काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्था परिसरभित्र पूर्व अनुमति बिना फोटो वा भिडियो खिच्ने र त्यसलाई प्रकाशन वा प्रसारण गर्ने कार्यमा पूर्ण रूपमा रोक लगाएको छ। मन्त्रालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो कार्य प्रचलित कानुन विपरित रहेको भन्दै कडा कारबाहीको चेतावनी दिएको हो।
पछिल्लो समय केही व्यक्तिहरू अस्पतालभित्र विना अनुमति प्रवेश गरी बिरामी र स्वास्थ्यकर्मीहरूको फोटो/भिडियो खिच्ने, अन्तर्वार्ताका नाममा भिडभाड गर्ने र स्वास्थ्य उपचारमा खटिएका चिकित्सकहरूको कार्यसम्पादनमा अवरोध पुऱ्याउने गरेको गुनासो आएपछि मन्त्रालयले यो कदम चालेको हो। यस्ता गतिविधिले बिरामीको गोपनीयताको हनन हुनुका साथै संवेदनशील क्षेत्रमा अशान्ति फैलिन गई समग्र उपचार प्रक्रियामा नै गम्भीर असर परेको मन्त्रालयको निष्कर्ष छ।
विज्ञप्तिमा उल्लेख भए अनुसार 'स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६' को दफा ३ ले उपचारमा बाधा पार्न नहुने स्पष्ट व्यवस्था गरेको छ। सोही ऐनको खण्ड (च) ले स्वास्थ्यकर्मीलाई हातपात गर्ने, धम्की दिने वा अपमानजनक व्यवहार गर्न नपाइने कानुनी प्रावधान राखेको छ। साथै, मुलुकी अपराध संहिता २०७४ को दफा २९५ अनुसार अनुमति विना कसैको तस्बिर खिच्नुलाई समेत गैरकानुनी मानिएको छ।
मन्त्रालयले सचेत गराउँदै भनेको छ, 'अस्पतालको पूर्व स्वीकृति विना कुनै पनि प्रकारको फोटो वा भिडियो खिच्ने/खिचाउने र कानुन विपरीतका गतिविधि गर्नेलाई प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ।'
यसका लागि मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायहरूलाई समेत आवश्यक जानकारी दिइसकेको जनाएको छ। यदि उपचारको क्रममा चिकित्सक वा स्वास्थ्य संस्थाबाट कुनै कमजोरी भएको महसुस भएमा आफैँ कानुन हातमा लिनुको सट्टा सम्बन्धित निकायमा उजुरी गरी तथ्यपरक छानबिन र सम्बोधन गराउन समेत मन्त्रालयले अनुरोध गरेको छ।
हेरौं विज्ञप्तिको पूर्णपाठ
विषय: अस्पताल/स्वास्थ्य संस्था भित्र हातपात, तालावन्दी, तोडफोड लगायत कानुन विपरित गतिविधि नगर्ने/नगराउने सम्बन्धमा
पछिल्लो समयमा केही व्यक्तिहरूले अस्पताल तथा स्वास्थ्य संस्था परिसरभित्र स्वीकृति विना प्रवेश गरी बिरामी र स्वास्थ्यकर्मीहरूको फोटो तथा भिडियो खिच्ने, अन्तर्वार्ताको नाममा भिडभाड गर्ने र स्वास्थ्य उपचारमा खटिएका चिकित्सक तथा कर्मचारीहरूको कार्यसम्पादनमा अवरोध पुऱ्याउने गरेको जनगुनासो यस मन्त्रालयमा प्राप्त भएको छ। यस प्रकारको कार्यले बिरामीको गोपनीयताको हनन हुनुका साथै संवेदनशील क्षेत्रमा अशान्ति फैलिन गई समग्र उपचार प्रक्रियामा नै गम्भीर असर परेकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।
अस्पताल जस्तो संवेदनशील क्षेत्रमा स्वीकृति विना भिडियो बनाउने, चिकित्सक तथा कर्मचारीलाई अमर्यादित तवरले प्रस्तुत हुने वा अनुचित दवाव दिने कार्य प्रचलित कानुनको ठाडो उल्लंघन हो। "स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६" को दफा ३ ले 'उपचारमा बाधा पार्न नहुने' स्पष्ट व्यवस्था गरेको छ। सोही दफाको खण्ड (च) मा "स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्ने, कुनै किसिमले धम्की दिने, गाली गलौज गर्ने वा अभद्र वा अपमानजनक व्यवहार गर्न" नपाइने स्पष्ट कानुनी व्यवस्था रहेको छ। साथै मुलुकी अपराध संहिता २०७४ को दफा २९५ मा अनुमति विना कुनै व्यक्तिको तस्बिर खिच्न नहुने भन्ने व्यवस्था रहेकोमा अस्पताल/स्वास्थ्य संस्था परिसरभित्र सम्बन्धित संस्थाको अनुमति नलिई फोटो/भिडियो नखिच्नु तथा प्रकाशन/प्रसारण नगर्नुहुन सम्बन्धित सबैमा अनुरोध छ।
उक्त कानुनको बर्खिलाप हुने गरी कसैले उल्लिखित कार्य गरे/गराएमा प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैलाई स्मरण गराइन्छ। तसर्थ, सम्पूर्ण सर्वसाधारण तथा सरोकारवालाहरूलाई अस्पताल तथा स्वास्थ्य संस्थाको पूर्व स्वीकृति विना कुनै पनि प्रकारको फोटो वा भिडियो नखिच्न/नखिचाउनुहुन र कानुन विपरीतका गतिविधि नगर्न/नगराउन मन्त्रालय हार्दिक अनुरोध गर्दछ। यस सूचनाको वेवास्ता गरी यस्ता गैरकानुनी कार्य गरे/गराएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायहरूलाई जानकारी दिइसकेको व्यहोरा समेत यसै विज्ञप्तिमार्फत अवगत गराइन्छ।
साथै चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य सेवा प्रदायक संस्थाबाट उपचारको क्रममा कमि कमजोरी भएको महसुस भएमा सम्बन्धित निकायमा उजुरी गरी सो को तथ्यपरक छानबिन र सम्बोधन गर्ने प्रावधान रहेको समेत जानकारी गराइन्छ।
सूचना अधिकारी
मिति: २०८३/०१/१६