नै हार्ट अट्याक भएको पनि भेटिएको छ।’
क्रिमसन अस्पतालमा दैनिक ४० देखि ५० जना बिरामी ओपीडीमा आउने गरेका छन्।
क्रिमसन अस्पतालमा हालसम्म एन्जियोप्लास्टी, पेसमेकर राख्ने विधिको उपचार २ हजार जनाको भइसकेको छ। डा दुवेका अनुसार बुटवल क्षेत्रमा पछिल्लो समय मुटुका बिरामी बढेका छन्। मुटुरोग विशेषज्ञ तथा इसीजी सेवाको विस्तारले पनि मुटुरोगीको पहिचान भइरहेको डा दुवे बताउँछन्।
क्रिमसन अस्पतालमा हाल मुटुरोगका बिरामीको रोग निदान तथा उपचारका लागि इसीजी, इको, होल्टर, टीएमटी, एन्जियोग्राफी, क्याथल्याब सेवा, एन्जियोप्लास्टी सेवा, पेसमेकर सेवा सञ्चालनमा रहेको छ। अस्पतालमा क्याथल्याब सेवा सञ्चालनमा रहेको डा दुवेले जानकारी दिए। बाइपास सर्जरी गर्नुपर्ने अवस्थामा भने बिरामी रेफर गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।
डा दुवेका अनुसार बाइपास सर्जरीका लागि भने बिरामीलाई काठमाडौं पठाउने गरिएको छ। क्रिमसन अस्पतालमा नियमित उपचार गराउने तथा काठमाडौंमा सर्जरी गराएका बिरामी पछि फलोअपमा आउने बिरामीहरु रहेको डा दुवेले जानकारी दिए।
डा दुवे भने काठमाडौं उपत्यका बाहिर पनि मुटुरोगको सेवा विस्तार हुँदै गएको बताउँछन्। ‘१०– १५ वर्षअघि मुटुरोगको सेवा काठमाडौं केन्द्रित थियो, गंगालाल र मनमोहन कार्डियोथोरासिकमा मात्र क्याथल्याब थियो। मुटुरोगीले यही दुई ठाउँ बाहेक अन्य अस्पतालबाट मुटुरोगीले सेवा पाउने अवस्था थिएन,’ उनले भने, ‘अहिले क्याथल्याब काठमाडौं बाहिर पनि विस्तार भइसक्यो, कतिपय ठाउँमा विस्तार हुने क्रममा छ, अहिले डिएम गरेका मुटुरोग विशेषज्ञ नै काठमाडौं बाहिर पुगेर सेवा दिइरहनुभएको छ।’
मुटुका बिरामी ढिला आइपुग्ने समस्या देशव्यापी छ
‘नेपालीहरु कति बलियो है, मुटुरोगले ग्रस्त भइसक्दा पनि अस्पताल आइपुग्दैनन्।’ प्रोफेसर डाक्टर सञ्जय हुमागाईंले आफ्ना विद्यार्थीहरुलाई पढाउने क्रममा सुनाए। उनी काठमाडौं विश्वविद्यालय, धुलिखेलमा प्राध्यापकको रुपमा कार्यरत छन्।
१४ वर्षदेखि बिरामीको मुटु जाँचिरहेका डा हुमागाईं अझै पनि बिरामी समयमै उपचारका लागि नआउने गरेको सुनाउँछन्। ‘बिरामी धेरै गाह्रो नभई अस्पताल आउँदैनन्। मुटुरोगमा छातीको दुखाइ हुन्छ, बाहिरबाट अर्को व्यक्तिले महसुस गर्न सक्दैनन्,’ उनले भने, ‘अति ढिला आइपुग्ने समस्या देशव्यापी नै छ।’
डा हुमागाईंका अनुसार ५० प्रतिशत मुटुरोगका बिरामी ढिला उपचारका लागि आइपुग्ने गरेका छन्। ग्रामीण क्षेत्रका बिरामीहरु भौगोलिकता र यातायातको असुविधाले पनि समयमै उपचारमा आइपुग्न नसकेको बताउँछन्।
काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप लगायतका जिल्लाका मुटुरोगका बिरामी रेफर हुने सेन्टर नै केयुको धुलिखेल अस्पताल हो। धुलिखेल अस्पतालमा मुटुरोगका सबै सेवाहरु सञ्चालन रहेको मुटुरोग विशेषज्ञ डा सञ्जय हुमागाईंले जानकारी दिए।
