एआईबाट निर्मित तस्विर
मेरा पिताजी सरकारी सेवाबाट निवृत्त हुनुभएकोले मलाई सरकारी जागिर खानुपर्ने भयो। आफ्नो उर्जावान जीवनकाल निष्ठा र नैतिक जकडतामा गुजारेको एउटा सरकारी जागिरेले नेपाल देशमा आफ्नो परिवारलाई बढीमा निम्न-मध्यम वर्गीय परिवारको दर्जासम्म पुर्याउन वा कायम राख्न सक्छ। मेरा पिताले पनि त्यसै गर्नुभयो। निष्ठाबाट च्यूत हुन सक्नुभएको भए सायद यो कथाका पात्रहरूमध्ये “म” चाहिँ “ऊ” र “ऊ” चाहिँ “म” हुन्थ्यौँ होला।
सम्झनामा ती सरकारी जागिर प्रवेशका सुरुआती दिनहरू अझै ताजै छन्। एकातर्फ मनमा स्थायी जागिरमा बहाल भएको हर्ष पनि थियो भने अर्कोतर्फ त्यसबेला खाइपाइ आएको, तुलनात्मक रूपमा निकै ठूलो राशिको गैरसरकारी जागिर छुट्ने तर्कनाले मन विथोलिएको थियो। जागिरबाट आउने तलबले जेनतेन घर चल्छ, कुनै दिन बुढो होइएला, त्यसबेलाका लागि पेन्सन पनि हुन्छ भनेर आफैँलाई थुम्थुम्याउँदै ११ वर्ष बितेछन् जागिरका।
म सरकारी सेवामा प्रवेश गर्दा अहिलेका मेरा दुईटी छोरीमध्ये ठूली छोरी जन्मिसकेकी थिई। ऊ पढ्न स्कूल जाने बेलाकी हुँदा सानी छोरी पनि जन्मिई। हुर्किँदै, बढ्दै गएका छन्। मान्छेको मन न हो! - “कमाउने नै छोराछोरीको भविष्यका लागि हो”, भन्ने आम भावनाबाट मेरो मन पनि अछुतो रहेन। दुईटै छोरीहरूलाई दुःख-सुख राम्रै बोर्डिङ स्कूलमा पढाइरहेको छु। मैले अस्तव्यस्त सरकारी स्कूलहरूमा मेरा छोरीहरूलाई भर्ना गर्ने जोखिम लिनै सकिनँ।
मसँगै बा-आमा पनि हुनुहुन्छ। उहाँहरूलाई उमेरले बिस्तारै वृद्धावस्थाको अझ गहिराइतिर गाँजेर लैजाँदैछ। हरेक महिना, दिनमा केही न केही अस्वस्थता उहाँहरूको जीवन-तालिकाजस्तै बनेको छ। मेरो आश्रयमा रहेका ज्यान जति सबैका बेग्लाबेग्लै विशिष्ट किसिमका आवश्यकता छन्। सक्रिय र दिगो रूपमा कमाउने भरपर्दो म नै हुँ मेरो घरमा।
म अहिले बसेको घर चाहिँ बुवाले आफ्नो जीवनभरिको कमाइले, धेरै लामो समयसम्म हामी छोराछोरी र उहाँका आफ्ना असंख्य इच्छा-आकांक्षाहरूलाई तिलाञ्जली दिएर, लागेको ऋण तिरिसकेर उकासेको घर हो। सामान्य र पुरानो लाग्न थालेको छ बुवाको यो घर मलाई हिजोआज। मनमा एउटा घर चाहिँ आफैँले बनाउँछु जिन्दगीमा भन्ने सोच अझै पनि बाँकी छ।
घर बनाउने र छोरीहरूलाई राम्रो शिक्षादिक्षा दिने बाहेक मेरा अरू धेरै ठूला सपना छैनन्। हुन त, सरकारी नोकरीमा प्रवेश गर्ने बेला पनि थिएनन्। धेरथोर अध्यात्ममा पनि मेरो दिलचस्पी भएकाले होला — “जति कमाए पनि लिएर जाने केही होइन”, भन्ने दिव्य ज्ञानलाई मैले आफूलाई सान्त्वना दिने ठूलो हतियारका रूपमा प्रयोग गरिराखेको छु। पृष्ठभूमिमा अहिलेलाई यति कुरा राखेँ।
२०७५ सालको समायोजनका बेला म एउटा स्थानीय तहमा समायोजित भएको थिएँ। प्रदेश स्तरको कार्यालयमा काम गरिरहेको हुनाले मलाई पनि त्यही कार्यालयमा सन्चो भइरहेको थियो। प्रादेशिक कार्यालय भएकाले प्रदेशभर काम गर्न घुम्नुपर्थ्यो। भ्रमण भत्ताले घरको राशनमा सघाउ पुर्याउँथ्यो। अनि, सो कार्यालयले पनि मलाई उति साह्रो समायोजन भएका ठाउँमा गईहाल भनेन।
मैले त्यस कार्यालयका प्राविधिक जिम्मेवारीहरूमा धेरथोर दखल प्रमाणित गरिरहेको थिएँछु। २०७९ को वैशाखमा सरकारले मलाई छात्रवृत्तिमा जनस्वास्थ्यको स्नातकोत्तर पढाउने भयो। अलि अगाडि साथीहरूको लहैलहैमा चिकित्सा शिक्षा आयोगको परीक्षामा सामेल भएको, मरितरि नाम निस्कियो। हजार कुरा मनमा आए। पढौँ? नपढौँ? आयोगले मेरो नाम पनि जोडेर नामावली प्रकाशन गरिदियो।
