काठमाडौं - विश्वभरको हरेक ६० लाख मानिसहरुमध्ये एक जनाको ब्लड ग्रुप (रक्त समूह) आरएच नल हुन्छ। अन्त्यन्तै दुर्लभ मानिने ब्लड ग्रुप हो, आरएच नल।
वैज्ञानिकहरु हाल यही दुर्लभ ब्लड ग्रुपलाई तयार गर्न कोशिस गरिरहेका छन्। ताकी यो ब्लड ग्रुपका अन्य मानिसहरुलाई बचाउन सकियोस्।
ब्लड ट्रान्सफ्युजन अर्थात् बिरामीलाई रगत चढाउने प्रक्रियाले आधुनिक मेडिसिनलाई परिवर्तन गरिदिएको छ। कुनै पनि मेडिकल इमरजेन्सीमा अरुले रक्तदान गरेको रगतले कसैको ज्यान बनाउन ठूलो भूमिका खेल्छ। तर हर कोहीले ब्लड ट्रान्सफ्युजनको फाइदा लिन सक्दैनन्। विशेषगरी दुर्लभ ब्लड ग्रुपका व्यक्तिहरुले समान रगत पाउन निकै संघर्ष गर्नुपर्दछ।
सबैभन्दा दुर्लभ ब्लड ग्रुप मानिएको आरएच नल ब्लड ग्रुप, विश्वभरमा अहिलेसम्म ५० जना मानिसमा मात्र पाइएको बीबीसी हिन्दीमा उल्लेख छ। यस्तो अवस्थामा आवश्यक परेको खण्डमा यी ब्लड ग्रुप भएका मानिसहरुलाई यो रगत पाउने संभावना निकै नै कम हुन्छ। यस्तो अवस्थामा यी ब्लड ग्रुपका मानिसलाई आफ्नो रगत फ्रिज गरेर राख्न सुझाव दिइन्छ।
निकै दुर्लभ मानिएपनि यो ब्लड ग्रुपलाई निकै महत्वपूर्ण मानिन्छ। मेडिकल र रिसर्च कम्युनिटीमा यो रगतलाई ‘गोल्डन ब्लड’ पनि भनिन्छ। यसको कारण हो यो की आरएच नल ब्लड ग्रुप युनिभर्सिटी ब्लड ट्रान्सफ्युजनलाई संभव बनाउन मद्दत गर्न सक्छ। यसका लागि वैज्ञानिकहरु ती प्रतिरक्षा सम्बन्धी समस्याहरुमा नियन्त्रण पाउने तरिकाहरु खोजीरहेका छन्, जसका कारण दान गरिएका रगतको प्रयोगमा समस्या आउँछ।
इङ्गल्याण्डस्थित युनिभर्सिटी अफ ब्रिस्टलका सेल बायोलोजीका प्रोफेसर ऐश टाँय भन्छन्, ‘यदी तपाईको रगतभन्दा फरक एन्टीजेन भएको रगत चढाए, यसले शरीरले यसको विरुद्धका एन्टीबडी बनाउँछ र त्यसलाई हमला गर्छ।’
यदी त्यही रगत दोस्रो पटक चढाए व्यक्तिको ज्यानै जान सक्ने उनले बताए। दुई ब्लड ग्रुप सिस्टम जसले सबैभन्दा ठूलो प्रतिरक्षा प्रतिक्रिया दिन्छ। पहिलो हो एबीओ र दोस्रो आरएच ब्लड ग्रुप हो। जसको ब्लड ग्रुप ए हुन्छ, उसको रगत कोषिकाको सतहमा ए एन्टीजेन, बी ब्लड ग्रुपहरुमा बी एन्टीजेन हुने गर्दछ।
एबी ब्लड ग्रुपमा ए र बी दुवै एन्टीजेन हुन्छ। जबकी ओ ब्लड गु्रपमा ए र बीमध्ये कुनै पनि एन्टीजेन हुँदैन। हर ग्रुप आरएच पोजेटिभ वा आरएच नेगेटिभ हुन सक्छ। ओ नेगेटिभ ब्लड गु्रपलाई युनिभर्सल डोनर भनिन्छ। किनभने यो रगतमा ए, बी र आरएच कुनैको पनि एन्टीजेन हुँदैन। अक्टोबर २०२४ सम्म ४७ ब्लड गु्रप र ३६६ प्रकारको एन्टीजेनको बारेमा पत्ता लागेको छ। यसको अर्थ यो पनि हो ओ नेगेटिभ ब्लड चढाउने व्यक्तिमा अरु दोस्रो एन्टीजेनको प्रतिरक्षा प्रतिक्रिया हुन सक्छ। यद्यपि केही एन्टीजेन दोस्रोको तुलनामा अधिक प्रतिरक्षा प्रतिक्रिया दिन्छ।
