नेपालको स्वास्थ्य प्रणाली बहुआयामिक र समावेशी स्वरूपको रहेको छ, जसमा आधुनिक चिकित्सासँगै आयुर्वेद, होमियोप्याथी तथा अन्य वैकल्पिक चिकित्सा प्रणालीहरू पनि समेटिएका छन्। तीमध्ये आयुर्वेद सेवा नेपालको ऐतिहासिक, सांस्कृतिक र सामाजिक जीवनसँग गहिरो रूपमा जोडिएको स्वास्थ्य प्रणाली हो। प्राचीनकालदेखि नै प्रयोगमा आएको आयुर्वेद आज पनि सरकारी स्वास्थ्य सेवाको एक महत्त्वपूर्ण अङ्गका रूपमा स्थापित छ। नेपाल सरकारले आयुर्वेद सेवालाई संस्थागत गर्दै देशभर विस्तार गर्ने प्रयास गरिरहेको छ। नेपालको सरकारी स्वास्थ्य प्रणालीभित्र आयुर्वेद सेवाको संरचना, प्रमुख संस्थाहरू, सेवा प्रवाह, वर्तमान अवस्था, चुनौतीहरू तथा सुधारका उपायहरू विस्तृत रूपमा विवेचना/विश्लेषण गर्ने प्रयास गरिएको छ।
आयुर्वेद सेवा सञ्चालन गर्ने प्रमुख निकायको कुरा गर्दा, यो सेवा नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमार्फत सञ्चालन हुन्छ। विभागले समयानुकूल पुनर्संरचना गर्दै संघीय शासन प्रणालीअनुसार आफ्ना कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यस विभागको मुख्य उद्देश्य देशभर आयुर्वेद सेवाको विस्तार, गुणस्तर सुनिश्चितता तथा जनतामा आयुर्वेदप्रति विश्वास अभिवृद्धि गर्नु हो।
नेपालमा आयुर्वेद सेवा विभिन्न तहमा उपलब्ध छ। आधारभूत तहमा आयुर्वेद औषधालय तथा नागरिक आरोग्य सेवा केन्द्रहरू मार्फत सेवा प्रदान गरिन्छ। यी संस्थाहरूले सामान्य रोगहरूको उपचार, परामर्श तथा निःशुल्क औषधि वितरण गर्ने कार्य गर्छन्। माध्यमस्तरीय तथा विशिष्टीकृत तहमा जिल्ला तथा प्रादेशिक आयुर्वेद अस्पतालहरू र केन्द्रीय स्तरको नरदेवी आयुर्वेद चिकित्सालय रहेका छन्, जहाँ ओपिडी, आईपिडी, पञ्चकर्म तथा दीर्घरोग व्यवस्थापन सेवा उपलब्ध हुन्छ।
नेपालमा आयुर्वेद सेवाको सुदृढीकरणका लागि विभिन्न केन्द्रीय तथा विशिष्टीकृत संस्थाहरू स्थापना गरिएका छन्। काठमाडौँस्थित नरदेवी आयुर्वेद अस्पताल देशकै पुरानो र महत्त्वपूर्ण अस्पतालमध्ये एक हो, जसले विशेषज्ञ सेवा, पञ्चकर्म उपचार तथा तालिम प्रदान गर्दछ। त्यस्तै, सिंहदरबार वैद्यखाना ऐतिहासिक रूपमा स्थापित संस्था हो, यसले आयुर्वेदिक औषधि उत्पादन गरी सरकारी संस्थाहरूमा आपूर्ति गर्नुको साथै औषधि बिक्री समेत गर्दछ। यसले परम्परागत ज्ञान र आधुनिक प्रविधिको संयोजनमार्फत औषधि उत्पादनमा योगदान पुर्याइरहेको छ।
नेपाल आयुर्वेद चिकित्सा परिषद् आयुर्वेद चिकित्सक/आयुर्वेद स्वास्थ्यकर्मीहरूको दर्ता, नियमन तथा पेसागत मापदण्ड निर्धारण गर्ने निकाय हो। यसले सेवा गुणस्तर कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छ। त्यसैगरी कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले आयुर्वेद सम्बन्धी अनुसन्धान तथा जनशक्ति विकासमा योगदान पुर्याउँछ। बुढानीलकण्ठस्थित राष्ट्रिय पञ्चकर्म तथा योग केन्द्रले पञ्चकर्म सेवा तथा योग सेवा सञ्चालन गर्दै आएको छ।