डा हुमागाईंका अनुसार हृदयघातका बिरामी अहिले बढिरहेका छन्। ‘अहिले मधुमेह, उच्च रक्तचापको समस्या बढ्दो भएकाले पनि हृदयघातका बिरामी पनि बढेको पाएका छौं।’ डा हुमागाईं पनि मुटुका बिरामी बढेको बताउँछन्। उनले सरकारको स्वास्थ्य बीमा तथा सहुलियतले रोग पहिचान र उपचार गराउनेको संख्यामा वृद्धिको बताए।
‘सरकारको बीमा पोलिसीले पनि रोग पहिचान धेरै भएको पनि पाएका छौं,’ उनले भने, ‘बीमा र सहुलियतले पनि उपचार गराउन सकिन्छ भन्ने थाहा पाएर पनि बिरामी आएका छन्, हामीले पनि उपचार सेवा दिन पाएका छौं।’ उनका अनुसार मुटुको बाथ रोग पहिलाको तुलनामा अहिले घटेको छ।
‘मैले मुटुरोगका बिरामी हेर्न थालेको १४ वर्ष भयो। अहिले मुटुको बाथ रोगमा सुधार भएको छ, मुटुका बाथरोगका बिरामीको संख्यामा कमी आएको छ।’डा हुमागाईंका अनुसार केयुमा मुटुरोग निदानका तथा उपचार लागि चिकित्सकले गर्ने परीक्षण, रगतको परीक्षणमा मधुमेह परीक्षण, कोलेस्टोल परीक्षण, इसीजी, एक्सरे, इको आर्डियोग्राफी, ट्रेडफिल, होल्टर लगायतका परीक्षण विधिहरुसँगै सिटी स्क्यान, एमआरआई र क्याथल्याब सेवा रहेको छ।
तर, सर्जिकल सेवाहरु भने नियमित दिन नसकेको कारणले भल्भ फेर्नुपर्ने, बाइपास सर्जरी गर्नुपर्ने केसहरु भने रेफर गर्ने गरिएको डा हुमागाईंले बताए। रेफर गर्नुपर्ने बिरामीलाई गंगालाल र मनमोहन कार्डियोथोरासिकमा पठाउने गरिएको छ। डा हुमागाईंका अनुसार स्वास्थ्य बीमा लागू भएकाले बिरामीहरु नियमित फलोअपमा आउने गरेका छन्। उनले भने, ‘मुटुको रोग पहिचान भएर एक पटक उपचार सुरु भएका बिरामी फलोअपमा आउने गरेको पाएको छु। केही बिरामी भने ढिला ढिला गरेर पनि आउनुहुन्छ। तर नियमित औषधि सेवन गरेको पाएको छु।’
डा हुमागाईंका अनुसार केयुमा दैनिक २०० मुटुका बिरामी आउँछन्। भर्ना भएका बिरामी २० देखि ३० जना उपचाररत हुने गरेको डा हुमागाईं बताउँछन्। उनी मुटुको उपचारमा सहुलियत भएपछि आजीवन औषधि सेवन गर्ने बिरामीका लागि महँगो पर्ने गरेको बताउँछन्।
‘मुटुका बिरामीलाई प्रायः मधुमेह, उच्च रक्तचाप लगायतका समस्या पनि हुन्छ। त्यसैले दैनिक ५ प्रकारका औषधि सेवन गर्नुपर्ने अवस्था छ, दैनिक १०० रुपैयाँ खर्च लाग्छ,’ उनले भने, ‘मुटुका बिरामीलाई नियमित औषधि सेवन खर्चिलो नै छ।’ तर स्वास्थ्य बीमामा आवद्ध नागरिका लागि भने औषधिमा पनि सहुलियत रहेको उनले जानकारी दिए।
भारतबाट पनि आउँछन् मुटुका बिरामी
विराटनगरस्थित विराट मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा मुटुको उपचारका लागि नेपालका मात्र नभई भारतबाट पनि बिरामी आउने गरेका छन्। विराट मेडिकल कलेजका मुटुरोग विशेषज्ञका रुपमा कार्यरत डा प्रशान्त साह र नोबलका मुटुरोग विशेषज्ञ डा राजेश नेपालका अनुसार विराटनगरमा मुटुरोगको उपचार सेवा विस्तार भएपछि नेपालका विभिन्न जिल्लासहित भारतबाट पनि बिरामी आउने गरेका हुन्।
दुवै मेडिकल कलेजमा हृदयघात र त्यसपछि नियमित फलोअपका लागि आउने बिरामीहरुको संख्या धेरै रहेको छ। यस्तै मुटुको भल्भमा समस्या, जन्मजात मुटुको भल्भमा समस्या, उच्च रक्तचाप, जन्मजात समस्यामा मुटुमा प्वाल भएको मुटुका कोठाहरु साँघुरिएको, रिगत निस्किएको, जाम भएको, नमिलेका, मुटुको चाल गडबढी भएर बेहोस हुने लगायतका समस्या भएका बिरामीहरु आउने गरेका छन्।
