काभ्रे- कोरोना सङ्क्रमणको उच्च जोखिम बढिरहेका बेला पाँचखाल नगरपालिकाका पाँच वडाले ५० प्रतिशत छुट गराउँदै स्थानीयबासीको स्वास्थ्य बिमा गरिरहेका छन्। वडाका बासिन्दाको स्वास्थ्य सुरक्षामा चासो राख्दै ती वडाले हाल ‘कोरोना बिमा’का लागि सिफारिस दिन थालेका हुन्।
हाल नगरका २, ३, ४, ५ र ९ नम्बर वडाले ५० प्रतिशत प्रिमियम रकममा स्थानीयबाको बिमा गर्न सोमबारदेखि सिफारिस गर्न थालेका हुन्। कोरोना बिमाका लागि रु एक लाखको बिमाङ्क रकम बराबर रु ६०० प्रिमियम तिर्नुपर्छ तर वडा कार्यालयको सिफारिसमा ५० प्रतिशत छुट अर्थात् रु ३०० प्रिमियम तिरेपछि स्थानीयवासीको कोरोना बिमा हुने वडा नं ४ का वडाध्यक्ष सुन्दर लामाले बताए।
“बिमा कम्पनीले नै प्रिमियम रकममा ५० प्रतिशत छुट गरिदिएको हो, यसका लागि वडाले सिफारिस गर्नुपर्ने नियम बनाइएको छ”, लामाले भने। उनका अनुसार वडाका बासिन्दाले कोरोना बिमा गर्न चाहेको बताएपछि वडाले सिफारिस गर्नेछ र वडाको सिफारिस ल्याएका स्थानीयबासीको बिमा कम्पनीले प्रिमियम रकममा ५० प्रतिशत छुटसहित बिमा गर्नेछन्। सोमबार आफ्नो वडाका ११ जनाको सिफारिस गरिएको लामाले बताए।
उनका अनुसार बिमित वडाका बासिन्दामा कोरोना सङ्क्रमण पुष्टि भएपछि रु एक लाख बिमा रकम पाउनेछन्। उनले आफ्नो वडाका १२८ एकल महिलाको पनि कोरोना बिमा गराइदिने योजना बनाएका छन्। “मैले व्यक्तिगत खर्चमा उहाँहरुको बिमा गराउन थालेको छु, एकल महिलाको पहिचान भइसकेको छ, अब बिमा प्रक्रिया थाल्नेछु”, उनले भने। उनले बिमा कम्पनीको ५० प्रतिशत प्रिमियम रकम छुटमै एकल महिलाको समेत बिमा गराइने बताए। -रासस