शिक्षा क्षेत्रतर्फ, त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस रूपमा रहेको आयुर्वेद क्याम्पस कीर्तिपुरले आयुर्वेद चिकित्साको स्नातक तह (बिएएमएस) एवं कायचिकित्सा र कौमारभृत्यको स्नातकोत्तर तह (एमडी) कार्यक्रम सञ्चालन गरी दक्ष र विशेषज्ञ आयुर्वेद चिकित्सक उत्पादन गर्दै आएको छ। यसैगरी, नेपाल संस्कृत विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आयुर्वेद क्याम्पसहरूले पनि आयुर्वेद चिकित्साको स्नातक तह कार्यक्रम सञ्चालन गरिरहेका छन्। साथसाथै यी क्याम्पसहरूसँग सम्बद्ध आयुर्वेद शिक्षण अस्पतालले विद्यार्थीहरूलाई प्रयोगात्मक एवं व्यवहारिक ज्ञान-सीप प्रदान गर्नुका साथै बिरामीलाई सेवा पनि उपलब्ध गराउँछन्। यसरी शिक्षा, अनुसन्धान र सेवा तीनै पक्षबाट आयुर्वेद प्रणालीलाई मजबुत बनाउने प्रयास भइरहेको छ।
संघीय संरचनाअनुसार सातवटै प्रदेशमा प्रादेशिक आयुर्वेद अस्पताल स्थापना गरिएका छन्। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा रहेका यी अस्पतालहरूले क्षेत्रीय स्तरमा आयुर्वेद सेवा विस्तार गरेका छन्। विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रमा आयुर्वेद सेवाको पहुँच विस्तारमा यी संस्थाहरूको महत्त्वपूर्ण भूमिका रहेको छ।
सरकारी आयुर्वेद सेवामा विभिन्न प्रकारका सेवाहरू उपलब्ध छन्। उपचारात्मक सेवाअन्तर्गत आयुर्वेदिक औषधि प्रयोग गरी रोग उपचार गरिन्छ, विशेष गरी दीर्घकालीन रोगहरूमा यसको प्रभावकारी उपयोग हुने गरेको छ। आधारभूत स्वास्थ्य सेवा स्तरीय उपचार पद्धतिमा समावेश भएका पञ्चकर्म सेवा शरीर शुद्धीकरण तथा रोग निवारणका लागि महत्त्वपूर्ण मानिन्छ। साथै सरकारले करिब ३५ प्रकारका आयुर्वेदिक औषधिहरू निःशुल्क वितरण गर्दै आएको छ। स्वास्थ्य प्रवर्द्धन कार्यक्रमहरू जस्तै स्वर्ण बिन्दु प्राशन, योग, जीवनशैली सुधार कार्यक्रमहरू पनि सञ्चालन गरिन्छन्। अनुसन्धान तथा जडीबुटी संरक्षणका कार्यहरू पनि यस प्रणालीको महत्त्वपूर्ण अङ्ग हुन्।
यद्यपि आयुर्वेद सेवा विस्तार भइरहे पनि यसको कार्यान्वयनमा विभिन्न विद्यमान चुनौतीहरू:
१. जनशक्ति अभाव हुनु। दक्ष चिकित्सक तथा प्राविधिकको संख्या पर्याप्त छैन, विशेष गरी ग्रामीण क्षेत्रमा यसको अभाव बढी देखिन्छ।
२. पूर्वाधार र उपकरणको कमीले सेवा प्रवाहमा समस्या उत्पन्न गरेको छ। धेरै आयुर्वेद स्वास्थ्य संस्थाहरूमा आवश्यक भवन, बेड तथा उपकरणहरूको अभाव छ।
३. औषधि आपूर्ति र गुणस्तरसम्बन्धी समस्या पनि महत्त्वपूर्ण चुनौती हो। औषधिको नियमित आपूर्ति नहुनु, गुणस्तर नियन्त्रण कमजोर हुनु तथा जडीबुटीको वैज्ञानिक प्रशोधन अभावले सेवा प्रभावकारितामा असर पारिरहेको छ।
