विश्वमा मानिसलाई एउटा कुरासँग मात्रै डर लाग्छ, त्यो मृत्यु हो। मृत्यु त शाश्वत सत्य हो, त्यो नकार्न मिल्दैन। त्यसैले मानिसले आफ्नो जीवन लामो समयसम्म जिउन खोज्छ।
हामी नेपालीको औसत आयु अहिले करिब ७२ वर्ष छ। तर के तपाईंलाई थाहा छ, विश्वमा यस्ता स्थानहरू छन् जहाँ मानिसहरू औसतभन्दा धेरै लामो समय बाँच्ने गर्छन्। प्रायः १०० वर्ष वा त्योभन्दा बढी उमेरसम्म। यस्ता स्थानहरूलाई ‘ब्लू जोन’ भनेर चिनिन्छ।
यस क्षेत्रमा दीर्घकालीन रोगहरूको दर पनि कम भएको पाइन्छ। यसको अवधारणा नेसनल जियोग्राफिक फेलो ड्यान ब्युट्नरद्वारा पहिलो पटक पहिचान गरिएको थियो। उनले पाँच वटा त्यस्ता क्षेत्र पहिचान गरे जसलाई ब्लू जोन भनियो। यहाँ बस्ने मानिसहरूको स्वास्थ्य परिणामहरू उत्कृष्ट छन्।
विश्वभरि पहिचान गरिएका पाँच ब्लू जोनहरू कोस्टारिकादेखि क्यालिफोर्नियासम्म छन्। जापानको ओकिनावा, इटालीको सार्डिनिया, कोस्टारिकाको निकोया प्रायद्वीप, ग्रीसको इकारिया र संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियास्थित लोमा लिंडा हुन्।
भौगोलिक हिसाबले एकरूपता नभए पनि यहाँ बस्ने मानिसहरूको औसत आयुमा भने एकरूपता छ र त्यो विश्वको औसत आयुभन्दा १५-२० वर्ष बढी हो। यस क्षेत्रमा सेंटेनरियन र नोनिजेनरियन उमेरका मानिसहरू मज्जाले आफ्नो जीविका गर्दै बसेका हुन्छन्। मानिसहरू ९०-१०० वर्ष पार गरी स्वस्थ रूपमा बाँच्छन् र उमेर तथा जीवनशैलीसँग सम्बन्धित क्यान्सर, मुटुरोग र अन्य गैर-संक्रामक रोगहरूको दर पनि कम छ।
विभिन्न अध्ययनका अनुसार ब्लू जोनका मानिसहरूको दीर्घजीवनका प्रमुख कारणहरू छन्- चाहे त्यो बोटबिरुवामा आधारित खानपान, नियमित र मध्यम शारीरिक क्रियाकलाप। बलियो पारिवारिक र सामाजिक संरचना, बलियो सामुदायिक भावना, जीवनको उद्देश्य र ध्यान तथा नियमित ब्रेक जस्ता क्रियाकलापले गर्दा न्यून तनावको वातावरण नै मुख्य कारणका रूपमा लिन सकिन्छ।
नेपाल अहिले युवाहरूको देश हो। अहिले नेपालमा वृद्धवृद्धाभन्दा धेरै युवा छन्। तर यो अवस्था बदलिँदो छ र सन् २०२१ मा नेपालमा पहिलो पटक ६४ वर्षभन्दा माथिका वृद्ध व्यक्तिहरूको संख्या ५ वर्षमुनिका साना बालबालिकाको संख्यालाई पार गर्यो र हालको जनगणना अनुसार ६० वर्षभन्दा माथिका संख्या १० प्रतिशत छ, जुन झण्डै ३० लाख हाराहारी हो। घट्दो जनसंख्या, उपचार सुविधा आदिका कारण अबको केही वर्षपछि नेपाल युवा मात्र नभई वृद्धवृद्धाको देशमा परिणत हुनेछ।
हामी युवा वर्गको जनसंख्यात्मक लाभ (population dividend) नलिई बुढ्यौलीको अवस्थामा पुग्नेछौं। यस्तो अवस्थाका लागि नेपाल तयार छैन किनभने न त हामीसँग वृद्धवृद्धा-मैत्री नीति छ, न त वृद्धवृद्धा-मैत्री भौतिक संरचना नै।
यस्तो अवस्थामा, हामीले ब्लू जोन क्षेत्रमा बसोवास गर्ने मानिसहरूबाट प्रेरणा लिनुपर्छ र आफ्नो आनीबानी, शारीरिक क्रियाकलाप, बलियो पारिवारिक र सामाजिक संरचनामा, बलियो सामुदायिक भावना, जीवनको उद्देश्य र ध्यान र नियमित ब्रेक जस्ता क्रियाकलापमा सहभागी भई (functional ageing) फङ्सनल बुढ्यौली जिएर ब्लू जोनमा नपरे पनि हामी ९०-१०० वर्ष जीविका गरेर बँच्न सकिन्छ।