नोबेल मेडिकल कलेजमा जनकपुर, पूर्व क्षेत्रका काँकडभिट्टा लगायत सोलुखुम्बु लगायतका जिल्ला र भारतबाट पनि उपचारका लागि आउने गरेको डा नेपालले बताए। उनले भने, ‘भारतीय सीमा नजिक भएकाले १० देखि १५ प्रतिशत बिरामी सीमा क्षेत्रबाट पनि आइरहेका छन्।’
आकस्मिकमा आउने बिरामीहरु धेरैजस्तो हार्ट अट्याक, हार्ट फेलर वा मुटुको चाल गडबढी भएका, रक्तचाप उच्च भएर समस्या देखिएका बिरामीहरु आउने गरेको डा नेपालले बताए। उनले आकस्मिक अवस्थामा बिरामी ६० प्रतिशत समयमै आउने र ३० प्रतिशत समयमै नआइपुग्ने गरेको बताए।
‘अस्पताल क्षेत्र नजिकका बिरामी छिट्टै आएका छन् भने टाढाबाट आउने बिरामीहरु १२ घण्टापछि पनि आइरहेका हुन्छन्,’ उनले भने, ‘६० प्रतिशत बिरामी समयमै आएको पाएका छौं।’ उनका अनुसार ओपीडीमा यी बिरामीसँगै र्युम्याटिक हार्ट डिजिजदेखि, मुटुमा कुनै समस्या छ वा छैन भनेर परीक्षणका लागि आउनेहरु छन्।डा नेपालको बुझाइमा मुटुरोगप्रति जनताको सचेतना बढेको छ। उनी भन्छन्, ‘मुटरोग पहिला पनि थियो, अहिले पनि छ तर अहिले भने मानिसहरु अलि सचेत हुन थालेका छन्। मलाई के लाग्छ भने पहिला पहिचान नै हुँदैनथ्यो, अहिले पहिचान हुन थालेको छ।’
डा नेपालका अनुसार नोवेल मेडिकल कलेजमा मुुटुरोगको विशिष्टकृत सेवाहरु सञ्चालनमा रहेको छ। उनका अनुसार नोवेल मेडिकल कलेजमा ओपन हार्ट सर्जरी, क्याथ ल्याब सेवाहरु भएकाले एन्जियोग्राफी, एन्जियोप्लास्टी, मुटुको प्वाल टाल्ने, डिभाइस क्लोजरदेखि इपी स्टडिज लगायतका सेवाहरु रहेको डा नेपालको दाबी छ।
‘काठमाडौंको गंगालालमा भएका सबै सेवा हामीसँग पनि छ,’ डा नेपालले भने, ‘आवश्यक जनशक्ति र प्रविधि तथा उपकरण नभएर रेफर गर्नुपर्ने अवस्था छैन। बिरामीको स्वेच्छाले रेफर हुन चाहे मात्र बिरामी रेफर गर्छौं।’
डा नेपालका अनुसार नोवेल मेडिकल कलेजमा दैनिक आकिस्मकमा १० जना, ओपीडीमा एक सय जना बिरामी मुटुरोगका मात्र आउने गरेका छन्।
बिरामीले मुटुलाई माया गर्छन्
मणिपाल टिचिङ अस्पताल पोखराका मुटुरोग विशेषज्ञ नवराज पौडेलका अनुसार मणिपालमा मुटुको एन्जियोग्राफी, एन्जियोप्लास्टी, क्याथल्याब सेवा, सातामा ६ दिन ओपीडी, इको, इसीजी लगायतका सेवा पनि उपलब्ध छ। मणिपालमा मुटुको रोग पहिचानका लागि मणिपाल टिचिङ अस्पतालमा क्लिनिकल इक्जामिनेसनपछि मुटुको परीक्षणका लागि इसीजी, इको लगायतका जाँचहरु छन्। यस्तै क्याथल्याप, कोरोनरी एन्जियोग्राफी सुविधा छ।
कार्डियाक एमआरआई र न्युक्लियर परीक्षणको सुविधा भने पोखरामा नरहेको डा पौडेलले बताए। डा पौडेलका अनुसार बाइपास सर्जरी, ओपन हार्ट सर्जरी गर्नुपर्ने अवस्था, मुटुको भल्भ फेर्नुपर्ने अवस्थाका बिरामीलाई काठमाडौं रेफर गर्नुपर्ने अवस्था छ। बिरामीलाई मनमोहन कार्डियोथोरासिक सेन्टर वा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा रेफर गर्ने गरिएको छ।
