विराटनगर- हात्तीपाइले (फाइलेरिया) रोग निवारणका लागि मोरङमा अभियान सुरु गरिएको छ। शनिबार राष्ट्रिय हात्तीपाइले (फाइलेरिया) रोग निवारण ‘आम औषधि सेवन अभियान–२०७६’ अन्तर्गत प्रदेश १ को विराटनगरमा अभियान सुरु भएको हो। मोरङ, सुनसरी र धनकुटामा यो कार्यक्रम सञ्चालन हुनेछ।
जिल्ला समयन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले प्रहरी उपरीक्षक विश्व अधिकारी र पत्रकार मनोज दाहाललाई हात्तीपाइले चक्की र जुकाको औषधि खुवाएर अभियान शुभारम्भ गरेका हुन्।
सो अवसरमा आम नागरिकसम्म औषधि पुग्न र उपभोग गर्न चेतनाको आवश्कयता औँल्याए। औषधि सेवनले कुनै हानी नगर्ने भएकाले तोकिएको मापदण्डभित्रका मानिसले औषधि खान आनाकानी गर्न नुहने संयोजक पोखरेलले बताए।
आइतबारदेखि जिल्लाका ९ लाख २४ नागरिकलाई यो औषधि खुवाउने स्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए।
मोरङको विराटनगर महानगरपालिकामा १ सय ४७ गरी प्रत्येक स्थानीय तह गरेर ५ सय ६६ केन्द्र कायम गरिएको छ भने यसका लागि ५ सय स्वास्थ्यकर्मी एवं स्वयंसेवक परिचालन भएको प्रमुख बस्नेतको भनाइ छ।
धनकुटा, झापा र मोरङमा करीब १८ लाख नागरिकलाई औषधि खुवाउने काम अभियानले गर्दछ।
औषधि सेवनबाट कुनै पनि जोखिम नहुने र हात्तीपाइलेजस्ता खतरनाक रोगबाट बच्न सक्ने भएको यो औषधि सेवन गर्न जरुरी छ भनिएको छ। यो अषधि २ देखि ५ वर्ष उमेरका लागि १ चक्की, ६ देखि १४ वर्षका लागि २ चक्की र १५ वर्षभन्दा माथिकाका लागि ३ चक्की र जुकाको औषधि सबैलाई १/१ चक्की खुवाउने कार्यक्रम छ।
जिल्लामा १३ प्रतिशत जनतामा अहिले पनि हात्तीपाइलेबाट प्रभावित छ भने यो रोग लागेपछि मानिसलाई आयआर्जन र शरीरिक काम गर्न निकै कठिनाइ हुने भनिएको छ।
हात्तीपाइले बाँक्रोफ्टी नामक फाइलेरिया परजिवीबाट लाग्ने गर्दछ। यो रोग लागेमा सुन्निएको अङ्गलाई दैनिक साबुन पानीले सफा गर्नु पर्दछ। यो रोग लागेपछि हाइड्रोसिल, यौनाङ्ग सुन्निने, खुट्टा फुल्ने हिँडडुल गर्न नसक्ने, दैनिक काम गर्न असमर्थ हुनेछन्।
२ वर्षमुनिका बालबालिका, ७ दिन अगाडिका सुत्केरी र चिनी रोग, मिर्गौलारोगी तथा खाली पेट यो औषधि सेवन गर्न नहुने प्रदेश १ का सामाजिक विकास मन्त्रालय स्वास्थ्य जनसेवा विभागका प्रमुख डा सुरेश मेहताले बताए।
हात्तीपाइले रोग लागेपछि शरीरको कुनै भाग अत्यधिक मोटो हुन गई शरीर अपाङ्ग हुन सक्ने भएकाले यसको रोकथाम समयमै गर्नुपर्ने आवश्यकता देखिएको छ।
नेपालमा मात्र नभएर विश्वमै यो रोग देखा परेपछि यसको रोकथाम एवं नियन्त्रण गर्न सरकारले हात्तीपाइलेविरुद्ध चक्की (औषधि) खुवाउने अभियान सुरु गरेको नेपालमा ९ वर्ष भएको छ।
यो रोग ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रका जनताले कम प्रयोग गर्ने गरेको स्वास्थ्यकर्मीको भनाइ छ। यो रोग लाग्न नदिन सरकारले चालेको अभियानबाट अहिलेसम्ममा ८ करोड मात्रा औषधिको उपभोग भइसकेको स्वास्थ्य कार्यालय विराटनगरले जनाएको छ।