अस्पताल एक अत्यन्त संवेदनशील ठाउँ हो जहाँ नयाँ जीवन पाउने पनि हुन्छन्, पुनर्जन्म लिने पनि हुन्छन् र मृत्यु पनि हुने हुँदा अस्पतालको वातावरण विशेष नै हुनुपर्ने हुन्छ । अस्पतालको वातावरण जति राम्रो हुन्छ, उक्त वातावरणमा काम गर्ने जनशक्तिको मनोबल पनि बढ्दै जान्छ । यदि डाक्टर र बिरामीको दूरीलाई न्यून गर्दै जाने हो भने विकृतिहरू आफैँ न्यून हुँदै जान्छन् । अस्पतालमा सेवा दिने र सेवा लिने प्रक्रियाका साथै 'स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युअर्स'को पालन गरेमा पनि दूरीलाई नजिक बनाउँदछ ।
अस्पतालमा डाक्टरहरू राउन्डपश्चात काउन्सिलिङ हुने गर्दछ । हरेक अस्पतालमा हुन्छ तर उक्त प्रक्रियाको फर्म बनाएर, बिरामीको अवस्थाको विषयमा हरेक राउन्डपश्चात परिवारका सदस्यहरूलाई प्रष्ट जानकारी दिने साथै डाक्टर र बिरामीको आफन्त दुवैले जानकारी गराएको र पाएको हो भन्ने हस्ताक्षर गर्ने प्रणाली भएमा पनि यसरी हुन सक्ने गलत बुझाइ वा दोषारोपण नहुन सक्छ । यदि उक्त प्रक्रिया पनि केवल औपचारिकताका लागि हस्ताक्षर गर्नु भनियो भने फेरि पनि गलत बुझाइ भई दोषारोपण हुन सक्छ ।
तसर्थ, मेडिकल साइन्स यस्तो विषय हो जहाँ सामान्य मानिसलाई त जतिबेला पनि भवितव्य हुन सक्छ भने झन् बिरामी भएको बेला त जोखिम अझ बढी हुन्छ । जति बुझाए पनि सम्भव नै हुँदैन । यसको समाधानको उपाय भन्नु नै डाक्टर र बिरामीको सम्बन्ध सुधार गर्नु हो । बिरामीमैत्री वातावरण भएमा डाक्टर, नर्स, अस्पताल, बिरामी र बिरामीका आफन्त- जो बिरामीको उपचारमा दिनरात खटिइरहेका हुन्छन्—सम्पूर्णको उद्देश्य नै बिरामीको हितका लागि नै हुन्छ । तर उक्त कुरालाई व्यावहारिक बनाउन अस्पताल प्रशासनको नियमले बाँधेर मात्र सम्भव हुन्छ ।
नयाँ बिरामी कुरुवा र भेट्न आउने कुरुवाको पनि हात हुन्छ, किनकि उहाँहरूलाई उपचारको सिलसिलामा के–के भएका थिए भन्ने कुरा थाहा हुँदैन । तसर्थ, अस्पताल प्रशासन पढेका र डाक्टरसँग काम गर्दा नै उक्त वातावरण सबल बन्न सक्छ, जसले परिस्थिति बुझेर बीचको दूरीलाई कम गर्न सक्ने ल्याकत राख्दछ । समयमा नै पहिचान गर्न सकियो भने रोग निको पार्न सके जस्तै बिरामीको आफन्तलाई विश्वासको वातावरण बनाउन सकिन्छ । तर समय–समयमा भेटघाट जरुरी पर्दछ । डाक्टर व्यस्त भएको अवस्थामा कसैले साथ दिन सकेको खण्डमा अस्पतालको वातावरण राम्रो कायम हुन सक्छ ।
व्यवस्थापनको सीप सबै डाक्टरमा नहुन सक्छ, किनकि उक्त विषयको भन्दा बिरामीलाई उपचार गर्ने विज्ञता डाक्टरमा ज्यादा हुन्छ । जसको आफ्नो विज्ञता जेमा छ, त्यो गरेमा फलदायी भूमिका रहन सक्छ । उपचारमा डाक्टर र व्यवस्थापनमा अस्पताल व्यवस्थापक भएमा बिरामीले गुणस्तरीय सेवा प्राप्त गर्न सक्छन् । नेपाल सरकारले पनि यस्तो योजना गर्न सके अस्पतालहरूले काँचुली फेर्नेछन् ।
-(पारस अधिकारी अस्पताल व्यवस्थापक हुन्। उनी चितवन मेडिकल कलेजमा कार्यरत छन्।)