विश्व लगायत नेपालमा पनि ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौं’ भन्ने नाराका साथ डिसेम्बर १ तारिखका दिन ३७औं विश्व एड्स दिवस मनाइँदैछ। यस दिवसको नाराको म’ख्य उद्देश्य विश्वभरिका जनसमुदायलाई गोलबद्ध गरी एचआईभी/एड्सको रोकथाम तथा नियन्त्रणबारे जनचेतना जगाउनु हो। अर्थात् यस दिवसको अभियानले एचआईभी/एड्सको महामारीलाई न्यूनीकरण गर्न विश्वभरका नेता तथा समुदायसँग हातेमालो गरी विश्वबाटै एड्सलाई अन्त्य गर्ने सवालमा उत्पन्न हुनसक्ने अवरोधलाई हरेक व्यक्ति वा समुदायले आफ्नो स्वास्थ्य आफ्नै अधिकारको सन्देशबाट प्रवाह गर्नेछ।
यो दिवस विश्वव्यापी ११ वटा जनस्वास्थ्य अभियानमध्ये एक हो, जसमा विश्व स्वास्थ्य दिवस, विश्व क्षयरोग नियन्त्रण दिवस, विश्व ध”मपानरहित दिवस, विश्व खोप सप्ताह, विश्व औलो दिवस, विश्व प्रतिजैविक प्रतिरोध चेतना सप्ताह, विश्व बिरामी सुरक्षा दिवस जस्तै अभियानका रुपमा मनाउन विश्व स्वास्थ्य संगठनले आह्वान गरेको हो। हरेक व्यक्ति तथा समुदायको आफ्नो स्वास्थ्यप्रतिको दायित्व सुनिश्चित गरेमा सन् २०३० सम्ममा एड्सलाई विश्वबाटै अन्त्य गर्न सकिन्छ।
एचआईभी/एड्सको पृष्ठभूमि
सर्वप्रथम सन् १९८८ मा दक्षिण अमेरिकी मुलुक हाइटीमा पहिलो एचआईभी संक्रमितको पहिचान भएको थियो भने नेपालको कास्कीमा एचआईभी संक्रमित व्यक्ति निदान भएको थियो। सन् १९८८ देखि २०२३ सम्म विश्वभरिका झण्डै ४ करोड व्यक्ति एचआईभी संक्रमित भएको पाइएको छ। तीमध्ये ६५ प्रतिशत अफ्रिकी मुलुकमा छन्।
विश्वभरिका मुलुकमा फैलिएको एचआईभीबाट सन् २०२३ सम्म झण्डै ४ करोड व्यक्ति संक्रमित छन् भने १ करोड ३० लाख नयाँ संक्रमित भएका छन्। तीमध्ये ६ लाख ३० हजार संक्रमित एड्ससँग सम्बन्धित स्वास्थ्य समस्याबाट मृत्यु भएको अनुमान गरिएको छ।
स्वास्थ्य सेवा विभागको २०७९/८० को प्रतिवेदन अनुसार नेपालका ३१ हजारभन्दा बढी बयस्क र १४ वर्षसम्मका १ हजार ३ सयभन्दा बढी बालबालिका एचआईभी संक्रमित व्यक्तिले जीवनयापन गरिरहेको अनुमान गरिएको छ भने ३ हजार २ सयभन्दा बढी नयाँ संक्रमित छन्। संक्रमितमध्ये १५ देखि ४९ वर्ष उमेरका ७२ प्रतिशतभन्दा बढी पाइएका छन्। हालसम्म झण्डै २४ हजार यौनरोगी छन् भने नेपालका नयाँ तथा पुराना एचआईभी संक्रमित व्यक्तिको दर ०.८६ प्रतिशत छ। २४ हजार २ सयभन्दा बढी अर्थात् झण्डै ८१ प्रतिशतले एचआईभी/एड्स पीडित व्यक्तिले औषधि सेवन गरिरहेका छन्।
एचआईभी सर्ने तरिका
मानवको प्रतिरक्षा प्रणालीलाई नष्ट गर्ने जिवाणु कुनै माध्यमबाट शरीरमा प्रवेश गरेमा रगतमा यसको वृद्धि भई एचआईभी विभिन्न व्यवहारबाट संक्रमण हुन्छ:
- असुरक्षित यौन सम्पर्क: एचआईभी संक्रमित व्यक्तिसँग असुरक्षित यौनसम्पर्क गरेमा एचआईभी सर्छ।
