नेपालको स्वास्थ्य प्रविधि क्षेत्रमा चिनिएको नाम हो, रामइन्द्र न्यौपाने। विगत २३ वर्षदेखि यस क्षेत्रमा सक्रिय न्यौपानेलाई धेरैले गुणस्तरीय प्रविधि ल्याएर सेवा प्रदान गर्ने व्यवसायीका रुपमा चिन्छन्। काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका स्थायी घर भएका न्यौपानेले वेभ ट्रेडिङ कन्सर्न प्रालिमार्फत नयाँ तथा अत्याधुनिक स्वास्थ्य प्रविधि भित्र्याउँदै स्वास्थ्य संस्थामा सेवा दिइरहेका छन्। न्यौपानेसँग कम्पनी स्थापनाको इतिहास, आगामी दिनका चुनौती, स्वास्थ्य क्षेत्रमा प्रविधिको प्रयोगको अवस्था तथा कम्पनीका योजना लगायतका विषयमा केन्द्रित रहेर स्वास्थ्यखबरकी रिता लम्सालले कुराकानी गरेकी छिन्ः
स्वास्थ्य उपकरण तथा प्रविधिको क्षेत्रमा आजभन्दा २३ वर्ष अगाडि कसरी प्रवेश गर्नुभयो? यही क्षेत्रमा लाग्ने सोच कसरी बन्यो?
कलेज पढ्नका लागि काठमाडौं आएपछि मसँग दुई वटा मात्रै विकल्प थिए, जसमा सरकारी जागिरको तयारीका लागि लोकसेवा पढ्ने वा विदेश जाने। मेरो पारिवारिक पृष्ठभूमिका आधारमा भने म सरकारी जागिरे बन्नुपर्ने हो। यद्यपि, यी दुई वटै विकल्प मेरो प्राथमिकतामा परेनन्। मलाई आफैं नै केही गर्नुपर्छ भन्ने इच्छा जाग्यो। मैले स्नातक तहमा बजार व्यवस्थापन विषयको अध्ययन गरेको थिएँ। त्यो समयमा सुरुमा कतै जागिर खानुपर्छ भन्ने लागेर कामको खोजी गरेँ। संयोगले त्यही समयमा मैले एक मेडिकल सामग्री आपूर्ति गर्ने एक कम्पनीमा जागिर पाएँ। त्यहाँ करिब ९ महिना जागिर गरेपछि उक्त अनुभवका आधारमा आफ्नै व्यवसाय सुरु गरें। विसं २०५७ चैत २४ गतेका दिन मैले आफ्नो कम्पनी स्थापना गरेको थिएँ। २३ वर्ष अगाडि वेभ टे«डिङ कन्सर्न प्रालिका रुपमा त्रिपुरेश्वरमा सानो व्यवसायसुरु गरेको हुँ।
कम्पनीको नाम वेभ ट्रेडिङ कन्सर्न भनेर कसरी जुर्यो, यसको पछाडि केही कारण छ कि?
आफ्नै व्यवसाय सुरु गर्ने भनेपछि धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ नै। यो व्यवसाय सुरु गर्ने क्रममा म मेरा एक जना चिकित्सक साथीसँग सरसल्लाह गरिरहेको थिएँ। त्यतिबेला एउटा टेलिफोनको लाइन जोड्नसमेत जटिल कार्य थियो। त्यसका लागि पावरको प्रयोग गर्नुपर्ने अवस्था थियो। टेबुल, कम्युटर लगायतका आवश्यक सामग्रीको खरिददेखि कम्पनीको नाम जुराउनेसम्मका कार्यका लागि मेरा ती सहपाठीले मलाई धेरै सहयोग गर्नुभएको थियो। हामी र हाम्रो कम्पनीसँग जोडिनेहरु एउटा सञ्जाल भित्रै हुनुपर्छ। माकुराको जालोजस्तै गरी एक आपसमा सम्बन्ध जोडिइरहोस् र फैलिइरहोस् भन्ने लक्ष्यका साथ हामीले वेभ भन्ने नाम जुराएका हौँ। वेभ भनेको माकुराको जालोजस्तै हो। वास्तवमा हामीले सोचेजस्तै हामीसँग सुरुदेखि नै आबद्ध भएका अस्पतालहरु हालसम्म पनि सँगै काम गरिरहेका छन्। धुलिखेल अस्पताल, बीपी कोइराला मेमोरियल अस्पताल धरान यसका उदाहरण हुन्।
स्वास्थ्य क्षेत्रमा २३ वर्ष अगाडि प्रयोग हुने प्रविधि र हालको प्रविधिमा के फरक पाउनुहुन्छ?
