प्रजातन्त्र सेनानी तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बी.पी. कोइरालाको नाममा स्थापित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान नेपालको एक अग्रणी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा स्थापित छ। यो नेपाल र भारत सरकारको संयुक्त साझेदारी परियोजनाको एक अनुपम नमुना समेत हो। बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ अनुसार स्थापित यस प्रतिष्ठान स्वास्थ्य शिक्षा, सेवा र अनुसन्धानको कोणबाट स्वास्थ्य क्षेत्रको एउटा मोडल संस्था हो। झन्डै दुई तिहाइ बहुमत प्राप्त नयाँ सरकारले स्वास्थ्यका क्षेत्रमा बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मोडलबाट कसरी पाठ सिकेर समग्र देशको स्वास्थ्य प्रणालीलाई सुधार गर्न सक्छ भन्ने प्रष्ट होस् भन्ने उद्देश्यले यो लेख लेखिएको छ।
१. स्वास्थ्य शिक्षामा धरान मोडल:
पाल तथा भारत सरकारको संयुक्त साझेदारी परियोजना भएका कारण यस प्रतिष्ठानको स्थापना कालमा र प्रतिष्ठानका विभिन्न पाठ्यक्रमहरू विकसित गर्ने क्रममा भारतको प्रतिष्ठित 'अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस' लगायतका संस्थाका विशिष्ट विद्वान् प्राध्यापकहरूको संलग्नता रहेको थियो। सन् १९९३–९४ मा एमबीबीएसको कार्यक्रम सुरु गर्नुअघि स्थानीय समुदायमा के–कस्ता स्वास्थ्य समस्याहरू विद्यमान छन् भन्ने अध्ययन गरेर सो समेतलाई दृष्टिगत गरी पाठ्यक्रमहरू विकसित गरिएको थियो।
फलस्वरूप, तत्कालीन समस्यामा प्रतिष्ठानको पाठ्यक्रम “समस्यामा आधारित सिकाइ (Problem Based Learning), समुदायमा आधारित सिकाइ (Community Based Learning), Community Diagnosis Program, Structured Interactive Sessions, Small Group Discussion, Focused Group Discussion, Family Health Exercise, Epidemiological Management Exercise, Health Management Exercise, Internship का क्रममा ६ महिना अनिवार्य शिक्षण जिल्ला अन्तर्गतका विभिन्न जिल्ला अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रहरूमा पोस्टिङ" लगायतका तत्कालीन समयका नवीनतम शिक्षण–सिकाइ विधिहरूको अवलम्बन गरिएको थियो। यसै कारण विश्व स्वास्थ्य संगठनले समेत प्रतिष्ठानको एमबीबीएस पाठ्यक्रमलाई दक्षिण एसियामै एक उत्कृष्ट नमुना पाठ्यक्रमको रूपमा मान्यता दिएको थियो।
स्नातक तहका विद्यार्थीहरूलाई पढाइको सुरुवाती महिनामै नजिकको कुनै स्थानीय समुदायमा लगेर दुई हप्ताको आवासीय सिकाइको क्रममा स्थानीय जनताको घरदैलोमा पुगेर उनीहरूका विविध स्वास्थ्य र सामाजिक तथा वातावरणीय अवस्थाको बारेमा जानकार गराउने (Community Diagnosis Program) प्रतिष्ठानको यो पाठ्यक्रम साँच्चै सबैले अनुकरण गर्न लायक छ। यो पंक्तिकार आफैँ पहाडी ग्रामीण परिवेशमा हुर्केर