४. अनुसन्धान र प्रमाण-आधारित अभ्यासको कमीले आयुर्वेदप्रति विश्वास घटाउने खतरा रहेको छ। आधुनिक चिकित्सा प्रणालीसँग समन्वय कमजोर हुनु पनि अर्को चुनौती हो।
५. जनचेतना अभावका कारण धेरै मानिसहरू आयुर्वेदभन्दा एलोपेथिक उपचारतर्फ आकर्षित भएका छन्। आयुर्वेद ढिलो असर गर्ने भन्ने धारणा पनि व्याप्त छ।
६. नीति तथा व्यवस्थापनमा कमजोरी, बजेटको कमी तथा विभिन्न तहबीच समन्वय अभावले पनि आयुर्वेद सेवाको विकासमा अवरोध पुर्याएको छ।
७. जडीबुटी व्यवस्थापनमा समस्या, अवैज्ञानिक संकलन तथा प्रशोधन अभावले देशको प्राकृतिक स्रोतको उचित उपयोग हुन सकेको छैन।
चुनौतीहरूको समाधानका लागि विभिन्न सुधारात्मक उपायहरू:
१. जनशक्ति विकासमा ध्यान दिनुपर्छ। आयुर्वेद चिकित्सक तथा प्राविधिकहरूको संख्या बढाउनुका साथै ग्रामीण क्षेत्रमा सेवा गर्न प्रोत्साहन दिनुपर्छ। नियमित तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नुपर्छ।
२. पूर्वाधारमा सुदृढीकरण आवश्यक छ। आयुर्वेद अस्पताल तथा औषधालयहरूको स्तरोन्नति गर्दै आधुनिक उपकरण र प्रयोगशालाको विकास गर्नुपर्छ। प्रत्येक प्रदेशमा सुविधायुक्त पञ्चकर्म केन्द्र स्थापना गर्नुपर्छ।
३. औषधि उत्पादन तथा गुणस्तर सुधार गर्न GMP मापदण्ड लागू गरी औषधिको नियमित आपूर्ति सुनिश्चित गर्नुपर्छ।
४. अनुसन्धान प्रवर्द्धन गर्न विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरूसँग सहकार्य बढाउनुपर्छ। Evidence-Based Ayurveda विकास गरी अन्तर्राष्ट्रिय स्तरमा मान्यता बढाउन सकिन्छ।
५. जनचेतना अभिवृद्धिका लागि व्यापक स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्नुपर्छ। विद्यालय तथा समुदायस्तरमा आयुर्वेदको महत्त्वबारे जानकारी दिनुपर्छ।
६. नीति तथा बजेटमा सुधार आवश्यक छ। दीर्घकालीन योजना बनाई पर्याप्त बजेट विनियोजन गर्नुपर्छ। संघ, प्रदेश र स्थानीय तहबीच समन्वय मजबुत बनाउनुपर्छ।
७. जडीबुटी व्यवस्थापन तथा उद्योग विकास गर्न व्यावसायिक जडीबुटी खेती प्रवर्द्धन तथा प्रशोधन उद्योग स्थापना गर्नुपर्छ।
आयुर्वेद क्षेत्रको सुधार र पुनर्संरचनाका रणनीतिक सुझावहरू:
अबको मूल प्रश्न भनेको - नेपाल सरकारले आयुर्वेद क्षेत्रलाई कसरी प्रभावकारी, वैज्ञानिक, विश्वसनीय र दिगो रूपमा सुदृढ बनाउन सक्छ भन्ने हो। यसका लागि केवल सामान्य सुधार होइन, दीर्घकालीन दृष्टिकोणसहितको संरचनात्मक पुनर्संरचना आवश्यक छ। तल प्रस्तुत रणनीतिहरू नीतिगत, प्राविधिक तथा संस्थागत सुधारका आधारस्तम्भका रूपमा लिन सकिन्छ।
१. स्पष्ट राष्ट्रिय आयुर्वेद नीति तथा दीर्घकालीन योजना
