दीपा पौडेल
प्युठान - प्युठानको मल्लरानी गाउँपालिका-५ खैराको टाकुरामा मानसिक सन्तुलन गुमाएकी एक बेवारिसे महिलाले बुधवार बच्चा जन्माएकी छिन्।
मल्लरानी गाउँपालिका-५ का वडा अध्यक्ष राम बहादुर थापाले दिएको जानकारी अनुसार ती महिलाले सोही ठाउँमा पानीको धाराको छेउमा बच्चा जन्माएर जंगलमा फालेको र आफु केही तल बेवासिसे अवस्थामा सुतेको भेटिएको हो।
महिलाले आफ्नो घर दाङको गोलटाकुरा रहेको र नाम नोकी कुमारी खड्का बताएकी छिन्। मानसिक अवस्था ठिक नभएको जस्तो देखिने उनी हेर्दा अन्दाजी ३० बर्ष जतिको देखिने अध्यक्ष थापाले जानकारी दिए।
जन्मिएको बच्चा छोरी रहेको र नवजात शिशुको अवस्था सामान्य रहेको उनको भनाई छ। उनले भने –“ बच्चाको अवस्था सामान्य छ, गाउँका स्थानिय महिलाहरुले बच्चालाई दुध खुवाउनु भएको छ।”
एम्बुलेन्स मार्फत आमा र बच्चा दुबैलाई जिल्ला अस्पताल प्युठानमा लिई उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।