काभ्रेपलाञ्चोक- काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेज (धुलिखेल अस्पताल) मा एक आवासीय चिकित्सकको आत्महत्या प्रयास र मानसिक यातनाको आरोपमा नेपाल मेडिकल काउन्सिलबाट कारबाहीमा परेका चिकित्सकलाई पुनः महत्वपूर्ण जिम्मेवारी दिइएको छ।
गम्भीर दुर्व्यवहारको आरोपमा निलम्बनमा परेका डा. दीपक कुँवरलाई विश्वविद्यालयले पुनः आगामी दुई वर्षका लागि 'एसोसिएट डिन' पदमा नियुक्त गरेपछि अस्पताल र मेडिकल क्षेत्रमा नयाँ विवाद उत्पन्न भएको छ।
नेपाल मेडिकल काउन्सिलको छानबिन र निर्देशनका आधारमा निलम्बन खेपेका व्यक्तिलाई नै पुनः नीतिगत र प्रशासनिक नेतृत्वदायी भूमिका (एसोसिएट डिन) मा नियुक्ति गरिनुलाई धेरैले अचम्मका रूपमा हेरेका छन्। पीडित पक्ष र आवासीय चिकित्सकहरूले यसलाई 'दोषीलाई संरक्षण र पीडितमाथिको अपमान' भन्दै आपत्ति जनाएका छन्।
विद्यार्थीहरुले यसको विरोधमा पुन: काउन्सिलदेखि विश्वविद्यालय र शिक्षा मन्त्रालयसम्म खबरदारी गर्ने तयारी गरेका छन्।
के थियो घटना?
२०८१ सालको फागुन १२ गते धुलिखेल अस्पतालको मानसिक रोग विभागमा कार्यरत एक आवासीय चिकित्सकले विभागीय वरिष्ठ चिकित्सकहरूबाट चरम मानसिक यातना पाएको भन्दै आत्महत्याको प्रयास गरेका थिए। उक्त घटनापछि अस्पतालका विद्यार्थीहरूले छानबिनको माग गर्दै आन्दोलन गरेका थिए।
त्यसपछि भएको छानबिनमा डा कुँवरसहित ४ जना निलम्बनमा परेका थिए।
उक्त घटनाको उजुरी परेपछि मेडिकल काउन्सिलका सदस्यहरू डा. कालुसिंह खत्री र पुण्यरत्न शाक्यको स्थलगत अध्ययन प्रतिवेदनका आधारमा काउन्सिलको पूर्ण बैठकले उनीहरूलाई एक साताका लागि काम-कारबाहीमा संलग्न नगर्न/नगराउन निर्देशन दिएको थियो।
रजिष्ट्रार डा. सतिश देवका अनुसार घटनाको थप विस्तृत छानबिनका लागि डा. विश्व दवाडीको नेतृत्वमा डा. कुन्जाङ शेर्पा, डा. आनन्द शर्मा, डा. रुपक घिमिरे र राजेश्वर अधिकारी सम्मिलित उच्चस्तरीय समिति समेत गठन गरिएको थियो।
नेपाल मेडिकल एसोसिएसनको जुनियर डाक्टर समितिले आवासीय चिकित्सकहरूमाथि हुने यस्ता दुर्व्यवहार र मानसिक दबाबले समग्र चिकित्सा क्षेत्रलाई नै नकारात्मक असर पुऱ्याउने बताउँदै आएको छ। तर, छानबिनको दायरामा रहेका र कारबाही भोगेका चिकित्सकलाई नै पुनः प्रभावशाली पदमा पुनर्वहाली गरिनुले अस्पताल भित्रको कार्यवातावरण र निष्पक्षतामा गम्भीर प्रश्न उठाएको उनीहरु बताउँछन्।