काठमाडौं- नेपाल स्वास्थ्यकर्मी संघले कोरोनाको रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने सबै स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन माग गरेको छ।
सरकारले स्वास्थ्यकर्मी माथि विभेद गरेको भन्दै संघले विज्ञप्ति जारी गरी कोरोनाको रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने सबै स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन माग गरेको हो।
जोखिम भत्ताको व्यवस्थापनका लागि सरकारले कोरोना भाइरस संक्रमणको उपचारमा संलग्न जनशक्तिको भत्ता व्यवस्थापन आदेश २०७७ ल्याएको थियो । तर उक्त आदेशले अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीलाई समेट्न नसकेको संघको ठम्याई छ ।
केही स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएपनि जोखिम भत्ता व्यवस्थापन आदेशले विभेद गरेका कारण अधिकाशं स्वास्थ्यकर्मी भत्ता पाउनबाट बञ्चित भएको विज्ञप्तिमा उल्लेख छ ।
कोरोनाको रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने सबै जनशक्तिलाई जोखिम भत्ता उपलब्ध नगराए आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुने संघले जनाएको छ ।
अग्रमोचामा खटिएका स्वास्थ्यकर्मीहरु जोखिम भत्ता पाउनबाट बञ्चित हुँदा उनीहरुको मनोबल घट्ने र स्वास्थ्य सेवामा प्रभाव पर्न सक्ने संघको भनाई छ।