- असुरक्षित रगत आदानप्रदान: स्वच्छ व्यक्तिले एचआईभीबाट प्रदूषित रगत लिएमा एचआईभी सर्छ।
- एचआईभी संक्रमित आमा: एचआईभी संक्रमित गर्भवती आमाबाट शिशुमा एचआईभी सर्ने सम्भावना ४५ प्रतिशत रहन्छ।
- लागुपदार्थ/औषधि सेवन: एचआईभी संक्रमित व्यक्तिले नसाद्वारा लागुपदार्थ/औषधि सेवन गर्दा प्रयोग गरेका प्रदूषित सिरीञ्ज–सुई स्वस्थ व्यक्तिले प्रयोग गरेमा एचआईभी सर्छ।
एचआईभी/एड्सका चिह्न र लक्षणहरु
१. विना कारण हरेक महिनामा १० प्रतिशतसम्म तौल घट्नु।
२. एक महिनाभन्दा बढी पखाला लागिरहनु।
३. जुनसुकै स्वास्थ्य समस्याले आक्रमण गरिरहनु।
४. एक महिनाभन्दा बढी ज्वरो आउनुका साथै अन्य संक्रमण भइरहनु।
५. मुख भित्र ढुसी देखिनु।
६. शरीर जिर्ण हुँदै जानु।
७. अन्त्यमा मृत्यु समेत हुनु।
एचआईभी/एड्स तथा क्षयरोगको सह–संक्रमण
- एचआईभी/एड्स व्यक्तिमा प्रतिरक्षा प्रणाली कमजोर हुँदा क्षयरोगको समेत संक्रमण बढिरहेको छ, जसमा क्षयरोगीमध्ये ८९प्रतिशतलाई एचआईभी संक्रमण भएको छ र सह–संक्रमणका कारणले मृत्युसमेत बढिरहेको छ। यसबाट नागरिक, परिवार, समुदायका साथै देशकै सामाजिक, आर्थिक अवस्थामा समेत नकारात्मक असर पर्छ।
- एचआईभी संक्रमित नभएका व्यक्तिभन्दा संक्रमित व्यक्तिलाई क्षयरोगको संक्रमण हुने सम्भावना १० गुणासम्म बढी रहन्छ। तसर्थ समयमै परीक्षण गरी पूरा उपचार गर्नु पर्छ।
- समयमैं परीक्षण, परामर्श, नियमित पूरा उपचार, मायाँ र हेरचाह गरेमा एचआईभी/क्षयरोगको सह–संक्रमणबाट हुने मृत्युदर घटाउन सकिन्छ।
एचआईभी/एड्स नियन्त्रणमा चुनौती
- नेपालमा २०७९/८० मा २३ हजार २ सयभन्दा बढी यौनरोगी पाइएको तथ्यांकले बताउँछ। तर यौनरोगको खोजपडताल तथा उपचारमा सरकारको ध्यान पुगेको छैन।
- १५ देखि ४९ वर्षका उत्पादनशील व्यक्ति नै सबैभन्दा बढी एचआईभी/एड्सबाट संक्रमित छन् भने दिनहुँ १ जना संक्रमित हुने गरेको छ।
- असुरक्षित यौन सम्पर्क, सुईद्वारा नसालु पदार्थ सेवन, समलिंगी यौनसम्पर्क, घरदेखि टाढा रहेर व्यवसाय गर्दा असुरक्षित यौन सम्पर्क तथा कण्डम प्रयोग नगरिकनै यौनसम्पर्क गर्दा सबै यौनरोगको रोकथाम/नियन्त्रणमा चुनौती छ।
- कुनै व्यक्तिलाई एचआईभी संक्रमण भएको थाहा पाउँदा वा शंका लाग्दैमा भेदभाव तथा सामाजिक वहिष्कार गरिन्छ।
- नेपालमा झण्डै ८७ हजार महिला यौनकर्मी छन् भने १ लाख ६३ हजारजति विभिन्न (समलिंगी, नसाद्वारा लागू औषधि सेवनकर्ता आदि) माध्यमबाट यौनकर्मी छन्।
- यौनरोग लागेका व्यक्ति लाज, संकोच तथा सामाजिक/मनोवैज्ञानिक कारण समयमै स्वास्थ्य संस्थामा परीक्षण/उपचारका लागि आउँदैनन्। यसले गर्दा दीर्घ यौनरोगका कारण एचआईभी सर्ने धेरै सम्भावना रहन्छ।
