काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले नेपालका लागि कार्यरत संयुक्त राष्ट्रसंघका विभिन्न निकायका प्रतिनिधिहरूसँग एक संयुक्त शिष्टाचार भेटवार्ता गरेकी छिन्।
भेटवार्ताका क्रममा मन्त्री डा. गौतमले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणमा संयुक्त राष्ट्रसंघीय निकायहरूले दिइरहेको निरन्तर सहयोगप्रति आभार व्यक्त गरिन्।
उनले सरकारका प्रमुख प्राथमिकताका रूपमा मातृ स्वास्थ्य, बालबालिका तथा किशोर स्वास्थ्य, मानसिक स्वास्थ्य, औषधिको गुणस्तर नियमन, स्वास्थ्य बीमाको विस्तार र सुधार, राष्ट्रिय औषधि प्रयोगशालाको सुदृढीकरण, साथै स्वास्थ्य सामग्रीको व्यवस्थित खरिद र आपूर्ति श्रृंखला सुधारलाई औंल्याउँदै यी क्षेत्रमा संयुक्त सहकार्य अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्।
संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूले नेपाल सरकारको स्वास्थ्य क्षेत्र सुधारका प्रयासप्रति प्रशंसा व्यक्त गर्दै आगामी दिनहरूमा पनि निरन्तर समर्थन र सहकार्य जारी राख्ने प्रतिबद्धता जनाए।
भेटवार्तामा सहभागी हुनेमध्ये डब्लुएचओ नेपाल कार्यालयका प्रतिनिधि डा राजेश सम्भाजीराव पाण्डव, युएनडीपी नेपालका रेजिडेन्ट रिप्रजेण्टेटिभ मिस क्योको योकोसुका, युएनएफपीए नेपालका प्रतिनिधि श्रीराम हरिदास, युनिसेफ नेपालlकी प्रतिनिधि मिस एलिस अकुंगा, डब्लुएफपी नेपालका प्रतिनिधि तथा कन्ट्री डाइरेक्टर रियाज लोढी र एफएओ नेपालका अरुण जी.सी.थिए।
भेटवार्ता आपसी सहयोग, अनुभव आदान–प्रदान र स्वास्थ्य क्षेत्रका प्राथमिकतामा संयुक्त पहललाई बलियो बनाउने अवसरका रूपमा उपयोग गरिएको मन्त्रालयले जनाएको छ।