२३ वर्ष अगाडि स्वास्थ्यमा प्रविधिको अवस्था र हालको अवस्थालाई तुलना नै गर्न सकिँदैन। ठूलै फड्को मारेको अवस्था छ। त्यतिबेला हामी डाइग्नोसिसमा बढी केन्द्रित थियौँ। तत्कालीन अवस्थामा त्रिवि शिक्षण अस्पताल तथा वीर अस्पतालमा थाइरोइडको रिपोर्ट १५ दिनमा एक पटक मात्रै आउने गथ्र्याे। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि उस्तै अवस्था थियो। त्यतिबेला स्वास्थ्य क्षेत्रमा सामान्य कुराका लागि पनि भारतमा निर्भर रहनुपर्ने अवस्था थियो। अहिलेको अवस्थासँग तुलना गर्नुपर्दा त्यतिबेलाको डाइग्नोसिस एकदमै कमजोर अवस्थामा थियो। आजको अवस्थामा भने हामी विश्वका विकसित मुलुकको हाराहारीमा नै पुग्न सफल भइसकेका छौं। त्यतिबेला एउटा सामान्य सर्जरी गर्न धादिङ, काभ्रे, नुवाकोटदेखि बोकेर ल्याएका बिरामीले एउटा समान्य ‘स्टिज’ गर्न एक सातासम्म कुर्नुपर्ने अवस्था थियो। एक्सरे म्यानुअल्ली हुने समय थियो। अल्ट्रासाउन्ड ब्ल्याक एन्ड ह्वाइटमा हुने अवस्था थियो। हाल त्यस्ता सेवा डिजिटल रुपमा विकास भइसकेको छ भने चिकित्सकले कुर्सीमा बसेर मोबाइलमा रेकर्ड गर्न सक्ने अवस्था छ। योे विश्वमा मात्रै नभई नेपालमा पनि आएको अवस्था हो। हाल स्वास्थ्य सेवा डिजिटलाइज भएर स्वास्थ्यमा सम्पूर्ण रिपोर्ट हातहातमा मोबाइलमा नै आउन सक्ने अवस्था छ। टेलिमेडिसिन सेवाले हाल विश्वका जुनसुकै चिकित्सकले प्रदान गर्ने सेवा नेपालमा नै बसेर लिन सक्ने अवस्था छ।
व्यवसायलाई विस्तार गर्नका लागि २३ वर्षको अवधिमा के–कस्ता चुनौतीहरुको सामना गर्नुभयो?
म आफूलाई कम महत्वकांक्षी व्यवसायी हुँ भन्न रुचाउँछु। सबै जस्तो व्यवसायीहरु राज्यले निजी क्षेत्रलाई सहयोग नगरेको भन्दै गुनासो गर्नुहुन्छ। तर म त्यति धेरै आरोप लगाउने गर्दिन। नयाँ प्रविधि ल्याएर उक्त प्रविधिले पुष्टि गर्न सकेको अवस्थामा नेपालमा व्यवसाय गर्न कठिन अवस्था पनि छैन। तर अन्य कम्पनीले ल्याएको प्रविधिको नक्कल गर्न खोज्ने र बजार बिगार्नका लागि सस्तोमा व्यवसाय गर्छु भन्नेलाई चुनौती आउने गर्छन्। मेरो हकमा भने म पूर्ण प्राविधिकहरुको टिममा काम गर्दै आइरहेको छु। वेभ ट्रेडिङ कन्सर्न प्रालिले स्वास्थ्य क्षेत्रमा विभिन्न ४ क्षेत्रमा काम गर्दै आइरहेको छ, जसमा पूर्ण रुपमा प्राविधिकहरु रहेका छन्। १३ जना बायोमेडिकल इन्जिनियरको टिम, प्रत्येक विधामा अलगअलग दक्षका प्राविधिक जस्तै, ल्याब टेक्नोलोजिस्ट, माइक्रोबायोलोजिस्ट, नर्सिङ स्टाफ, इलेक्ट्रोनिक इन्जिनियर, मेकानिकल इन्जिनियर समेतलाई टिममा सामेल गरी उत्पादक कम्पनीबाट तालिम र प्रशिक्षण, कम्पनीमै तालिम तथा भ्रमण साक्षात्कार समेत गर्ने गरेको छौँ। यस्ता विभिन्न खालका प्राविधिकहरु हामीसँग रहेकोले चुनौती कम छ। नयाँ प्रविधि ल्याएर हाम्रो प्रयोगकर्तालाई तालिम दिने सिलसिलामा भने चुनौती छ। राज्यले दिने सेवा–सुविधाको विषयमा भन्ने हो भने सामान्य कर भन्सारका विषय उठ्ने गर्छन्। यद्यपि, अन्य क्षेत्रका व्यवसायीलाई भन्दा स्वास्थ्य क्षेत्रलाई सपोर्ट गरेको मैले अनुभव गरेको छु।
स्वास्थ्य क्षेत्रमा विभिन्न ४ क्षेत्रमा काम गर्दै आइरहेको भन्नुभयो, ती के–के हुन्?
