आयुर्वेद संहिताहरुको अध्ययन गर्दा यो बुझ्न कठिन पर्दैन कि मूत्रमार्गजन्य रोगहरु वैदिक कालमा पनि उल्लेख्य भेटिन्थे। मूत्रमार्गको अवरोध र त्यो अवरोध हटाउन नलीद्वारा मूत्रमार्ग खोल्ने सन्दर्भ सर्वप्रथम अथर्ववेदमा पाइन्छ। पिसाबको निर्माण प्रकृया पक्वाशय (ठूलो आन्द्रा) बाट नै सुरु हुन्छ। तर मूत्रवह स्रोत (पिसाब वहने बाटो) मा भने निम्न अङ्गहरु पर्दछन् - वृक्क (मृगौला), गविनी (पिसाब नली), मूत्राशय (पिसाब थैली), मूत्रमार्ग (युरेथ्रा)।
मलमूत्र निष्कासनमा मूलभूत रुपमा अपान वायुको प्रमुख भूमिका हुन्छ। मूत्रमार्गमा अनुलोम गतिमा वहनुपर्ने वायु यदि कुनै पनि कारणले प्रतिलोम गतिमा गतिमान् हुनु नै मूत्रमार्गजन्य रोगको रोगविज्ञान हो। त्यस्ता कारणहरु भने सामान्य आहार-विहार (खानपान) देखि अभिघात / चोटपटक / अप्रेशन सम्म हुन सक्छन्।
युरेथ्रल स्ट्रीक्चर भनेको मूत्रमार्ग साँघुरिएको अवस्था हो। यसका विभिन्न कारण हुन्छन्। जस्तै: लामो समयसम्म पिसाबमा इन्फेक्सन रहनु, मूत्रमार्गबाट नली राख्दा आघात हुनु, मूत्रमार्गमा वा मूत्रमार्ग हुँदै गरिने अप्रेशन पश्चात्, दुर्घटना आदि बाट चोटपटक लाग्नु, आजन्म, आदि। मुख्यतया प्रोस्टेट ग्रन्थी बढेको अवस्थामा गरिने अप्रेशन पश्चात् यो रोगको घटनाका दर बढेको पाइन्छ। सन् २०११ देखि २०२२ सम्म गरिएको एक अमेरिकी अनुसन्धानले प्रोस्टेटको शल्यकृया गरेका ३.९७ प्रतिशत बिरामीहरुमा १ वर्ष भित्र नै मूत्रमार्ग साँघुरिएको पाइएको थियो। जसमध्य सबैभन्दा बढी टि.यु.आर.पि (TURP) गरेका बिरामीहरुमा (४.४८प्रतिशत) सो अवस्था निम्तिएको बताइएको छ।
शल्यकर्मको मुख्य ग्रन्थ सुश्रुत संहितामा वात, पित्त र कफ दोषका आधारमा विभिन्न १२ प्रकारका मूत्राघात (मूत्र अवरोधकारी रोग) हरु उल्लेख छन्। तर सम्पूर्ण मूत्ररोगहरुमा वात दोषको भूमिका रहन्छ नै। मूत्रमार्ग साँघुरिएको अवस्थामा विभिन्न लक्षणहरु देखापर्न सक्छन् - जस्तै: अपस्रावी मूत्र (युरिन रिटेन्सन), मूत्रकृच्छ्र (पिसाब गर्दा दुख्नु/गाह्रो हुनु), विन्दुम् स्रावति (पिसाब थोपा-थोपा चुहिनु), बल लगाउन पर्नु, आदि। आयुर्वेद संहिताहरुमा मूत्रमार्गगत रोगहरुका लागि उत्तरबस्ति एक प्रमुख उपचारका रुपमा बताइएको छ। उत्तरबस्ति भन्नले उत्तरमार्ग (मूत्र / जननाङ्ग) बाट विभिन्न प्रकारका औषधि प्रयोग गर्ने भन्ने बुझिन्छ। रोग अनुसार प्रयोग गरिने औषधि भने फरक फरक हुन्छन्। बिरामीको प्रकृति, रोगको बल-अबल, उपशय-अनुपशय हेरेर हरेक व्यक्तिमा त्यसै अनुसारको औषधि प्रयोग गर्नुपर्ने हुन्छ। त्यसका लागि प्रयोग गर्न सकिने विभिन्न औषध द्रव्यहरुको उल्लेख आयुर्वेद संहिताहरुमा पाइन्छ। रोगको प्रकृति हेरेर एकजना बिरामीलाई कतिपटक सम्म गर्नुपर्छ भनेर निर्णय गर्न सकिन्छ। एकपटक उत्तरबस्ति गर्दा १५ देखी २० मिनेटसम्म लाग्न सक्छ भने बिरामीले दुखाइ भोग्नुपर्दैन।
युरेथ्रल स्ट्रिक्चरका साथसाथै उत्तरबस्ति अरु रोगमा पनि गर्न सकिन्छ। पुरुषहरुमा हुने प्रोस्टेट बढ्ने समस्या, पिसाब थैलीको घाँटीमा घाउ भएमा, रेट्रोग्रेड इजाकुलेसन (वीर्य माथिल्लो बाटो जानु), निउरोजेनिक ब्लाडर, आदि। उत्तरबस्ति गर्नु अघि आवश्यक जाँच पड्ताल गर्नुपर्ने हुन्छ। रगत एवं पिसाबका नियमित जाँचका साथसाथै अरु आवश्यक जाँच जस्तै: युरोफ्लोमेट्री, रेट्रोग्रेड युरेथ्रोग्राम, आदि गर्नुपर्ने हुन्छ। यस लेखमा प्राय: पुरुषहरुका लागि उत्तरबस्तिका फाइदाहरुका बारेमा दर्शाइएको छ। महिलाहरुमा पनि विभिन्न अवस्थाहरुमा उत्तरबस्ति गर्न सकिन्छ। महिला हरुमा हुने फलोपियन ट्युब ब्लकेज खुलाउनका लागि पनि यो गर्ने गरिन्छ। उत्तरबस्ति गर्दा औषधि भने विचारपूर्वक निर्णय गर्नुपर्छ। विभिन्न अवस्थामा फरक फरक औषधि प्रयोग हुने हुनाले, उपर्युक्त औषधि प्रयोग नभए सोँचेजस्तो प्रतिफल नाआउन पनि सक्छ।
जनस्तरमा यो कुरा थाहा भए पीडित बिरामीहरुका लागि यो वरदान सावित हुन सक्छ।
(लेखक पोख्रेलले शल्यतन्त्रमा एम्.एस् गरेका छन्।)