कुनै पनि रोग लागेका बिरामीहरु फलोअप उपचारका लागि समयमै जाँदैनन् भन्ने गरिन्छ। मणिपाल टिचिङ अस्पताल पोखराका मुटुरोग विशेषज्ञ डा नवराज पौडेललाई भने मुटुका बिरामीहरु रोग लागिसकेपछि भने आफ्नो मुटुलाई माया गर्ने खालका छन् भन्ने लाग्छ। उनी भन्छन्, ‘बिरामीले आफ्नो मुटुलाई चाहिँ माया गर्छन्। आजभोलि बिरामीहरु एक पटक मुटुमा समस्या छ भन्ने भएपछि डाक्टरले बोलाएको समयमै आउँछन्।’
मुटुका बिरामीहरु छाती दुखेको, श्वास फेर्न गाह्रो भएको, मुटु अस्वभाविक रुपमा ढुकढुक भएको, बेहोस हुने, मुटुको भाल्भ फेरेका, पेसमेकर राखेका, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेका बिरामीहरु फलोअप उपचारका लागि पनि डा पौडेलकहाँ आउने गर्छन्। मणिपाल टिचिङ अस्पताल गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट रेफर भएर आउने बिरामी धेरै हुन्छन्। बाग्लुङको ग्रामीण क्षेत्रदेखि मनाङ, मुस्ताङ, गोर्खा, लमजुङ, स्याङजाका बिरामीहरु उपचारका लागि आउने गर्छन्।
डा पौडेलले २० वर्षदेखि मुटुका बिरामी हेर्दै आएका छन्। डा पौडेलको नेतृत्वमा मणिपालमा कार्डियोलोजीमा एमडी, डीएम गर्ने आवासीय चिकित्सकहरु पनि छन्।
मणिपालमा मुटु सम्बन्धी समस्या भएका, मुटुको रक्तनली बन्द भएर हृदयघात भएका, मुटुको बाहिरी भागमा पानी जम्मा हुने, मुटुको मासु कमजोर भएर हार्ट फेल हुने, जन्मजात मुटुको समस्या, मुटुमा प्वाल भएका र मुटुमा समस्या पार्न सक्ने समस्या उच्च रक्तचाप, मधुमेह, हाई कोलेस्टेरोलको समस्या भएका बिरामी आउने गरेका छन्।
ग्रामीण क्षेत्रबाट तीन दिनमा बल्ल अस्पताल आइपुगेको कतिपय बिरामीले डा पौडेललाई सुनाउने गरेका छन्। धेरैजसो बिरामीहरु यायातायमार्फत तीन दिनमा आउने गरेको भए पनि कतिपय बिरामीहरुको घरपायक सडक सुविधा नहुँदा हिँड्नुपर्ने अवस्था पनि रहेको डा पौडेलले बताएका छन्।
‘बाग्लुङ, रुकुम, रोल्पाबाट यातायातको सुविधा नहुँदा पैदल यात्रा गरेर पहिला यातायात पुग्ने ठाउँसम्म पुगेर त्यसपछि यातायातमा आएकाहरु पनि हुन्छन्,’ डा पौडेलले सुनाए। मुटुको समस्या हृदयघात हुँदा सकेसम्म छिटो अस्पतालमा पुग्नुपर्ने सुझाव चिकित्सकले दिँदै आएका छन्। तर भौगोलिकता र कतिपय अवस्थामा द्रुत यातायातको सुविधा नहुँदा बिरामीहरु समयमै अस्पताल पुग्न सकिरहेका छैनन्।
हृदयघात भएका बिरामी मणिपाल चिटिङ अस्पताल परिसर वा महेन्द्रपुलसम्मका बिरामी समेत समयमै अस्पताल आइपुग्ने अवस्था रहे पनि पहिला नजिकका क्लिनिकमा पुगेर बल्ल अस्पताल आइपुग्दा उनीहरुको पनि समयमै उपचार नभएको डा पौडेल बताउँछन्।
अझै ग्रामीण क्षेत्रबाट त हार्ट अट्याक भएको अवस्थाका बिरामी ४ दिनको दुखाइ बोकेर समेत आइपुग्ने गरेका छन्। हार्ट अट्याक भएको १० मिनेट भित्र उपचार सुरु गर्न त अस्पताल परिसरमै भएका बिरामीलाई मात्र सम्भव भएको डा पौडेलले सुनाए। उनले भने, ‘समयमै उपचारका लागि नआइपुग्दा त बिरामीको जीवन जोखिममा रहन्छ।’