ग्रामीण परिवेशको बारेमा पूर्ण जानकार भए पनि उक्त पोस्टिङका क्रममा मोरङ जिल्ला, रंगेलीको समुदायमा घर–घरमा पुगेर जे–जति कुरा सिक्न पाइयो, त्यो अविस्मरणीय मात्र थिएन, नेपालमै बसेर त्यस्तै समुदायलाई निरन्तर सेवा दिइराख्नुपर्छ भन्ने प्रेरणालाई समेत थप बलियो बनायो। त्यस क्रममा सिकेका नेतृत्व क्षमताका सीपहरू, समुदायलाई स्वास्थ्य शिक्षा दिने सीपहरू आजपर्यन्त ताजै छन्। यहाँको Formative तथा Summative Assessment System ले विद्यार्थीहरूलाई जाँचको लागि मात्र पढ्ने भन्दा पनि निरन्तर सिकाइको निम्ति सधैँ झक्झकाइरहन्थ्यो।
त्यसैगरी Family Health Exercise को अभ्यासका क्रममा नजिकको तोकिएको समुदायमा गएर आफ्नो लागि तोकिएको परिवारको निरन्तर दुई–अढाई वर्ष स्वास्थ्य तथा पारिवारिक, आर्थिक, वातावरणीय सूचकहरूका बारे सिकाउने यो विधि अत्यन्तै अनुकरणीय छ। वास्तवमा यो विधिलाई केही परिमार्जन र व्यवस्थित गर्ने हो भने करोडौँ खर्च गरेर गरिने समुदायमा आधारित Longitudinal Study को अत्यन्त किफायती र विश्वसनीय विकल्प बनाउन सकिन्छ। तेस्रो वर्षमा हुने Elective Research Posting मा विद्यार्थीहरूले आफ्नो रुचिको विषयमा सम्बन्धित विशेषज्ञ फ्याकल्टीको सुपरीवेक्षणमा एक महिना लगाएर स्वास्थ्य अनुसन्धान गर्ने प्रक्रिया सिक्ने मात्र होइन, कतिपय जेहेन्दार विद्यार्थीहरूले त्यस्ता अनुसन्धान प्रतिष्ठित जर्नलहरूमा प्रकाशन समेत गर्छन्। त्यस्तै Health Management Posting को क्रममा विद्यार्थीहरूले आवासीय रूपमा समय क्रममा समुदायमै गएर विभिन्न तहका स्वास्थ्य संरचनाहरूको व्यवस्थापनका बारे प्रत्यक्ष सिक्ने मौका पाउँछन्।
त्यसैगरी Epidemiology Management Posting का क्रममा विद्यार्थीहरूले समुदायमा नै गएर दुई हप्ता लगाएर आफ्नो रुचिको विषयमा अनुसन्धान गर्छन्, जसले Epidemiological Research को बारेमा Hands-on सिक्ने मौका पाइन्छ। यो छोटो लेखमा प्रतिष्ठानको पाठ्यक्रम र शिक्षण विधिहरूको बारेमा विस्तृत लेख्न सम्भव नभए पनि समग्रमा यस प्रतिष्ठानको पाठ्यक्रमको तर्जुमादेखि यसको लागू गर्ने सम्मका विधिहरू अत्यन्त धरातलीय यथार्थमा आधारित तथा वैज्ञानिक रहेका छन् र सबैका निम्ति अनुकरणीय छन्। तथापि अहिलेको बदलिँदो परिवेश अनुसार र उपलब्ध नयाँ शिक्षण–सिकाइ प्रविधि तथा विधिहरूको आधारमा यसलाई पनि परिमार्जन गर्नुपर्ने स्थिति त छँदैछ।
