काठमाडौं - त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) मा डीन कार्यालयअन्तर्गत रहने इन्क्युबेसन तथा प्लेसमेन्ट विभाग स्थापना गरिएको छ। २०८३ सालमा स्वीकृत इन्क्युबेसन तथा प्लेसमेन्ट विभाग कार्यसञ्चालन कार्यविधि, २०८३ अनुसार यस विभागले विद्यार्थी, शिक्षक तथा अनुसन्धानकर्तामा नवप्रवर्तन, उद्यमशीलता तथा पेशागत दक्षता विकास गर्ने उद्देश्य राखेको छ।
संस्थानका डीन प्रा. डा. मोहन राज शर्माको मार्गदर्शनमा सञ्चालन हुने उक्त विभागको नेतृत्व सहप्राध्यापक डा. सुदीप पराजुलीले विभागीय प्रमुखका रूपमा गर्नेछन् । विभागका सदस्यहरूमा उपप्राध्यापक डा. विज्ञान राज ज्ञवाली र उपप्राध्यापक डा. प्रदीप राज रेग्मी रहेका छन् ।
विभागमार्फत शैक्षिक अध्ययन र व्यवहारिक कार्यक्षेत्रबीचको दूरी घटाउने, करियर मार्गदर्शन, इन्टर्नसिप तथा रोजगारीका अवसरहरू प्रवर्द्धन गर्ने तथा उद्योगसँग सहकार्य सुदृढ गर्ने लक्ष्य राखिएको छ। साथै, दीर्घकालीन रूपमा नवप्रवर्तन केन्द्र स्थापना गरी स्टार्टअप तथा अनुसन्धानलाई व्यावसायिक रूपान्तरणमा जोड दिइने जनाइएको छ।