केही नहुँदासम्म अस्पताल पनि नजाने र केही हुने बित्तिकै 'होलबडी' जाँच गर्ने हामी नेपालीमा बानी अनौठो छ। अहिले 'होलबडी' भनिएका ती निश्चित जाँच शरीरका सवै अंगप्रत्यंग जाँच पनि होइन। ती जाँचबाट लाभ मिल्ने विषयमा कुनै अनुसन्धान पनि देखिदैन। स्वास्थ्यका बारेमा संवेदनशील नै नहुने बानी भएकाहरुका लागि त्यसले सामान्य पूर्वजानकारी लिनका लागि सहयोग गर्न सक्छ।
नेपाल जस्तो देश जहाँ स्वास्थ्यमा 'आउट अफ पकेट' खर्च ५६ प्रतिशत हुन्छ, त्यहाँ यस्ता 'होलबडी' जाँचले खर्चलाई अझै उच्च बनाउँछ। ल्याबहरुले आफ्नो व्यवसायका लागि 'होलबडी' जाँचलाई अनावश्यक उछालेका छन् । चिकित्सक र स्वास्थ्यकर्मीको सिफारिसबिना गरिने यस्ता जाँचले बामे सर्दै गरेको हाम्रो स्वास्थ्य बीमलाई कमजोर बनाउन भूमिका खेलेको छ।
यसको अर्थ सबै ल्याब जाँच नराम्रो होइन। सोलोडोलो 'होलबडी'को सट्टा उमेरअनुसार हुनसक्ने स्वास्थ्य समस्याका निश्चित जाँचहरु गराइरहँदा लाभ पुग्छ। जुन अनुसन्धानले सही सावित गरेका छन्। 'एभिडेन्स'मा आधारित छन्। र चिकित्सा विज्ञान एभिडेन्सबाटै चल्ने विषय हो।
तपाईं वा तपाईंको अभिभावक यदि जीवनको छैटौं दशकमा प्रवेश गर्दै हुनुहुन्छ वा ६० वर्षभन्दा बढी उमेरको हुनुहुन्छ भने केही जाँच नियमित गराउँदा लाभ पुग्छ। यो उमेरमा निर्धक्क, ऊर्जावान र स्वस्थ रहनका लागि अमेरिकाका विशेषज्ञहरुको समूहले अध्ययन गरेर निश्चित जाँच सिफारिस गरेको छ। तपाईंलाई स्वस्थ, खुशी र सुरक्षित राख्न सिफारिस गरिएको ती जाँच यहाँ उल्लेख गरिएका छन्।
१. रक्तचाप
उच्च रक्तचापको विषयमा धेरै नेपालीलाई थाहा नै छैन। विश्व स्वास्थय संगठनका अनुसार ४ मध्ये १ नेपालीलाई उच्च रक्तचाप छ। त्यसैले ६० को दशकमा हुनुहुन्छ भने रक्तचाप सामान्य भए पनि रक्तचाप जाँच गराइरहनु पर्छ। यदि तपाईंको रक्तचाप सामान्यभन्दा माथि छ वा तपाईंसँग अन्य जोखिमहरू छन् भने तपाईंले रक्तचाप बारम्बार परीक्षण गर्न आवश्यक पर्न सक्छ।
२. तौल जाँच
उमेरसँगै मांसपेशीहरू बोसोले प्रतिस्थापन हुन्छन्। त्यसपछि त्यो बोसो पेटमा जम्मा हुन्छ। साथै, तपाईंको मेटाबोलिजम पनि ढिलो हुँदा क्यालोरी जलाउने क्षमतामा पनि कमी आउँछ। यसले सार्कोपेनिया (उमेर बढेसँगै मांसपेशीको मासु, शक्ति र कार्यक्षमतामा हुने कमी हो) र सार्कोपेनिक ओबेसिटी (सार्कोपेनिक मोटोपन भनेको सार्कोपेनिया र मोटोपनको सहअवस्थितिलाई जनाउँछ, जहाँ मांसपेशीको मासु र कार्यक्षमताको कमीसँगै शरीरमा अत्यधिक बोसोको जम्मा हुन्छ) गराउँछ। त्यसैले तौल नियिमित रूपमा जाँच गराएर बढ्न नदिने उपाय अवलम्बन गर्न सकिन्छ।