डा पौडेलले २० वर्षको अवधिमा एक लाखभन्दा बढी बिरामीको मुटु जाँच गरिसकेका छन्। सन् २०१५ देखि एन्जियोग्राफी सेवा सुरु भएदेखि हालसम्म मात्र १० हजारभन्दा बढीलाई सो सेवा दिइएको डा पौडेलले बताए। यस्तै दुई हजार बिरामीको एन्जियोप्लास्टी, ६० जनामा पेसमेकर राखेर उपचार गरिएको डा पौडेलले बताए।
२० वर्षदेखि मुटुका बिरामी हेरिरहेका डा पौडेल पछिल्ला वर्षहरुमा मुटुका बिरामी बढ्दै गएको अनुभव गर्छन्। सेवाको पहुँचले गर्दा पनि मुटुका बिरामी पत्ता लागेको हुनसक्ने पनि उनको तर्क छ। यस्तै मानिसको बदलिँदो जीवनशैली, खानपान, धूमपान सेवनले गर्दा पनि मुटुरोग बढेको डा पौडले बताउँछन्।
मुटुरोगको पहिचान र प्राथमिक उपचार जिल्ला अस्पतालबाटै हुनुपर्छ
डा भगवान कोइराला, वरिष्ठ मुटु शल्यचिकित्सक
नेपालमा मुटुरोगको उपचार सेवा काठमाडौंभन्दा बाहिर पनि पछिल्लो दुई दशकमा धेरै विस्तार भएको छ। केही नयाँ इनिसेटिभ जस्तोः पेनप्लस भन्ने कार्यक्रममार्फत जिल्ला अस्पतालहरुमा पनि मुटुको आधारभूत परीक्षण गर्ने व्यवस्थाको सुरुवात हुँदैछ। पाइलटिङ फेजमा छ। तर समग्रमा सही रुपमा अघि बढेको छ।
हरेक प्रदेशमा एउटा विशिष्टकृत अस्पताल हुनुपर्छ भनेर हामीले भन्दै आएका छौं। तर जिल्ला अस्पतालहरुमा पनि केही न केही रुपमा यो सेवालाई विस्तार गरी सेकेन्डरी केयरसम्म पुर्याउन सकियो भने धेरै बिरामीलाई कम्प्लिकेसन हुनबाट जोगाउन सकिन्छ र केन्द्रीय अस्पतालको चाप पनि घट्छ। त्यस क्रममा मुटुरोगको उपचार मात्र होइन, रोकथाममा पनि स्थानीय तहको भूमिका महत्वपूर्ण हुनुपर्छ।
पछिल्लो दुई दशक यता मुटुरोगको सेवा विकेन्द्रीकरण पनि भएको छ। तैपनि यति धेरै महामारी र प्रकोपको रुपमा नसर्ने रोग देखिएकाले अझै व्यवस्थित र विस्तारित गर्न जरुरी छ। मुटुरोगको सेवा दुई दशक यता ढिला विकेन्द्रीकरण भएको होइन, धेरै प्रगति भएको हो। सेक्टरअनुसार हेर्ने हो भने मुटुरोगको उपचार धेरै नै छिटो विस्तार र विकास भएको मान्नुपर्छ। विशिष्टकृत उपचारको हकमा सेवामा गंगालाल, वीर मनमोहन कार्डियोथोरासिकमा राम्रो व्यवस्थापन भइसकेको छ।
काठमाडौं उपत्यका बाहिर पनि विशिष्टकृत उपचार राम्रोसँग चलेको छ। धरान, विराटनगर, बुटवल, नेपालगञ्ज, पोखरा जस्ता शहरहरुमा क्याथल्याबदेखि केही ठाउँमा शल्यक्रिया सेवा पनि सुरु भएको छ। तर अबको प्राथमिकता चाहिँ मुटु लगायत नसर्ने रोगहरुको जिल्ला स्तरमै पहिचान र अर्ली डिटेक्सन निदान र प्राथमिक लेवलको उपचार गर्ने क्षमता वृद्धि गर्नु हो। यसको लागि सरकारले पाइलट प्रोजेक्ट पनि बनाएको छ। म पनि त्यसमा संलग्न छु। जसले विशेषगरी सानो उमेरमै रोग पहिचान गर्ने र जिल्ला स्तरमै प्राथमिक उपचार गर्ने काम गर्छ।
जसमा मुटुरोगको जोखिम बढाउने उच्च रक्तचाप, मधुमेह, बालबालिकामा हुने जन्मजात मुटुरोग, बाथ मुटुरोगहरुको जिल्लास्तरमै पहिचान गर्ने व्यवस्था मिलाउने प्याकेज सुरु गर्न लागिएको छ। यो महत्वपूर्ण कार्यक्रम हो। यो कार्यक्रम देशभर विस्तार गर्न सकियो भने नसर्ने रोगको मृत्युदर घटाउन महत्वपूर्ण भूमिका हुनेछ।
