सदाको दिन झैँ म आफ्नो कार्यालयको काममा व्यस्त थिएँ। २०७३ साल वैशाख १४ गते मंगलबार मेरो श्रीमतीले (शारदा) हस्याङ-फस्याङ गर्दै 'हजुरलाई इमरजेन्सी कल' आएको छ, मोबाइल रूममा बिर्सिनु भएछ लिनुस् न' भनिन्। म झसङ्ग भएँ के भएछ भनेर। मैले मेरो मोबाइलमा हेर्दा कल गीता मिधुन (शिक्षिका) को रहेछ, जो मेरो मेडमको साथी हुनुहुन्थ्यो र दुवै जना पहिलाको विद्यालयमा सँगै पढाउने गर्नुहुन्थ्यो।
गीता (शिक्षिका): "सर नमस्कार म कसेनिको खिर्रपानिबाट।"
म: "नमस्कार मेडम, के भयो यति हतारमा कल गर्नुभएको?"
गीता: "सर मलाई त सारै समस्या पर्यो के गरूँ?"
मेडमले हतारिँदै भन्नुभयो- उहाँ विद्यालयबाट घरतिर झर्दै गर्दा बाटोमा एउटा जिप आयो र उहाँ त्यसमा चढ्नुभयो। खिर्रपानि भन्ने ठाउँमा पुग्दा त्यस जिपमा सुत्केरी व्यथा लागेकी महिला खगिसरा ठाडा रहिछन्। उनलाई स्वास्थ्य चौकी पुर्याउन हिँडेको जिप रहेछ, तर व्यथाले च्यापेर उनी छटपटाइरहेकी थिइन्। बच्चाको टाउको निस्कन लागेको देखेपछि जिपमा बसेका सबै आत्तिएका रहेछन्।
मैले केही सेकेन्ड सोचेँ। म भएको ठाउँबाट त्यहाँ पुग्न करिब डेढ घण्टा र त्यो जिप स्वास्थ्य संस्था पुग्न करिब ४५ मिनेट लाग्थ्यो। बाटो पनि ढुङ्गा-ढुङ्गा भएकोले राम्रो थिएन। त्यसैले मैले तत्काल आमा र शिशुको ज्यान बचाउनु ठुलो कुरा हो भनी निर्णय गरेँ र मेडमलाई भनेँ- "नआत्तिनुहोस्, ड्राइभरलाई अलि सजिलो ठाउँमा जिप रोक्न लगाउनुहोस्, म तपाईँलाई सबै कुरा सिकाउँछु"।
शिशुको टाउको निस्कन लागेको हुनाले जिप हिँडाउने अवस्था थिएन। मैले महिलालाई जिपको लामो सिटमा सुताउन लगाएर शिशुको टाउकोलाई सपोर्ट गर्न सिकाएँ। जिप चालकले मेडमको कानमा मोबाइल राखिदिई हामी निरन्तर संवादमा थियौँ। अचानक मेडम चिच्याउनुभयो- "सर सर, शिशुको घाँटीमा माला जस्तै २/३ पटक नाभी बेरिएको छ, अब के गर्ने?" मैले नआत्तिन भन्दै बिस्तारै हातले नाभी घुमाएर फुकाउन लगाए। त्यसपछि नाभी बाँध्न धागो प्रयोग गर्न लगाएर नाइटो भन्दा ३/४ अङ्गुल परबाट दुवैतिर राम्रोसँग बाँध्न सिकाएँ।
नयाँ ब्लेडले नाभी काटेपछि शिशु बाहिर त आयो तर रोएन। ४५ मिनेटको कुराकानी पछि फोन काटियो, मैले पुनः फोन गरेँ। शिशु नरोएपछि सबै झन् हतासिए। मैले नाक र मुख सफा गर्न लगाए, शिशुलाई उत्तानो पारेर neck extend गर्न लगाए तर प्रतिक्रिया आएन। फेरि कोल्टे पारेर पछाडि पिठ्युँमा २/३ पटक मसाज गर्न लगाएपछि शिशु बेस्करी चिच्यायो।
मैले आमाको छातीमा न्यानो पारी स्तनपान गराउन भनेँ। अझै पनि साल (placenta) झरेको थिएन। मैले तुरुन्तै मदन पोखरा स्वास्थ्य चौकी वा लुम्बिनी मेडिकल कलेज लान सुझाव दिएँ र स्वास्थ्य चौकीमा खबर गरिदिएँ। बाटोमा स्वास्थ्य चौकी परेपछि त्यहाँ साल झारियो र पछि थप जाँचका लागि लुम्बिनी मेडिकल कलेज पठाइयो। अन्ततः आमा र शिशु दुवै सुरक्षित भए।
यदि समयमै अस्पताल जान योजना गरेको भए यस्तो जोखिमपूर्ण अवस्था आउने थिएन। योजना विहीन कार्यले गर्दा यस्ता ठुला समस्या देखा पर्दछन्। मैले कुनै विशेष डेलिभरी तालिम त लिएको थिइनँ, तर विभिन्न अस्पतालमा एनेस्थेसिया असिस्टेन्टको रूपमा काम गरेको अनुभव र स्व-अध्ययनले गर्दा आज एउटा ज्यान बचाउन सफल भएँ। आज यो घटना लेखिरहँदा त्यो बालक ९ वर्ष पुरा भएर १० वर्षमा हिँडिरहेको छ।
यस कार्यमा सहयोग गर्नुहुने जिप चालक, सहचालक, शिक्षिका र मदनपोखरा स्वास्थ्य चौकीकी रिता थापालाई धन्यवाद दिन चाहन्छु। पाल्पा जिल्लालाई आ.व. २०८२/२०८३ सम्म पूर्ण संस्थागत प्रसुती युक्त जिल्ला घोषणा गर्ने तयारी भइरहेको छ। स्थानीय तहहरूले गर्भवतीलाई पोषण र यातायात खर्च जस्ता कार्यक्रम ल्याएर मातृ मृत्युदर कम गर्न भूमिका खेलिरहेका छन्।
अन्त्यमा, गर्भवती अवस्थामा समयमै जाँच गराउने, कुन अस्पतालमा जन्म दिने र कुन स्वास्थ्यकर्मीको सल्लाह लिने भन्ने योजना परिवारले पहिल्यै बनाएमा यस्ता समस्याबाट बच्न सकिन्छ।
-(स्वास्थ्यकर्मी गंगाराम खनाल तिनाउ ६, मस्याम, स्वास्थ्य चौकी, पाल्पामा कार्यरत छन्।)