काठमाडौं - नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचनअन्तर्गत उपत्यकामा पहिलो दिन १२२३ मत खसेको छ। प्रारम्भिक अपेक्षाभन्दा कम मतदान भएपछि दोस्रो दिनको सहभागितातर्फ सबैको ध्यान केन्द्रित भएको छ।
निर्वाचनमा उपत्यकाभर करिब ४ हजारदेखि ५ हजारसम्म मत खस्ने अनुमान गरिएको छ। शुक्रबार मात्र १५ सयभन्दा बढी मत खस्ने प्रक्षेपण गरिए पनि वास्तविक संख्या त्यसभन्दा कम रह्यो।
श्रमिक दिवसको बिदा भएपनि बिहिबार अवेर राति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालका ओपीडी खोल्ने निर्णय गरेपछि शुक्रबार सहभागिता कम भएको हो ।
पहिलो दिनको मतदान प्रक्रियामा वरिष्ठ चिकित्सकहरूको उपस्थिति पनि देखिएको थियो। पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा, पूर्व स्वास्थ्य सचिव डा. किरण रेग्मी तथा नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. मणिन्द्र रञ्जन बराललगायतले मतदान गरेका छन्।
निर्वाचन समितिका अनुसार दोस्रो दिन अझ बढी सहभागिता हुने अपेक्षा गरिएको छ। पहिलो दिन विभिन्न कारणले मतदान गर्न नपाएका चिकित्सकहरू शनिबार मतदानका लागि आउने विश्वास गरिएको छ।






