काठमाडौं - सरकारले नेपालमा पहिलो पटक विश्व पाठेघरको मुखको क्यान्सर उन्मुलन दिवस मनाउँदैछ। ‘आजैदेखि लागौँः पाठेघरको मुखको क्यान्सर निवारण गरौँ’ भन्ने नाराका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो दिवस मनाउन लागेको हो।
विश्व स्वास्थ्य संगठन डब्लुएचओको ७८ औँ महासभाबाट पहिलो पटक नोभेम्भर १७ लाई विश्व पाठेघरको मुखको क्यान्सरको निवारण दिवसको रुपमा मनाउने निर्णय गरेको थियो। सन् २०२२ मा यहि दिनमा डब्लुएचओले पाठेघरको मुखको क्यान्सरलाई सार्वजनिक स्वास्थ्य समस्याको रूपमा अन्त्य गर्ने विश्वव्यापी रणनीति सुरु गरेको थियो।
सन् २०२२ मा मात्र पाठेघरको मुखको क्यान्सरका कारण करिब ३.५ लाख महिलाहरूले ज्यान गुमाए। नेपालमा पनि महिलाहरूमा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख क्यान्सर हो। ग्लोबल क्यान्सर अब्जरभेटरी को सन् २०२२ को प्रतिवेदन अनुसार नेपालमा वार्षिक २ हजार १६९ जना महिलाहरूमा पाठेघरको मुखको क्यान्सर पत्ता लाग्ने गरेको र १ हजार ३१३ जना महिलाको मृत्यु हुने गरेको तथ्यांक छ।
यी तथ्यांकका आधारमा नेपालमा पाठेघरको मुखको क्यान्सरका नयाँ बिरामी पत्ता लाग्ने दर १४ दशमलव २ प्रति लाख र मृत्युदर ८ दशमलव ७ प्रति लाख रहेको मन्त्रालयले जनाएको छ।
पाठेघरको मुखको क्यान्सर उन्मूलन गर्न सबै देशहरूले प्रति १ लाख महिलामा ४ भन्दा कम नयाँ घटना राख्नुपर्नेछ। विश्व स्वास्थ्य संगठनले पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न तीन रणनीति सिफारिस गरेको छ। उक्त रणनीतीको कार्यान्वयनले पाठेघरको मुखको क्यान्सरबाट हुने मृत्यु सन् २०३० सम्म ३० प्रतिशतले घट्ने अनुमान गरिएको छ।
क्यान्सर निवारणको लागि सन् २०३० सम्ममा सरकारले कम्तीमा ९० प्रतिशत किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाउने लक्ष्य छ। यस्तै, ३० वर्ष माथिका ९० प्रतिशत महिलाहरुको स्क्रिनिङ गर्ने र पाठेघरको मुखको क्यान्सरको निदान भएका कम्तीमा ९० प्रतिशत महिलाहरुको उपचार गर्ने रणनैतिक लक्ष्य राखेको छ।
महिलाहरुमा हुने क्यान्सरहरुमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण हो। र, क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो मुख्य कारण रहेको मन्त्रालयले जनाएको छ।