काठमाडौं – सरकारले अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा पनि साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। स्वास्थ्य क्षेत्रमा क्रियाशील विभिन्न १४ वटा संयुक्त पेसागत संगठनहरूको चर्को दबाबपछि सरकार स्वास्थ्यकर्मीहरूलाई पनि अन्य सरकारी कर्मचारी सरह सुविधा दिन निर्णयमा पुगेको हो।
यो निर्णय कार्यान्वयनमा आएसँगै अब देशभरका सरकारी अस्पतालहरूमा शनिबार र आइतबार ओपिडी सेवा बन्द रहनेछन्। यद्यपि, आकस्मिक र अन्तरंगसेवाहरू भने २४ सै घण्टा सुचारु रहने बताइएको छ। यसका साथै यसअघि नै आइतबारका लागि मिति तोकिएका शल्यक्रिया तथा अन्य प्रक्रियाहरुको व्यवस्थापन भने अस्पतालले मिलाउनु पर्ने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए।
'अस्पतालमा आइतबारका लागि पहिले नै तय भइसकेका शल्यक्रिया र अन्य प्रक्रियाहरुको हकमा भने क्रमश: व्यवस्थापन गर्दै जानु पर्ने हुन्छ। अन्य बारमा व्यवस्थापन गर्न नसके यस्ता प्रक्रियाहरु भने आइतबार पनि सेवा दिनु पर्ने हुन्छ,' उनले भने।
अस्पतालमा दुई दिन ओपिडी बन्द हुने भएपछि सरकारले आकस्मिक सेवाको क्षमता भने थप बढाएर अगाडि लैजाने तयारी गरेको छ।
स्वास्थ्य मन्त्री निशा मेहता, सचिव डा. विकास देवकोटा र १४ वटा पेसागत संगठनका प्रतिनिधिहरूबीच मन्त्रालयमा भएको छलफलपछि सरकारले यो लचकता देखाएको हो। नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीको संयोजकत्वमा रहेको दबाब समूहले स्वास्थ्यकर्मीहरूको कार्यबोझ र मानसिक तनावलाई मध्यनजर गर्दै समान बिदाको माग राखेको थियो।
मन्त्रालयमा भएको वार्तामा सहभागी नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जिब तिवारीले छलफल सकारात्मक रूपमा अगाडि बढेको र कार्यान्वयनको मोडालिटीबारे थप गृहकार्य गर्ने अनौपचारिक सहमति भएको जानकारी दिएका थिए।
डा तिवारीले बिहीबार पनि बुधबारको छलफल अनुसार अगाडि बढ्न मन्त्रालयमा दबाब दिएको र त्यही अनुसार सरकारले निर्णय गरेको जानकारी दिए। 'स्वास्थ्यकर्मीलाई विभेद गर्न पाइँदैन छिटो निर्णय गर्नुपर्छ भनेर दबाब दिएका थियौं। सरकारले ढिलै भए पनि निर्णय गरेको छ। अब सरकारको औपचारिक निर्णय आएपछि यस विषयमा हामी पनि आधाकारिक धारणा सार्वजनिक गर्ने छौं,' उनले भने।
मन्त्रिपरिषद्ले २०८२ चैत २२ गते नै सबै सरकारी कर्मचारीलाई सातामा दुई दिन बिदा दिने निर्णय गरे पनि स्वास्थ्य मन्त्रालयले अस्पतालहरूमा आइतबार पनि ओपिडी चलाउन निर्देशन दिएको थियो। मन्त्रालयको उक्त अडानविरुद्ध स्वास्थ्यकर्मीहरूले आन्दोलनको चेतावनी दिएका थिए।