आयुर्वेद क्षेत्रको समग्र विकासका लागि सबैभन्दा पहिलो आवश्यकता स्पष्ट, कार्यान्वयनयोग्य र परिणाममुखी राष्ट्रिय आयुर्वेद नीति हो। हाल भएका नीतिहरू छरिएका र कार्यान्वयनमा कमजोर देखिन्छन्।
कम्तीमा २० वर्षे “राष्ट्रिय आयुर्वेद दीर्घकालीन योजना” निर्माण गरिनुपर्छ, जसमा लक्ष्य, सूचक र समयसीमा स्पष्ट हुनुपर्छ।
संघ, प्रदेश र स्थानीय तहबीचको अधिकार, जिम्मेवारी र स्रोत बाँडफाँट स्पष्ट गरिनुपर्छ।
आयुर्वेदलाई राष्ट्रिय स्वास्थ्य प्रणालीको समानान्तर नभई “पूरक र एकीकृत प्रणाली” का रूपमा परिभाषित गर्नुपर्छ।
नीति निर्माणमा चिकित्सक, अनुसन्धानकर्ता, उद्योगी र स्थानीय समुदायको सहभागिता सुनिश्चित गरिनुपर्छ।
२. जनशक्ति विकास, वितरण र व्यवस्थापन
आयुर्वेद सेवाको गुणस्तर सीधै जनशक्तिको दक्षता र उपलब्धतामा निर्भर हुन्छ।
विशिष्टीकृत आयुर्वेद सेवा प्रदान गर्न देश भित्रै आयुर्वेदमा विभिन्न विषयहरूमा विशेषज्ञ चिकित्सक उत्पादन गर्नका लागि मध्यमस्तरको अस्पताल व्यवस्थापन गर्नु पर्ने।
बिएएमएस तथा अन्य आयुर्वेदिक अध्ययन कार्यक्रमहरूको सीट संख्या चरणबद्ध रूपमा वृद्धि गरिनुपर्छ।
ग्रामीण तथा दुर्गम क्षेत्रमा सेवा गर्ने चिकित्सकहरूका लागि विशेष प्रोत्साहन (भत्ता, कर छुट, पदोन्नति प्राथमिकता) व्यवस्था गरिनुपर्छ।
Continuous Medical Education (CME), Continuing Professional Development (CPD), skill-based training तथा specialization कार्यक्रमहरू अनिवार्य गरिनुपर्छ।
आयुर्वेद सहायक, पञ्चकर्म प्राविधिक, Diploma In Pharmacy of Ayurveda जस्ता सहायक जनशक्ति उत्पादनमा जोड दिनुपर्छ।
Human Resource Information System (HRIS) लाई Update & Upgrade गरी जनशक्ति व्यवस्थापनलाई डिजिटल बनाइनुपर्छ।
३. पूर्वाधार आधुनिकीकरण र सेवा स्तरोन्नति
अहिले धेरै आयुर्वेद संस्थाहरू न्यूनतम पूर्वाधारमै सीमित छन्, जसले सेवाको प्रभावकारितामा असर पारेको छ।
प्रत्येक प्रदेशमा कम्तीमा एक “Model Ayurveda Hospital” स्थापना गरिनुपर्छ।
अत्याधुनिक पञ्चकर्म केन्द्रहरू स्थापना गरी अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्न सकिन्छ।
Diagnostic facilities (lab, imaging) लाई आयुर्वेद सेवासँग एकीकृत गरिनुपर्छ।
अस्पताल व्यवस्थापनमा IT प्रणाली, electronic record र automation प्रयोग गर्नुपर्छ।
सेवा गुणस्तरका लागि accreditation system लागू गरिनुपर्छ।
४. औषधि उत्पादन, आपूर्ति र जिएमपी कार्यान्वयन
आयुर्वेदको प्रभावकारिता धेरै हदसम्म औषधिको गुणस्तरमा निर्भर हुन्छ।
सिंहदरबार वैद्यखानालाई आधुनिक प्रविधियुक्त “National Ayurveda Pharmaceutical Hub” मा रूपान्तरण गर्नुपर्छ।
Good Manufacturing Practice (GMP) मापदण्डलाई अनिवार्य रूपमा लागू गर्नुपर्छ।
औषधि उत्पादनमा निजी क्षेत्रसँग सहकार्य (PPP मोडेल) बढाउनुपर्छ।
