सरकार, यो एआईको जमाना हो,
सायद त्यही भएर हामी स्वास्थ्यकर्मीलाई पनि एआई ठान्नुभयो होला है,
एआई निर्मित अर्थात्
न खानु पर्ने,
न खुवाउनु पर्ने,
न कामको लागि कराउनै पर्ने।
बस, आफूले चाहेको, सोचेको सेट गर्यो
अनि एक अर्डरमै जे चाहियो मालिकले,
त्यही गर्न तयार हुनु र गरिदिनु-
बस, हामी स्वास्थ्यकर्मी त्यस्तै भयौँ
तपाईंहरूका लागि एआई निर्मित जस्तै।
तर साँचो के हो भने,
हाम्रो वास्तविकता बुझ्ने प्रयास गरिदिनुभयो भने हुने थियो।
हामी मेसिन होइनौँ,
हाम्रो भित्र पनि मुटु धड्किन्छ,
थकानले हाम्रो अनुहारको कान्ति हराउँछ,
निन्द्राले आँखा पोल्छ, तर खोल्नै पर्छ,
भोकले पेटभित्र आगोको ज्वाला सल्काउँछ,
अनि कहिलेकाहीँ आँसु लुकाएर पनि हाँस्नुपर्छ।
हरेक रातको ड्युटीमा,
अँध्यारोभन्दा गहिरो चिन्ता बोकेर कुदिरहन्छौँ,
आफ्नो श्वासको प्रवाह नगरी
अर्काको श्वास बचाउन दौडिरहन्छौँ।
हामीलाई पनि भोक लाग्छ,
तर बिरामीको पेट पहिले सम्झिन्छौँ,
हामीलाई पनि घर याद आउँछ,
तर अस्पताल नै हाम्रो संसार ठान्छौँ।
सरकार, साँच्चै-
हामी एआई होइनौँ,
हामी मानव हौँ,
माया, पीडा र जिम्मेवारीले बनेका,
जसले आदेश मात्रै होइन,
आत्मा राखेर सेवा गर्छ।
त्यसैले,
हामीलाई प्रोग्राम सेट होइन,
सम्मान चाहिन्छ;
हामीलाई कमान्ड होइन,
थोरै मात्र भए पनि समझदारी चाहिन्छ।
किनकि,
एआईले काम गर्छ,
तर हामी काम मात्र होइन,
जीवन बचाउन आफैँलाई हराइरहन्छौँ।
डा. अखण्ड उपाध्याय
मेडिकल अधिकृत
डोल्पा