सबैमा नमस्कार!
'समयमै पहिचान, सही उपचार- कुपोषण मुक्त पुस्ताको आधार” भन्ने मूल नाराका साथ आजदेखि (वैशाख १५ देखि ३० गतेसम्म) देशभर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नेतृत्वमा ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सुरु भएको छ।
यस अभियानको मुख्य उद्देश्य ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा पोषण लेखाजोखामार्फत शीघ्र कुपोषण (SAM र MAM) को समयमै पहिचान गरी आवश्यक उपचार सेवा सुनिश्चित गर्नु रहेको छ। साथै, स्थानीय तह, जिल्ला तथा प्रदेश स्तरमा कुपोषणको वास्तविक जोखिम (उच्च, मध्यम तथा न्यून) वर्गीकरण गरी आगामी दिनमा लक्षित कार्यक्रमहरू तर्जुमा गर्न आवश्यक आधार तयार गर्नु पनि यसको लक्ष्य हो।
जाँचका विधिहरू
हिजोदेखि सञ्चालन भइरहेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रममा ६ महिनादेखि ५९ महिनाका सबै शिशु तथा बालबालिकाको अनिवार्य रूपमा चारवटा मापन गरिँदैछ:
१. 2-in-1 डिजिटल तौल मेसिनबाट तौल मापन।
२. ABS Plastic बोर्डबाट उचाइ वा लम्बाइ मापन।
३. पोषणजन्य कारणले शरीर सुन्निएको अवस्था (Nutritional Oedema) को जाँच।
४. MUAC Tape प्रयोग गरी पाखुराको मध्य भागको परिधि मापन।
यी चारवटा मापनका आधारमा स्वास्थ्यकर्मीले बच्चाको अवस्था सामान्य, मध्यम कुपोषित वा शीघ्र कुपोषित भनेर पहिचान गर्नेछन्। पहिचान भएका तीव्र तथा मध्यम कुपोषण भएका बालबालिकालाई 'शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन निर्देशिका' अनुसार आवश्यक उपचार सेवा प्रदान गरिनेछ।
डिजिटल तथ्याङ्क व्यवस्थापन
तथ्याङ्क व्यवस्थापनलाई प्रभावकारी बनाउन पोषण लेखाजोखाको विवरण KOBO Collect मोबाइल एपमार्फत सङ्कलन गरिँदैछ। यो एप इन्टरनेट नभएको ठाउँमा पनि 'अफलाइन मोड'मा सञ्चालन गर्न सकिन्छ, जसले दूरदराजका पहाडी र हिमाली क्षेत्रमा तथ्याङ्क सङ्कलन सहज बनाउनेछ। यस एपको सर्भर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सिंहदरबारस्थित सरकारी एकीकृत डाटा केन्द्र (GIDC) मा रहेको छ। एप प्रयोगसम्बन्धी अभिमुखीकरण कार्यक्रमहरू विभिन्न तहमा सञ्चालन भइसकेका छन्।
लेखाजोखा गरिने स्थानहरू
वैशाख १५ देखि ३० गतेसम्म देशका सबै ७५३ स्थानीय तहमा एकैसाथ यो अभियान सञ्चालन भइरहेको छ। यस अन्तर्गत निम्न स्थानहरूमा पोषण लेखाजोखा गरिनेछ:
स्वास्थ्य संस्था तथा खोप केन्द्रहरू
सामुदायिक क्लिनिक, वडा कार्यालय र सामुदायिक भवनहरू
प्रारम्भिक बाल विकास (ECD) केन्द्रहरू तथा विद्यालयहरू
अन्य स्थानीय सामुदायिक स्थलहरू
सूक्ष्म योजना र सामुदायिक परिचालन
यो अभियान सफल बनाउन प्रत्येक जिल्ला, स्थानीय तह तथा स्वास्थ्य संस्थाले आफ्नो कार्यक्षेत्रका बालबालिकाको सङ्ख्या, स्वास्थ्यकर्मीको टोली र आवश्यक सामग्रीसहितको सूक्ष्म योजना तयार गरेका छन्। महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, रेडियो र स्थानीय सञ्चार माध्यममार्फत कार्यक्रमको मिति र स्थानबारे समुदायमा जानकारी प्रवाह गरिँदैछ।
तथ्याङ्कको उपयोग
यस अभियानबाट प्राप्त तथ्याङ्कले उच्च जोखिमयुक्त क्षेत्र पहिचान गरी लक्षित पोषण कार्यक्रम सञ्चालनका लागि ठोस आधार तयार गर्नेछ। साथै, नीति निर्माण तथा कार्यक्रम व्यवस्थापनका लागि अद्यावधिक र विश्वसनीय स्थानीय तथ्याङ्क उपलब्ध हुनेछ, जसले आगामी आर्थिक वर्षको बजेट तथा योजनामा प्राथमिकता निर्धारण गर्न सहयोग पुर्याउनेछ।
सम्पूर्ण स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, विकास साझेदार र सरोकारवालाहरूलाई यस राष्ट्रिय अभियान सफल बनाउन एकजुट हुन हार्दिक अपिल गर्दछौँ।
अभिभावकहरूलाई विशेष अनुरोध: वैशाख १५ देखि ३० गतेभित्र स्वास्थ्यकर्मीहरू तपाईंको समुदाय र टोलमा आउँदा आफ्ना बालबालिकाको पोषण जाँच अनिवार्य रूपमा गराउनुहोस्।
हामी सबैको साझा प्रयासले मात्र कुपोषण मुक्त पुस्ता निर्माण सम्भव छ। सबै सरोकारवालाहरूको साथ र सहयोगको अपेक्षा गर्दछौँ।
-(वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक झा परिवार कल्याण महाशाखाको पोषण शाखामा कार्यरत छन्।)