Supply chain management सुधार गरी देशभर औषधिको नियमित उपलब्धता सुनिश्चित गर्नुपर्छ।
Quality control laboratory स्थापना गरी औषधिको गुणस्तर परीक्षण अनिवार्य गरिनुपर्छ।
५. अनुसन्धान, प्रमाण-आधारित अभ्यास र नवप्रवर्तन
आधुनिक विश्वमा कुनै पनि चिकित्सा प्रणालीको विश्वसनीयता अनुसन्धानमा आधारित हुन्छ।
विश्वविद्यालय, अस्पताल र अनुसन्धान केन्द्रबीच सहकार्य गरी clinical trials सञ्चालन गर्नुपर्छ।
Evidence-based Ayurveda विकास गरी वैज्ञानिक प्रमाण प्रस्तुत गर्नुपर्छ।
राष्ट्रिय / अन्तर्राष्ट्रिय जर्नलहरूमा अनुसन्धान प्रकाशनलाई प्रोत्साहन दिनुपर्छ।
रिसर्च फन्डिङको लागि (कुल बजेटको ५ प्रतिशत) छुट्टै कोष स्थापना गरिनुपर्छ।
जडीबुटी, औषधि र उपचार पद्धतिमा नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्छ।
६. एकीकृत स्वास्थ्य प्रणाली
आयुर्वेद र एलोपेथिक प्रणालीबीच प्रतिस्पर्धा होइन, सहकार्य आवश्यक छ।
अस्पतालहरूमा संयुक्त सेवा (Ayurveda + Allopathic) सुरु गर्नुपर्छ।
स्पष्ट रेफरल प्रणाली विकास गरिनुपर्छ, जसले बिरामीलाई उपयुक्त सेवा उपलब्ध गराउँछ।
Multidisciplinary team (doctor, therapist, nutritionist) को अवधारणा लागू गर्नुपर्छ।
दीर्घरोगमा आयुर्वेदलाई पूरक उपचारका रूपमा प्रयोग गर्न सकिन्छ।
७. जनचेतना अभिवृद्धि र व्यवहार परिवर्तन
आयुर्वेदप्रति विश्वास बढाउन जनचेतना अत्यन्त आवश्यक छ।
विद्यालय पाठ्यक्रममा आयुर्वेद, योग र स्वस्थ जीवनशैली समावेश गर्नुपर्छ।
रेडियो, टेलिभिजन, डिजिटल मिडिया मार्फत जनचेतना अभियान सञ्चालन गर्नुपर्छ।
समुदायस्तरमा स्वास्थ्य शिविर, योग कार्यक्रम र परामर्श सेवा विस्तार गर्नुपर्छ।
“Public healthcare” अवधारणालाई प्रवर्द्धन गर्नुपर्छ।
८. जडीबुटी व्यवस्थापन र उद्योग विकास
नेपाल जडीबुटीको धनी देश भए पनि यसको पूर्ण उपयोग हुन सकेको छैन।
जडीबुटीको व्यावसायिक खेतीलाई प्रोत्साहन गर्न अनुदान र प्राविधिक सहयोग दिनुपर्छ।
Herbal processing industries स्थापना गरी मूल्य अभिवृद्धि गर्नुपर्छ।
Export promotion नीति बनाएर अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्नुपर्छ।
Sustainable harvesting र biodiversity conservation सुनिश्चित गर्नुपर्छ।
९. डिजिटल रूपान्तरण र प्रविधिको प्रयोग
डिजिटल प्रविधिले आयुर्वेद सेवामा ठूलो परिवर्तन ल्याउन सक्छ।
e-health records प्रणाली लागू गरी बिरामीको डाटा व्यवस्थापन गर्नुपर्छ।
tele-ayurveda सेवा मार्फत दुर्गम क्षेत्रमा सेवा विस्तार गर्न सकिन्छ।
data-driven policy making अपनाई योजना निर्माणलाई वैज्ञानिक बनाइनुपर्छ।
मोबाइल एप्स मार्फत जनतामा स्वास्थ्य जानकारी पुर्याउन सकिन्छ।
१०. बजेट वृद्धि र दिगो लगानी
आयुर्वेद क्षेत्रको विकासका लागि पर्याप्त वित्तीय स्रोत अनिवार्य छ।