बजारमा छ्याप्छ्याप्ति भइसकेपछि साथीसंगीको तारन्तार फोनबाट, कसैले भेटेरै बधाइको ओइरो दिइसक्दा पनि म निर्णय गर्न सकसमै थिएँ। जसो-तसो पढ्ने निर्णयमा पुगियो। समस्या के भइदियो भने, पढ्ने निर्णयसँगै मैले जागिर सारेर समायोजन भएको स्थानीय तह जानैपर्ने भयो।
पढ्ने नै भनेर निर्णय गरिसकेपछि समायोजन भएकै स्थानीय तहमा गइदिएँ। मनको एउटा पाटोमा - “अब यो अड्डा चाहिँ मेरो स्थायी अड्डा हो है! यस अड्डाका लागि अब खटनुपर्छ”, भन्ने आवाजलाई बुलन्द बनाउँदै आफैँलाई फेरि थुम्थुम्याउँदै पढाइलाई निरन्तरता दिँदै गएँ।
पढ्दै गरेका समयमा पनि पटक–पटक नयाँ अड्डामा गएर विभिन्न जिम्मेवारीहरू पूरा पनि गर्दै गएँ। मज्जाले त्यहाँका अन्य सहकर्मीहरूसँगको सम्बन्धलाई सुमधुर बनाउन थालेँ। स्थानीय तहमा खुब चापलुसी चल्छ भनेर सिकाएका थिए, पहिले देखि नै स्थानीय तहमा काम गरिरहेका केही साथीहरूले। मैले पनि प्रयास नगरेको होइन। तर मेरोभन्दा अझ राम्रो चापलुसी स्थापित भएको ठाउँमा मेरा चापलुसीका हरेक प्रयासहरू फितला सावित भए।
म अच्छाखासा काम गर्न जान्दछु है! भन्ने देखाउनलाई ठूलाठालुका छेउ पर्न खोज्थेँ। ठूलाबडाका व्हाट्सएप नम्बरहरू पत्ता लगाएर धेरै पटक राम्रा–राम्रा अवधारणाहरू बनाउँदै पठाउँदै गरेँ। भर्खर–भर्खर पढेर अलि बढी जानेको जस्तो पनि भएको हो मलाई। कार्ययोजनाहरू बनाएर पठाएँ। अहँ! व्हाट्सएपमा कहिल्यै नीलो बलेन। नयाँ पद्धति, प्रभावकारी सेवा प्रवाह, प्रणालीहरूको विकासका लागि मैले पटक–पटक गरेर भिन्न–भिन्न पदमा रहेका ठूलाबडाहरूलाई पठाएका म्यासेजहरू, मलाई लाग्छ, अझै पनि हेरिएका छैनन्। मेरो छद्म चापलुसी चाहिँ त्यस प्रकारको रहन गयो। अरूले गर्ने चापलुसीमा बोतलका बोतल रस हुन्थ्यो। मेरो निरस चापलुसी बिकेन।
अँ, साँच्चि! पढुञ्जेल तलबको अर्कै कथा छ। रमाना लिएर अड्डा सार भई गएको ६ महिनासम्म पनि हाजिर हुन सकिएन। हुन त समायोजन भएपछि धेरै ढिलो गरेर म त्यहाँ गएको थिएँ। बल्ल–तल्ल मलाई हाजिर गराउने निर्णय गरिदिनुभयो।
६ महिनामा मैले पढाइमा एक चौथाइ मात्र ध्यान दिन सकेँ। ४ भागको तीन भाग ध्यान चाहिँ तलब नभए के खाने भन्नेमै अड्किएर बसिरह्यो। अघिल्लो कार्यालयमा हुँदा मेरो प्राविधिक क्षमताको मूल्यांकन गरेर संघका केही विभाग र केही राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले मलाई उनीहरूको कन्सल्टेन्ट रोस्टरमा राखिदिएका थिए।
बेतलब भौतारिएका बेला मेरो कन्सल्टेन्सी खुब चल्यो। नभए त घरको चुल्हो पनि बल्न हम्मे पर्थ्यो होला। छोरीहरूको फी तिर्न नसक्नाले झण्डै स्कूलबाट निकालिदिए। ऋणपान र कन्सल्टेन्सी गरेर धेरै दुःखले गर्जो टारियो।
पहिलो सेमेस्टरमा गुल्टिन्छु कि जस्तो लागेको थियो, धन्नले पाससम्म भएँछु। त्यसरी त्यस विषम परिस्थितिमा मलाई गर्जो टारिदिन केही साथीहरूले विशेष सहयोग गरेका छन्। ती साथीहरू जीवनपर्यन्त आफ्ना लाग्ने भएका छन्, मेरा लागि।
२०८२ को जेठमा मेरो पढाइ सकियो। म थेसिस डिफेन्सकै दिन के–के न पाउँला भनेर सोझै मेरो कार्यस्थल गएँ। यो पनि मैले जानेको चापलुसीकै एउटा प्रयास थियो। — “देख्यौ? कार्यालयप्रति म कतिको वफादार रहेछु त!”, भन्ने देखाउनु थियो मलाई। कसैले वास्ता गरेनन्।
मलाई पनि के र! अस्ति–अस्तिदेखि सम्पन्न गरिदिन बाँकी खुद्रा कन्सल्टेन्सीका कामहरू एउटा कुनाको टेबलमा फिँजाएर दिन कटाइदिन थालेँ।
टू बी कन्टिन्यूड!