३. कोलोरेक्टल क्यान्सर स्क्रिनिङ
४५ देखि ७५ वर्षसम्मका उमेर समूहहरूमा कोलोरेक्टल क्यान्सर स्क्रिनिङ सिफारिस गरिएको छ। जोखिमका कारण भएमा तपाईंलाई डाक्टरले बारम्बार स्क्रिनिङ गराउन सक्छन्। डाक्टरसँगको छलफल पछि निम्न उपलब्ध विधिहरू गर्न सकिन्छ।
* वार्षिक रूपमा मलद्वार भित्री रगत परीक्षण
* हरेक ५ वर्षमा सिग्मोइडोस्कोपी सँगै मलद्वारको भित्री रगत परीक्षण (हरेक ३ वर्षमा)।
* हरेक १० वर्षमा कोलोनोस्कोपी
४. प्रोस्टेट क्यान्सर स्क्रिनिङ (पुरुषहरूको लागि)
७० वर्ष र त्यो भन्दामाथिका पुरुषहरूमा प्रोस्टेट क्यान्सर स्क्रिनिङ प्रोस्टेट-विशिष्ट एन्टिजेन (पीएसए) स्तर मापन गर्दा थोरै मात्र फाइदा भएकाले यसलाई प्रोस्टेट क्यान्सर स्क्रिनिङ गर्न प्रयोग गर्न सकिन्छ। त्यसैगरी ५५ देखि ६९ वर्ष उमेर समूहका पुरुषहरूले स्क्रिनिङका फाइदा र बेफाइदाबारे आफ्ना चिकित्सकसँग परामर्श गरेर स्क्रिनिङ गर्न सकिन्छ।
५. स्तन परीक्षण र मेमोग्राम (महिलाहरूको लागि)
उमेरसँगै स्तन क्यान्सरको जोखिम बढ्दै जान्छ। त्यसैले म्यामोग्राम ४० वा ५० वर्षको उमेरदेखिका महिलामा स्तन क्यान्सर विशेषज्ञहरूसगॅ परामर्श गरेर नियमित कहिले सुरु गर्ने र कति पटक गर्न जानकारी लिन सकिन्छ।
६. पेल्भिक, प्यापस्मियर र एचपीभी परीक्षण (महिलाहरूका लागि)
महिलाहरू ६० वर्ष नाघेपछि पनि नियमित रूपमा पेल्भिक जाँच, प्यापस्मियर वा ह्युमन प्यापिलोमाभाइरस (एचपीभी) परीक्षण गराउन आवश्यक पर्छ। उमेर पुगेपछि महिलाहरूमा पाठेघरको मुखको क्यान्सर (सर्भिकल क्यान्सर) वा योनिको क्यान्सर हुने जोखिम रहन्छ।
पेल्भिक जाँचले इनकन्टिनेन्स जस्तो स्वास्थ्य समस्या पत्ता लगाउन सकिन्छ। महिलाहरूलाई ३ वर्षमा एकपटक प्यापस्मियर र ५ वर्षमा एक पटक एचपीभी परीक्षण गराउन सिफारिस गरिन्छ। ६५ वर्षभन्दा माथिका महिलाहरूले लगातार नकारात्मक प्याप स्मियर रिपोर्ट आएमा वा नन-क्यान्सर अवस्थाहरू (जस्तै, फाइब्राइड्स) को कारण पूर्ण हिस्टेरेक्टोमी भएको खण्डमा , प्याप स्मियर परीक्षण आवश्यक नहुन चिकित्सको सुझाब छ।