बामे सर्दै सुदूरमा मुटु उपचार सेवा
सेती प्रादेशिक अस्पतालमा दुई जना वरिष्ठ कन्सल्टेन्ट कार्डियोलोजिष्टको दरबन्दी छ। अस्पतालमा हाल मुटुरोग विशेषज्ञ डा विप्लव कार्की र डा चित्रराज शर्मा कार्यरत छन्। सुदुरपश्चिम प्रदेशको ‘रेफरल सेन्टर’को रुपमा रहेको सेती प्रादेशिक अस्पतालमा मुटुरोगको उपचारका लागि सुदुरपश्चिमका जिल्लाहरु सहित भारत र नेपालको सीमा क्षेत्रमा रहेका भारतीय नागरिक पनि उपचारका लागि आउने गरेका छन्।
अस्पतालमा मुटुरोगको छुट्टै विभाग नभए पनि ओपीडी सेवा भने हरेक दिन चल्छ। अस्पतालमा चिकित्सकले गर्ने फिजिकल एक्जामिनेसन र इको कार्डियोग्राफी अर्थात् मुटुको भिडियो एक्सरे सेवा उपलब्ध छ।
अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डा चित्रराज शर्माका अनुसार अस्पतालमा दैनिक ४० जना मुटुका बिरामी ओपीडीमा आउँछन्। तीमध्ये अघिकांश बिरामी अन्य जिल्लाका स्वास्थ्य केन्द्र, प्राथमिक अस्पताल तथा जिल्ला अस्पतालहरुबाट रेफर भएका कैलाली क्षेत्रका बिरामी छन्।
डा शर्मा मुटुरोगको सेवा सञ्चालन भएपछि बिरामीलाई फलोअप उपचारका लागि काठमाडौं वा टाढाको केन्द्रीय अस्पताल नै धाउनुपर्ने बाध्यता अन्त्य भएको बताउँछन्। डा शर्माका अनुसार सुदूरपश्चिम क्षेत्रका बिरामी जो काठमाडौंको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र लगायत केन्द्रीय अस्पतालमा सर्जरी सेवा लिएका वा अन्य विशिष्टकृत सेवा लिएर पछि फलोअपमा आउने बिरामी पनि छन्।
‘गंगालाल अस्पतालमा सर्जरी गराएका वा अन्य उपचार सेवा लिएका बिरामी घर फर्किएपछि फलोअपका लागि यहीँ आउनुहुन्छ,’ डा शर्माले भने, ‘त्यहाँका चिकित्सकले पनि नजिकको अस्पताल जानु भनिदिनु हुन्छ, त्यही भएर पनि गंगालालमा सर्जरी सेवा लिएका वा अन्य सेवा लिएर फलोअपमा आउनुपर्ने बिरामी यही आउनुहुन्छ।’
सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम भएकाले पनि बिरामीहरु फलोअपमा आउने गरेको डा शर्मा बताउँछन्। सेती प्रादेशिक अस्पतालम मुटुरोग विशेषज्ञले सेवा दिन थालेको करिब ३ वर्ष भएको छ। तर मुटुका चिकित्सक सेती प्रादेशिक अस्पतालमा पनि छन् भन्ने जानकारी नहुँदा भने बिरामीहरु कम आउने गरेको डा शर्माले बताए।
हाल अस्पतालमा जन्मजात मुटुमा समस्या, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, हाइपोटेन्सनका कारण मुटुमा असर देखिएको, हृदयघात भएका बिरामीहरु आउने गरेको डा शर्माले बताए। डा शर्मामा अनुसार आकस्मिक सेवा लिन धेरैजस्तो हृदयघातका बिरामीहरु आउने गरेका छन्।
डा शर्माले देखेका कतिपय बिरामी मुटुमा समस्या देखिदा ग्यास्ट्राइटिसको औषधि खाएर मुटुरोग विशेषज्ञकहाँ भने ढिला आइपुग्ने गरेको बताउँछन्। उनले भने, ‘हृदयघातको बिरामीलाई त छिटो उपचार दिन सकियो भने बचाउँन सकिन्छ, मेजर हार्ट अट्याक भएका बिरामी समेत ग्यास्टाइटिसको औषधि खाएर ओपीडीमा आइरहेको पाएको छु।’
