काठमाडौं- नेपालको मेडिकल उपकरण एशियन ग्लोबल ट्रेडिङ प्रा. लि. (एजीटी) नेपालले आफ्नै ब्रान्डमा थर्मोमिटर ल्याएको छ। नेपाली ब्रान्डमा आएको उक्त उत्पादन नेपाली बजारमा उपलब्ध थर्मोमिटरहरु भन्दा गुणस्तरीय र फरक विशेषतायुक्त रहेको कम्पनीले जनाएको छ।
सेन्टरका अध्यक्ष समेत रहेका बायोमेडिकल इन्जिनियर पंकजकुमार झाका अनुसार हाल बजारमा उपलब्ध थर्मोमिटरले ६० सेकेन्डमा तापक्रम मापन गर्छन्। तर, यसले १० सेकेन्डमै तापक्रम मापन गर्न सक्छ। उनी भन्छन्, 'थर्मोमिटरलाई लिएर उपभोक्ताले भोग्नुपरेका असहजताको अध्ययन गरेर सहज हुनेगरी निर्माण गरिएको हो। विशेषगरी बच्चाले लामो समय राख्न नदिने, वयस्कलाई पनि एकमिनेट कुर्नुपर्दा काम गरे/नगरेको हेर्न बिचमा निकाल्नुपर्ने जस्ता समस्या हामीले पाएका थियौं। त्यसैले कम समयमै मापन गर्न सक्ने थर्मोमिटर निर्माण गरेर बजारमा पठाउने तयारी गरेका हौं।'
जम्मा १० सेकेन्ड सही नतिजा दिने हुनाले थर्मोमिटर चाँडै बजारमा लोकप्रिय बन्ने विश्वास उनले लिएका छन्। त्यसबाहेक यो थर्मोमिटर चाँडै बिग्रिने र भाँचिने समेत हुँदैन । 'टुप्पोपट्टीको भाग लचकदार भएकाले बच्चाले बंग्याउन सक्छन् तर भाँच्न सक्दैनन्। असावधानीवश झर्दा वा पानीमा पर्दा समेत बिग्रिदैन,' उनले थपे।
यसको अर्को मुख्य विशेषता भनेको 'जनाउ घन्टी' हो। यदि शरीरको तापक्रम ज्वरोको तह (१०० फरेनहाइट वा त्यो भन्दा माथि) गयो भने तीनपटक यसले जनाउ घन्टी दिन्छ। तापक्रम हेरेर ज्वरो थाहा नपाउनेका लागि पनि उक्त घन्टीले सहयोग गर्ने उनी बताउँछन्।
मेडिकल उपकरणका लागि विश्वमै प्रख्यात चिनको कम्पनीले निर्माण गरेको उनले बताए। अमेरिकाको युएसएफडीए र युरोपको सीए एमडीआर मान्यताप्राप्त रहेकाले गुणस्तरमा निर्धक्क हुन उनले आग्रह गरेका छन्। नेपालका लागि नेपाली ब्रान्डमै ल्याउने हिम्मत नै यसको गुणस्तरका कारण आएको अध्यक्ष झा बताउँछन्।
सरकारी स्वास्थ्य सेवा विभाग टेकुमा बायोमेडिकल इन्जिनियरका रुपमा काम गरिसकेका झाले आफ्नो संस्थाकै प्रतिष्ठा समेत जोडिने भएकाले गुणस्तरमा यकिन गरेर मात्रै आफ्नै ब्रान्डमा उपकरण ल्याउने गरेको बताए। यसअघि एजीटी ब्रान्डमा बीपी सेट ल्याइसकेका छन्।
'नेपालमा मेडिकल उपकरण उत्पादन गर्न कठिनाइ हुने मुख्य कारण मध्ये एउटा देशको सानो बजार हो। सानो जनसंख्या र सीमित स्वास्थ्य संस्थाहरुका कारण उपकरणको माग कम छ, जसले गर्दा ठूलो मात्रामा उत्पादन गरेर प्रतिस्पर्धात्मक मूल्यमा बेच्न गाह्रो हुन्छ। विदेशमा उत्पादित गुणस्तरीय उपकरणलाई नेपालकै ब्रान्डमा वितरण गर्न सकियो भने गुणस्तर पनि कायम रहने, नेपाली ब्रान्ड पनि हुने भनेर हामीले सुरु गरेका छौं,' उनले भने, 'अहिले दुईटाबाट सुरु गर्यौं । भविष्यमा बढाउँदै लैजान्छौं।'