यस्तै ५० भन्दा बढी आरएच एन्टीजेन हुने गर्दछ। विश्वभर आरएच एन्टीजेन पनि अलग अलग किसिमको हुने गर्दछ। जसबाट सही डोनर म्याच खोज्न मुश्किल हुन्छ। यद्यपि आरएच नल ब्लड ग्रुपका मानिसमा सबै ५० आरएच एन्टीजेन हुँदैन। उनीहरुलाई अन्य ब्लड ग्रुप चढाउन मिल्दैन। तर सबै आरएच ब्लड टाइपका लागि आरएच नल ब्लड ग्रुप सही हुन्छ।
ओ र आरएच नल ब्लड ग्रुप निकै महत्वपूर्ण मानिन्छ। किनभने यो धेरैजसो मानिसलाई यो ग्रुपको रगत चढाउन मिल्छ। इमरजेन्सी अवस्थामा कुनै बिरामीको ब्लड गु्रप थाहा नभए ओ र आरएच नल ब्लड दिन सकिन्छ। किनभने यसबाट एलर्जिक प्रतिक्रियाको जोखिम कम हुन्छ। यही कारणले दुनियाभरका वैज्ञानिक यस गोल्डन ब्लड जस्तो रगत बनाउने तरिका खोजिरहेका छन्।
आरएच नल ब्लड जेनेटिक म्युटेशनका कारण हुने गर्दछ, जुन रातो रक्त कोशिकामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने एक प्रोटिनलाई प्रभावित पार्ने हालैको अध्ययनबाट पत्ता लागेको छ। जसलाई आरएच एसोसिएटेड ग्लाइकोप्रोटीन या आरएचएजी भनिन्छ।
यो म्युटेशनले यस प्रोटिनको आकारलाई सानो गर्ने या परिवर्तन गरिदिन्छ। जसका कारण दोस्रो आरएच एन्टीजेनसमा गडबडी गरिदिन्छ। सन् २०१८ को अध्ययनमा युनिभर्सिटी अफ ब्रिस्टलका प्रोफेसर टाँय र उनका सहयोगीले ल्याबमा आरएच नल ब्लडलाई पुनः तयार गरे। यसका लागि उनीहरुले अपरिपक्क रातो रक्त कोशिकाबाट केही कोशिका विकसित गरेका थिए।
त्यसपछि उनीहरुले जीन एडिटिंग टेक्नीक क्रिस्पर कैस ९ को प्रयोग गरेर ती पाँच ब्लड गु्रपको सिस्टमको एन्टीजेनको लागि कोडिंग गर्ने जिन्सलाई हटाए। जसका कारण धेरैजसो ब्लड ट्रान्सफ्युजनमा समस्या आउने गर्दछ। यसमा एबीओ र आरएच एन्टीजेन, साथै केल, डफी र जीपीबी नामको दोस्रो एन्टीजेन सामिल थिए।
प्रोफेसर टाँय भन्छन्, ‘हामीले थाहा पायौँ की यदी हामीले ती पाँच ब्लड ग्रुपको सिस्टमको एन्टीजेनका लागि कोडिंग गर्ने जिन्सलाई हटायौँ भने एक यस्तो कोशिकाको निर्माण हुन्छ, जुन हर किसिमको ब्लड ग्रुपको लागि अनुकुल हुन्छ।’
यस किसिमको रक्त कोशिकाहरु सबै प्रमुख आम ब्लड ग्रुपका साथै आरएच नल र बम्बे फेनोटाइप जस्ता दुर्लभ ब्लड ग्रुप भएका मानिसका लागि सही हुन्छ। बम्बे फेनाटाइप ब्लड ग्रुप हरेक ४० लाख मानिसमध्ये एकमा मात्र पाइने गर्दछ। यस ब्लड ग्रुपको व्यक्तिलाई ओ, ए, बी या एबी रगत दिन मिल्दैन।
वैज्ञानिकहरुले यो पत्ता लगाएपनि जीन एडिटिंग टेक्नीकको प्रयोग बारे विवाद छ। विश्वका कयौँ हिस्सामा यसप्रति कडा नियन्त्रण पनि लगाइएको छ। जसका कारण यस किसिमको रगत उपलब्ध हुन केही समय लाग्ने देखिन्छ। यसलाई स्वीकृति दिनुभन्दा अगाडी कयौँ क्लिीनिकल ट्रायल र परीक्षण गर्नुपर्दछ।