विद्यार्थी भर्नामा वैज्ञानिक, समतामूलक र दिगो रणनीति: प्रतिष्ठानले सुरुदेखि नै जेहेन्दार विद्यार्थीहरूलाई अधिकतम छात्रवृत्ति, पिछडिएका जिल्लाहरूका विद्यार्थीहरू तथा महिलाहरूलाई छुट्टै अधिकतम छात्रवृत्ति, पैसा तिर्न सक्ने नेपाली विद्यार्थीहरूलाई प्रवेश परीक्षाको नतिजाको आधारमा आंशिक छात्रवृत्ति र अझै पैसा तिर्न सक्ने नेपाली तथा विदेशी विद्यार्थीहरूलाई पूर्ण शुल्कको प्रावधान राखी 'हुनेबाट लिने र नहुनेलाई दिने' समतामूलक विधि अपनाएको थियो। त्यति मात्र होइन, अधिकतम छात्रवृत्तिमा आएका विद्यार्थीहरूमध्ये कसैलाई आर्थिक अभावकै कारण शुल्क तिर्न नसक्ने अवस्था भएमा आन्तरिक स्रोतबाट निर्ब्याजी शैक्षिक ऋण प्रदान गर्ने व्यवस्था समेत गरेको थियो। यसले गर्दा प्रतिष्ठानलाई आर्थिक पाटोमा दिगो रूपमा सबल रहन मद्दत पुगेको थियो। त्यस्तै उत्कृष्ट शिक्षकहरूलाई टिकाइराख्न आफ्ना छोराछोरीले स्नातक तहमा भर्ना भएमा कम्तीमा ५ वर्ष काम गरिराख्ने सर्तमा प्रतिष्ठानका शिक्षकहरूका छोराछोरीको निम्ति पनि केही कोटा उपलब्ध गराएको थियो, जसले गर्दा धेरै उत्कृष्ट शिक्षकहरूले धरानको विकटताका बाबजुद लामो समय प्रतिष्ठानमा सेवा प्रदान गर्नुभयो।
तर पछिल्लो समय चिकित्सा शिक्षा आयोगको गठनपछि सरकारी मेडिकल कलेजहरूमा “सरकारले नै अनुदान उपलब्ध गराउने गरी ७५% पूर्ण छात्रवृत्तिको व्यवस्था” गरेसँगै एकातिर ठुलो आर्थिक भारका कारण सरकारले/चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई अनुदान शुल्कको रकम उपलब्ध गराउन नसक्दा सेवा प्रवाहमा गम्भीर असर परेको छ, अर्कातिर शिक्षकहरूको कोटा कटौती हुँदा पनि धेरै उत्कृष्ट शिक्षकहरूको पलायन भएको छ, जसले गर्दा गुणस्तरीय पठनपाठन र स्वास्थ्य सेवा प्रवाहमा समेत गम्भीर असर पर्न गएको छ। विद्यार्थी भर्ना र शुल्क निर्धारणको निम्ति प्रतिष्ठानले पहिले अवलम्बन गरेको विधि नै बढी वैज्ञानिक, समतामूलक र दिगो भएकाले सरकारले यस मोडलबाट पाठ सिक्न सक्छ।
२. स्वास्थ्य सेवामा धरान मोडल:
अ) Non-Practicing Institution: स्वास्थ्य सेवा प्रदान गर्ने मामिलामा पनि स्थापनाकालदेखि नै प्रतिष्ठानको मोडल अनुकरणीय रहेको छ। प्रतिष्ठान सुरुदेखि नै एक पूर्ण आवासीय, Non-Practicing स्वास्थ्य संस्थाको रूपमा सञ्चालित छ। यस अन्तर्गत यहाँका फ्याकल्टीहरूले पूर्ण समय प्रतिष्ठानमै काम गर्छन् र बाहिर निजी सेवा प्रदान गर्न बन्देज छ; फलस्वरूप विद्यार्थीहरूले पूर्णकालीन फ्याकल्टीहरूको समय पाउन सक्छन् भने बिरामीहरूले पनि पूर्णकालीन सेवा पाउन सक्छन्। पूर्ण आवासीय भएका कारण अक्सर फ्याकल्टीहरूले आफ्नो 'कल ड्युटी' नभएको समयमा समेत आवश्यकता अनुसार भर्ना भएका बिरामीहरूको निम्ति र रेसिडेन्ट चिकित्सकहरूलाई सुपरीवेक्षण गर्ने कार्यमा संलग्न हुने गरेका छन्। यसरी फ्याकल्टीहरूको उपलब्धताका कारण विद्यार्थी तथा रेसिडेन्ट चिकित्सकहरूको पढाइ र तालिम मात्र गुणस्तरीय नभई बिरामीहरूले पाउने सेवा समेत राम्रो हुन्छ।