वेभ ट्रेडिङ कन्सर्नले इनभिट्रो डाइग्नोस्टिक, डिस्इन्फेक्सन एन्ड स्टेरिलाइजेसन, डर्माटोलोजी एन्ड एस्थेटिक केयर र मेडिकल एन्ड क्रिटिकल केयरका क्षेत्रमा काम गर्दै आइरहेको छ। डायग्नोस्टिक अर्थात् निदानमा प्रयोग हुने उपकरणहरू जस्तै फुल्ली अटोमेटिक एनालाइजर, अस्पताल तथा मेडिकल ल्याब र विभिन्न अनुसन्धानहरूमा प्रयोग हुने उपकरणहरू र त्यसमा प्रयोग हुने केमिकलहरू बिक्री–वितरण गर्दै सेवा पुर्याइरहेका छौं। अटो इम्युन रोगको परीक्षणका लागि उपयुक्त लेटेस्ट प्रविधि मानिने आईएफए प्रविधिको नेपालमा पहिलो पटक भित्र्याएर बिक्री प्रवद्र्धन गर्न पाउँदा हामी गौरव महसुस गर्दछौं।
डिसइन्फेक्सन तथा स्टेरिलाइजेसन विधामा अस्पताल को सरसफाइ, फोहोरमैला व्यवस्थापनमा प्रयोग हुने विभिन्न खाले उपकरण तथा केमिकलहरू प्रदान गर्दै आएका छौं। त्यति मात्रै नभएर अस्पतालका लुगा धुनमा प्रयोग हुने सिस्टमको सेवा पनि दिइरहेका छौं। विगत २० वर्षदेखि साना तथा ठूला अस्पताल, सपिङ मल, बिल्डिङ र पाँचतारे होटलहरूसम्ममा पनि सरसफाइमा प्रयोग हुने उपकरण तथा केमिकलहरू दिइरहेका छौं। यो विधामा हामी गौरवका साथ भन्न सक्छौं कि अस्पतालजन्य सङ्क्रमणयुक्त सोलिड तथा लिक्विड फोहर व्यवस्थापनमा नेपालमै पहिलो पटक प्रविधि भित्र्याउनमा हामी सफल भएका हौँ।
डर्माटोलोजी तथा एस्थेटिक केयर अन्तर्गत सौन्दर्य विकाससँग सम्बन्धित उपकरण जस्तै, लेजर मेसिन तथा छाला रोगको उपचारमा प्रयोग हुने उपकरणहरू बजारमा उपलब्ध गराइरहेका छौं। नेपालमा नै पहिलो पटक यस्ता लेजर मेसिनहरूको सुरुवात गर्दै हामीमाथि विश्वास देखाउनु हुने सबै शुभचिन्तकहरुलाई पनि म सम्झिन चाहन्छु। त्यस्तै, भेन्टिलेटर बिना जीवन रहँदैन भन्ने ज्ञान पाएसँगै कोरोना महामारीपश्चात् मेडिकल एन्ड क्रिटिकल केयर क्षेत्रमा पनि हामीले काम गर्दै आइरहेका छौं।
तपाईंको प्रयासले नेपालमै पहिलो पटक भित्रिएका प्रविधि पनि छन् कि?
मेरो प्रयासले नेपालमा तीन वटा प्रविधि भित्रिएका छन्। अस्पतालको संक्रमणजन्य फोहोर ठोस तथा तरल दुवैको निर्मलीकरण गर्ने प्रविधिको सुरुवात हाम्रो कम्पनीले गरेको म दाबी गर्छु। हाल विभिन्न १७ अस्पतालमा यो प्रयोगमा छ। त्यस्तै डर्माटोलोजी एन्ड एस्थेटिकमा सन् २००७ मा तत्कालीन धुलिखेल अस्पतालको निर्देशकको सहयोगमा औषधिले मात्रै चर्म रोग निको नहुने भन्ने निचोडका साथ नेपालमा पहिलो कपाल प्रत्यारोपण तथा लेजर उपचार गर्ने प्रविधि हाम्रो कम्पनीले ल्याएको हो। हाल धेरै स्किन अस्पतालहरुमा त्यो सेवा उपलब्ध छ। नेपालमा विश्वस्तरीय आईएफए परीक्षण पहिलो पटक हाम्रो कम्पनीले नेपाल भित्र्याएको हो। हाल धेरै निजी संस्थामा आईएफए परीक्षण हुन्छ। प्राविधिक रुपमा मेसिनले दिने रिपोर्टभन्दा फरक रुपमा दक्ष जनशक्ति लगाएर विभिन्न २२ प्रकारका अटो इम्युन रोगको परीक्षण गर्नका लागि आईएफए परीक्षण आवश्यक पर्छ।
कम्पनीलाई डिजिटलाइज गर्नका लागि के–कस्ता कार्यहरु गर्दै आउनुभएको छ?
