काठमाडौं- महान्यायधिवक्ताको कार्यालयले होप फर्टिलिटी एण्ड डाइग्नोस्टिक क्लिनिकका सञ्चालक डा स्वस्ती शर्मा सहितलाई मुद्दा नचलाउने निर्णय गरेको छ।
आर्थिक प्रलोभनमा पारेर किशोरीबाट अवैध डिम्ब बेचबिखन गर्दै आएको आरोप लागेका क्लिनिकका सञ्चालक डा शर्मा सहितलाई मुद्दा नचलाउने निर्णय गर्दै उन्मुक्ति दिएको हो। महान्यायधिवक्ताको कार्यालयले असोज ३० गते निर्णय गर्दै बालबालिका सम्बन्धी ऐन २०७५ अन्तर्गतको कसूर मुद्दामा मुद्दा नचलाउने निर्णय गरेको हो।
महान्यायधिवक्ताको कार्यालयले जारी गरेको पत्रमा भनिएको छ, ‘परिवर्तित नाम सि.आइ.बि १० (२०८१/८२) समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी डा स्वस्ती शर्मा समेत भएको बालबालिका सम्बन्धी ऐन, २०७५ अन्तर्गतको कसूर मुद्दाको मिसिल उच्च सरकारी वकील कार्यालय, पाटन च.नं २६६७ मिति २०८२ असोज २६ को पत्रसाथ मुद्दा नचलाउने निर्णय गरी यस कार्यालयमा निर्णयार्थ प्राप्त भएकोमा श्रीमान् नायव महान्यायधिवक्ताका ज्यूबाट मिति २०८२÷६÷३० गते डा स्वस्ती शर्मा समेत उपर बालबालिका सम्बन्धी ऐन, २०७५ अन्तर्गतको कसूर मुद्दामा मुद्दा नचलाउने निर्णय भएको छ।’
उमेर नपुगेका पुरुष तथा महिलाले वीर्य वा डिम्ब दान गर्न नहुने गरी प्रचलित कानूनको निषेध गरेको अवस्था नदेखिएको पत्रमा उल्लेख छ। साथै बालबालिका सम्बन्धी ऐनले यस्तो कार्यलाई स्पष्ट रुपमा बालबालिका विरुद्धको हिंसा वा बालबालिका विरुद्धको यौन दुव्र्यवहारको रुपमा निषेधित कार्य अन्तर्गत नराखेको विषय पनि पत्रमा उल्लेख छ।
बालबालिकालाई यस्तो कार्यमा बलपूर्वक प्रयोग गरेको, स्वेच्छा विपरित प्रयोग गरेको भन्ने अवस्था नदेखिएको भन्दै सफाई दिएको कार्यालयले जनाएको छ। पीडितहरुले भरेको फर्मको उमेर पनि १८ वर्ष पुरा गरेको पत्रमा उल्लेख छ।
‘कानूनले स्पष्टतः कसूरजन्य कार्य नमानेको र तथ्यगत आधारमा समेत नाबालिकाको प्रयोगबाट डिम्ब निकालेको भन्ने नदेखिँदा मुद्दा नचलाउने गरी जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंबाट भएको निर्णय समर्थन गरेको उच्च सरकारी वकील कार्यालय पाटनको निर्णय मनासिवै देखिएको भन्ने सहन्यायधिवक्ताको राय उपयुक्त देखि अनुसन्धान गरिएका डा स्वस्ती शर्मा समेतका हकमा बालबालिका सम्बन्धी ऐन २०७५ को कसूर अन्तर्गत मुद्दा नचलाउने निर्णय गरेको छु।’ पत्रमा भनिएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले किशोरीहरुको डिम्बको अवैध व्यापार गरेको भन्दै मुद्दा दर्ता गरेको थियो।
महान्यायाधीवक्ता भण्डारीको लगानी, छोरी कार्यरत
होप फर्टिलिटी सेन्टरमा महान्यायाधिवक्ता सविता भण्डारीकै सेयर लगानी रहेको पाइएको छ। सेन्टमा उनको २३ प्रतिशत लगानी रहेको देखिएको छ। उक्त सेन्टरमा उनकी छोरी उनकी छोरी डा. प्रत्युषा बराल कार्यरत रहेको पाइएको छ।
प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले गत असारमा बबरमहलस्थित ‘होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि’का पाँच जनालाई नियन्त्रणमा लिएको थियो।
नि:सन्तान दम्पतीलाई आइभीएफ लगायतका विभिन्न प्रविधिको सहयोगमा बच्चा जन्माउन सहयोग गर्ने संस्थाबाट नै १८ वर्ष मुनीका किशोरीको डिम्बको कारोबार भइरहेको फेला परेपछि सिआइबी स्रोतले अनुसन्धान गरेको थियो।
ती प्रहरीका अनुसार होपले १८ वर्षभन्दा कम उमेरका किशोरीलाई विभिन्न प्रलोभनमा पारेर क्लिनिकमा बोलाउने र डिम्ब निकाले राख्ने गरेको थियो। क्लिनिकमा आएका किशोरीहरुलाई होपले १० हजार रुपैयाँ दिएको पनि अनुसन्धानमा देखिएको थियो।