यसरी बाहिर निजी सेवा नगरेबापत क्लिनिकल फ्याकल्टीहरूका निम्ति 'Non-Practicing Allowance' को रूपमा आधारभूत तलबको १००% रकम उपलब्ध गराइन्छ। त्यसबाहेक कार्यालय समयपश्चात् प्रतिष्ठानभित्रै “Extended Health Service” को व्यवस्था गरिएको छ, जसले गर्दा इच्छुक चिकित्सकहरूले थप आय आर्जनका निम्ति मौका पाउँछन् भने आर्थिक हैसियत भएका बिरामीहरूले केही थप शुल्क तिरेर आफूले रोजेको चिकित्सकको सेवा सहजै पाउन सक्छन्। नेपाल सरकारले पटक–पटक “One Doctor, One Institute” तथा “Non-Practicing Institution” को अवधारणा अघि सारे पनि सफल हुन नसकेको परिप्रेक्ष्यमा प्रतिष्ठानमा वर्षौँदेखि सफलतापूर्वक लागू भइरहेको यो प्रणालीबाट नेपाल सरकारले धेरै पाठ सिक्न सक्छ। साथै चिकित्सकहरूलाई उचित काम गर्ने वातावरण प्रदान गरेर कसरी गुणस्तरीय सेवा प्रदान गर्न सकिन्छ भनेर सबैले यो मोडलबाट सिक्न सक्छन्।
आ) General OPD र Special OPD को अवधारणा: एक विशिष्ट तहको स्वास्थ्य सेवा प्रदान गर्ने थलो भएका कारण सबै बिरामीहरूलाई सुरुमा 'General OPD' मा 'General Physician' बाट परीक्षण गराई आवश्यकता अनुसार विशेषज्ञ ओपिडीमा रिफर गर्ने प्रणाली प्रतिष्ठानले सुरुदेखि नै अवलम्बन गरेको छ। यसले गर्दा विशेषज्ञ ओपिडीमा अनावश्यक भिड कम हुन्छ। बिरामीहरूले राम्रो सेवा पाउन सक्छन् भने General Physician को तहमा सबै खालका रोगहरूको समग्र विचार गरिने (Holistic Approach) हुँदा आवश्यकता अनुसारका सबै विशेषज्ञ सेवामा रिफर हुन सक्ने र सामान्य समस्या भएमा सबै खालका समस्याको त्यहीँ नै उपचार हुन सक्ने हुँदा बिरामीले अनावश्यक रूपमा विशेषज्ञ ओपिडीहरूमा भौँतारिनु पर्दैन। यसले बिरामीको समय र पैसाको समेत बचत हुन जान्छ।
इ) शिक्षण जिल्ला अवधारणा: स्वास्थ्य सेवा प्रवाहमा बी.पी. प्रतिष्ठानको अर्को अनुकरणीय मोडल यसको “शिक्षण जिल्ला” अवधारणा हो। यस अवधारणा अन्तर्गत प्रतिष्ठानका स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थी तथा प्रशिक्षार्थी चिकित्सकहरूले “शिक्षण जिल्ला” भनेर तोकिएका जिल्लाका जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा अञ्चल अस्पतालहरूमा तोकिएको अवधि बसेर सेवा प्रदान गर्ने साथै सिक्ने गर्छन्। साथै, त्यसरी पोस्टिङ भएका विद्यार्थी तथा प्रशिक्षार्थी चिकित्सकहरूलाई उचित सुपरीवेक्षण गर्न तथा सिकाउन विभिन्न विषयका फ्याकल्टी चिकित्सकहरूको पनि सँगै ती स्वास्थ्य संस्थाहरूमा पोस्टिङ हुन्छ। यसले गर्दा बिरामीहरूले जिल्ला–जिल्लामै विभिन्न विशेषज्ञ चिकित्सा सेवाहरू समेत प्राप्त गर्न सक्छन्।
त्यस्तै, यस अवधारणा अन्तर्गत ती संस्थामा उपचार हुन नसकेर विशेषज्ञ सेवाको निम्ति रिफर गर्नुपरेमा तिनै चिकित्सकहरूको संयोजनमा ती बिरामीहरूलाई बी.