काठमाडौं– सरकारले चिकित्साशास्त्र तर्फ सबै विश्वविद्यालय तथा प्रतिष्ठानका एमबिबिएस र बिडिएस तहको प्रवेश परीक्षा एउटै बनाउन एकिकृत प्रवेश परीक्षा (कमन इन्ट्रान्स एक्जाम)को तयारी अगाडि बढाएको भए पनि यो वर्ष नहुने भएको छ।
चिकित्सा शिक्षा अध्यादेश अनुसार गठन भएको आयोग र त्यस अनुसार बनाइएका समिति खारेज भएपछि यो वर्षको तयारी पनि रोकिन पुगेको हो। एकिकृत परीक्षा नहुने भएपछि विश्वविद्यालय तथा प्रतिष्ठानहरुले यो वर्ष पनि आ–आफ्नै ढंगले परीक्षा लिने भएका छन्।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डिन डा जगदिन प्रसाद अग्रवालले परीक्षाको तयारी अगाडि बढाइएको जानकारी दिए। ‘कमन इन्ट्रान्स नहुने भएपछि हामीले हाम्रो नियमित शैक्षिक तालिका अनुसार नै परीक्षाको काम गर्ने भएका छौं,’ उनले भने।
विश्वविद्यालय तथा प्रतिष्ठानहरुले छुट्टाछुट्टै परीक्षा लिने र नतिजा प्रकाशन गर्दा समस्या आएको भन्दै एकिकृत परीक्षा लिने तयारी भएको थियो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५ अनुसार चिकित्सा शिक्षाको शैक्षिक सत्र, परीक्षा र भर्ना प्रक्रियामा एकरुपता ल्याउन समिति समेत बनाइसकेका थिए।
एकीकृत प्रवेश परीक्षाका लागि नीति तथा मापदण्ड निर्धारण गरी परीक्षा सञ्चालन तथा व्यवस्थापन गर्न चिकित्सा शिक्षा आयोगका सदस्य प्राडा जगदिश प्रसाद अग्रवालको संयोजकत्वमा ६ सदस्यीय परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति गठन भएको थियो।
जसमा प्रा डा सिर्जना श्रेष्ठ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सदस्य, त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जका परीक्षा प्रमुख, काठमाण्डौ विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्स धुलिखेलका परीक्षा प्रमुख, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका परीक्षा प्रमुखलाई सदस्य तोकिएको थियो भने चिकित्सा शिक्षा आयोगका उपसचिव तुलसी प्रसाद आचार्यलाई सदस्य सचिव तोकिएको थियो।
तर, उक्त अध्यादेश निष्क्रिय भएपछि संसदमा नयाँ विधेयक दर्ता भएको छ। अब उक्त विधेयक संसदबाट पारित भर्इ राष्ट्रपतिबाट प्रमाणिकरण भएर ऐनका रुपमा आएपछि मात्र पुनः नयाँ प्रक्रिया सुरु हुनेछ।
नेपालका मेडिकल कलेजमध्ये केयू र त्रिविअन्तर्गत १८ वटा मेडिकल कलेज छन्। केयूको प्रवेश परीक्षा दिने करिब २ हजारमध्ये अधिकांश उत्तिर्ण हुने गरेका छन्। त्रिविअन्तर्गतका कलेज र आइओएमको ७६ सिटका लागि भने करिब १० हजार विद्यार्थीबीच कडा प्रतिस्पर्धा हुने गरेको छ।