काठमाडौँ- पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोपको पहिलो खेप काठमाडौँ आइपुगेको छ। आगामी २२ माघ देखि सुरु हुन लागेको खोप अभियानका खोप नेपाल ल्याइएको हो।
पहिलो खेपमा ४ लाख ६० हजार ९४० भाइल खोप ल्याइएको छ। ‘ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन’ (गाभी) को सहयोगमा चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्राण्डको यो खोप मंगलबार राति क्याथे प्यासेफिकको उडानमार्फत चीनबाट हङकङ हुँदै काठमाडौँ ल्याइएको हो।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखाका भ्याक्सिन तथा कोल्डचेन इकाई प्रमुख सञ्जीव कट्टेलले यो अभियानका कुल लागि १७ लाख ७० हजार २० भाइल खोप आउने र त्यसमध्येको पहिलो खेप आइसकेको बताए। उनले अरु बाँकी खोप आगामी १० जनवरी भित्र आइसक्ने बताए।
आइसकेका खोप प्रदेशस्थित आपूर्ति केन्द्रहरुमा पठाउने काम पनि सँगसँगै अघि बढ्ने बताइएको छ।
यस पटकको एचपीभी खोप अभियानमा १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ जना किशोरीले नि:शुल्क खोप पाउनेछन्। यो खोप अभियान १५ दिन (२२ माघ देखि ६ फागुन) सम्म चल्नेछ।