प्रोफेसर टाँयले एक स्पिन आउट कम्पनी स्कार्लेट थेरेप्यूटिक्सको स्थापना गरेका छन्। जसले आरएच नल सहित दुर्लभ ब्लड गु्रप भएका मानिसहरुबाट रगत जुटाइरहेका छन्। उनीहरुबाट लिइएका रगतको प्रयोगबाट दुर्लभ रगत भएका मानिसहरुलाई आवश्यक परेको खण्डमा प्रयोग गर्न मिल्ने ब्लड सेल्स ल्याबमा बनाउन सकिने उनीहरुको अपेक्षा छ।
जीन एडिटिंगको प्रयोग बनिा पनि ल्याबमा दुर्लभ रगतको बैंक बनाउन सकिने उनलाई आशा छ। जुन टेक्नीक भविष्यमा महत्वपूर्ण भूमिका निभाउन सक्छ।
सन् २०२१ मा अमेरिकाको मिल्वौकीस्थित वर्सिटी ब्लड रिसर्च इन्स्टीच्युटका इम्युनोलोजिस्ट ग्रेगरी डेनोमे र उनका सहयोगीे क्रिस्पर कैस९ जीन एडिटिंग टेक्नीकको प्रयोग गरेर मानव प्रेरित प्लुरिपोटेन्ट स्टेम सेलबाट आरएच नल सहित कस्टमाइज्ड दुर्लभ रगतका प्रकार बनाएका थिए।
यस्तै क्यानडाको क्युबेकस्थित लावल युनिभर्सिटीका वैज्ञानिकले हालै मात्र ए पोजेटिभ ब्लड डोनर्सबाट ब्लड स्टेम कोशिकाहरु निकाले। र, उनले क्रिस्पर कैस९ टेक्नीकबाट ए र आरएच एन्टीजेनसको लागि कोडिंग गर्ने जिन्स हटाए। जसबाट ओ आरएच नल अपरिपक्क रातो रक्त कोशिकाहरु तयार भए।
यी प्रभावशाली प्रयासका बावजुद पनि ल्याबमा विकसित कृत्रिम रगतलाई निर्माण गरी मानिसमा प्रयोग गर्ने विषय अझै पनि टाढाको विषय छ। एक कठिनाई स्टेम कोशिकालाई परिपक्क रातो रक्त कोशिकामा विकसित गर्नेमा पनि छ। शरीरमा रातो रक्त कोशिका अर्थात् रेड ब्लड सेल्स र बोन म्यारोमा स्थित स्टेम कोशिकाबाट निस्कन्छ। जो यसको विकासलाई गाइड गर्ने जटिल संकेत उत्पन्न गराउँछ। यसलाई ल्याबमा तयार गर्न कठिन छ।
ट्रान्सफ्युजन मेडिसिनमा विशेषज्ञता हासिल गरेका ग्रिफोल्स डायग्नोस्टिक सल्युसन्सका मडिकल अफेयर्सका निर्देशक डेनोमेले आरएच नल या कुनै दोस्रो नल ब्लड ग्रुपलाई तयार गरिरहँदा रातो रक्त कोशिकाका वृद्धि र परिपक्कता बाधक हुन सक्दछ। उनका अनुसार खास ब्लड गु्रपको जिन्स तयार गर्दा कोशिका झिल्ली क्षतिग्रस्त हुन सक्छ या सेल कल्चरमा रातो रक्त कोशिकाको सही तरिकाबाट उत्पादनमा कमी आउन सक्छ।
हाल भइरहेको रिस्टोर ट्रायल को नेतृत्व प्रोफेसर टाँयले गरिरहेका छन्। यो दुनियाको पहिलो क्लिनीकल ट्रायल हो। जसमा डोनर, ब्लड स्टेम कोशिकाबाट ल्याबमा कृत्रिम रुपबाट विकसित रेड ब्लड सेल्स स्वस्थ वालंटियसलाई दिएर उसको सुरक्षाको परीक्षण भइरहेको छ।
यस ट्रायलमा कृत्रिम रगतलाई कुनै पनि तरिकाबाट एडिट गरिएको छैन। तर पनि वैज्ञानिकहरुले मानिसमा यसका परीक्षण गर्ने चरणसम्म पुग्न १० वर्षको अध्ययन गरेका थिए।
उनी भन्छन्, ‘अहिले कसैको हातबाट रगत निकाल्नु धेरै सफल र किफायती हो। त्यसैले भविष्यमा हामीलाई ब्लड डोनर्सको जरुरत पर्छ। तर दुर्लभ ब्लड गु्रप भएका मानिसका लागि हामीले यस किसिमको अधिक रगत तयार गर्न सक्यौँ भने वास्तवमै धेरै राम्रो हुुन्छ।’
बीबीसी हिन्दीबाट साभार