राष्ट्रिय बजेटमा आयुर्वेदका लागि निश्चित प्रतिशत छुट्याइनुपर्छ।
Public-Private Partnership (PPP) मोडेल अपनाई लगानी बढाउनुपर्छ।
अन्तर्राष्ट्रिय सहयोग र लगानी आकर्षित गर्न सकिन्छ।
खर्चको पारदर्शिता र परिणाममुखी उपयोग सुनिश्चित गर्नुपर्छ।
निजी क्षेत्रलाई लगानीको लागि प्रोत्साहित गर्नु पर्छ।
पुनर्संरचनाको सम्भावित मोडेल
नेपालमा आयुर्वेद सेवाको प्रभावकारी पुनर्संरचना निम्न बहु-स्तरीय मोडेलमा गर्न सकिन्छ:
आधारभूत तह: हरेक स्थानीय तहमा आयुर्वेद केन्द्र, प्राथमिक सेवा र स्वास्थ्य प्रवर्द्धन
माध्यमिक तह: जिल्ला स्तरमा सुसज्जित आयुर्वेद अस्पताल, IPD/OPD सेवा
विशेषज्ञ तह: प्रदेशस्तरीय विशेषज्ञ केन्द्र, advanced उपचार र तालिम
National Center of Excellence: नीति निर्माण, अनुसन्धान, नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहकार्य
यस मोडेलले सेवा पहुँच, गुणस्तर र समन्वयलाई सुदृढ बनाउँछ।
आयुर्वेदको आर्थिक सम्भावना
आयुर्वेद केवल स्वास्थ्य सेवा मात्र नभई नेपालको आर्थिक विकासको महत्त्वपूर्ण आधार बन्न सक्छ।
Herbal export मार्फत विदेशी मुद्रा आर्जन
Wellness tourism (योग, ध्यान, detox programs) को विकास
Ayurveda spa तथा holistic health industry विस्तार
ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना
नेपालको जैविक विविधता र जडीबुटी स्रोतलाई “Green Economy” सँग जोडेर दिगो आर्थिक विकास सम्भव छ।
भविष्यको दिशा
आगामी दिनमा नेपालले आयुर्वेदलाई निम्न रणनीतिक दिशामा अघि बढाउन सक्छ:
Evidence-based Ayurveda को विकास
Global standard certification प्राप्त गर्ने
नेपाललाई “Medical and Wellness Tourism Hub” का रूपमा विकास गर्ने
Digital Ayurveda ecosystem निर्माण गर्ने
निष्कर्ष,
नेपालमा आयुर्वेद सेवा ऐतिहासिक रूपमा स्थापित, सांस्कृतिक रूपमा गहिरो र सम्भावनायुक्त स्वास्थ्य प्रणाली हो। सरकारी संरचना, संस्थागत विकास र जनशक्ति उत्पादनका प्रयासहरू भए तापनि यसको प्रभावकारिता अझै अपेक्षित स्तरमा पुगेको छैन। यदि स्पष्ट नीति, पर्याप्त बजेट, वैज्ञानिक अनुसन्धान, आधुनिक पूर्वाधार र प्रभावकारी व्यवस्थापन लागू गर्न सकियो भने आयुर्वेद सेवा नेपालको स्वास्थ्य प्रणालीको एक सशक्त स्तम्भ बन्न सक्छ। साथै, आयुर्वेद र आधुनिक चिकित्सा प्रणालीबीच समन्वय गर्दै एकीकृत स्वास्थ्य सेवा विकास गर्नु आजको आवश्यकता हो।
अन्ततः, उचित योजना, लगानी र प्रतिबद्धताले आयुर्वेदलाई केवल परम्परागत चिकित्सा नभई आधुनिक, वैज्ञानिक र विश्वस्तरको स्वास्थ्य प्रणालीका रूपमा रूपान्तरण गर्न सकिन्छ।
- (वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाई प्रदेश आयुर्वेद चिकित्सालय, तनहुँमा कार्यरत छन्।)