- यौनरोगको परीक्षण/उपचार तथा परामर्शमा सरकारको ध्यानै पुग्न सकेको छैन।
- एचआईभी/एड्स नियन्त्रणमा तालिम प्राप्त स्वास्थ्यकर्मीको कमी, औषधि,उपकरणको आपूर्तिमा कमी, आवश्यक प्रयोगशालाको कमी, र सुपरिवेक्षण/अनुगमनमा कमीले चुनौती देखिन्छ।
- मुलुकबाट रोजगारको सिलसिलामा बाहिर जाने कामदारलाई एचआईभी/एड्सका बारेमा चेतना अभिवृद्धिका साथै स्वास्थ्य प्रवर्द्धन गर्न सकिएको छैन।
- संयुक्त राष्ट्रसंघीय संगठनबाट प्रदान गर्दै आएको एचआईभी/एड्स नियन्त्रणमा एड्स, क्षयरोग तथा औलो रोगको एकीकृत नियन्त्रणमा ग्लोबल फण्ड राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको कार्यक्रममा राखिएको छैन। यसबाट समुदायस्तरसम्म चेतना, परामर्श, परीक्षण र उपचार पुग्न सकेको छैन।
एचआईभी/एड्स परामर्श र परीक्षण: सरकारी अस्पताल १ सय ३६ तथा नीजि अस्पतालमा रहेका ३९ गरी जम्मा १७५ भोलिन्टरी काउन्सेलिङ एन्ड टेस्टिङ सेन्टरमा एचआईभी परामर्श तथा परीक्षण निशुल्क गरिन्छ। हालसम्म ८५ वटा एन्टिरेट्रोभाइरल थेरापी क्लिनिक र ४५ वटा औषधि वितरण केन्द्र छन्, ३३ वटा सीडी४ काउन्ट सेवा उपलब्ध छ।
हालसम्म झण्डै २४ हजार ८ सयभन्दा बढी संक्रमित तथा १ सय ६५ जना आमाले आफ्ना बच्चालाई एचआईभी सर्नबाट बचाउन एड्स हेल्थ केयर फाउन्डेसनको सहयोगमा एन्टिरेट्रोभाइरल थेरापी प्राप्त गर्दछन्।
एचआईभी/एड्स रोकथाम
-असुरक्षित यौनसम्पर्क गर्दा एचआईभी सर्ने हुनाले असुरक्षित यौनसम्पर्क गर्नु हुँदैन।
- एकपटक प्रयोग गरिएका सिरिञ्ज, सुई तथा अन्य छाला छेड्ने औजारहरु निर्मलीकरण नगरी पुनः प्रयोग गर्नु हुँदैन।
- यौनरोग लागेको शंका लाग्नासाथ स्वास्थ्य संस्थामा निशुल्क परीक्षण तथा उपचार गर्नुपर्छ।
- एचआईभी संक्रमित आमाले आफू र शिशुलाई एचआईभी संक्रमणबाट बचाउन पूरा औषधि खानु पर्छ। बीचमा औषधि कदापि छोड्नु हुँदैन।
- यौनरोगबारे व्यापक जनचेतना जगाई यौनरोगीको खोजपडताल गरी परीक्षण/उपचार गर्न स्वास्थ्यकर्मीलाई आवश्यक तालिम दिनुपर्छ।
- परीक्षण नगरिएको र असुरक्षित रगत प्रयोग गर्नु हुँदैन।
- शंकास्पद साथीसँग यौनसम्पर्क गर्दा सही तरिकाले कण्डम प्रयोग गर्नुपर्छ।
- समुदायस्तरसम्म निशुल्क यौनरोग (एचआईभी समेत) को परीक्षण सेवा विस्तार गर्नुपर्छ।
- लागुपदार्थ/औषधि सेवन गर्नु हुँदैन र हानिकारक मद्यपान सेवन गर्नु हुँदैन।
- विश्व एड्स दिवस काठमाडौँका होटलको साटो जनचेतना मूलक कार्यक्रमका साथ व्यापक रुपमा खुला मैदान, हरेक स्थानीय तह र स्वास्थ्य संस्थामा मनाइनु पर्छ।
- यदि संक्रमण भइहालेको खण्डमा लाज र डर नमानी निशुल्क हुने परीक्षण गराई स्वास्थ्यकर्मीको सल्लाह बमोजिम पूरा र नियमित औषधि सेवन गर्नुपर्छ।