७. आँखा परीक्षण: उमेर बढेसँगै म्याकुलर डिजेनेरेशन, क्याटारेक्ट्स, र ग्लुकोमा जस्ता आँखाका रोगहरू बढी हुन्छन्। त्यसैले आँखाको डाक्टरसँग परामर्श गरेर आँखा स्क्रिनिङ गर्दा तपाईंको दृष्टि सुधार र जोगाउन सकिन्छ।
८. सुनाइ परीक्षण: ६५ देखि ७४ वर्ष उमेरका कम्तीमा २५ प्रतिशत व्यक्तिहरूमा सुनाइ गुम्ने समस्या हुन्छ र यी प्रायः उपचार गर्न सकिन्छ।यो संख्या उमेरसँगै ५० प्रतिशत पुग्छ। र, यदि तपाईंलाई सुनाइमा समस्या छ भने, सुनाइ परीक्षण गराउन सिफारिस गरिन्छ।
९. हड्डी परीक्षण: अस्थिओपोरोसिस उमेरसँगै हुने गम्भीर रोग हो। यसमा विशेष गरि हिप बोन ( नितम्बको हड्डी) भाँचिन सक्छ, स्थायी अशक्तता वा मृत्युको जोखिम बढ्न सक्छ। त्यसैले उच्च जोखिम भएकाले आफ्नो डाक्टर सगॅको परामर्शमा बोन डेनसिटी परीक्षणको गर्न सकिन्छ।
१०. कोलेस्टेरोल परीक्षण: उच्च कोलेस्टेरोल हृदयघात र स्ट्रोकको मुख्य कारण हुन्। तर यो आहार र औषधिबाट नियन्त्रण गर्न सकिन्छ। त्यसैले कुल कोलेस्टेरोल, एचडीएल (राम्रो” कोलेस्टेरोल) र एलडीएल (खराब कोलेस्टेरोल) नियमित रूपमा परीक्षण गरेर कार्डियोभास्कुलर जोखिम कम गर्न सकिन्छ।
११. रक्तमा चिनी (ब्लड सुगर) : मधुमेह एक दीर्घकालिन रोग हो तर यसलाई नियन्त्रण गर्न सकिन्छ। अमेरिकन डायबिटिज एसोसिएसनले मधुमेहलाई चाँडै पत्ता लगाउन र व्यवस्थापन गर्न प्रत्येक ३ वर्षमा एकपटक उपवासको अवस्थामा ब्लड सुगर परीक्षण गर्न सिफारिस गरेको छ। र यदि तपाईंलाई अन्य स्वास्थ्य समस्या छन् वा मधुमेहको जोखिम कारकहरू छन् भने, यो परीक्षण बारम्बार गराउन सकिन्छ।
१२. दन्त परीक्षण: गिँजाको रोगले तपाईंको समग्र स्वास्थ्यको महत्त्वपूर्ण संकेत गर्दछ। गिँजाको रोगले हृदयघातको जोखिम पनि बढाउँछ। त्यसैले नियमि दात परीक्षण गर्न आवश्यक छ।
१३. खोप: सिडिसिले ५० वर्षभन्दा माथिका व्यक्तिहरूका लागि शिङ्गल्स खोप सिफारिस गरेको छ। त्यस्तै ६५ वर्षभन्दा माथिका व्यक्तिहरूले निमोनिया बिरुद्ध न्यूमोकोकल खोप लगाउनुपर्छ। र, वार्षिक रूपमा फ्लु खोप र डिप्थेरिया टेटानस बुस्टर लगाउन सिफारिस गरिएको छ।
त्यसैलै होल बडी जाँच होइन कि एभिडेन्समा आधारित र डाक्टरको सरसल्लाह लगेर गरिएका परीक्षणले बुढ्यौलीलाई स्वस्थ र आरामदायी बनाउन सहयोग गर्छ।