काठमाडौं- वरिष्ठ तथा अनुभवी क्यान्सर रोग विशेषज्ञ (सर्जिकल अन्कोलोजिस्ट) डा. प्रकाशराज न्यौपानेको शुक्रबार बिहान उपचारका क्रममा पाटन अस्पतालमा निधन भएको छ। उनको ६४ वर्षको उमेरमा क्यान्सरबाट निधन भएको हो।
पाटन अस्पतालमा क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीको नेतृत्वमा उपचार भइरहेका क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ। डा. शाहीले न्यौपानेको निधन भएको पुष्टि गरेका छन्।
निधन पुष्टि गर्दै भने, 'आज हामीले उपचार गरिरहेको बिरामी होइन, हाम्रो गुरु, अभिभावक र मार्गदर्शक गुमाएका छौं।'
डा. न्यौपाने विगत एक वर्षदेखि कोल्यान्जियो कार्सिनोमा रोगसँग संघर्ष गरिरहेको उपचारमा संलग्न चिकित्क डा शाहीले जानकारी दिए। सर्जिकल अन्कोलोजीमा पीएचडी गरेका उनी नेपालका स्थापित र क्यान्सर विशेषज्ञका रूपमा चिनिन्थे।
उनी पेट, कलेजो, प्यान्क्रियाज, थाइरोइड, स्तन, मृगौला तथा छालासम्बन्धी क्यान्सरको शल्यक्रियामा विशेष दक्षता राख्ने वरिष्ठ कन्सल्टेन्ट सर्जिकल अन्कोलोजिस्ट हुन्।
हाल नी सर्जिकल अन्कोलोजी सोसाइटीका अध्यक्ष रहनुका साथै बी एण्ड बी अस्पताल, ग्वार्को (ललितपुर) र काठमाडौं क्यान्सर सेन्टर, ताथली (भक्तपुर) मा वरिष्ठ कन्सल्टेन्टका रूपमा कार्यरत थिए। साथै, नेपाल क्यान्सर रिलिफ सोसाइटीको केन्द्रीय कार्यसमितिमा पनि उनी आबद्ध थिए।
यसअघि उनी भक्तपुर क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर तथा बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनका अध्यक्ष भइसकेका थिए।
शैक्षिक रूपमा उनले चीनको चाइना मेडिकल युनिभर्सिटीबाट जनरल सर्जरीमा एमएस तथा सर्जिकल अन्कोलोजीमा पीएचडी हासिल गरेका थिए।
डा. न्यौपानेले नेपालमा क्यान्सर उपचार सेवाको विस्तार र स्तरोन्नतिमा महत्वपूर्ण योगदान पुर्याएका छन्। विशेषगरी भरतपुर क्यान्सर अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र भक्तपुर क्यान्सर अस्पतालको विकास तथा सेवा विस्तारमा उनको सक्रिय भूमिका रहेको थियो।
उनको निधनले नेपालको स्वास्थ्य क्षेत्र, विशेषगरी क्यान्सर उपचार क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।