अहमदावाद- भारतको गुजरातस्थित अहमदावाद सहरमा रहेको कोरोना उपचार विशेष अस्पतालमा आगलागी हुँदा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जसमा तीन महिला छन्।
अहमदावादको नवरंगपुर क्षेत्रमा रहेको श्रेय अस्पतालमा आगो लागेको त्यहाँका अग्नि नियन्त्रण प्रमुख राजेश भट्टले बताएका छन्।
सर्ट सर्किटका कारण आगो लगेको थियो। सो समयमा अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले कोरोनाबाट सुरक्षित रहन पिपिई सेट लगाएर काम गरिरहेको भट्टले जानकारी दिए।
एक घन्टापछि मात्र आगो नियन्त्रणमा आएको थियो। तर पनि आगोमा परी ८ जना बिरामीले ज्यान गुमाए।
अस्पतालमा उपचार गराइरहेका अन्य ४० कोरोना संक्रमित बिरामीलाई एसपिबी अस्पतालमा स्थानान्तरण गरिएको बताइएको छ।
आगो नियन्त्रण खटिएका अग्नि नियन्त्रण दलका सबै कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ। उनीहरु सबै कोरोना संक्रमितको उद्धार गर्ने क्रममा सम्पर्कमा आएका थिए।
अहमदावाद पुलिसले दुर्घटनाको केस दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै दुःख व्यक्त गरेका छन्। उनले घटनामा परी ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गर्दै सबै प्रभावितहरुको सहयोगका लागि प्रशासनले सहयोग पु¥याइरहेको समेत जानकारी दिएका छन्।
उनले सो घटनाबारे गुजरातका मुख्यमन्त्री विजय रुपाणीसँग पनि कुराकानी गरेको जानकारी पनि उनले दिएका छन्।
गुजरातका मुख्यमन्त्री रुपाणीले आगलागी घटनाको तत्काल जाँच गर्न आदेश दिँदै तीन दिनभित्र सबै जिम्मेवार व्यक्तिको पहिचान गर्न समेत निर्देशन दिएका छन्।
(बिबिसी हिन्दीबाट)