एचआईभी/एड्स नियन्त्रणमा स्वास्थ्य प्रवर्द्धन
- असुरक्षित यौन सम्पर्कका हानिबारे समुदायस्तरसम्म व्यापक चेतना जगाउनु पर्छ।
- एचआईभी/एड्स संक्रमितलाई हेरचाहबारे जानकारी मूलक शिक्षा दिनुपर्छ।
- एचआईभी/एड्स पीडितलाई व्यक्तिगत सरसफाई, स्वस्थ खानपानको व्यवस्था गर्नुपर्छ।
- कुनै समस्या परेमा स्याहार सुसारका साथै सामाजिक तथा भावनात्मक सहयोग गर्नुपर्छ।
- एचआईभी/एड्ससँगै क्षयरोग संक्रमण भएमा दुवैथरी औषधि सँगै खानुपर्छ।
- शिशुलाई सुत्केरी एचआईभी संक्रमित आमाले नियमित स्तनपान गराइरहनु पर्छ।
- एचआईभी/एड्स संक्रमितको रगतमा एचआईभीको बोझ २०० भन्दा कममा सीमित राख्न निशुल्क रगतको सीडी४ काउन्ट नियमित गराई भाइरसको बोझ यकिन गर्नुपर्छ।
- समुदायस्तरसम्मका हरेक स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई यौनरोगको सिन्ड्रोमिक एप्रोचबाट खोजपडताल, परीक्षण तथा उपचारमा परिचालन गरिनुपर्छ।
- स्वास्थ्यकर्मीलाई सकेसम्म एचआईभी/एड्स पीडित व्यक्तिको घरमै पुगेर स्वास्थ्य सेवा दिने व्यवस्था गर्नुपर्छ।
- यौनसम्पर्क गर्दा सही तरिकाले कण्डमको प्रयोग गर्नुपर्छ।
- एचआईभी/एड्स पीडित गर्भवती आमाले आफू र गर्भको शिशुलाई संक्रमणबाट बचाउन स्वास्थ्यकर्मीको सल्लाह बमोजिम नियमित र पूरा औषधि सेवन गर्नुपर्छ।
- हरेक जुन महिनाको २७ तारिखका दिन मनाइने एचआईभी परीक्षण दिवस नेपालका हरेक भोलिन्टेरी काउन्सेलिङ एन्ड टेस्टिङ सेन्टरमा समेत मनाउनुपर्छ र हरेक प्राथमिक स्वास्थ्य केन्द्रस्तरसम्म यस्ता केन्द्रको विस्तार गरिनुपर्छ।
- यौनरोग/एचआईभी संक्रमण भएको शंका लाग्नासाथ नजिकको स्वास्थ्य संस्थामा निशुल्क परीक्षण तथा उपचार गर्नुपर्छ।
- किशोरकिशोरीलाई यौनरोग/एचआईभीबारे जानकारी गराउनु पर्छ। विद्यालयस्तरदेखि शैक्षिक पठनपाठनमा यौन क्रियाकलाप, यौनरोग/एचआईभी/एड्सबारे जोड दिनुपर्छ।
- विश्व एड्स दिवस खुला मैदान, हरेक स्थानीय तह, शिक्षालय, स्वास्थ्य संस्था तथा टोलटोलमा व्यापक जनचेतना मूलक कार्यक्रमका साथ मनाइनुपर्छ।
- सुरक्षित व्यवहार परिवर्तनबारे स्थानीय सरकार तथा स्थानीय विद्यालय, स्वास्थ्य संस्थामार्फत सूचना, शिक्षा तथा सञ्चार कार्यक्रमलाई व्यापक बनाइनु पर्छ।
- एचआईभी/एड्स पीडितलाई परिआउने संक्रमण रोकथाम गर्न परिवारका सदस्य, स्वास्थ्य स्वयंसेवक तथा एचआईभी/एड्स संक्रमित समेतलाई परिचालन गर्नुपर्छ।
- संक्रमितलाई नियमित औषधि सेवनबारे जानकारीमूलक होर्डिङ्ग बोर्डको संख्या बढाई एआरटीबारे महत्वपूर्ण स्वास्थ्य, शिक्षा, सूचना र सञ्चार कार्यक्रम/सामग्रीको संख्या बढाइनुपर्छ।
(स्वास्थ्य प्रवर्द्धन विज्ञ अर्याल पूर्व स्वास्थ्य निर्देशक हुन्।)