के तपाईं सारी लगाउन मन पर्छ? यदि मनपर्छ भने, तपाईं एक्लो हुनुहुन्न। सारी नेपालमा लामो समयदेखि सबै उमेर समूहका महिलाहरूले मन पराइएको परम्परागत पहिरन हो। यो धेरैजसो महिलाहरूको बाकस, मुधुस वा दराजमा हुने एउटा मुख्य पहिरन हो। तर, हालैको अनुसन्धानले सारीप्रेमीहरूलाई सारी लगाउने तरिका पुनः विचार गर्न बाध्य पार्ने एउटा जोखिम पत्ता लगाएको छ।
ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित एउटा अध्ययनमा उत्तर प्रदेशकी ७० वर्षीया महिलाको कम्मरमा दीर्घकालीन घाउ थियो, उक्त घाउ एक वर्षभन्दा बढी समयसम्म पनि निको नभएपछि अल्सरमा परिवर्तन भयो। प्राकृतिक रूपमा उक्त अल्सर निको हुने कुनै संकेत देखिएन। जाँच गर्दा ती महिलाले दशौँ वर्षसम्म प्रत्येक दिन आफ्नो पेटीकोटको डोरी धेरै कसेर बाँधेको खुलासा गरिन्, जसले पछि गएर क्यान्सरको रूप लियो।
सारी नेपाल जस्तो देशमा लोकप्रिय पहिरन हो। धेरै महिलाहरूले सारीलाई सुरक्षित राख्न पेटीकोटको डोरी प्रयोग गर्छन्। अक्सर, सारी स्थिर रहोस् र बारम्बार मिलाउन नपरोस् भनेर डोरी कस्सिएर बाँधिन्छ। तर, यो बानीले कम्मर वरिपरि छालामा निरन्तर दबाब र घर्षण सिर्जना गरेर 'फ्रिक्शन डर्माटाइटिस' सिर्जना गर्छ। पछि यसले मार्जोलिन्स अल्सर (पुरानो घाउ, जलेको ठाउँ, वा दीर्घकालीन चोट भएको क्षेत्रमा देखिने अल्सर) को रूप लिन्छ र छालाको क्यान्सरमा परिणत हुन सक्छ। जसलाई बोलिचालीको भाषामा 'पेटिकोट क्यान्सर' वा 'सारी क्यान्सर' पनि भनिन्छ।
यो क्यान्सर विकास हुन ३०–३५ वर्ष लाग्छ र औसत ५९ वर्ष उमेरमा निदान हुन्छ।त्यसैले बुढौलीमा देखिन्छ।
लक्षणहरू:
पेटीकोट क्यान्सरका लक्षणहरू निम्न हुन्:
१.छाला बाक्लो र खस्रो हुने।
२.छालाको सतह खस्रो, सुक्खा हुने।
३.छालामा घाउ हुने।
४.लामो समयसम्मको घर्षणले छालामा बनाएको घाउ समयमा उपचार नभएको खण्डमा अल्सरमा परिणत हुने।
५.निरन्तर दबाब परेको छालाले आफ्नो प्राकृतिक रङ गुमाएर गाढा (हाइपरपिग्मेन्टेसन) वा धब्बा परेको देखिने।
६.उपचार नगरिएको छालाको अल्सर र दीर्घकालीन फ्रिक्शन डर्माटाइटिसले कहिलेकाहीँ स्क्वामस सेल कार्सिनोमा (छालाको क्यान्सरको प्रकार) मा विकास हुने जस्ता हुन्।
रोकथामका उपायहरू:
स्वास्थ्य विशेषज्ञहरूको सिफारिसअनुसार परम्परागत पहिरनलाई सुरक्षित र आरामदायक बनाउन निम्न उपायहरू अपनाउन सकिन्छः
१. खुकुलो डोरी बाँध्ने – पेटीकोटको डोरी धेरै कस्सिएर बाँध्नुको सट्टा अलि खुकुलो गाँठो लगाउदा यसले छालामा कम दबाब पर्छ र रक्त सञ्चार सुधार गर्छ।
२. इलास्टिक ब्यान्ड छनोट गर्ने – आधुनिक पेटीकोटहरूमा डोरीको सट्टा इलास्टिक ब्यान्ड हुन्छ, जसले अनावश्यक दबाब नपारी कम्मरलाई सहजता प्रदान गर्छ।
३. नरम कपडाको प्रयोग गर्ने – कटनजस्ता नरम कपडाबाट बनेका पेटीकोट लगाउँदा घर्षणबाट हुने फ्रिक्शन डर्माटाइटिस कम हुन्छ।
४. छालाको राम्रो हेरचाह गर्ने – कम्मर वरिपरि छालालाई नियमित रूपमा मोइसराइजरले मलिस गर्दा छालाको स्वास्थ्य राम्रो हुन्छ।
५. वैकल्पिक पहिरन छनोट गर्ने – केही दिन परम्परागत पहिरनको सट्टा कम दबाब पर्ने पहिरन लगाउदा यसले पनि छालालाई आराम दिने अवसर मिल्छ।
६. लगातार समस्या भएमा चिकित्सकलाई देखाउने – सुजन, रातोपन, वा घाउको कुनै लक्षण देखिएमा तुरुन्त छाला रोग विशेषज्ञसँग परामर्श गर्दा सानो समस्या ठूलो हुनबाट रोक्न सकिन्छ।
यो सानो समस्या जस्तो लागेपनि कडा बाँधिएको पेटीकोट जस्तो सरल चीजले पनि स्वास्थ्यमा अप्रत्याशित दीर्घकालीन प्रभाव पार्न सक्छ। त्यसैले, हामीले परम्परागत पहिरन कसरी लगाउने भन्ने कुरामा सानो समायोजन जस्तै खुकुलो गाँठो लगाउदा वा कटनजस्ता नरम कपडाबाट बनेका पेटीकोट लगाउँदा, हामी हाम्रो सांस्कृतिक सम्पदा र हाम्रो स्वास्थय दुवैलाई जोगाउन सक्छौं।