उनले हृदयघात भएका बिरामी समयमै उपचारमा नपुग्दा धेरैको मृत्यु हुने गरेको पनि बताए। सेती प्रादेशिक अस्पतालमा मुटुरोगको सेवा बामे सर्दैछ भन्दा फरक नपर्ला। अस्पतालले हृदयघात, मुटु फेल लगायतका समस्याका बिरामी, सर्जरी सेवा आवश्यक पर्ने बिरामी, क्याथ ल्याब आवश्यक पर्ने बिारमीलाई अन्यत्र अस्पतालमा रेफर गर्ने गर्दै आएको छ।
डा शर्मा मुटुरोगको सेवा विस्तारका लागि मुटुको चाल गडबढीको समस्यामा २४ घण्टा नै मुटुको चाल हेर्ने होल्टर, रक्तचापको निगरानी गर्ने प्रविधि तथा उपकरण, टीएमटी, क्याथल्याब सेवा थप गर्न आवश्यक रहेको बताउँछन्।
यी सेवाहरु थप गर्न सके सुदूरपश्चिमका बिरामीले उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य हुने डा शर्मा बताउँछन्। अस्पतलमा क्याथल्याब सेवा नहुँदा हृदयघातका बिरामीलाई काठमाडौं रेफर गर्न हेलिकोप्टर कुर्दासम्म बिरामीको ज्यानै जोखिममा पर्ने बताए।
‘मुटुको सेवामा आकस्मिक उपचारदेखि विशिष्टकृत सेवालाई थप गर्न सकेमा बिरामीहरुलाई छिटो र सहज सेवा दिन सकिन्छ,’ उनले भने, हृदयघातका बिरामीलाई २ घण्टाभित्र आएमा उपचारका लागि क्याथल्याब आवश्यक पर्छ। यो सेवा धनगढीमा नहुँदा काठमाडौं पठाउन हेलिकोप्टर कुर्न पर्छ। हेलिकोप्टर आउँदासम्म बिरामीको ज्यानै जाने जोखिम हुन्छ।’
‘धुलिखेलमा सरकारले सहयोग गरे गंगालाल र मनमोहनको लाइन घट्छ’
डा राजेन्द्र कोजु, धुलिखेल अस्पताल
काठमाडौं विश्वविद्यालयको धुलिखेल अस्पतालमा मुटुरोगको विशेषज्ञ तथा विशिष्टिकृत सेवाहरु उपलब्ध छ। धुलिखेल अस्पतालमा बहिरंग विभागसहित हृदयघात, उच्च रक्तचाप, हार्ट फेलर, जन्मजात मुटु रोगका बिरामीको उपचार सेवा उपलब्ध छ। यसका साथै परीक्षणमा इसीजी, इको, टीएमटी, होल्टर, एमुलेटर ब्लड प्रेसर, टिईई लगायत छन्।
अस्पतालमा एन्जियोग्राफी गरेर मुटुमा केही छ कि छैन भनेर हेर्ने सुविधा पनि छ। बच्चाहरुको जन्मजात मुटुरोगको परीक्षण र उपचारका लागि इको, एन्जियोग्राम, सिटी, एमआरआई सबै सेवाहरु छ। उपचारात्मक सेवामा हृदयघात भएर रक्तनली सम्बन्धी प्राइमरी एन्जियोप्लास्टी सेवा २४ घण्टा उपलब्ध छ।
एन्जियोप्लास्टी सेवा चलिरहेको छ। सर्जरी सेवामा मुटुको भल्भको सर्जरी र सीएभीजी पनि विस्तारै सुरु गर्दैछौं। अहिले पनि सेवा त छ तर विपन्न नागरिक औषधि उपचार कोषको सेवा नभएकोले बिरामी आउँदैनन्। केयुको धुलिखेल अस्पतालमा मुटुरोगमा सरकारले दिने सहुलियत सेवाहरु उपलब्ध छैन। सरकारी सहुलियत प्राप्त भएमा बिरामीलाई सेवा लिन सहज हुन्छ।
अर्को महत्वपूर्ण फिटल इको कार्डियोग्राफी अर्थात् आमाको गर्भमा रहेको शिशुको मुटुको परीक्षण गर्ने विधि पनि हामीकहाँ छ। हामीसँग पेडियाट्रिक कार्डियोलोजिष्ट अर्थात् बाल मुटुरोग विशेषज्ञ पनि हुनुहुन्छ। केयुमा सेवा दिने विशेषज्ञ चिकित्सकहरुमा दुई जना प्राध्यापक, एक जना सह–प्राध्यापक हुनुहुन्छ। अर्को सहप्राध्यापक बाल मुटुरोग विशेषज्ञ, दुई जना सर्जनहरु सह–प्राध्यापक र उपप्राध्यापक हुनुहुन्छ। मुटरोगको उपचार गर्ने ६ जना चिकित्सकको टिम छ।