हाम्रो कम्पनीलाई बजारमा दुई वटा आरोप लाग्दै आएको छ, युरोपियन प्रविधिहरु मात्रै बिक्री गर्ने भएकोले यो महँगो कम्पनी हो। हामी इपेन्डर्फ नामक जर्मनी कम्पनीको आधिकारिक बिक्रेता हौं। यो विश्वकै महँगो कम्पनी भित्र पर्छ। त्यस्तै यहाँ धेरै प्रकारका तालिम, सेमिनार, विदेश भ्रमण पनि हुने गर्छ भन्ने आरोप छ। गत वर्ष मात्रै यस कम्पनीबाट इन्जिनियर, नर्स तथा प्राविधिक कर्मचारी गरी १४ जनाले विदेश गएर तालिम लिएर आएका थिए। सामान बिक्री–वितरण सेवापश्चात् मर्मत तथा कुनै गुनासोका लागि सेवाग्राहीले एक पटकमा नै कम्पनीका धेरै जनासँग टेलिफोन सम्पर्क गर्न सक्ने डिजिटल प्रविधि जसलाई डिजिटल कल सेन्टर पनि भनिन्छ, त्यसको विकास हामीले गरेका छौं। यो प्रविधिले हामीलाई सेड्युल मेन्टेनेन्स सर्भिस र कुनै पनि मेसिनको चाँडोभन्दा चाँडो मर्मत तथा सम्भारमा टेवा दिइरहेको छ।
सेवाग्राहीको समस्या गर्न हामीले उहाँहरुको फोन ‘मिस’ नहोस् भनेर यस्तो विशेष व्यवस्था गरेका हौं। आगामी वर्ष हामीले सेवा केन्द्रको आइएसओको लागि निवेदन दिइसकेका छौं। वेभ ट्रेडिङ बिक्रीभन्दा पनि सेवामा विश्वास गर्ने कम्पनी हो।
प्रविधि भित्र्याउने कम्पनीहरुलाई बिक्रीमा ध्यान दिने तर त्यसपछिका सेवाहरुमा ध्यान नदिएको भन्ने आरोप लाग्छ नि?
मिडिया, राज्य तथा आम नागरिकले समेत हामीलाई सप्लायर्स भनेर चिन्ने गर्छन्। म हामीमाथि प्रयोग हुने सप्लायर्स भन्ने शब्दको नै विरोध गर्ने पहिलो व्यक्ति हुँ। हामी सेवाप्रदायक हौं। विश्व बजारमा भएका प्रविधि हामीले नल्याउने हो भने चिकित्सक नर्सलाई त्यो प्रविधिका बारेमा ज्ञान हुँदैन। प्रविधि तथा प्राविधिक दुवै ल्याएर यहाँको प्रविधिसँग जोड्ने पुलका रुपमा काम गर्ने भएकोले हामी सेवाप्रदायक कम्पनी हौं। सामान बेचिसकेपछि बाई गर्ने हाम्रो प्रवृत्ति छैन। सामानभन्दा पहिला सेवा दिने र उक्त प्रविधि प्रयोग गर्न सक्ने समेत बनाउने भएकोले हामी सप्लायर्स मात्रै होइनौं, सर्भिस प्रोभाइडर हौं। सामान जडान गर्नुपूर्व त्यहाँ उक्त सामान प्रयोग गर्न सक्ने जनशक्ति भए÷नभएको, बिजुली, सरसफाइ लगायत आधारभूत कुराहरु भए/नभएको निक्र्योल गरेर मात्रै सामान बेच्ने अनुमति हामी दिने गर्छौं।
आगामी दिनमा कम्पनीको हितका लागि केही योजना छ कि?
निकट भविष्यमा नै मेडिकल क्षेत्रमा पनि आईटी तथा एआईको आवश्यकता देखिने हुनाले हामी पनि हस्पिटल तथा ल्याबहरूमा प्रयोग गरिने म्यानेजमेन्ट सफ्टवेयरका लागि जीएमटी नामक आईटी संस्थासँग मिलेर सफ्टवेयर डेभलपमेन्ट फेजमा गइसकेको जानकारी गराउन चाहन्छौं। अब वेब ट्रेडिङको चार विधा, पाँच विधामा विस्तार हुने भएको छ। यसले हाल भएको ४० जनाको टिम विस्तार हुने र थप युवाहरूलाई रोजगारीको अवसर दिलाउने मेरो योजना छ। यसरी टिम विस्तार गर्दै टिमलाई नै कम्पनीको स्वामित्व दिई कर्पाेरेट कल्चरमा लैजाने र कम्पनीको स्टेकहोल्डर बनाउनेसम्मको मेरो योजना छ।