काठमाडौं- चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी डा. श्रीकृष्ण गिरीले पाएका छन्। प्रधानमन्त्री एवं आयोगका अध्यक्ष बालेन्द्र शाहले सोमबार डा. गिरीलाई अर्को व्यवस्था नभएसम्मका लागि उपाध्यक्षको जिम्मेवारी दिएका हुन्।
आयोगका अध्यक्षले उपाध्यक्षको जिम्मेवारी दिएसँगै डा गिरीले आज मंगलबारबाट हाजिर भएर सेवा सुरु गरेका छन्।
'अर्को व्यवस्था नभएसम्मका लागि भनेर जिम्मेवारी पाएको छु। जति दिन हुन्छु राम्रो काम गरेर जान्छु,' उनले भने।
सरकारले गत महिना मात्र 'सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश' ल्याएपछि आयोगका तत्कालीन उपाध्यक्ष डा. अञ्जनी कुमार झालगायतका पदाधिकारीहरू पदमुक्त भएका थिए। पदाधिकारीहरू पदमुक्त भएसँगै आयोगको उपाध्यक्ष पद रिक्त रहेको थियो।
डा गिरी आयोगका पहिलो उपाध्यक्ष समेत हुन्।
आयोगका पदाधिकारी रिक्त भएपछि प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषदले भर्ना प्रक्रियामा ऐन विपरित काम अगाडि बढाएपछि प्राडा गोविन्द केसीले सोमबार अनसनको चेतावनी दिएका थिए। डा केसीले तत्काललाई पूर्व पदाधिकारीमध्ये कसैलाई उपाध्यक्षको जिम्मेवारी दिन समेत माग गरेका थिए।