पी. प्रतिष्ठानको धरानस्थित अस्पतालमा रिफर गर्ने र त्यस्ता बिरामीहरूलाई थप प्राथमिकताका साथ उपचार सेवा दिने व्यवस्था छ। त्यसरी स्वास्थ्य सेवा प्रदान गर्दा प्रशिक्षार्थी चिकित्सकहरू पनि नेपालको धरातलीय यथार्थसँग अझै नजिक भएर काम गर्न प्रशिक्षित हुन्छन्। यस अन्तर्गत प्रतिष्ठानका एमबीबीएस तथा बिडीएसका विद्यार्थीहरूको इन्टर्नसिपका क्रममा अनिवार्य रूपमा ६ महिना ती शिक्षण जिल्ला अन्तर्गतका स्वास्थ्य संस्थामा पोस्टिङ गर्ने र स्नातकोत्तर तहका सबै विषयका रेसिडेन्ट चिकित्सकहरूको ३ महिना अनिवार्य त्यसरी पोस्टिङ गर्ने प्रावधान पाठ्यक्रममै राखिएको थियो। सुरुवातमा क्रमिक रूपमा तत्कालीन पूर्वाञ्चलका १६ वटै जिल्लालाई शिक्षण जिल्लाको रूपमा समेट्ने योजना भए पनि समयक्रममा त्यो योजना लागू हुन सकेको छैन। तथापि, सुरुवाती अवस्थामा एकदमै प्रभावकारी रूपमा लागू भएको यस अवधारणाले पूरै कोशी प्रदेशको स्वास्थ्य प्रणालीलाई कायापलट गर्न सक्ने प्रचुर सम्भावना बोकेको छ।
प्रतिष्ठानले अवलम्बन गरेको यो मोडल आजका दिनमा झनै सान्दर्भिक छ र यस मोडल अनुसार सबै मेडिकल कलेजहरू सञ्चालन गर्ने हो भने जिल्ला–जिल्लामा विशेषज्ञ सेवा पुऱ्याउनका साथै नेपालको धरातलीय यथार्थसँग सुपरिचित चिकित्सकहरूको उत्पादन गर्न उल्लेख्य टेवा पुग्ने देखिन्छ। त्यसैगरी उचित सोधभर्ना सहित 'Non-Practicing Institution' को अवधारणालाई देशभर लागू गर्ने हो भने बिरामीहरूले पनि गुणस्तरीय सेवा पाउने, चिकित्सकहरूले पनि हाल “गुजारा चलाउन”कै निम्ति दशौँ अस्पताल/क्लिनिक धाउनुपर्ने बाध्यता अन्त्य भई गुणस्तरीय जीवनयापन गर्न सक्ने र चिकित्सकहरूको पलायन रोक्न समेत प्रभावकारी हुन सक्ने देखिन्छ।
३. स्वास्थ्य अनुसन्धानमा धरान मोडल:
अ) अनुसन्धान तथा तथ्यमा आधारित शिक्षण तथा सिकाइ: माथि भनिए जस्तै प्रतिष्ठानमा भर्ना भएका स्नातक तहका विद्यार्थीहरूले सुरुवाती महिनामै समुदायमा गएर त्यहाँका स्वास्थ्य तथा अर्थ–सामाजिक समस्याहरूको पहिचान गर्ने, ती तथ्यहरूलाई फेरि समुदायमै प्रस्तुत गर्ने र आवश्यकता अनुसार समुदायलाई शिक्षित गर्ने कार्य सिक्छन्। यो सिकाइ विधिले विद्यार्थीहरूलाई अनुसन्धान र तथ्यमा आधारित व्यवहार गर्न निकै अभिप्रेरित गर्छ। त्यसैगरी पढाइका विभिन्न चरणमा उनीहरूले स्वास्थ्य अनुसन्धानका विषयमा पढ्ने मात्र नभई आफ्नो रुचि अनुसारको विषयमा अनुसन्धान समेत गर्छन्।
आ) अनुसन्धानमूलक संस्कृतिको प्रवर्धन: प्रतिष्ठानले सुरुवाती चरणदेखि नै स्वास्थ्य अनुसन्धानलाई आफ्नो एक प्रमुख प्राथमिकतामा राखेको छ। प्रतिष्ठानमा स्वास्थ्य अनुसन्धान प्रवर्धन गर्न सुरुवाती चरणमै नेपाल सरकार तथा भारत सरकारको ५०/५० प्रतिशत लगानीमा स्वास्थ्य अनुसन्धान कोष खडा गरी त्यसैको ब्याजबाट प्रतिष्ठानका शिक्षक तथा विद्यार्थीहरूलाई अनुसन्धान वृत्ति दिने व्यवस्था गरिएको छ। यसले प्रतिष्ठानमा स्वास्थ्य अनुसन्धानको संस्कृतिलाई एकदमै बढावा दिएको छ। त्यसबाहेक बढुवाका निम्ति स्वास्थ्य अनुसन्धान गरेको हुनुपर्ने सर्तलाई अनिवार्य गरेर समेत यो संस्कृतिलाई थप प्रवर्धन गरिएको छ। त्यति मात्र होइन, वार्षिक रूपमा 'Annual Scientific Program' आयोजना गरी प्रतिष्ठानमा भएका स्वास्थ्य अनुसन्धानहरूलाई प्रस्तुत गर्ने बलियो प्लेटफर्म प्रदान गर्ने कुरामा प्रतिष्ठान देशकै अग्रणी संस्था हो।
