अछाम- अछाम जिल्लाको रामारोशन गाँउपालिका वडा नं. २ चाफामाडौं घर भएका २५ वर्षका शिव लुहारको दशैंको अवसरमा गाउँमा राँगा काट्ने बेलामा बायाँ हात पूरै छिनियो।
मंगलसेन नगरपालिका वडा नं १२ का २५ वर्षीय रमेश जनालाले राँगा काट्ने क्रममा शिवको बायाँ हातमा खुँडा लाग्दा हात पूरै काटिएको थियो।
हात काटिएपछि शिवलाई उनका आफन्तले उपचारका लागि बयालपाटा अस्पतालमा पुर्याएका थिए। बयालपाटा अस्पतालमा शिवको शल्यक्रिया मार्फत् सफल उपचार भयो।
उपचारमा संलग्न बयालपाटा अस्पतालमा अस्पताल निर्देशक तथा अर्थोपेडिक सर्जन डाक्टर मन्दिप पाठकका अनुसार बिरामीको हातको सबै नसा काटिएकाले हात नजोडेर मात्रै उपचार गरिएको छ।
काटिएको हातबाट उच्च रक्तश्राव भइरहेका कारण उनको ज्यान समेत जान सक्ने भएकाले तत्कालै शल्यक्रिया गरि उपचार गरिएको डाक्टर पाठकले बताए।
उनी उपचारका लागि अस्पताल पुग्दा उनको शरिरमा हेमोग्लोबिन मात्रा समेत कम अर्थात् ८ प्वाइन्ट २ रहेको थियो।
यस्तो खालको केश बिरलै मात्र हुने गरेको र ढिलो भएमा ज्यान समेत जान सक्न खतरा भएपनि बयालपाटा अस्पतालको टिमले शल्यक्रिया गरी उनको ज्यान जोगाउन सफल भएको हो।
बयालपाटा अस्पतालमा समयमै नि:शुल्क रुपमा आफ्नो उपचार भएपछि आफू खुशी भएको र हात गुमेकोमा चाहिँ दु:खी भएको शिव लुहारले बताए।
खुँडा हान्ने जनाला प्रहरी चौकी शान्तडाको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी ईश्वरीप्रसाद भण्डारीले बताए।