धुलिखेलमा हृदयतघातको प्राथमिक एन्जियोप्लास्टी र अरु एन्जियोप्लास्टी गर्दा इन्ट्रा भाष्कुलर अल्ट्रासाउण्ड, ओसीटी, एथ्रेक्टोमी जस्ता ठूला मेसिनहरु चाहिन्छ। यसका लागि हामीले स्वास्थ्य मन्त्रालयमा अनुदान माग गर्न गएका पनि छौं।
यस्तै मुटुका बिरामीमा १५ वर्ष भन्दा कम उमेर र ७५ वर्षभन्दा माथिका लागि सरकारले सहुलियत दिएको छ। यस्तै मुटुको बाथरोगको उपचारमा पनि सहुलियत दिएको छ। तर यो सहुलियत धुलिखेल अस्पतालले पाएको छैन। यो सहुलियत गंगालाल र मनमोहनले मात्र पाएको छ। बाहिरका अस्पतालमा सहुलियत छैन।
यदि यो सेवा हाम्रो अस्पतालमा पनि हुने हो भने पूर्वी क्षेत्रका धेरै बिरामी उपचारका लागि गंगालाल नै पुग्न पर्दैन। यही सहुलियत भएपछि बिरामी यही सेवा लिन आउँछन्। गंगालाल र मनमोहन कार्डियोथोरासिकमा चाँप पनि घट्छ। बिरामीले उपचारका लागि पालो कुर्नुपर्ने बाध्यतामा पनि कमि आउँछ।
पेसमेकर के हो ? कस्तो अवस्थामा मुटुमा राखिन्छ?
पेसमेकर भनेको व्यक्तिको मुटुलाई कृत्रिम चाल दिने यन्त्र हो। विभिन्न कारणले व्यक्तिको मुटुको चाल कम हुन्छ। व्यक्तिलाई आवश्यक पर्ने मुटुको चाल मुटुले उत्पादन गर्न सक्दैन। मुटुले चाल उत्पन्न गर्न नसक्दा रिंगटा लाग्नेदेखि होस नै हराउनेसम्मको अवस्था सिर्जना गर्छ। त्यस्तो व्यक्तिका लागि मुटुको चाल निकाल्ने यन्त्र नै पेसमेकर हो। अहिले सामान्य कम्तीमा पेसमेकरले पनि ७ देखि ८ वर्षसम्म पुग्छ।
सबैभन्दा सामान्य पेसमेकर भनेको एउटा तार भएको (सिंगल च्याम्बर) हो। त्यसको खर्च एक लाख हाराहारीमा हुन्छ। अहिले मुटुका बिरामीलाई पालिकाको सिफारिसमा नेपाल सरकारले एक लाखसम्मको सहुलियत दिने भएकाले त्यसैबाट बिरामीको उपचार सम्भव छ। बिरामीको व्यक्तिगत खर्च यसमा खासै हुँदैन। नेपालमा अहिले पनि धेरैजसो बिरामीमा त्यो सामान्य पेसमेकर नै राख्ने गरिन्छ। यस्तो पेसमेकर राखिएका व्यक्तिहरुले आफ्नो नियमित काम गरिरहेका छन्।
तर, अहिले प्रविधिको विकाससँगै विभिन्न प्रकारका हाइटेक पेसमेकरहरु उपलब्ध छन्। त्यसको मूल्य पनि अलि बढी छ। त्यस्ता पेसमेकरहरु २ लाखदेखि १५ लाखसम्मको पनि पाइन्छ।
नेपालमा पेस मेकर सेवाको सुरुवात
नेपालमा पहिलो पटक सन् १९८३ मा पेसमेकर राख्ने सेवा सुरु भएको हो। डा मोतिराज बज्राचार्यले वीर अस्पतालमा पहिलो पेसमेकर राख्नुभएको हो। त्यसपछि १९९० तिर डा बालकृष्ण मान सिंहले त्रिवि शिक्षण अस्पतालमा पेसमेकर राख्ने सेवा सुरु गर्नुभएको थियो। त्यसपछि डा अरुण सायमी, डा रत्नराज पौडेल, डा विकास दलीहरुले त्रिवि शिक्षण अस्पतालमा सेवालाई निरन्तरता दिनुभएको थियो।
सन् १९९९ मा गंगालाल अस्पतालका अन्तरंग सेवा सुरु भएपछि गंगालाल अस्पतालबाट पेसमेकर राख्न सुरु गरियो। अहिले गंगालाल अस्पताल ठूलो संख्यामा पेसमेकर राखिन्छ। सेवा सुरु हुँदाका वर्षहरुमा वर्षभरिमा मुस्किलले २०/२५ जना व्यक्तिमा पेसमेकर राखिन्थ्यो भने अहिले महिनामा ५० जनाभन्दा बढी बिरामीको मुटुमा पेसमेकर राखिन्छ।