काठमाडौं- दोषिलाई कारबाहीको माग गर्दै विरोधमा उत्रिएका नेपाल मेडिकल कलेजका चिकित्सकहरुले आन्दोलनलाई थप सशक्त बनाउने तयारी गरेका छन्।
घटना भएको एक साता बितिसक्दा पनि सरकारले कुनै पहल नगरेको भन्दै उनीहरुले निर्णायक आन्दोलन गर्ने तयारी गरेका हुन्। कलेजका चिकित्सकलाई देशभरका चिकित्सकहरुले साथ दिएका छन्। दोषिलाई कारबाही र सुरक्षाको माग गर्दै चिकित्सकको टोली बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेको थियो।
स्वास्थ्यमन्त्रीका स्वास्थ्य सल्लाहकार डा खेम कार्की, उपसचिव लगायतको टोलीसँग भएको छलफलमा कुनै ठोस निर्णय नआएको नेशनल मेडिकल स्टुडेण्ट एशोसिएनसका अध्यक्ष डा सुजन कडरियाले बताए।
उनले भने, ‘हामीले करीब एक घण्टा छलफल ग¥यौं। तर उहाँहरुले प्रतिवद्धता मात्र जनाउनु भएको छ। दोषिलाई कारबाहीको लागि कुनै पहल भएको छैन। अब हामी आन्दोलन थप सशक्त बनाउँछौं।’
देशभर चिकित्सक तथा स्वास्थ्यकर्मी कुटिरहँदा सरकार मौन भएर बसेको उनीहरुको गुनासो छ। दोषिलाई कारबाही नभए देशभरका स्वास्थ्य संस्था ठप्प पार्न बाध्य हुने डा कडरियाले बताए।
सरकारले आफ्नो माग सम्बोधन नगरेको भन्दै धुलिखेलका चिकित्सकले बुधबारदेखि बहिरंग सेवा बहिष्कार समेत गरेका छन्।
दोषिलाई कारबाही नभएसम्म आन्दोलन जारी राख्ने चिकित्सकहरुले बताउँदै आएका छन्। चिकित्सक माथि हातपात गर्ने दोषिलाई कारबाहीको माग गर्दै देशभरका चिकित्सक आठौं दिनदेखि आन्दोलनमा छन्। आफुहरु सुरक्षित नभई सेवामा खटिन नसक्ने उनीहरुले बताएका छन्।
जेठ १४ गते उपचारको क्रममा बिरामीको मृत्यु भएपछि आफन्तले उपचारमा संलग्न चिकित्सक माथि हातपात गरेका थिए।