काठमाडौं - श्रमिक दिवससहित लगातार तीन दिनको सार्वजनिक बिदाको बीचमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार ओपीडी सेवा खुला राख्ने निर्णय गरे पनि त्यसको प्रभाव अपेक्षाअनुसार देखिएन। हतारमा जारी गरिएको उक्त निर्णयपछि देशका केही प्रमुख अस्पताल, विशेषगरी वीर अस्पतालले ओपीडी सेवा सञ्चालनमा ल्याए पनि बिरामीको उपस्थिति भने न्यून रह्यो।
वीर अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. अनिल बरालले आफ्नो ओपीडी बाहिरको सुनसान अवस्था सार्वजनिक गर्दै प्रश्न उठाए, 'आज कसका लागि अस्पतालका ओपीडी खोल्न लगाइयो?” उनले निर्णय प्रक्रियामाथि टिप्पणी गर्दै यसलाई 'हचुवा र बचकना' भन्दै आलोचना गरे। उनका अनुसार नीतिगत निर्णय गर्दा जमिनी यथार्थ नबुझी हतारमा कदम चाल्नु समस्याको जड बन्न सक्छ।
त्यस्तै, सोही अस्पतालका अर्का चिकित्सक डा. सुधांशु केसीले पनि सेवा भन्दा कर्मचारीको संख्या बढी देखिएको उल्लेख गर्दै व्यंग्य गरे, 'आज वीर अस्पतालमा दुर्लभ दृश्य देखियो, सेवाग्राहीभन्दा कर्मचारी धेरै।' उनले थपे, 'हस्पिटल खुला छ, हामी सबै तयार छौं, तर ओपीडीमा बिरामी नै छैनन्। स्वास्थ्य मन्त्रालयकै कर्मचारीहरू आएर समयको सदुपयोग गर्नुहोस्।'
मन्त्रालयले बिहीबार राति अबेर मात्रै सूचना जारी गर्दै लगातार बिदाका कारण स्वास्थ्य सेवा प्रभावित हुन सक्ने भन्दै ओपीडी खुला राख्ने निर्णय गरेको थियो। तर, पर्याप्त पूर्वतयारी र जनचेतनाको अभावका कारण यो निर्णय व्यवहारमा प्रभावकारी बन्न सकेन।