प्रधानमन्त्री श्री बालेन्द्र शाह र स्वास्थ्यमन्त्रि श्रीमती निशा मेहतालाई खुलापत्र।
विषय: मेरो यो करार जागिर नि:सर्त खारेज गरियोस्।
म एक प्रतिनिधि पात्र हो। मजस्तै दु:ख सयौँले भोगिरहेका छन्।
सानो छँदा पढाइमा अब्बल विद्यार्थीले डाक्टर-इन्जिनियर नै बन्नुपर्छ भन्ने सबैको मानसिकता थियो। त्यहि मानसिकताबाट प्रेरित भएर म छात्रवृत्तिमा दन्तचिकित्सा पढ्न गएँ। छात्रवृत्तिमा अध्ययन गरेपछि दुई वर्ष करार सेवा गर्नैपर्ने हुन्छ। त्यो पुरा गरेँ। केहि वर्ष निजि क्लिनिकमा काम गरेँ। त्यसपछि छात्रवृत्तिमा स्नातकोत्तर अध्ययन गरेँ। छात्रवृत्ति पश्चात फेरी दुई वर्ष करार सेवा गर्नुपर्ने हुन्छ। तर, यहाँ के बिर्सिन मिल्दै मिल्दैन भनेँ, मेरो एउटा उमेर भयो, अब म पनि आफ्नो भविष्य, घर परिवारका बारेमा सोच्नैपर्ने हुन्छ। आफु जुन विषयको विशेषज्ञ हो त्यस क्षेत्रमा काम गरौँ भन्ने इच्छा हुन्छ, नभए त्यो विशेषज्ञताको के अर्थ?
स्नातकोत्तर गरेपश्चात स्वास्थ्य मन्त्रालयमा त्यहि अनुरोध गरेँ कि मेरो विशेषज्ञता प्रयोग हुने अस्पताल पठाइदिनुहोस तर स्वास्थ्य मन्त्रालयका कर्मचारीहरुले मानेनन्। अन्तत: जिल्ला अस्पतालमा मलाई खटाइयो। तापनि, मैले जुन अस्पतालमा काम गर्छु त्यसैमा सेवा विस्तार गरेर आफ्नो विशेषज्ञताको प्रयोग गर्छु भनेर ठानेँ। तर आर्थिक प्रोत्साहन बिना त काम गरेको पनि अर्थ रहँदैन। मसंगैका साथिहरुले धेरै आर्थिक प्रगति गरेको देख्दा के गरेछु मैले भनेर कहिलेकाहिँ आफ्नो रोजाईहरुका बारेमा पश्चाताप त हुन्छ। जे होस्, आफ्नो विशेषज्ञताको सेवा विस्तार गर्न लगभग अहिले आएर बल्ल नयाँ अस्पताल प्रमुखले सहज बनाइदिनुभएको छ।
तर केहि महिना अघि हाम्रो विभागमा कार्यरत डेण्टल हाइजिनिष्टको दुर्घटनामा परि निधन भयो, र वहाँको ठाउँमा काम गर्न अहिलेसम्म अस्पतालले कोहि व्यवस्था गर्न सकेको छैन। यस्तो अवस्थामा पनि हाइजिनिष्ट र एसिस्टेन्ट दुबैको काम हामी चिकित्सकहरु आँफै गर्दै जसो-तसो सेवा प्रवाह गरिरहेका छौं, र प्राय: संघिय र प्रादेशिक अस्पतालहरुले पनि दिन नसकेको सेवा हामि दिइरहेका छौं। जसका लागि अस्पतालको तर्फबाट आर्थिक प्रोत्साहन शुन्य छ। तलबकै भरमा सबैले गुजारा गरिरहेका छौं। जसका कारणले स्वाभाविक रुपमा कार्यालय समय बाहेकको समयमा निजि क्षेत्रमा काम गर्न बाध्य पनि छौं।
व्यक्तिगत रुपमा यो अनिवार्य करार सेवा अवधिले मेरो शैक्षणिक प्रगतिलाई रोकेर राखेको छ। त्यो छात्रवृत्तिका लागि जुन मैले मेरिटले हासिल गरेको थिए त्यसका बापत सरकारले मलाई सजाय दिएको छ र शोषण गरेको छ। निजि मेडिकल कलेजबाट स्नातकोत्तर गर्नेहरुका लागि नियम फेरियो तर सरकारी संस्थानबाट गर्नेहरुका लागि फेरिएन! छात्रवृत्ति करारले नरोके अहिले म कुनै मेडिकल कलेजमा लेक्चरर वा एसिस्टेन्ट प्रोफेसर भएर कार्यरत हुने थिएँ।
अनि त्यसमाथि तपाईंहरुले ल्याउनुभयो ९ देखि ५ वाला नियम अनि त्यसमाथि आइतबार पनि सट्टा मिलाएर सेवा दिने। आफ्नो विशेषज्ञताको कोशी प्रदेशका सरकारी अस्पतालहरु मध्येमै म मात्र हुँदा मैले कोसँग सट्टा लिने?
अतः आर्थिक प्रोत्साहन ठप्प पारेर, विशेषज्ञताको प्रयोगमा रोक लगाएर, मेरो प्राज्ञिक विकास रोकेर मलाई शोषण गर्ने क्रम भंग गर्नुहोस्। तपाईँहरुमाथि मेरो ठुलो आशा छ, कृपया मेरो अनिवार्य करारसेवा निःसर्त खारेज गरिदिनुहोस्।
निवेदक
डा. नितेश कुमार राय
पेरियोडोन्टिष्ट एण्ड ओरल इम्प्लान्टोलोजिष्ट