काठमाडौं - काठमाडौँको किर्तिपुरस्थित सुकुम्बासी सेल्टरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा भेटिएका २३ जना बिरामीलाई थप उपचारका लागि रिफर गरिएको छ।
शिविरमा आएका बिरामीमध्ये जटिल स्वास्थ्य समस्या देखिएका १७ जनालाई वीर अस्पताल र ६ जनालाई कान्ति बाल अस्पताल पठाइएको जानकारी दिइएको छ।
उक्त स्वास्थ्य शिविरमा कुल ८२ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। जसमध्ये ४२ जनाले सामान्य स्वास्थ्य जाँच गराएका थिए भने २० जनाले कान, नाक र घाँटी (ईएनटी) सम्बन्धी सेवा लिएका थिए। त्यस्तै २० जनाले दन्त परीक्षण गराएका थिए।
शिविरमा ५ जनालाई मनोसामाजिक परामर्श प्रदान गरिएको थियो भने २ जनामा महिला स्वास्थ्यसम्बन्धी समस्या देखिएको थियो। साथै १४ जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो।
शिविरमा जाँच गरिएका ४६ जना बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको थियो भने १३ जनाको ब्लड सुगर परीक्षण गरिएको आयोजकले जनाएको छ।