काठमाडौं– सोमबार राति पौने ११ बजे रुकुम पश्चिमको घेत्ला स्वास्थ्य चौकीको वर्थिङ सेन्टरमा एक गर्भवती प्रसव पिडामा चिच्याउँदै थिइन्। प्रसव पिडामा छटपटाइरहेकी ती महिलालाई प्रसूति गराउने तयारीमा दुईजना नर्स थिए।
वर्थिङ सेन्टरको बाहिर गर्भवतीका आफन्तहरु थिए। रातको अधेरोमा एक व्यक्ति जथाभावी बोल्दै स्वास्थ्यकेन्द्रको गेटबाट भित्र पसे। त्यहा रहेका नर्स, प्रसव पीडामा रहेकी गर्भवती महिला र उनका कुरुवा सशंकित भए। स्वास्थ्यकेन्द्रको प्रमुख देव चन्द ठकुरीलाई बोलाए। उनी आइपुगे। ती व्यक्तिलाई सम्झाए तर ती व्यक्तिले प्रसुति कक्षमै प्रवेश गर्न खोजे। प्रसुति कक्षमा प्रवेश गर्न नपाएपछि नजिकै रहेको कुर्सी फुटाए, ढोकामा हाने। स्वास्थ्यकर्मीमाथि गालीगलौज गर्दै बाहिर निस्के।
मदिरा सेवन गरेका व्यक्ति होलान् भनेर स्वास्थ्यकर्मीहरु आफ्नो काममा लागे। तर अचानक ती युवा वर्थिङ सेन्टरतर्फ खुँडा बोकेर आए।
स्वास्थ्यकर्मी माथि गालीगलौज गर्दै आक्रमणको प्रयास गरे। मार्ने धम्की दिए। केही स्थानीयले ती युवाको आमालाई खबर गरेपछि आमाले खुँडा खोसेर लगिन्। स्वास्थ्यकर्मीहरुले प्रहरीलाई खबर गरे।
यसरी खुँडा बोकेर प्रसूति सेवा प्रवाह भइरहेको वर्थिङ सेन्टरमा प्रवेश गर्ने व्यक्ति हुन् रुकुम पश्चिमको नाठविसकोट नगरिपालिका १४ का २४ वर्षीय तिलक मल्ल।
स्वास्थ्यकेन्द्र नजिकै मासु पसल चलाउँदै आएका उनले सोमबार राति मदिरा सेवन गरी स्वास्थ्यचौकीमा प्रवेश गरेका थिए। स्वाथ्यकेन्द्रमा खुँडा बोकेर आएका मल्ललाई इलाका प्रहरी कार्यालय आठविसकोटका प्रहरीले नियन्त्रणमा लिए। उनलाई हाल जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा थुनामा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हरि पुनका अनुसार मल्ललाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थुनामा राखि अनुसन्धान भइरहेको छ।
उनलाई अपराधिक उपद्रव शिर्षकको मुद्धामा ५ दिनको म्याद थप गरी थप अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको सूचना अधिकारी पुनले जनाकारी दिए।
घटनाको विषयमा के भन्छन स्वास्थ्यकेन्द्रका प्रमुख देव चन्द ठकुरी ?
सोमबार रातको ११ बज्न लागेको थियो। आठविसकोट नगरपालिका १४ का एकजना २४ वर्षका युवा मादकपदार्थ सेवन गरी स्वास्थ्य चौकीमा भित्र प्रवेश गरे। हाम्रो स्वास्थ्यकेन्द्र वर्थिङ सेन्टर पनि हो। त्यो समयमा एकजना महिला प्रसुति गराउने क्रममा थियौ। प्रसुति कक्षमा होहल्ला गर्दै प्रवेस गर्न लागेपछि नर्सहरुले म कार्यलय प्रमुख भएको हिसाबले मलाई जानकारी दिए।
मैले ती व्यक्तिलाई सम्झाइ बुझाइ गरे। किन प्रसुति कक्षमा जान लाग्नुभयो भनेर सोधें। तर उहाँ गर्भवती महिलाको नातापर्ने व्यक्ति होइन रहेछ। हामीले बाहिर बसेर सहयोग गर्नुस् भनेर सम्झाएँ। उहाँले अपशब्द बोलेर गालीगलौज गर्नुभयो। दुईजना नर्सिङ स्टाफ गर्भवती महिलालाई प्रसुति गराउँदै थिए। ती महिलाको प्रसव पिडा सुरु भइसकेको अवस्था थियो। गर्भवती महिलाको लागि त्यो समय संवेदनशील थियो। जटिलता भए तुरुन्त रेफर गर्नुपर्ने अवस्था आउँथ्यो। हामीले यस्तो अवस्थामा होहल्ला नगर्नुस् काम गर्न दिनुस् भनेर सम्झायौं।
सुत्केरी गराउन लागेकी महिला १८ वर्षकी मात्र थिइन्। उनको लागि आकस्मिक अवस्थाका लागि गाडी समेत तयारी अवस्थामा राखेका थियौं। उहाशँलाई भित्र प्रवेश गर्न नदिएपछि प्रसुति कक्षको ढोकामा हातले हान्नुभयो। रबरको कुर्सी फुटाउनुभयो। यस्तो नगर्नुस् भन्दा मलाई समात्नुभयो। त्यहा सबै महिलाहरु थिए। म र एकजना अर्को स्टाप पुरुष हुनुहुन्थ्यो। उहाँलाई बल्ततल्ल गेट बाहिर पठायौं।
मदिरा सेवन गनरे होहल्ला गरेको व्यक्ति भनेर चुप लाग्यौं। प्रसुति कक्षमा ती महिलाको पनि डेलिभरी भइसकेको थियो। अववस्था सामान्य थियो। तर अचानक ती व्यक्ति हातमा नांगो खुँडा बोकेर स्वास्थ्यकेन्द्रको गेटबाट भित्र आउनुभयो। गेटमा हान्दै, गाडीहरुमा पनि हान्दै, हामीलाई अपशब्दहरु बोल्दै गालीगलौज गर्दै आएपछि सबैजना आत्तिनुभयो।
उहाँले हामीलाई मार्ने धम्की समेत दिनुभयो। एकजना महिलाले उहाँको खुँडा खोस्नुभयो। त्यसपछि उहाँको आमाले खुँडा खोस्नुभयो लिएर जानुभयो। हामीले प्रहरीलाई जानकारी गराइसकेका थियौं। इलाका प्रहरी कार्यालय आठविसकोटका प्रहरीले ती व्यक्तिलाई घरबाटै पक्राउ गरेर इलाका प्रहरी कार्यालय लिएर जानुभयो। हामीले मंगलबार इलाका प्रहरी कार्यालय आठविसकोटमा जाहेरी दिन गयौ। इलाका प्रहरी कार्यलयले घटनाको अवस्था बुझेपछि ती व्यक्तिलाई जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिममा पठाउनुभयो र हामीले जिल्ला प्रहरी कार्यलय मार्फत मंगलबार उजुरी दिएका छौं।
उहाँलाई अहिले जिल्ला प्रहरी कार्यलयमा हिसासतमा राखिएको छ।