भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका क्रममा रहँदा आउनसक्ने स्वास्थ्यको जोखिमलाई ध्यान दिँदै उपचारका लागि अस्पताल र चिकित्सक टोली तयारी अवस्थामा राखिने भएको छ।
स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखा प्रमुख डा दिपेन्द्ररमण सिंहको संयोजकत्वमा उक्त तयारी गरिएको हो। मोदीले भ्रमण गर्ने जनकपुर, मुस्ताङ र काठमाडौंका अस्पताललाई तयारी अवस्थामा राखिने भएको छ। काठमाडौंमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, मेडिसिटी अस्पताल र मेडिकेयर अस्पताललाई तयारी अवस्थामा रहन भनिएको छ।
यसैगरी जनकपुरमा जनकपुर अञ्चल अस्पताल र जानकी सिटी अस्पताललाई तयारी अवस्थामा राखिनेछ भने मुस्ताङ जिल्ला अस्पतालमा मोदी भ्रमणलाई लक्ष्य गरेर ‘मिनी आइसियू' निर्माण गर्न लागेको डा सिंहले जानकारी दिए।
भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीसँग वीर अस्पतालका डा रविराम श्रेष्ठ रहनेछन्।
भारतीय प्रधानमन्त्री मोदी आगामी शुक्रबार भारतको विहारस्थित पटना विमानस्थल हुँदै जनकपुर पुग्नेछन्। धार्मिक भ्रमणको उद्देश्यसहित नेपाल आउन लागेका मोदी जनकपुरमा नागरिक अभिनन्दनमा सहभागी हुने कार्यतालिका तय भएको छ। त्यसपछि मुक्तिनाथ पुगेर उनी काठमाडौं आउनेछन्।