काठमाडौं- चिकित्सा शिक्षा आयोगको १५औं बैठकले प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (सीटीईभीटी) अन्तर्गत विभिन्न विषय अध्यापनका लागि ४३ वटा कलेजलाई सम्बन्धन दिँदै सिट निर्धारण गर्ने निर्णय गरेको छ।
आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले ४३ वटा कलेजको सम्बन्धन र सिट निर्धारणको निर्णयसँगै सात वटा कलेजलाई आशयपत्र प्रदान गर्ने निर्णय समेत गरेको छ।
आयोग बैठकले सम्बन्धन र सिट निर्धारण गरेको ४३ वटा कलेजमध्ये १६ वटा कलेजमा नयाँ कार्यक्रम तर्फ रहेको छ भने २७ वटा कलेजमा थप कार्यक्रम तर्फ रहेको छ।
यसैगरी, बैठकले तीन वटा कलेजका हकमा भने प्रयोगात्मक अभ्यासका लागि अस्पतालको व्यवस्था भएपछि सिट निर्धारण गर्ने सकिने निर्णय पनि गरेका छन्। ती कलेजहरुमा कर्णाली प्राविधिक शिक्षालय जुम्ला, निर्मल लामा बहुप्राविधिक शिक्षालय बर्दीया र सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय दाङ रहेका छन्।
छलफलमा काउन्सिलहरुसँग कुनै छलफल नै नगरी कलेजहरुलाई आशयपत्र, सम्बन्धन र सिट निर्धारण गरेको भन्दै केही काउन्सिलका पदाधिकारीहरु र सरोकारवालाहरुले भने उक्त विषयमा विरोध गरेको बैठकमा सहभागि एक सदस्यले जानकारी दिए। ती सदस्यका अनुसार नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष सुवोध शर्मा र नेपाल फर्मास्युटिकल्स एसोसिएसनका अध्यक्ष ललित मोहन पन्तले आपत्ति जनाएका हुन्।
आयोगले सीटीईभीटीबाट आएको सिफारिसको मूल्यांकन गर्दै उक्त निर्णय गरेको हो। यसरी आशयपत्र र सम्बन्धन पाउने कलेजहरुमा अधिकांश कलेजबाट उत्पादित जनशक्ति फार्मेसी काउन्सिल र स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता हुने छन्।
हेरौं कलेजहरुको नामावली र सिट संख्या