त्यसैगरी आफ्ना अनुसन्धानहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनहरूमा प्रस्तुत गर्न प्रतिष्ठानले वार्षिक 'Conference Grant' को व्यवस्था गरेको छ, जसले गर्दा फ्याकल्टीहरूलाई स्वास्थ्य अनुसन्धानमा थप प्रेरित गर्छ। केही समयपहिले गरिएको एक अध्ययनमा नेपालबाट स्वास्थ्य अनुसन्धानका लेख प्रकाशित गर्ने संस्थाहरूमध्ये प्रतिष्ठान अग्रणी स्थानमा रहेको पाइएको कुराले पनि प्रतिष्ठानको अनुसन्धानमूलक संस्कृति प्रवर्धनको प्रमाण दिन्छ।
परामर्शदात्री निकाय: नेपाल सरकारले बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य शिक्षा, सेवा र अनुसन्धानको लागि "परामर्शदाता" निकायको रूपमा पनि औपचारिक मान्यता दिएको छ। यद्यपि, यो विरलै मात्र व्यवहारमा लागू भएको छ। एकातिर ठुलो संख्यामा रहेको योग्य जनशक्ति पूर्ण रूपमा उपयोग हुन सकेको छैन भने, अर्कोतिर सरकारले प्रायः बाह्य निकायहरूलाई "परामर्श" र "तालिम" को नाममा करोडौँ खर्च गर्ने गरेको छ।
एउटा उदाहरण - कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले नीति, योजना र कार्यक्रमहरू तर्जुमा गर्न जनशक्तिको चरम अभाव झेलिरहेको छ, तर बीपी प्रतिष्ठानमा उपलब्ध विशाल स्रोतलाई भने विरलै मात्र राम्रोसँग उपयोग गरिएको छ। मानसिक स्वास्थ्यको क्षेत्रमा सरकारका धेरै तालिम, कार्यक्रम र नीति निर्माणमा व्यक्तिगत रूपमा संलग्न हुँदै आएको एक मनोचिकित्सकका हैसियतले म यो विश्वास दिलाउन सक्छु कि संस्थागत स्तरमा हुने उचित र गुणस्तरीय सहकार्यले पूर्वी नेपालको मानसिक स्वास्थ्य सेवालाई कायापलट (रूपान्तरण) गर्न मद्दत पुऱ्याउन सक्छ। तर यो कुरा साकार हुनबाट अझै निकै टाढा छ।
यो छोटो लेखमा सबै कुरा उल्लेख गर्न सम्भव नभए पनि मुख्य–मुख्य विषयहरू झल्काउने प्रयास गरिएको छ। नयाँ नेपाल निर्माणको हुटहुटी बोकेर जनताको झन्डै दुई तिहाइ मत पाएको यो सरकारलाई असफल हुने कुनै छुट छैन। त्यो सफलताको एक प्रमुख कडी सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पनि हो। त्यसको निम्ति बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको यो मोडल एउटा सशक्त विकल्प हुन सक्छ। यस विषयमा नेपाल सरकार लगायत सबै सरोकारवालाहरूको गम्भीर ध्यानाकर्षण होस्।
-(लेखक बस्नेतले सन् २००३ मा प्रतिष्ठानको एमबीबीएस कार्यक्रममा भर्ना भई २०१३ मा सोही प्रतिष्ठानबाट स्नातकोत्तर सम्पन्न गरी हालसम्म त्यहीँ कार्यरत छन्। यो लेख लेखकको २३ वर्षको अनुभव र विश्लेषणमा आधारित छ।)