भोलि त होलिडे हो नि भन्दै आज बेलुका मद्यपान गर्ने सोचमा त हुनुहुन्न ? यदि हुनुहुन्छ भने ‘होलिडे हार्ट सिन्ड्रोम’ बारे थाहा पाउनुहोस्।
भोलि होलिडे भनेर साथीभाइ, दिदीबहिनी वा पारिवारिक जमघटमा टन्न मद्यपान गर्नुहुन्छ र केही समयपछि तपाईंले आफ्नो मुटु छिटो वा अनियमित रूपमा धड्किरहेको महसुस गर्नुहुन्छ। त्यसपछि छाती वा घाँटीमा धकधक हुनसक्छ र श्वास फेर्न पनि गाह्रो हुनसक्छ।
यति भएपछि आत्तिँदै अस्पतालको आकस्मिक कक्षमा पुग्नुहुन्छ। केही प्रश्न र परीक्षणपछि तपाईंलाई ‘रक्सिजन्य एट्रियल एरिदमिया’ भएको पत्ता लाग्छ। यो अत्यधिक मद्यपानले गरएको अनियमित मुटुको चाल हो र यही अवस्था लाई ‘होलिडे हार्ट सिन्ड्रोम’ भनिन्छ।
लगातार मद्यपान, धेरै खाना, शरीरमा पानीको कमी र तनावका कारण अनियमित वा तीव्र मुटुको चाल लिएर अस्पतालको आकस्मिक कक्षमा सप्ताहन्त, सार्वजनिक बिदा, चाडपर्वको मौसममा घेरै मानिसहरू भर्ना भएको पाइन्छ। यसको कारण अरू केहि नभएर होलिडे हार्ट सिन्ड्रोम नै हो।
यो समस्या सप्ताहन्त, सार्वजनिक बिदा, चाडपर्वको मौसममा धेरै देखिन्छ तर मद्यपानसँग सम्बन्धित असामान्य मुटुको चाल छुट्टि र सप्ताहन्तमा मात्र सीमित नभएर वर्षको जुनसुकै समयमा लगातार मद्यपान गर्ने व्यक्तिहरूमा वा धेरै वर्षदेखि मद्यपान गर्ने व्यक्तिहरूमा पनि देख्न सकिन्छ।
नेपालमा होलिडे हार्ट सिन्ड्रोम नयाँ भए पनि यो करिब ५ दशकदेखि परिचित छ। सन् १९७० को दशकमा, यो स्वस्थ व्यक्तिहरूमा हृदय रोग नभएको अवस्थामा मद्यपानपछि हुने असामान्य मुटुको गति (एरिदमिया) को रूपमा वर्णन गरिएको थियो।
होलिडे हार्ट सिन्ड्रोम को मुख्य कारण मद्यपान नै हो जसमा व्यक्तिलाई मुटुको कम्पन महसुस हुने, छाती दुख्ने, बेहोस हुने (सिन्कोप) र श्वास फेर्न गाह्रो हुने (डिस्निया) जस्ता समस्या हुनसक्छ। तर अनियमित मुटुको चाल कुनै लक्षणबिना पनि हुनसक्छ र अन्य स्वास्थ्य समस्याहरू अनुसन्धान गर्दा मात्र पनि पत्ता लाग्न सक्छ।
मद्यपानले हाम्रो मुटु, रक्तनली, रगत र स्नायु प्रणालीलाई विभिन्न तरिकाले असर गर्छ। उदाहरणका लागि, मद्यपानले स्नायु प्रणालीलाई अव्यवस्थित गरेर डिहाइड्रेसन वा सुजन गर्न सक्छ। यसले मुटुको विद्युतीय प्रणालीलाई प्रभावित गरेर मुटुको चाल अनियमित गराउन सक्छ।
व्यक्तिहरूमा हुने लक्षण जस्तै: मुटुको कम्पन, छाती दुखाइ, बेहोस हुने (सिन्कोप) र श्वास फेर्न गाह्रो हुने (डिस्निया) हेरेर, ईसीजी (इलेक्ट्रोकार्डियोग्राम) गरेर वा रगत परीक्षण गरेर होलिडे हार्ट सिन्ड्रोम पत्ता लगाउन सकिन्छ।
ईसीजी साधारण परीक्षण हो, जसमा छाती, हात र खुट्टामा इलेक्ट्रोड जडान गरी मुटुबाट आउने विद्युतीय संकेतहरूको ग्राफ तयार गरेपछि, चिकित्सकहरूले अध्ययन गरेर रोग पत्ता लगाउन सकिन्छ। त्यस्तै रगत परीक्षण गरेर खनिज (इलेक्टोलाइट) जाँच गर्दा असामान्य पाइएको खण्डमा मुटुको चाल अनियमित हुनसक्छ।
प्रारम्भिक उपचार गर्दा, मद्यपान रोक्दा वा सीमित गर्दा होलिडे हार्ट भएका अधिकांश व्यक्तिहरू पूर्ण रूपमा निको हुन्छन् तर केही व्यक्तिहरूलाई एट्रियल फाइब्रिलेसन (एएफ) भएको हुनसक्छ र यो वयस्क उमेर समूहमा बढी संख्यामा भेटिएको छ।
एट्रियल फाइब्रिलेसन भएको पत्ता लागेमा, नियमित मुटुको गति पुनःस्थापना गर्न औषधि (कार्डियोभर्सन), इलेक्ट्रिकल कार्डियोभर्सन (डिफिब्रिलेटर प्रयोग गरी मुटुलाई विद्युतीय झड्का दिने) वा कार्डियाक एब्लेसन प्रक्रिया आवश्यक पर्न सक्छ र एट्रियल फाइब्रिलेसनको उपचार नगरेमा, रक्तको डल्लो जम्ने, स्ट्रोक र हृदयाघात जस्ताको जोखिम बढ्न सक्छ।
कति मात्रामा मद्यपान गर्दा होलिडे हार्ट ट्रिगर हुन्छ भन्ने कुनै निश्चित संख्या छैन। त्यसैले यसलाई रोकथाम गर्न सबैभन्दा राम्रो सल्लाह सुझाव भनेको अत्यधिक मद्यपान नगर्नु नै हो।
डब्लुएचओका अनुसार कुनै लेवलको मद्यपान हाम्रो स्वास्थ्यको लागि सुरक्षित होइन।
त्यस्तै, तनाव कम गर्ने, नियमित रूपमा व्यायाम गर्ने काम मुटुका लागि राम्रो हो। यस्ता क्रियाकलाप गर्दा होलिडे हार्टको जोखिम कम गर्न सकिन्छ र मुटुलाई पनि स्वस्थ राख्न सकिन्छ।
अन्तमाः आज हैन भोलिलाई, मद्यपान नगरौँ स्वस्थ मुटुलाई।